सिमानामा नेपालले पनि आई.डि.कार्ड चेक गर्नुपर्छ

–आनन्द थापा, अध्यक्ष
अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति
० अखिल भारत नेपाली एकता समाजको २०२६ अप्रिल २६ तारिखका दिन चेन्नईमा सम्पन्न विस्तारित बैठकले २०२७ फरवरी १९ देखि २१ तारिखसम्म पंन्जाबको जालन्धर शहरमा नवौं अखिल भारत संम्मेलन गर्ने निर्णय गरिएको थियो। उक्त नवौं अखिल भारत संम्मेलनलाई संपन्न गर्न के कस्तो तयारी भईरहेको छ ?
– अखिल भारत नेपाली एकता समाजको ९ औ अखिल भारत सम्मेलन पञ्जाबको जालन्धर शहरमा सम्पन्न पार्नका लागि मुल व्यवस्थापन समिति गठन गरि सकिएको छ । आर्थिक व्यवस्थापन विभाग, हल–व्यवस्थापन विभाग, प्रचार–प्रसार विभाग, प्रेस विभाग, स्वयंसेवक विभाग– साँस्कृतिक विभाग, अतिथि सत्कार विभाग, मेष व्यवस्थापन विभागहरु गठन गरिएको छ । केन्द्रीय समितिका सदस्यहरु लगायत सात क्षेत्रीय समिति– नगर समितिका पदाधिकारी सहित २८५ सदस्य ९ औ अखिल भारत सम्मेलन तयारी समिति गठन गरिएको छ । हल व्यवस्थापन विभागद्वारा आफ्नो जिम्मेवारीलाई पूरा भएको छ ।
प्रेस विभागको तर्फबाट पहिलो चरणको अपिल र चन्दा बुक प्रकाशन गरी क्षेत्रीय समिति र नगरहरुमा पुगिसकेको अवस्था छ ।
० नवौं अखिल भारत सम्मेलनका लागि पन्जाब राज्यको जालन्धर शहरलाई नै रोज्नुका खास कारण केही छ कि ?
–अखिल नेपाली एकता समाजको स्थापना ०७÷ नोभेम्बर÷१९७९मा भारत को धार्मिक स्थल वाराणसीमा गोबिन्द सिंह थापाको नेतृत्वमा भएको थियो । स्थापना भएको ४७ वर्ष पुग्यो र ४८ औं वर्षमा ९ औ अखिल भारत सम्मेलन पन्जाबको जालन्धर शहरमा राख्नको मुख्य कारण अखिल भारत राष्ट्रिय सम्मेलनहरु भारतका हालसम्म दक्षिण भारत र पन्जाबमा नभएको र अखिल भारत नेपाली एकताको संगठनात्मक अवस्थालाई मध्यनजर गर्दा हाम्रो दक्षिण भारत र पन्जाबमा राम्रो छ ।
९ औं अखिल भारत सम्मेलन सम्पन्न पार्नका निम्ति आर्थिक हिसाबले कम खर्चमा सम्पन्न पार्न र नेपालदेखि रोजगारका निम्ति पन्जाबका विभिन्न शहरहरूमा आएका नेपालीहरुका बीचमा हाम्रो अखिल भारत नेपाली एकता समाजको संगठन निर्माण भएका र त्यहाँका नेपालीहरु बीच संगठनात्मक गतिविधिलाई सम्प्रेषित गर्न गराउनका लागि अखिल भारत सम्मेलन पन्जाबको जालान्धर शहरमा गर्दैछांै ।
० २०२४ जुलाईमा दुई वटा संगठनहरु अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीचमा एकता गरी अखिल भारत नेपाली एकता समाज गठन पछि अहिलेसम्मको संगठनात्मक कार्यको मूल्याङ्कन कसरी गर्नु हुन्छ?
– अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज बीच एकता गरेको केही समय अथवा एक महिना पनि टिक्न नसकेर अखिल भारत नेपाली एकता समाजदेखि बाहिरिनेहरूमा बहुमतका साथीहरु हुनुहुन्थ्यो । एकतामा सहभागी पश्चात् केही समयमा एकता विरोधी तत्वहरुले आफ्नो औकात प्रदर्शन गर्न ठूलो प्रयत्न गरिरहेका थिए । तर उनीहरु टिक्न सकेनन् । उनीहरु पनि अलग भएर विभिन्न प्रकारका जाल–झेल गर्ने र हाम्रो संगठन बीचमा भ्रम फैलाउन प्रयत्न भए तर पनि उनीहरुको औकातले पनि पुगेन ।
हाम्रो संगठनलाई चारैतिरबाट आक्रमण गर्ने दक्षिणपन्थी, प्रतिकृयावादी संशोधनवादी तत्वहरुका बीचमा चुनौतीपूर्ण संघर्षका बाबजुद अखिल भारत नेपाली एकता समाज आफ्नो स्थापनाकालदेखि नै नेपालको वामपन्थी आन्दोलनमा आर्थिक–नैतिक–भौतिक रुपमा सहयोग र समर्थन रहँदै आएको छ । विभिन्न कालखण्डमा संगठनमा विभाजन टुटफुटका कारण हामी अलग हुने प्रकृयामा हामी बीचमा प्रतिशोधका रुपमा लिने काम हुने गरे । अहिले पनि आफूलाई मात्र असल र उत्तम ठान्ने । कहिल्यै नथाक्नेहरुको गतिविधिलाई हेर्दा र उनीहरुको अवस्था हेर्दा लठ्ठी बिनाको सहारा कठिन देखिन्छ ।
तसर्थ हाम्रो विगतको एकताद्वारा संगठनात्मक गतिविधिलाई अवरोध गर्नेहरुको विरुद्धमा हामीले संगठनलाई गतिशील बनाउन अग्रिम भूमिकाको रुपमा अखिल भारत नेपाली एकता समाज सदैव जनताका पक्षमा रहिरहने छ ।
० अखिल भारत नेपाली एकता समाजले दिल्लीस्थित नेपाली दूतावासमार्फत् नेपाल सरकारलाई ज्ञापन–पत्र बुझाएको थियो र पछि नेपाल मै पनि ज्ञापन–पत्र बुझाएको थियो । कुनै कुनै माग पूरा पनि भए कि ?
– दिल्लीस्थित नेपाली राजदूतावास मार्फत् नेपाल सरकारलाई ११÷०८÷२०२५ र २६÷१०÷२०२५ मा नेपाल सरकारका अन्तरिम कालका प्रधानमन्त्री सुशीला कार्की र परराष्ट्र मन्त्रालयमा भारतस्थित नेपालीहरुका समस्यालाई लिएर अखिल भारत नेपाली एकता समाजको तर्फबाट काठमाडौंमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, भुपु महासचिव सहितको प्रतिनिधि टोलीद्वारा ज्ञापन–पत्र दिने काम भयो । ज्ञापन–पत्र वाचन पछि तपाईहरुको यस ज्ञापन–पत्रमा उल्लेखित सम्पूर्ण चिजहरु राम्रो सित उठान गर्नु भएको छ भनिएको थियो ।
हाम्रो ध्यान आकर्षण भएको छ यस विषयलाई कार्यान्वयन गर्दछांै भनेर संवाद भएको थियो । भारतमा रहने नेपालीहरुका समस्याहरु अहिलेसम्म नेपालका राजनैतिक दलका पार्टीहरु,काँग्रेस, कम्युनिष्टहरु सरकार र सत्तामा नपुगेका होइनन् । तर प्रवासी नेपालीहरुका समस्यलाई बुझ्ने सरकार आएको छैन । जबसम्म देशमा आम नेपालीहरुको प्रतिनिधित्व गर्ने जनसरकार आउँदैन तबसम्म प्रवासी नेपाली श्रमजीवी– मजदुर–सर्वसाधारण शोषित, पीडित वर्गहरुका समस्या समाधान विदेशी साम्राज्यवाद–विस्तारवादका दलालहरुबाट हुँदैन ।
० भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको समस्याहरु के कस्ता छन् ?
– नेपालबाट विद्यार्थीहरु उच्च शिक्षा हासिल गर्नका लागि भारतका कलेजहरुमा आउने गर्दछन । खानपानका खर्च, कलेज–होस्टलमा हुने असुरक्षा र भेदभावका समस्या र कतिपय स्थानमा स्थानीय भाषा तथा संस्कृतिको कारणले घुलमिल हुन पर्ने जस्ता समस्याहरु भोग्नु पर्ने । र भारतका राम्रो कलेजहरू तथा स्कुलमा सर्वसाधारण नेपालीहरुले आफ्ना छोरा छोरीहरूलाई अध्ययन गराउन अप्ठ्यारो छ ।
० नेपाल र भारतका सिमानाहरुमा भारतीय सुरक्षाकर्मीहरूले आवतजावत गर्ने सबैलाई नागरिकता देखाउन अनिवार्य गरेको पाईन्छ तर नेपाल पक्षले त्यसरी देशको नागरिकको परिचयपत्र अनिवार्य गरेको देखिदैन नेपाल पक्षले पनि विदेशीहरुलाई परिचयपत्र देखाउन अनिवार्य गर्नु पर्ने होइन र ?
–१९५० को भारत–नेपालको शान्ति तथा मैत्रीपूर्ण सन्धिले दुई देशका जनताहरुलाई खुल्ला सिमानाका कारण आउने जाने क्रममा सजिलोसँग नोकरी गर्न भारत नजिकको छिमेकी देश भएकोले र कम खर्चमा आउन सजिलो कारणले भारत आउने क्रम अहिले पनि जारी छ । अर्कातिर रोती–बेटी– व्यापार–व्यवसाय रोजगारका लागि नेपालीहरुलाई भारतका विभिन्न शहरमा सजिलोसँग रोजगार मिल्ने भएकाले भारत आउने नेपालीहरुलाई इमानदार बहादुरका रुपमा परिचित भएको हुँदा सरकारी डिपार्टमेन्टमा राम्रो जागिर मिल्थ्यो । हालमा आएर केही असामाजिक नेपालीहरूद्वारा कामको शिलशिलामा बंगालमा काम गर्ने, अवसरमा छोटो समयमै मालिकलाई विश्वासमा लिएर मालिक दुई चार दिनको लागि बाहिर गएको अवस्थामा धन–माल चोरी गर्ने घरमालिकको हत्याकाण्ड गरी फरार अभियुक्त नेपालीहरुलाई पक्राउ गर्ने अभियानमा नेपालका सिमानाहरुमा भारतीय प्रहरी प्रशासनद्वारा आईडीकार्ड–परिचयपत्र देखाउन अनिवार्य गरेको छ । तदअनुरूप नेपाल सरकारद्वारा पनि सिमानामा भारतीय नागरिकहरूलाई पनि आईडी कार्ड अनिवार्य रुपमा चेक अप गरिनु पर्छ ।
० भारतमा अहिले मोदी सरकारले भोटर आईडी कार्ड नबनाउने नेपालीहरुलाई १९५० का सन्धिले दिएका सुविधाहरु समेत प्राप्त नहुने गरी नयाँ प्रावधान ल्याएको छ भन्ने सुनिन्छ । त्यसबारे के भईरहेको छ ?
– भारतका विभिन्न क्षेत्रमा निर्वाचन कानुन अनुसार मतदाता सुचीमा नाम राख्न र भोट हाल्नका लागि र मतदाता सूचीको विशेष गहन पुनरीक्षण (क्क्ष्च् ) का क्रममा विदेशी मुलका नागरिकहरुले गैरकानूनी रुपमा लिएका मतदाता सुविधाहरु हटाउने र छानवीन गर्ने काम कडा पारिएको छ । १९५० का सन्धि अनुरुप भारतीय तर्फबाट नेपालीहरुले पाउँदै आएका सुविधाहरु कट्टी गरिदै गएको छ । नेपालीहरुलाई नोकरी मिल्न कथिन भैरहेको अवस्था छ ।
० नेपालमा गत साल भएको जेनजी विद्रोह पछि विकसित राजनीतिक घटनाक्रमलाई यहाँले कसरी मूल्याङ्कन गर्नु हुन्छ ?
–२०८२ साल भाद्र २३ र२४ गतेको जेन–जी आन्दोलनले नेपालका पुराना राजनीतिक पार्टीहरूको गठबन्धन सरकारलाई भंग गरिदियो । दुई दिनमा नै भ्रष्टाचार –नातावाद र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध विरुद्ध उठेका तीब्र युवा विद्रोहद्वारा केपी ओलीले प्रधानमन्त्री पद छाड्न बाध्य भए । नेपालका ठूला राजनीतिक पार्टीहरु भूमिगत रुपमा रहन पर्ने अवस्थामा पुराई दियो।
शुशिला कार्की अन्तरिम प्रधानमन्त्री बनेको छ महिनामा फागुन २१ गते को निर्वाचनले पुराना राजनीतिक दलहरु पत्ता साफ भए भने केही राजनीतिक समूहहरूलाई आफ्नो अलि अलि भएको बिरासतलाई संरक्षण गर्न पनि सकेनन् ।
देशमा नयाँ पार्टी रास्वपालाई घन्टी चिन्हमा मतदान गरेर झण्डै दुई तिहाइको बहुमतमा नेपाली जनताले आफ्नो अमुल्य मत दिएर रास्वपालाई सरकारमा पुराएका छन् । पार्टीका नेता–कार्यकर्ताहरुले आफूले नसोचेको अभिमत जिम्मेवारी र सरकारको नेतृत्व गरेर जाने अवसर र संसददेखि प्रधानमन्त्रीसम्म युवाहरु छन् । उनीहरू राजनीतिक रुपमा परिपक्क छैनन् । राष्ट्रियता–जनतन्त्रका सवालहरूमा संवेदनशील भएर प्रस्तुत हुनुपर्छ । हाम्रा दुई ठूला छिमेकी राष्ट्र भारत र चीन भौगोलिक र जनसंख्याका हिसाबले पनि हाम्रो देश नेपाल सानो छ । दुई देश बीच सम्बन्ध कुटनीतिक रुपमा छलफल गर्नका लागि सरकारको तर्फबाट औपचारिक रुपमा हुनु पर्छ । अहिलेको वर्तमान राजनीतिक घटनाक्रमलाई हेर्दा वर्तमान सरकारका कृयाकलाप हेर्दा यो सरकारका विरुद्धमा चुनावमार्फत् पराजित राजनीतिक दलहरु सरकारबाट बाहिर रहन पर्दा अहिले पानी विनाको माछा झै छटपट गरिरहेका छन् ।
० भारतमा चलेको कक्रोच जनता पार्टीको आन्दोलन अहिले स्थगित भएको छ । भारतमा बस्दै आईरहेको एक नेपाली नागरिकको आँखाले कक्रोच आन्दोलनलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ?
–सुप्रिमकोर्टमा मुद्दा को फैसला सन्दर्भमा चीफजस्टि ले युवाहरू र बेरोजगारीलाई प्रयोग गरिएको कक्रोच शब्दबाट काक्रोज जनता पार्टी निर्माण भयो । १६ मई २०२६ मा अभिजित दिपकेले डिजिटल आन्दोलनको रुपमा अगाडि बढाए ।
उनीहरुको उद्देश्य बेरोजगार, आर्थिक– असन्तोष र युवाहरूलाई अपमानजनक टिप्पणी र कक्रोचसित तुलना गरेको वयानको खिलापमा इन्टरनेटमा–आधारित विरोधमा करोडमा जोडिन पुगे । नेपालमा जस्तो माहोल परिवर्तन ल्याउन सकिन्छ भन्ने सोचमा उनीहरु थिए । तर नेपाल र भारतको तुलाना गरेर हुँदैन । भारत जनसंख्याको हिसाबले विश्वको एक नम्वर छ । करिब डेढ अर्ब जनता, जसको लागि भारतका विभिन्न राज्यहरुबाट पनि करोडौंका संख्यामा यूवाहरुको आन्दोलन सुरुवात आवश्यकता हुन्छ । सत्तापक्षद्वारा डराउने धम्की दिने र उनीहरुको सोशल मिडिया अकाउण्टमा पनि रोक्ने कोशिस भएका छन् ।
० तपाई हैदराबाद मेट्रो वाटर सप्लाई बोर्डको जागिरबाट बिदा हुनु भएको छ । ३६ वर्षको जागिर जीवनलाई फर्केर हेर्दा के भन्नुहुन्छ ?
–मेरो बाबा भारतमा आर्मीबाट पेन्सन निक्लनु भयो । बाबा आर्मीमा हँुदा खेरी नै म स्कूलमा पढन जान्थे । बाबा पेन्सन आए पछि पनि स्कुल पढ्नका निम्ति सर्कुवा जनता माध्यमिक विद्यालयमा ७ कक्षा पास गरेर आठ कक्षामा केही महिना मात्र पढने काम भयो । बाबाले मलाई पढेसम्म पढाउँछु भनेर भन्दा पनि मैले पढन भन्दा लाहुर जाने एउटा हावाले मलाई आन्द्रा प्रदेशको राजधानी हैदराबादमा आई केही समय प्राईभेट कम्पनीमा काम गर्दाको अवस्थामा इम्लाई कार्डद्वारा हैदरावाद मेट्रो वाटर सप्लाई बोर्डमा १९८५ साल मा टेम्पवरीमा कामबाट सुरु गरियो । किन भने गोभरमेन्टको जागिर हो भविष्यमा राम्रो हुन्छ, प्रामानेण्ट हुन्छ भनेर काम गर्दै जाने क्रममा हैदराबाद मै जीवन बित्यो । सर्भिष गरेर अवकाश हुन्छ भनेर पनि सोचिएको थिएन ।
जागिर गरेर धन–सम्पत्ति कमाउने परिवार पाल्ने छोरा छोरीहरूलाई पठन–पाठन राम्रो स्कुल कलेजमा गराउने आदि– ठूला सपना पनि देख्ने हामीहरुमा हुन्छ ।
० जागिरे जीवनको अवकाशपछि जीवनको आगामी दिनलाई कसरी अगाडी बढाउने सोच्नु भएको छ?
–४१ वर्षको हैदरावाद मेट्रो वाटर सप्लाई बोर्डमा सर्भिस गरेर बित्यो । १९८७ मा अखिल भारत नेपाली एकता समाज हैदराबादमा आएर संगठनमा आवद्व भएर सकारात्मक– नकारात्मकका के हो भन्ने वारेमा बुझ्ने र जान्ने एउटा पाठशालाको रुपमा एकता समाजको विद्यार्थी बन्ने पाएकोमा आफुलाई गौरवशाली ठानेको छु । ४१वर्षको अवकाश पश्चात् बाँकी समयलाई समाज र संगठनप्रति केही काम गर्न म तत्पर भई स्वदेश तथा विदेशबाट सहयोग प्रदान गर्न मैले जीवनलाई समाजसेवक बनेर अगाडि बढ्नु पर्छ भन्ने सोचाईमा छु । तर यस कार्यमा सजिलो भने छैन । विभिन्न चुनौतीपूर्ण संघर्षका बाबजुद लाग्नु पर्ने हुन्छ र अपरिहार्य छ ।
०हाँक साप्ताहिक मार्फत भन्नु पर्ने थप केही ?
– धेरै समयदेखि हाँक सांप्ताहिक पत्रिका निरन्तर रुपमा राष्ट्रियता र जनजीविकाका सवाललाई खरो रुपमा जनताका आवाजलाई उठाउन गर्ने पत्रिकामार्फत् मैले आफ्ना भनाइ राख्ने मौका दिनु भएकोमा हाँक साप्ताहिक पत्रिकालाई मेरो तर्फबाट उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित