मनु वि.क.
काठमाण्डौ । “सिर्जना र संवाद”कार्यक्रमको १८औं श्रृङ्खला अन्तर्गत ‘रगतले इतिहास लेख्नेहरू’शीर्षकको पुस्तकमाथि परिचर्चा कार्यक्रम २०८३ भदौ २० गते घट्टेकुलोस्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाकक्षमा भव्यताको साथ सम्पन्न भएको छ । साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता तथा कार्यक्रम ‘सिर्जना र संवाद’ कार्यक्रमको संयोजक गौरी देवकोटाको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । नारायण शर्मा ‘विपिन’ द्वारा सम्पादित पुस्तकमाथि परिचर्चा कार्यक्रममा परिचर्चाकारहरु प्रा.डा. हेमनाथ पौडेल वामपन्थी नेता लेखनाथ न्यौपाने र वन्दना ढकाल हुनुहुन्थ्यो । नेपालको राजनैतिक परिवर्तनको आन्दोलनमा चितवन जिल्लाको भूमिका सहित महत्वपूर्ण राजनैतिक संघर्षहरु, जनयुद्ध तथा शान्तिपूर्ण संघर्षको क्रममा मृत्युवरण गर्नु भएका शहिदहरुको जीवनी, संघर्षको इतिहास समेटिएको पुस्तकमाथि चर्चाकारहरुले चर्चा गर्दै सम्पादनकर्ता नारायण शर्मा ‘विपिन’लाई विशेष धन्यवाद दिनु भयो

र पुस्तकमाथि आ–आफ्नो धारणाहरु प्रस्तुत गर्नु भएको थियो ।प्रा.डा हेमनाथ पौडेलले नेपालको राजनैतिक परिवर्तनमा महत्वपूर्ण योगदान रहेका भूइँ तहका मानिसहरुको बारेमा जानकारी दिने खालको पुस्तक तयार पार्नु भएकोमा सम्पादनकर्तालाई विशेष धन्यवाद दिँदै भन्नुभयो – “जो सक्ने,पहुँच पुग्नेहरु थिए, उनीहरुको नाममा प्रतिष्ठानहरु बने तर जो तल्लो तहमा विसुद्ध परिवर्तनको सपना बोकेर लागेका थिए र शाहदत, घाइते, अपाङ्ग तथा वेपत्ता भएका थिए उनीहरुलाई बिर्सिदै गएको अवस्थामा यो पुस्तकले उनीहरुको पक्षमा निकै ठूलो काम गरेको”बताउनु भयो । चितवनमा राणा शासन विरुद्ध भएको किसान संघर्ष, जुगेडी संघर्षदेखि लिएर लैंगिक दृष्टिकोणबाट महिला र पुरुष दुवैको बारेमा पुस्तक लेखिएको प्रष्ट पार्नु भयो ।
उहाँले वैचारिक सैद्धान्तिक कुरातर्फ औंल्याउँदै तत्कालीन नेकपा माओवादीको जनयुद्ध जुन किसिमले अगाडि बढेको थियो त्यो किसिमले अगाडि नबढेर सम्झौतामा नेतृत्व पुगेको र हाल निकै चिरामा विभक्त भएको अवस्था आएको धारणा राख्नु भयो । जनयुद्धको तथा नेपाली कम्युनिष्ट आन्दोलनको सही मूल्याङकविना अगाडि बढ्न गाह्रो हुने बताउनु भयो । उहाँले वर्तमान देशको राजनीतिक अवस्थालाई देखाउँदै जनयुद्ध उद्देश्य प्राप्तिमा असफल भएकोले जनयुद्धको समेत गम्भीर समीक्षा आवश्यक रहेको औंल्याउनु भयो । आफु जनयुद्धमा संलग्न नभएको समेत प्रष्टीकरण दिँदै उहाँले जनयुद्धले गणतन्त्र, धर्मनिरक्षता, समावेशीता जस्ता परिवर्तनहरु ल्याउन ठुलो भूमिका खेलेको समेत उल्लेख गर्नु भयो।
परिचर्चाकार लेखनाथ न्यौपानेले जीन्दगीभरि क्रान्तिकारी बन्न निकै गाह्रो रहेको बताउनु भयो । उहाँले युद्ध भोग्नेहरुलाई मात्रै थाहा हुने र नभोग्नेहरुलाई युद्ध थाहा नहुने उल्लेख गर्नु भयो । यो पुस्तक पढेपछि त्यसबेलाको हिंसाको जजनी राज्य हो भन्ने पुष्टि हुने समेत धारणा राख्नु भयो । नयाँ अनुसन्धान कर्ताहरुलाई यो पुस्तक सन्दर्भ सामग्री बन्न सक्ने र नयाँ पुस्तालाई जनयुद्ध बारेमा बुझाउन सहज हुने समेत उहाँको धारणा रहेको थियो । पुस्तकमा कैयौं स्थानहरुमा अनुभव दोहोरिएको जस्तो आएकाले सम्पादनमा अलि मेहनत नपुगेको हो कि ? भन्ने आफुलाई लागेको बताउनु भयो ।
परिचर्चाकार बन्दना ढकालले अहिले शहिदलाई भेट्ने र शहिदहरुलाई सम्झन सम्म बिर्सिएको अवस्था रहेकोले यो पुस्तक आउनु निकै सह्रानीय काम भएको बताउनु भयो ।उहाँले अरु जिल्लाहरुको शहिद,वेपत्ता ,घाइते ,अपाङ्गता भएका व्यक्तिहरुको संघर्षको इतिहास पनि आउनु पर्ने विचार राख्नु भयो ।
सम्पादन कर्ता नारायण शर्मा ‘विपिन’ले आफुले ‘रगतले इतिहास लेख्नेहरु’ तयार पार्न धेरै वर्ष र मिहनत लगाएको स्मरण गर्दै यो पुस्तक तयार पार्न आफु पछाडि धेरैको साथ सहयोग रहेको उल्लेख गर्नु भयो । उहाँले जसको घरमा छोराछोरी अथवा नाताहरु शहिद भएका छन्, उनीहरुलाई खोज्दै जाँदा नै उनीहरुलाई भेटेपछि नै ‘रगतले इतिहास लेख्नेहरु ’शीर्षक चयन हुन पुगेको बताउनु भयो । उहाँले छोराछोरी जो जसको शहिद हुनुभएको थियो ,उहाँहरुले नै ‘छोराछोरीको रगतले इतिहास लेखेर गयो अहिले पो नेतृत्व खराब भयो ’भनेर आफुसँग कुरा गरेकोले नै यो किताबको शीर्षक बनेको बताउनु भयो । उहाँले शहिद, वेपत्ता तथा घाइते परिवारका आफन्तहरुलाई भेट्दा उहाँहरुको दुःख कष्ट देख्दा आफुलाई नै मानसिक रुपले दुःखित तुल्याउने अवस्था आएकोले निकै सम्हालिएर मात्रै यो पुस्तक तयार गर्न सकेको अनुभव सुनाउनु भयो । कार्यक्रमका अध्यक्ष हिरामणि दुःखीले पुस्तक सम्पादनमा आफु पनि जोडिएको,आफु जनयुद्ध शुरुको अवस्थादेखि नै जनयुद्धमा जोडिएको सुनाउनु भयो । पुस्तकमा समेटिएका विषयवस्तु अध्ययन गर्दै जाँदा पढ्नै नसकिएर रोकिनु पर्ने, सम्हालिन निकै गाह्रो हुने र फेरि सम्हालिएर सम्पादन गर्नु परेको अनुभव आफ्नो रहेको बताउनु भयो । उहाँले नेतृत्वले गद्दारी गरेको भन्दै अहिलेको यही अवस्था ल्याउन कै लागि शहिदहरुले वलिदान गरेको हो र ? भन्ने दिन आएको धारणा राख्नु भयो ।
कार्यक्रममा प्राडा जगदिश चन्द्र भण्डारी ,कमलराज देवकोटा, पूर्ण दवाडी, विकास वाग्ले, गोपाल मरहट्टा, विभूति भट्टराइ, डा. चतुर्भज केवरत लगायतले पुस्तकमाथिको परिचर्चामा सहभागिता जनाउनु भएको थियो ।

जनयुद्ध कालमा चितवन जिल्लाबाट भएका ९९ जना सहिद तथा वेपत्ता योद्धाहरुको इतिहास समेटिएको प्रस्तुत पुस्तकमा ५१ जना लेखकहरुको रचना रहेको छ । जसमा सम्पादक एक्लैको २२ वटा रचना रहेका छन् । पुस्तकमा जम्मा ९५ वटा रचना समेटिएको छ । दिगदर्शन प्रकाशन काठमाण्डौले प्रकाशन गरेको यो पुस्तक ,४४० पृष्ठको रहेको छ ।यसको मूल्य नेरु ः ७५० रहेको छ ।

