रामराज रेग्मी
जगतको सृष्टि कसरी भयो भन्ने सम्बन्धमा औपनिषदिक कालमा दुई प्रकारका दृष्टिकोणहरु चर्चामा थिए–एकथरीले असत् (अनस्तित्व) बाट सत् (अस्तित्व) को उदय भएको हो भन्दथे । अर्काथरीले फेरि सत्बाट सत्को उदय भएको हो भन्दथे । असत्बाट सत्को उदय भयो भन्नुको अर्थ अभावको अवस्थाबाट भावको सिर्जना भयो भन्नु हो अथवा शून्यबाट वस्तुको उत्पत्ति भयो भन्नु हो । सत्बाट सत्को उदय भयो भनेर भन्नुको अर्थ अस्तित्व अर्थात् भएको अवस्था(Being)बाट नै सृष्टिक्रम अघि बढेको हो भनेर भन्नु हो ।
असत्बाट सत्को उदय भएको हो भन्ने दृष्टिकोण सम्बन्धमा ऋग्वेदको १०.१२९ नासदीय सुक्तमा सृष्टि कालमा यस संसारमा केही पनि थिएन, शुन्यताबाट नै अस्तित्व पैदा भएको हो भन्ने कुरा बताइएको छ । तैतरीय उपनिषद्को २.७ मा भनिएको छ, “यहाँ सुरुमा असत् (अस्तित्वहीनता) मात्र थियो । त्यसबाट सत्को उदय भयो (असद्वा इदमग्र आसीत् । ततो वै सद्जायत) ।” बृहदारण्यक उपनिषद्को १.२.१. मा भनिएको छ, “यहाँ आरम्भमा आकार रुपको केही वस्तु थिएन, चारैतिर भोकको साम्राज्य थियो । भोक भनेकै मृत्यु हो । सर्वप्रथम त्यसले चेतना (मन) को सृष्टि ग¥यो र मन आफैले आफ्नो पुजा ग¥यो । यसरी पुजा गर्दा जलको उत्पत्ति भयो । जल छचल्किँदा अर्क (अग्नी) उत्पन्न भयो ।”
दोस्रो खालको दृष्टिकोण सत्बाट सत्को उदय भएको भन्ने सम्बन्धमा मुण्डक उपनिषद् १.१.७ मा भनिएको छ, “अत्यन्त सुक्ष्म निर्विकारी सत्बाट नैजगत्को उत्पत्ति भएको हो–जसरी माकुराले आफैले सृष्टि गरी आफैले उपभोग गर्छ, जसरी जमिनबाट औषधीय गुण भएका विरुवाहरु उम्रन्छन्, जसरी जीवित प्राणीको शरीरबाट रौं पलाउँछन्, त्यसरी नै अनाशवान् तत्वबाट जगतको उत्पत्ति भएको हो (यथोर्णनाभिः सृजले गृहण्यते च यथा पृथिव्यामोषधयः संभवति । यथा सतः पुरुषात्केशलोमानि तथाक्षरात्संभवतिह विश्वम्)।”
उद्दालक असत्बाट सत्को उदय भयो भन्ने ऋग्वेद र उपनिषद्का भनाइको खण्डन गर्दछन् । उनी अग्रगामी सोचका उपनिषद्कालीन विचारक हुन् । उनी भन्दछन् कि आजसम्म कसैले पनि असत्बाट सत्को उत्पत्ति भएको विषयलाई प्रमाणसाथ पुष्टि गर्न सकेका छैनन् । शून्यताबाट वस्तुको उत्पत्ति सम्भव छैन । छान्दोग्य उपनिषद् ६.२.२. मा उनी आप्mना पुत्र श्वेतकेतुलाई भन्छन्, “हे पुत्र । सुरुमा सत्को मात्र अस्तित्व थियो (सदेव सोम्य इदमग्रआसित्) ।” उनका अनुसार अस्तित्वबाट नै अस्तित्व पैदा हुन्छ ।
तर कहिले काहीं अस्तित्व नदेखिने अथवा अप्रस्फुटन (Unmanifest) नभएको अवस्था पनि हुन सक्छ ।उद्दालक भन्दछन् कि वस्तुको स्रोत जुन प्रकृतिको हुन्छ, त्यसका सिर्जनाहरु त्यही प्रकृतिका हुन्छन् । यसको मतलव कार्य र कारणबीच सजातीय सम्बन्ध हुन्छ । उनी भन्दछन् कि सबै प्रकारका माटाका भाँडाहरुको मूलतत्व माटो हो, सबै प्रकारका फलामे हातहतियारको मूलतत्व फलाम हो र सबै प्रकारका स्वर्ण गहनाहरुको मूलतत्व सुन हो । यस सिद्धान्तलाई ‘सत्कार्यवाद’ (Theory of Causation) भनिन्छ ।
उद्दालक के तर्क प्रस्तुत गर्छन् भने यस जगतका वस्तुहरु भौतिक भएकाले तिनको प्रारम्भिक रुप (Original Form) अभौतिक हुन सक्दैन । भौतिक वस्तुको स्रोत भौतिक नै हुन्छ । भौतिक भएकाले तिनको प्रारम्भिक वस्तुहरु आत्मा वा ब्रहमजस्तो अभौतिक चेतन तत्वबाट सृजित हुँदैनन् । उद्दालकको यस सिद्धान्तले परम चेतनतत्व परमेश्वर नै यस जगतको सृष्टिकर्ता हो र त्यसैले आज सारा संसार संचालन गरिरहेछभन्ने औपनिषदिक प्रत्ययवादको खण्डन गर्दछ ।
उद्दालक भन्दछन् कि आँखाले नदेख्दैमा सुक्ष्म तत्व सत्को अस्तित्व छैन भन्न मिल्दैन । आफ्नो यस भनाईलाई प्रमाणित गर्न उनी छोरा श्वेतकेतुलाई नुनको ढिका पानीमा राख्न लगाउँछन् । र त्यो घोलिएपछि पानी चाख्न लगाएर नदेखिएको नुनको अस्तित्वलाई प्रमाणित गर्दछन् । त्यसपछि उनी भन्दछन् जसरी पानी घोलिएको नुन देखिंदैन, त्यसरी नै सत् पनि सामान्य दृष्टिबाट देखिन्न ।
उद्दालकले सुक्ष्म तत्वको विस्तारबाट नै यस विशाल जगत् अस्तित्वमा आएको हो भन्ने विचार व्यक्त गर्दछन् । सुक्ष्म तत्व सत् कसरी विशाल ब्रहमाण्डीय संरचनामा बदलिन सक्छ भन्ने जिज्ञासालाई उनी न्यग्रोध (बर) वृक्षको उदाहरणबाट पुष्टि गर्दछन् । उनले छोरा श्वेतकेतुलाई न्यग्रोधको फलभित्र रहेका मसिना बीजहरु हेर्न लगाएर तीभित्र के देख्यौ भनी प्रश्न गर्छन् । जब श्वेतकेतुले केही देख्न नसकेको कुरा व्यक्त गर्छन् तब उनी भन्छन् कि तीभित्र विशाल वृक्षमा परिणत हुन सक्ने सुक्ष्म तत्व छन् । यदि ती नभएका भए बीजलाई माटोमा रोप्दा टुसा उम्रदैनथे र टुसा विरुवा र पथरा हुँदै न्यग्रोधवृक्षमा परिणत हुन सक्दैनथे । उद्दालकले के पनि भन्दछन् भने जसरी सुक्ष्म बीज विस्तारित भएर न्यग्रोधको विशाल वृक्षमा परिणत हुन्छ, त्यसरी नै सुक्ष्म सत् विशाल ब्रहमाण्डीय संरचनामा बदलिन्छ ।
सृष्टि प्रक्रिया सम्बन्धमा उद्दालक भन्छन् कि सत्बाट सबैभन्दा पहिले ताप पैदा भयो, तापबाट जल पैदा भयो र जलबाट अन्न पैदा भयो । तापबाट जल पैदा भएको हो भन्ने कुरालाई उनी पसिनाको उदाहरणबाट पुष्टि गर्दछन् । उनी भन्दछन्,“ जब कुनै व्यक्तिलाई गर्मी हुन्छ, उसको शरीरबाट पसिना निस्कन्छ (तस्माद्यत्र क्व च शोचति स्वदते वा (छान्दोग्य ६.२.३)।” त्यसरी नै उद्दालक जलबाट अन्न अथवा ठोस पदार्थको उत्पत्ति हुन्छ भन्ने कुरालाई वर्षात्को अवस्थामा बालीनाली उम्रने र हुर्कने कुराबाट पुष्टि गर्दछन् । उनी भन्दछन्, “कुनै पनि ठाउँमा जब वर्षा हुन्छ, तब त्यहाँ प्रशस्त मात्रामा अन्न उत्पादन हुन्छ (तस्माद्यत्र क्वच वर्षति तदेव भूयिष्ठमन्न भवत्यद्भ्य एव तदध्यन्नाद्यं जायते । (छान्दोग्य ६.२.३) ।”
उद्दालक के तर्क प्रस्तुत गर्दछन् भने सम्पूर्ण वस्तुहरु सुक्ष्म तत्व सत्बाट बनेकाले तिनको जरा खोतल्दै जाँदा अथवा स्रोत खोज्दै जाँदा मूलतत्वसम्म पुग्न सकिन्छ । उनले गेडागुडीको उदाहरणबाट यस तथ्यलाई पुष्टि गर्दछन् । उनी भन्दछन् कि गेडागुडीलाई चार पाँच दिनसम्म भिजाउँदा तिनबाट टुसा उम्रन्छन् । ती टुसा भनेका गेडागुडीका जरा हुन् । गेडागुडीका जराझैं प्रत्येक जीवित र निर्जिव वस्तुका जरा हुन्छन् । ती जरा भनेका तिनका उत्पत्तिका स्रोत हुन् । उदाहरणका लागि मानव शरीरको जरा अन्न हो किनभने मानव शरीर अन्नबाट बन्दछ । त्यसरी नै अन्न पानीबाट उत्पन्न हुन्छ । पानी नै अन्नको जरा हो । पानी पनि तेज (ताप) बाट उत्पत्ति हुने भएकाले पानीको जरा ताप हो । ताप सत्बाट उत्पत्ति भएकाले तापको जरा सत् हो । यसरी क्रमशः ताप, पानी र अग्नी बीचको अन्तर्सम्बन्ध बुझ्दै जाँदा सत्सम्म पुग्न सकिन्छ ।
जुन बेला समाजको चिन्तन निकै पिछडिएको अवस्थामा थियो, त्यसबेला यसप्रकारको उन्नत भौतिकवादी चेतना हुने कुरा सामान्य होइन । उद्दालक पुरानो संसारलाई चुनौती दिने एक जना विद्रोही भौतिकवादी दार्शनिकका रुपमा देखिन्छन् । उनको दर्शन अन्य औपनिषदिक ऋषिहरुका चिन्तनभन्दा अग्रगामी, क्रमबद्ध र व्यवस्थित देखिन्छ । एक प्राकृतिक तत्वलाई जगत्को उत्पत्तिको आदि कारण मानेर उद्दालकले प्रचलित धार्मिक सत्तालाई समाप्त पार्नका लागि महत्वपूर्ण कदम उठाएका छन् । उनी कहीँ पनि ब्रहम र ईश्वरको आड लागेको पाइन्न । उनको चिन्तनमा रहस्यवादको गन्धसम्म पनि पाइन्न । उनको व्याख्यामा पुनर्जन्मलाई कहीं कतै ठाउँ छैन ।
(नोटः यो दर्शन सम्बन्धी लेख लोक भावना (वैचारिक तथा साहित्यिक त्रैमासिक) वर्ष १९, अंक ४, पूर्णाङक ७३,२०८२ चैत्र –२०८३ जेष्ठबाट साभार गरिएको हो)

