मधु क्षेत्रीजीसितको अन्तिम भेट

रामबहादुर बुढा । मधुजी बिमार हुनुहुन्छ, उहाँलाई क्यान्सरले गाल्दै लगेको कुरा सामाजिक सञ्जालबाट थाहा थियो। घातक रोग क्यान्सरसँग १८ महिनादेखि निरन्तर संघर्ष गरिरहनुभएको थियो।उहाँलाई भेट्न जाऊ भन्ने पनि हामीलाई लागिरहेकै थियो । २०८३ भाद्र २२ गते हामी ३ गङ्गा पौडेल, मनु वि.क. र म बिहान ११ बजे टिचिङ अस्पताल महाराजगञ्ज मधु क्षेत्रीलाई भेट गर्न पुग्यौ । टिचिङ अस्पतालको सुरेश वाग्ले भवनको तेस्रो नम्बर तलामा हामी पुग्नुभन्दा पहिलै टेकहरी न्यौपाने पहिलै मधु क्षेत्रीको कोठामा पुगिसक्नुभएको थियो। यताउति हेर्यौँ देखिदैन त ! बिरामी वार्डबाट बाहिर निस्कँदै टेकहरीजीले भन्नुभयो – कामरेडहरू यता हो यता । यता आउनुस्। हामीले ख्याल मात्रै गर्न नसकेका रहेछौं आखिर सुरेश वाग्ले भवनको तेस्रो नम्बर तलाको रिसेप्सन नजिकै बिमारीहरूको लिस्टमा लेखिएको रहेछ – कोठा नम्बर १७ बेड नं.४ ए , बिमारीको नाम मधुकुमार क्षेत्री।

हामीसँग भेटिएपछि मधुजी भावुक हुनुभयो । गङ्गा पौडेलजी लामो समय भारतमा एकता समाजको महासचिव सम्म भएर काम गरेको व्यक्ति हुनुहुन्छ । विगतलाई सम्झदै उहाँहरुले अन्तरङ्ग कुरा गर्नुभयो। ए साँच्चै हिजोको १२ मई नाटक कस्तो भयो हँ ? उत्सुक हुँदै मधु क्षेत्रीले गंगालाई प्रश्न गर्नु भयो । गङ्गाले भन्नुभयो ,“म पनि कार्यक्रममा गएको थिएँ। कार्यक्रम राम्रै भयो। प्रज्ञा भवनको ठूलो हलमा मानिसहरूको उपस्थिति राम्रै थियो। कलाकारहरूले पनि ठिकै प्रस्तुति गरे तर कानपुरमा तपाईहरुले प्रस्तुत गरेको जस्तो जीवन्त मलाई लागेन किनभने पञ्चायती निर्वाचन बहिष्कार देखेका, भोगेका, आन्दोलन गरेका व्यक्तिहरूद्वारा नै कानपुरमा एकता समाजको तेस्रो सम्मेलनको बेला नाटक देखाइएको थियो र त्यो धेरै उत्कृष्ट थियो । तर ती आन्दोलनसँग नजोडिएका र व्यावसायिक कलाकारहरु भएकाले तपाईहरुको जस्तो जीवन्त थिएन । ” मोहन विक्रम सिंहले लेख्नुभएको १२ मई नाटकलाई भारतमा कानपुरमा प्रदर्शन गर्ने क्रममा त्यसको एउटा पात्र स्वयं मधु क्षेत्री पनि हुनुहुन्थ्यो। त्यही भएर यसपटकको नाटक कस्तो भयो भन्ने धेरै खुल्दुली लाग्नु स्वभाविकै हो।

टेक हरिजी अस्पतालमा आउँदा बित्तिकै मधुजीकी श्रीमती केही सामान लिनका लागि कपन जानुभएको रहेछ । म्याडम कपनबाट नफर्कदासम्म हामी बसौं भन्ने ठान्यौ र विभिन्न विषयहरुमा विगतलाई सम्झदै धेरै कुराकानीहरु भए। बागबजारबाट छिटो आउनुपर्यो भनेर चिन्तामणि पौडेलजीले फोन गरेपछि उहाँहरु गंगाजी र टेकहरी जी बिदा हुनुभयो । मनु र म कमसेकम म्याडम आउन्जेलसम्म पर्खौं भनेर झन्डै थप डेढ घण्टा बस्यौं ।

संगठन र सङ्घर्षका कामका सिलसिलामा मधु क्षेत्रीसँग समय विताएका अनुभव छन् । तर उहाँको व्यक्तिगत जीवनको बारेमा हल्काफुल्का जानकारी त थियो नै तैपनि त्यो बसाइमा उहाँकै बारेमा मलाई थप जानकारी राख्न मन लाग्यो त्यही भएर मैले उहाँका जीवनका उकाली – ओराली,जीवनका फरक फरक पाटा पक्षहरूको बारेमा उहाँ बोल्दै जानुभयो –

“ मेरो जन्म २०१२ साल कार्तिक १० गते भएको हो । बुवाको नाम ज्योतिबहादुर क्षेत्री हो। आमाको नाम सम्झिन सकेन। म तीन वर्षको छँदै आमाले हामीलाई छोडेर जानुभएको हो। पछि बुवाले अर्को आमा विवाह गर्नुभयो।

जेठो मधु क्षेत्री म नै भइहाले। कान्छो रविन्द्र बहादुर क्षेत्री हो। दिदीबहिनी छैनन्।

मेरी अर्की आमा मेरो ठूलो छोरासित बुटवलमा बस्नुहुन्छ।

भारतको कलकत्तामा चौरङ्गी भन्ने ठाउँमा हाउजिङ थियो । बिल्डिङ नम्बर ३४ मा मेरो बुवा बस्नुहुन्थ्यो। त्यही हाउजिङको बिल्डिङ नम्बर ४१ मा नेपाली कांग्रेसका नेता सुवर्ण शमशेरको घर थियो। उनको आफ्नै घर थियो उनले त्यो किनेका थिए। त्यहाँ मिस्करिज डे स्कुल थियो, प्राइभेट स्कुल । मैले त्यही ठाउँबाट आफ्नो अध्ययन कार्यको प्रारम्भ गरेको थिएँ। मैले कलकत्ताकै वंशबासी कलेजबाट वि.कम. पूरा गरेको हुँ। ”

“मैले अगाडि नै भनिसके कि कलकत्ताको चौरङ्गीमा हाम्रो छिमेकी घर नेपाली कांग्रेसको सुवर्ण शमशेर जबराको घर थियो। उनी अथाह सम्पत्तिवाला मान्छे हुन् । त्यहाँ विभिन्न कांग्रेसी नेता, कार्यकर्ताहरूको आवतजावत भइरहन्थ्यो। एक प्रकारको राजनीतिक वातावरण त्यहाँ थियो। मेरो बुवा पनि नेकपाका महासचिव पुष्पलालको प्रभावमा पर्नुभएको कम्युनिस्ट राजनीतिबाट प्रभावित र व्यक्ति हुनुहुन्थ्यो त्यसले गर्दा मलाई सानैमा राजनीतिक प्रभाव थियो भन्ने लाग्छ ।

मैले कलेज जागिर गर्दै पढ्दै गरेको हुँ । नेपालको बुटवल आएर फ्याक्ट्रीमा सेल्स मेनको काम गरें । एक वर्ष क्यासियरको रुपमा र सेल सर्भिसेसको रुपमा पनि मैले काम गरे त्यहाँ जागिर गर्दागर्दै मैले कलकत्तामा परीक्षा दिन जाने गर्दथे।

मैले केही सामाजिक काम पनि गरे। २०३५ –३६ सालको विद्यार्थी आन्दोलनपछि अर्घाखाँची आफ्नै गाउँ अर्घा गएँ । अर्घा गाविस वडा नम्बर ४ पर्दथ्यो। अहिले सन्धिखर्क नगरपालिका वडा नम्बर १० पर्दछ । म गाउँमा गएर सामाजिक काममा जोडिएँ । अर्घा खानेपानी योजनाका संस्थापक सचिव हुँ म। अर्घा खानेपानी योजना अहिले पनि चालु नै छ । ”

यति कुरा गर्दागर्दै कीर्तिपुर रगत लिन जान हतार भयो भन्दै मदन खड्का आइपुग्नुभयो।मधुजीका लागि रगतको खोजीमा दौडधुपमा छु। अहिले नै कीर्तिपुर गएर रगत लिएर आउनुपर्ने भएको छ भनेर उहाँ रगत लिनका निम्ति हिँडिहाल्नु भयो ।

त्यस समय त्यस कोठामा जम्मा दुईजना बिमारीहरू मात्रै छन्। एकजना धादिङका बिमारी पल्लो बेडमा छन् र बीचबीचमा नर्सहरू आउँछन् उहाँको बारेमा ख्याल गर्दछन् । त्यस बाहेक हामी हाम्रा कुराकानी गर्दै रहन्छौं ।

बेडमा पल्टिएर उहाँले हामीलाई सुनाउँदै जानुहुन्छ – “म ०३७ सालको अन्त्यतिर म दिल्लीतिर गएँ। दिल्लीको फरीदाबाद गएँ। त्यहाँ मैले झण्डै २७ वर्ष जागिर गरेें ।

दिल्लीको फरिदाबादमा त्यहाँ भलिबल खेलिरहेका नेपालीहरूको हुल देखें । हरेक आइतबारका दिन सार्वजनिक चौरमा जम्मा भएर नेपालीहरू भलिबल खेल्थे । नेपालीहरूको हुल देखेपछि मलाई पनि नेपालीहरुको नजिक हुन मन लाग्यो । भलिबल खेलेको हेर्न मलाई पनि मन लाग्यो ।त्यहाँ नेपालीहरूको विभिन्न संगठन पनि रहेछन् । त्यसका सदस्यहरूले हाम्रो संगठनमा लागौं भनेर मलाई आफ्नो संगठनतिर आबद्ध गर्न प्रयास गरे। आखिरमा म लिलानाथ कुसुमको कुरासित कन्भिन्स भए र अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएँ ।

संगठनमा काम गर्दा का निकै नै बिर्सनु नसकिने घटनाहरू पनि छन्। ३८ सालको प्रारम्भतिरको कुरा हो, फरिदाबादमा नारायण इन्डस्ट्रियल फ्याक्ट्री एरिया थियो । गुल्मीका तारादेवीका बुढाबुढीहरूले त्यही फ्याक्ट्रीमा काम गर्थे । तारादेवीका बुढालाई बाहिर पठाएर तारादेवीलाई नारायण इन्डस्ट्रियल फ्याक्ट्रीका मालिकले बलात्कार गरेर हत्या गरिदियो । निकै नै दुःखद र गम्भीर घटना थियो। त्यो अपराधका विरुद्धमा ठूलो संघर्ष गर्यौ । नारायण इन्डस्ट्रियल फ्याक्ट्री बन्द भयो। मालिकको फ्याक्ट्री बन्द भयो। २०३८ को अन्त्यतिर मैले कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको हुँ। म फरीदाबादको एकता समाजमा सभापति पनि बने ,सचिव पनि बने ,सन्दु इलेक्ट्रिकल इन्जिनियरिङ भन्ने कम्पनी थियो । त्यसको एकाउन्टेन्ट भएर लामो समयसम्म त्यस फ्याक्ट्रीमा काम गरें । मलाई त्यस फ्याक्ट्रीका मालिकले विश्वास गर्दथे । मालिक सरदार थिए । समय मिलाएर मैले संगठनमा काम गरि नै रहन्थे। मेरो बारेमा मालिकलाई पनि थाहा थियो। मालिकले मलाई भन्थे ‘ मैं जान्ता हुँ तुम पोलिटिसियन है’ । झन्डै २६ वर्ष मैले त्यही कम्पनीमा काम गरे र एकता समाजको केन्द्रीय कमिटीमा सल्लाहकारसम्म भई काम गरें । ”

बीचबीचमा नर्सहरू आउँथे र उहाँको चेक जाँच गरेर जान्थे ।

मधुजीले आफ्नो कुरा सुनाउँदै जानु भयो –

“अखिल भारत नेपाली एकता समाजको पश्चिम उत्तर क्षेत्रीय समितिको उपसचिव भएर पनि काम गरे। सेक्रेटरी भएर पनि काम गरे । ”

सांस्कृतिक क्षेत्रप्रति रुचि राख्ने मात्र होइन। त्यो क्षेत्रमा क्रियाशील नै भएको व्यक्ति पनि हो। एउटा राम्रो अभिनयकर्ता हो। विभिन्न क्यारेक्टरमा अभिनय गर्न उहाँलाई सुहाउने गर्थ्यो। सांस्कृतिक मोर्चाको बारे बोल्दै उहाँले भन्नुभयो ,“ २०४० सालदेखि नै सांस्कृतिक मोर्चासँग जोडिएको हुँ। फरिदाबादमा जनज्योति सांस्कृतिक परिवार थियो। म त्यसको अध्यक्ष पनि भए। टोलीलाई लिएर एकता समाजका कार्यक्रमहरूमा हामी जाने गर्दथ्यौं । दिल्लीमा मजदुर सांस्कृतिक परिवार थियो। फरिदाबादमा कलाकार साथीहरूमा स्याङ्जाका इन्द्रबहादुर थापा ज्योति सांस्कृतिक परिवारको अध्यक्ष हुनुहुन्थ्यो। स्याङ्जाकै मानबहादुर राना उपाध्यक्ष हुनुहुन्थ्यो। पर्वतको गङ्गा केसी , प्युठानको रामकुमार केसी यी हाम्रा सांस्कृतिक परिवारका सहयात्री हुनुहुन्थ्यो । गुल्मीको धर्म खनाल पनि पुरानो कलाकार हुनुहुन्थ्यो। सांस्कृतिक अभियान भारतमा पनि चलाइएको थियो। ध्रुव ज्ञवाली र मणि थापाहरू विभिन्न शिविरहरुमा जानु हुन्थ्यो । पानीपतमा एउटा शिविरमा प्रशिक्षकको रुपमा राजेश बिक र भोजेन्द्र बिक्रम सिंहहरू पनि जानुभएको थियो । ”

मधु क्षेत्रीले सांस्कृतिक कार्यक्रमको लगावबारे, आफ्नो विगतलाई कोट्याउँदै भन्नुभयो,“ सानैदेखि नै मलाई सांस्कृतिक कार्यक्रम, नाटक आदिप्रति रुचि थियो। म कलकत्तामा पढ्ने बेलामा ‘अन्ध वेग’ र ‘५० रुपैयाँको तमसुक’ नाटकमा म खेलेको थिएँ। कलकत्तामा नेपाली संस्था ‘नेपाली जनकल्याण समिति’ भन्ने थियो । दुर्गा पूजाका दिन नेपालीहरू जम्मा गरेर सांस्कृतिक कार्यक्रम गर्ने आदि गरिन्थ्यो।‘५० रुपैयाँको तमसुक’जस्तो प्रगतिशील नाटक त्यहाँ देखाउनु भनेको पक्कै पनि राजनीतिक रुपले सचेत मान्छेहरु त्यहाँ थिए। र कम्युनिस्ट राजनीतिबाट प्रभावित मान्छेहरु त्यहाँ थिए भन्ने कुरा बुझिन्छ । कलकत्तामा देखाइएका नाटकहरूको डाइरेक्टर रामेछापका डिआर थापा थिए।”

भारतमा प्रदर्शन गरिएको मोहनविक्रम सिंह लिखित ‘१२ मई’ नाटकमा उहाँ खेल्नुभएको थियो । युवक मोर्चाको कार्यक्रममा देखाइएको त्यस नाटकमा उहाँ खेल्नुभएको थियो। वामपन्थी युवक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनमा फागुन २४ भन्ने नाटक देखाइएको थियो। त्यसमा पनि उहाँले भूमिकामा रहनुभएको थियो । फागुन २४ नाटकलाई पछि नेपालमा चलचित्र बनाइयो र त्यो चलचित्रमा पनि उहाँले राम्रै भूमिका प्रदर्शन गर्नु भयो । २०४६को जनआन्दोलन सम्पन्न भएपछि सांस्कृतिक कार्यक्रमका सिलसिलामा बाँके, सुर्खेत, दाङ,रूपन्देही, गुल्मी,अर्घाखाँची, पाल्पा, कपिलवस्तु, लगायतका ठाउँहरूमा सांस्कृतिक टोलीसँगै उहाँ पुग्नुभएको थियो।

सांस्कृतिक कार्यक्रमको कुरा गर्दा अर्को पनि एउटा स्मरणीय घटना छ। भन्नुभयो ,“ रुडकी विश्वविद्यालय युपीमा हामीलाई अखिल भारतीय नेपाली विद्यार्थी सङ्घको कार्यक्रममा साँस्कृतिक कार्यक्रम देखाउन भनेर बोलाइएको थियो। रुडकी विश्वविद्यालय भारतको हरिद्वार र देहरादुनको बीचमा पर्छ । अखिल भारत नेपाली विद्यार्थी संघको सम्मेलन चित्रबहादुर केसीले उद्घाटन गर्ने भनिएको थियो। बाबुराम भट्टराईले के झेल्ली गरेर त्यो सम्मेलन केसीलाई उद्घाटन नगरी नेपाली राजदूतलाई बोलाएर उनलाई उद्घाटन गर्न दिइएछ। हामी कलाकार पानीपतबाट रातारात रुडकी पुग्यौ तर केसीलाई उद्घाटन गर्न नदिने भन्ने कुरा भएपछि त्यहाँ नबसिकन हामी देहरादुनतिर लागियो। कार्यक्रम नहुने भएपछि किन यहाँ बसिरहनु पर्यो , जाऊँ हिडओ देहरादुन तिर लागौं भनेर मामा गोबिन्द सिंहले भन्नुभयो र नेपालीहरुका बीचमा धेरै राम्रो कार्यक्रम भयो। ”

२०४३ सालको राष्ट्रिय पञ्चायतको चुनाव बहिष्कारको सिलसिलामा दिल्लीमा भएको प्रदर्शनका बेला उहाँ नेपालतिर बहिष्कार कार्यक्रममा आउनुभएको थियो। त्यसबारे भन्नुहुन्छ , “१९८६, १२ मईको आन्दोलनमा दिल्लीमा साथीलाहरुले धेरै कुटाई खाए । त्यसमा सरोज शर्माजी पनि हो एउटा। हरिलाल शर्माकी श्रीमती मालती शर्माले पनि धेरै कुटाई खानुभयो । बहिष्कार कार्यक्रम चलाउनुपर्छ भनेर अर्घाखाँची जिल्लाका लागि बहिष्कार कार्यक्रमका लागि डिलाराम आचार्य, दयाराम न्यौपाने, बमबहादुर राना , म मधु क्षेत्री, गोविन्द केसी अर्घाखाँचीमा बहिष्कारका लागि खटिएर भारतबाट आएका थियौं। हामीलाई वारेन्ट जारी भयो । म अर्घाखाँचीबाट भागेर रिडीको बाटो भएर भागेर सिधै गोरखपुर गएँ । गोरखपुर जाँदा बाबुराम भट्टराईले खाना पकाइरहेका थिए मोहनजीले लेखिरहनु भएको थियो । गोरखपुरबाट बाबुराम भट्टराई र म फेरि ट्रेनबाट तत्कालै दिल्लीतिर लाग्यैं । घटना घटेको थियो। ”

कम्युनिस्ट पार्टीमा अनबद्धताको कुरा गर्दा उहाँ भारतमा एरिया संगठन कमिटीमा पनि काम गर्नुभएको थियो।बाँकेको तिलक परियार, तनहुको विष्णु ढकाल प्रारम्भिक चरणमा एरिया कमिटीका साथीहरू थिए । २०४२ मा पार्टी विभाजन भएपछि तिलक परियार र विष्णु मोटो मशाल तिर लागे । मधु मसालमै रहनु भयो ।

२०४७ पछिको आफ्नो जीवन कहानी सुनाउँदै मधुले भन्नुहुन्छ, “२०४७ –४८ सालमा कार्यक्रममा पनि हिँड्ने र बुटवलमा तरकारी पसल पनि गर्ने काम गरे , १९९२ मा पुनः भारततिर गएको मान्छे म २००९ मा मात्रै जागिर छोडेर पार्टीको होलटाइमर बनेर पुनः नेपाल फर्किए। २०६७ सालमा केही समय डिलारामसँग लागेर पार्टीबाट बाहिर भएँ तर मैले फेरि चाहिँ नि आफैलाई मूल्यांकन गरेर फेरि ६९ मा पार्टीमा फर्किएँ । साथीहरुले मलाई विश्वास गरेर युग ज्योति प्रकाशनको जिम्मा दिनु भयो । साथीहरूले मलाई विश्वास गरेर राष्ट्रिय जनमोर्चाको केन्द्रीय कोषाध्यक्षको जिम्मा पनि लगाउनुभयो त्यो काम पनि मैले गरे।”

मैले मधु क्षेत्रीको नाम त धेरै पहिले नै सुनेको हो। २०६३ सालमा नेकपा मसालको सातौं महाधिवेशनमा उहाँलाई देखेको भेटेको जस्तो लाग्छ। तर २००९ मा उहाँ नेपाल फर्किसकेपछि अलि बढी संगत गर्ने अवसर हामीलाई पनि प्राप्त भयो। युग ज्योतिमा उहाँले काम गर्दा अलि बढी व्यवहार गरियो । उहाँलाई हिन्दी अंग्रेजी भाषामा बुझ्न र बोल्न ठिकै आउँथ्यो। एकपटक भक्तपुरको पार्टी स्कूलमा भाकपामाले रेडस्टारका विद्यार्थीहरूसँग गरिएको छलफल कार्यक्रममा उहाँ र मैले सहजीकरण गरेको मलाई सम्झना छ । उहाँलाई कलाकार बन्नका लागि जिउडालले पनि साथ दिएको थियो। बोलीले पनि साथ दिएको थियो । शोषक फटाहाको रोलमा उहाँलाई जच्ने गर्दथ्यो। साथीहरूले नाटक वा फिल्ममा मधु क्षेत्रीलाई अमरेशपुरीको जस्तो भूमिका दिए पनि मैले उहाँलाई हाँसो ठट्टामा पटकपटक जे के सराफभन्ने गर्थे।

कुरा गर्दागर्दै मधुजीको म्याडम कपनबाट आइपुग्नुभयो। हामी फेरि भेट्नेछौं , हामी फेरि कुरा गर्नेछौँ भन्दै हामी छुट्टियौं। तर असोज १४ गते कहिलै नभेट्ने गरी र फेरि कहिले कुरा नगर्ने गरी छुट्टिनुभयो । हार्दिक श्रद्धाञ्जली मधुजी !

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित