मुलुकमा सामाजिक संजालहरु खुला हुनु पर्ने , भ्रष्ट्राचार नियन्त्रण हुनुपर्ने , सुशासन स्थापना हुनुपर्ने माग राखेर युवाहरुले २०८२ साल भाद्र २३ गते आन्दोलन गरेका थिए । आन्दोलनमा २३ गते युवाहरुको जुलुश नयाँ वानेश्वरस्थित संसद भवन नजिक जाँदा अन्धाधुन्ध गोली वर्षिएर तत्कालै १९ जना विद्यार्थीहरुको ज्यान गएको थियो । त्यसपछि शुरु भएको हिंसात्मक प्रदर्शन देशव्यापी रुपमा हुन पुग्यो । जेनजी आन्दोलनको नाममा भाद्र २३ र २४ गते देशभर ७६ जनाको ज्यान गयो भने सयौंको संख्यामा घाइते हुन पुगे ।
भाद्र २४ गते काठमाडौंस्थित सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, महान्यायधिवक्ताको कार्यालय, पार्टी नेताहरुको निजी निवास, होटेलहरु तोडफोड गर्ने र जलाउने काम भयो । नेताहरुमाथि आक्रमण भयो । देशको शासनको बागडोर आफ्नो हातमा लिएर बसेका राजनीतिक पार्टीहरु सत्ताबाट बहिर्गमन भइ भाद्र २७ गते सुशीला कार्की नेतृत्वको मन्त्रीमण्डल गठन हुुन पुगेको थियो । त्यो मन्त्रीमण्डलले जेनजी ‘विद्रोह’ को सत्थ तथ्य छानविन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा छानविन आयोग गठन गरेको थियो । सुशीला कार्की नेतृत्वको सरकारले २०८२ साल फागुन २१ को लागि संसदीय निर्वाचनको घोषणा गरेको थियो ।
संसदीय निर्वाचनको घोषणा पछि अहिले जेनजीे ‘विद्रोह’ को जगमा संसदीय निर्वाचनमा रास्वपाले अत्यधिक बहुमत प्राप्त गरी २०८२ चैत्र १३ गते वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । यो सरकारले सय बुँदे प्रशासन सुधार कार्ययोजना सार्वजनिक ग¥यो । भ्रष्टाचारको अन्त्य गर्ने लगायतका बाचाहरु ग¥यो । सरकार प्रविधि मैत्री रहेको र प्रविधिअनुकूल शासन सत्ता संचालन गर्ने कुरा गरेको छ । तर त्यसको प्रभावकारीता कही कतै पनि देखिएको छैन ।जेनजी आन्दोलनको सत्यतथ्य छानविन गर्न गठन भएको गौरीबहादुर नेतृत्वको छानविन समितिले २०८२ साल माघमा प्रतिवेदन बुझाए पनि सरकारले आजको मितिसम्म आधिकारिक रुपमा सार्वजनिक गर्न सकेको छैन । राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन ,प्रहरीले सरकारलाई बुझाएको जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदनमा के छ ? जेनजी आन्दोलनको वास्तविक दोषी को थियो ? को कहाँबाट घुसपैठ भएको थियो ? कसको संलग्नतामा देशको खर्बौंको सम्पत्ति तहसनहस पारेको थियो ? सार्वजविक साधन स्रोत राज्यको सम्पत्तिहरुमाथि कसले आन्दोलनको नाममा खरानी बनाएको थियो? तिनीहरुलाई कही कतैबाट कारबाही हुने हो वा होइन ? भन्ने जनतामा छ । जनताले त्यो दिनमा गोली कहाँबाट चलेको थियो भन्ने सम्म पनि थाहा पाउन सकेका छैनन् । त्यो बेला सरकारको नेतृत्वगरेका केपी ओलीले सरकारले गोली चलाउने आदेश नदिएको भन्द आएका छन् । अर्को दिन , लुटपाट तथा आगजनीमा संलग्न हुँदा थप मानिसहरुको ज्यान गएको थियो ।त्यो घटनाबारेमा वास्तविक रुपमा दोषी को हो ? र कसको नेतृत्वमा त्यो आन्दोलन भएको थियो भन्ने जस्ता प्रश्नहरु जनतामा व्यापक छन् ।त्यत्रो विध्वंश भएको तथा त्यति धेरै मान्छेको जिउ ज्यान लिएको जेनजी आन्दोलन भनिएको आन्दोलनको कोही कसैले पनि जिम्मेवारी नलिनु र त्यसको जवाफदेहीता नदेखाउनाले देशमा नदेखिने पारामा भित्र भित्रै केके हुने हो कि भन्ने चिन्ता बढिरहेको छ ।जो वास्तविक रुपमा देशप्रेमी रहेका छन् उनीहरुलाई देशको चिन्ताले सताइरहेको छ । भदौ २३ र २४ को जस्तो घटना नदोहोरिएला भनेर विश्वास गर्न सक्ने अवस्था छेन ।
जेनजी विद्यार्थीहरुलाई आन्देलनमा ल्याउने बेलामा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासनको लागि संघर्ष गर्ने भन्दै आनदोलनमा आउन अनुरोध गरिएको थियो । देशको झण्डा ओढेर आएका कलिला विद्यार्थीहरुमाथि गोली वर्षाएर सत्तामा पुगेकाहरु नै जेनजी विद्रोहका असली नाइके हुन भन्ने हो भने उनीहरुले त्यसको नाममा भएका लुटपाट, आगजनी, तोडफोड तथा प्रहरीमाथि भएको बर्बरताको जिम्मा लिन तम्सिएका छैनन् । होइनन् भन्ने हो भने परिवर्तित सत्तामा उनीहरु नै छन् । यसले जनतालाई जेनजीको नाममा भएको विद्रोह कसको नेतृत्वमा र को द्वारा संचालित थियो भन्ने स्पष्टता अझैसम्म पनि हुन सकेको छैन ।जेनजी ‘विद्रोह’ बाट जनताले के पाए ? घाइते अपाङ्गहरुले सोचेको जस्तो सत्ताबाट भएको छ कि छैन ? भन्ने प्रश्न अहिले उठिरहेको छ । सरकार परिवर्तन भए पनि जनताका समस्याहरु ज्यूँका त्यू रहेका छन् । शासनको वागडोर नयाँ भन्नेहरुको हातमा गए पनि मुलुकमा असली परिवर्तनको महसुस जनताले गर्न पाएका छैनन् । घाइते, अपाङग तथा शहीदहरुले सोचेको जस्तो हुन सकेको छैन । मुलुकमा वास्तविक सुशासन आउन सकेको छैन । जेनजी आन्दोलनको प्रतिवेदन समेत जनताले थाहा पाउन सकेका छैनन् । जेनजी ‘विद्रोह’ को १ वर्षमा शासन सत्तामा अनुहार फेरिएको छ तर सत्ताको प्रवृति उही रहेको छ । जनताले सोचेको जस्तो हुन सकेको छैन ।
जेनजी ‘विद्रोह’ को एक वर्ष ःअनुहार फेरियो प्रवृति उही
Comments

