लोकनारायण सुवेदी
स्तालिनको नेतृत्वमा २९ अगस्ट १९४९ का दिन, काजाख सोभियत समाजवादी गणतन्त्रस्थित सेमिलाटिन्स्क परीक्षण स्थलमा सोभियत संघ ले आफ्नो पहिलो आणविक उपकरणको सफलतापूर्वक परीक्षण (विस्फोट) गरेको थियो। ’आरडीएक्स–१’ सांकेतिक नाम दिइएको त्यस शक्तिशाली हतियारलाई सोभियतहरूले ’फस्र्ट लाइटनिङ’ र अमेरिकीहरूले जोसेफ स्टालिनको नाममा ’जो–१’ (व्यभ–१) भनेर चिन्थे । वैज्ञानिक विशेषज्ञहरूका अनुसा त्यो करिब २२ किलोटन क्षमताको ’प्लुटोनियम इम्प्लोजन’ प्रकारको बम थियो। त्यो बम वास्तबमा चार वर्षअघि नागासाकीलाई ध्वस्त पार्ने अमेरिकी ’फ्याट म्यान’ ) बमको डिजाइनमा आधारित रहेर बनाइएको थियो। समाजवादी सोभियत संघको त्यस एकै विस्फोटले आणविक हतियारमाथि संयुक्त राज्य अमेरिकाको पूर्ण एकाधिकारको अन्त्य गरिदियो—त्यस्तो एकाधिकार जसलाई वासिङ्टनले समाजवादी विश्व र उदाउँदा राष्ट्रिय मुक्ति आन्दोलनहरू विरुद्ध भू–राजनीतिक धम्की तथा दबाबको साधनका रूपमा प्रयोग गर्दै आएको थियो।
हुन पनि दोस्रो विश्वयुद्धको अन्त्यमा, संयुक्त राज्य अमेरिका आणविक बम भएको एकमात्र राष्ट्रका रूपमा बिश्वमा खडा भएको थियो। उसले यो हतियार केवल जापानी सैन्यवादविरुद्ध मात्र नभई मूलतः सोभियत संघलाई लक्षित गरी आफ्नो शक्ति प्रदर्शन गर्ने उद्देश्यले प्रयोग गरेको थियो। सन् १९४५ को अगस्ट ६ र ९ मा हिरोशिमा र नागासाकीमा गरिएको बमबारीले लाखौं सर्वसाधारणको ज्यान लियो र विश्वलाई यो सन्देश दियो कि अमेरिकी साम्राज्यवादसँग अब चाहेको बेला बिशका सम्पूर्ण शहरहरू नै ध्वस्त पार्न सक्ने क्षमताको हतियार छ। युद्धपछिको तत्कालको अवधिमा, सोभियत संघ ’महान् देशभक्तिपूर्ण युद्ध’ को अपार क्षतिबाट तंग्रिने क्रममा रहँदा नै अमेरिकी नेतृत्वले उनीहरूविरुद्ध ’पूर्व–आक्रमण’ गर्ने सम्भावनाबारे खुला रूपमा चर्चा गथ्र्यो। ह्यारी ट्रुम्यान प्रशासनको ’नियन्त्रण’ नीति र नेटोको गठनलाई आणविक विनाशको धम्कीको आडधाप प्राप्त थियो। त्यतिबेला पूर्वी युरोपमा समाजवादी निर्माण, चिनियाँ नयाँ जनबादी क्रान्ति तथा अफ्रिका र एशियाभरि चलिरहेका उपनिवेशवाद–विरोधी संघर्षहरू—ती सबैले सम्भावित आणविक दबाब वा धम्कीको छायाँको सामना गर्नुपरेको थियो।
वास्तवमा समाजबादी सोभियत संघको आणबिक प्रतिक्रिया आवश्यकताबाट प्रेरित थियो। कम्युनिस्ट पार्टीको नेतृत्व र इगोर कुर्चातोभको वैज्ञानिक निर्देशनमा, तथा युली खारितोनजस्ता भौतिकशास्त्रीहरू र सोभियत वैज्ञानिक तथा इन्जिनियरहरूको बृहत् समूहको निर्णायक योगदानसहित, समाजबादी सोभियत संघले आणविक प्रविधिमा निपूणता हासिल गर्न त्यतिबेला एक आपतकालीन कार्यक्रम अघि बढाएको थियो। अमेरिकी म्यानहटन परियोजनासम्बन्धी सामग्रीलगायत सोभियत गुप्तचरहरूले प्राप्त गरेका सूचनाहरूले त्यस कार्यलाई गति दिए तापनि, युद्धपछिको अभाव र नाकाबन्दीको अवस्थामा समाजवादी उद्योग, विज्ञान र जनशक्तिको परिचालन नै त्यसको निर्णायक कारक थियो। त्यो उपलब्धि बस्तुतः सोभियत श्रमजीवी जनता र उनीहरूको राज्यको श्रम, सीप र ज्ञानका परिणाम थियो।
हुन पनि २९ अगस्ट १९४९ को दिन बिहानै ७ः०० बजे (स्थानीय समय), सेमिलाटिन्स्कस्थित एउटा टावरको टुप्पोमा उक्त शक्तिशाली उपकरणको विस्फोट गराइएको थियो। त्यति बेलाका विभिन्न उपकरणहरूले सन् १९४५ का अमेरिकी बमहरूसँग तुलना गर्न सकिने स्तरको सफल नतिजा (विस्फोटक क्षमता) रहेको पुष्टि गरे। वास्तवमा केही हप्ताभित्रै, अमेरिकी निगरानी गर्ने विमानहरूले उक्त परीक्षणको पुष्टि गरे। त्यतिबेला अमेरिकी राष्ट्रपति ह्यारी ट्रुम्यान अमेरिकी जनतासमक्ष यो घोषणा गर्न बाध्य भएका थिए कि सोभियत संघसँग अब आणविक बम छ। त्यो वास्वतमा केवल एउटा प्राविधिक उपलब्धि मात्र थिएन; त्यो त अन्तर्राष्ट्रिय मजदुर वर्ग र समाजवादी खेमाका लागि एक रणनीतिक तथा राजनीतिक विजयको प्रतीक पनि थियो। प्रमुख साम्राज्यवादी शक्तिको आणविक एकाधिकार तोडिएको थियो। अनि त्यसपछि संयुक्त राज्य अमेरिकाले जवाफी कारबाहीको जोखिम मोले बिना समाजवादी राज्यहरू वा राष्ट्रिय मुक्ति आन्दोलनहरूलाई आणविक विनाशको धम्की दिने काम निर्धक्कसँग गर्न सक्ने अवस्था रहेन। विश्वव्यापी वर्गीय संघर्षमा शक्ति सन्तुलनमा यसरी अभूतपूर्ब परिवर्तन आएको थियो।
हुन त यसको तत्कालको परिणाम आणविक हतियारको दौडलाई तीव्र पार्नु थियो। यद्यपि, यो दौड अमेरिकी साम्राज्यवादद्वारा थोपरिएको थियो। एकपटक आणविक हतियारको प्रयोग गरिसकेपछि र तिनलाई आफ्नो प्रभुत्व कायम राख्ने साधनका रूपमा सुरक्षित राखिसकेपछि, संयुक्त राज्य अमेरिकाले समाजवादी विश्वसामु आफ्नो प्रतिरक्षात्मक क्षमता विकास गर्नुबाहेक अन्य कुनै विकल्प छोडेन। सोभियत आणविक बम र त्यसपछि हाइड्रोजन बम तथा अन्तरमहादेशीय प्रहार प्रणालीहरूले ’पारस्परिक सुनिश्चित विनाश’ को अवस्था सिर्जना गरे; यसमा रहेका तमाम जोखिमहरूका बाबजुद, यसले दशकौँसम्म पश्चिमी सैन्यवादका सबैभन्दा आक्रामक योजनाहरूलाई भने नियन्त्रित नियन्त्रित गर्न मद्दत ग¥यो। राजनीतिक रूपमा, उक्त परीक्षणले सोभियत संघ र समाजवादी प्रणालीको प्रतिष्ठा बढायो। यसले के पनि प्रमाणित ग¥यो भने इतिहासकै सबैभन्दा विनाशकारी युद्ध (दोस्रो विश्वयुद्ध) को भग्नावशेषबाट उदाएको एउटा श्रमिक राज्यले सबैभन्दा धनी पुँजीवादी शक्तिको प्राविधिक श्रेष्ठताको बराबरी गर्न र अन्ततः त्यसलाई चुनौती दिन सक्थ्यो र सक्यो नै। यसले विश्वभरका कम्युनिस्ट पार्टीहरू, राष्ट्रिय मुक्ति आन्दोलनहरू र प्रगतिशील शक्तिहरूको आत्मविश्वासमा गहिरो प्रभाव पार्यो। चीन, कोरिया, भियतनाम र पछि क्युबा तथा अन्य ठाउँहरूमा, समाजवादी खेमासँग आणविक हतियार छ भन्ने जानकारीले आणविक हस्तक्षेप गर्ने अमेरिकी धम्कीहरूको विश्वसनीयतालाई कमजोर बनायो।
दीर्घकालमा, सोभियत आणविक प्रतिरोध क्षमताको अस्तित्वले उपनिवेशवाद–विरोधी प्रक्रियालाई अघि बढाउने र साम्राज्यवादी आणविक धम्कीका खुला रूपहरूलाई कम सम्भव तुल्याउने वातावरण निर्माण गर्न योगदान पु¥यायो। साथै, यसले दुवै पक्षलाई एक महँगो र खतरनाक हतियार प्रतिस्पर्धामा पनि फसायो; यस्तो प्रतिस्पर्धाको अन्तिम समाधानका लागि विशुद्ध सैन्य उपायभन्दा राजनीतिक उपायहरूको आवश्यकता थियो—जुन समाधानहरू पछिल्ला दशकहरूका सोभियत नेतृत्वले शान्तिपूर्ण सह–अस्तित्व र हतियार कटौतीसम्बन्धी नीतिहरूमार्फत खोज्ने प्रयास गरिएको थियो। यसरी, सन् १९४९ अगस्ट २९ को परीक्षण विश्व–स्तरको वर्गीय सङ्घर्षको इतिहासमा एक निर्णायक क्षणका रूपमा स्थापित भयोः यो त्यही दिन थियो जब समाजवादी राज्यले साम्राज्यवादलाई उसको सबैभन्दा शक्तिशाली धम्कीपूर्ण हतियारबाट वञ्चित ग¥यो र मानवताको भविष्य अब एउटा मात्र पुँजीवादी महाशक्तिद्वारा निर्देशित हुन सक्दैन भन्ने तथ्यलाई स्वीकार गर्न बाध्य बनायो। तेश्रो विश्व युद्ध नहुनुको पछाडिको मूल कारण सारतः यही नै हो ।
सोभियत संघको पहिलो आणविक बम र साम्राज्यवाद विरूद्धको विश्व संघर्ष
Comments

