
क. एकदेव आले
-पुष्पलाल
“डाक्टर साहेब । मलाई अस्पतालमा मर्नु नपरोस्, म आफ्नै देशको माटोमा लड्दै मर्न चाहन्छु ।” यो वाक्य क. एकदेव आलेको अन्तिम वाक्य हो । क्यान्सरको रोगले पीडित भै दरभंगा मेडिकल कलेजको अस्पतालमा भर्ना भएको बखतमा उहाँले यो वाक्य बारम्बार भन्नुहुन्थ्यो । यस्तो अवस्थामा पनि आफ्नो परिवार, घर,गाउँतथा इलाकामा मर्ने इच्छा व्यक्त नगरी देशको माटोमा लड्दै मर्ने जुन इच्छा उहाँले व्यक्त गर्नुभयो। त्यसले सामन्ती व्यवस्थाप्रति उहाँको हृदयमा कस्तो घृणा रहेछ भन्ने कुरा झल्काउँछ । वास्तवमा भन्ने हो भने कमरेड एकदेव आलेको यो अन्तिम वाक्यलाई पार्टीका समस्त सदस्य तथा समस्त देशभक्त क्रान्तिकारीहरुले उहाँको अन्तिम सन्देशको रुपमा लिनुपर्दछ ।
कमरेड एकदेव आलेको जीवन क्रान्तिकारी जीवन मात्र नभै समस्त क्रान्तिकारीहरुले निम्ति अनुकरणीय जीवन छ। उहाँ सिद्धान्त र व्यवहार दुवै पक्षमा पक्का क्रान्तिकारी कम्युनिस्ट हुनुहुन्थ्यो । नेपालको राजनीतिक जीवनमा प्रवेश गरेदेखि आफ्नो अन्तिम दिनसम्म चाहे प्रजातान्त्रिक आन्दोलनमा होस्, चाहे कम्युनिस्ट आन्दोलनमा, उहाँ हमेसा नै सही वामपन्थी पक्षमा रहनुभयो । व्यवहारिक क्षेत्रमा उहाँ हमेसा नै “पीर, बबरची, भिस्ती, खर” को रुपमा देखिनुभयो । उहाँको सम्पर्कमा आएका प्रत्येक व्यक्तिले उहाँबाट केवल क्रान्तिकारी भावना मात्र नलिई श्रमप्रति सम्मान गर्न बानी सिकेका छन् । त्यसकोकारण हो, कमरेड आले खसम्पूर्ण दैनिक कार्यमा आफै अग्रसर हुनुहुन्थ्यो ।
क्रान्तिकारी गुणले युक्त भएका कमरेड एकदेव आले नेपालको कुनै सुविधा सम्पन्न परिवारको हुनुहुन्नथ्यो । कमरेड आले नेपालको एक पछौठटे मगर जाति र गरिब किसान वर्गको हुनुहुन्थ्यो । उहाँमा क्रान्तिकारी गुण हुनुमा यो वर्गीय स्रोत एक प्रमुख कारण थियो । उहाँको जन्मथलो बीच नेपालको तनहुँ जिल्ला अन्तर्गत मानौं गाउँ हो । नेपालका गरिब किसानका छोराछोरीले जस्तै उहाँले पनि हली र गोठालाको काम गर्नुभएको थियो । वन जंगलको माँझ र सेती तथा मादी नदीको बीचमा उहाँको गाउँ पर्ने हुँदा बालककालदेखि नै शिकार खेल्न, जाल हान्न र पौडी खेल्न उहाँ पोख्त हुनुहुन्थ्यो । त्यस ठाउँका बुढापाका मानिसहरुले आज पनि भन्छन् “आले आप्mना दौतरीको गोठालो थियो ” अर्थात् नेता थियो।
किशोर अवस्थामा नपुग्दै क. आलेको यो जीवनचक्र टुट्यो। आफ्नो घरबाट मात्र होइन, देशबाटपनि टाढा विदेशमा जान प¥यो । सामन्ती साहुकारहरुको शोषणले गर्दा बाँच्न मुस्किल पर्नेहरुको जीवनचक्र चलाउने अभिभारा सामन्ती राणा शाहीले अंग्रेजी साम्राज्यवादलाई दिएका थिए । नेपालमा दास प्रथा खतम गरी छोराछोरी बेच्ने अधिकारबाट आमा बाबुलाई बञ्चित गरे तापनि नेपालको राजाका हातमा आफ्नो रैती बेच्ने अधिकार कायमै थियो र अहिले पनि छ । यसै व्यवस्था अन्तर्गत किशोर आले गल्लावाला हस्ते अंग्रेजी साम्राज्यवादको गोर्खा पल्टनमा आप्mनो परिवारको पेटको निम्ति भर्ना हुन बाध्य हुनुभयो ।
यो द्वितीय विश्वयुद्धको बखत थियो । जर्मनी, जापान र इटलीका फासिष्ट शक्तिले सारा संसारलाई निल्न कोसिस गरिरहेको बेला थियो । यस फासिष्ट शक्तिलाई परास्त गर्नको निम्ति समाजवादी राष्ट्र रुस लगायत अंग्रेज, अमेरिका, आदिका देशका सरकारहरु पनि एकजुट भएका थिए । यस्तो स्थितिमा क. आले गोर्खा पल्टनको सैनिकको रुपमा जर्मन, इटली, जापान आदि देशमा गई फासिष्ट शक्तिसँग मुकाबिला गर्नुभयो । अनजान र अचेतन रुपमा नै किन नहोस् क. आलेले पनि फासिष्ट शक्तिलाई परास्त गर्नमा योगदान गर्नुभयो।
द्वितीय विश्वयुद्ध समाप्त भएपछि काम हुँदा भाँडो काम सिद्धिएपछि ठाँडो भनेझैं हजारौं गोर्खाली पल्टनलाई अंग्रेजी साम्राज्यवादले वीर गोर्खाली हो “जरुरत पर्दा फेरि बोलाउँला भनी सेवामुक्त गरिदिए ।” तिनै सेवामुक्त मध्ये क.आले पनि एक हुनुहुन्थ्यो । त्यसपछि उहाँ आफ्ना गाउँमा फर्कि आउनुभयो । घरफर्केपछि घर धन्दा प्रतिभन्दा अन्य विकसित देशहरुसँग आफ्नो देशको पछौटेपनको तुलनामाउहाँको मन बढी जान थाल्यो । अब उहाँले मानिस भाग्यको भरमा होइन, कर्मको बलमा नै उभिनुपर्छ भन्ने विचारधाराको प्रचार गर्नुभयो । यसै उभिनुपर्छ भन्ने विचारधाराको प्रचार गर्नुभयो । यसै बखतमा वीर शहिद गंगालाल तथा दशरथ चन्दको नाम क. आलेले सुन्नभयो । राणा शाहीको विरुद्ध लड्ने भावना उहाँमा जागेर आयो ।
२००७सालमा राणाशाहीका विरुद्ध नेपालमा सशस्त्र क्रान्तिको विगुल बज्यो । क. आले यस संघर्षमा किन पछि पर्नु हुन्थ्यो र? उहाँले आफ्नो इलाकामा मुक्तिसेनाको गठन गर्नुभयो । त्यसको नेतृत्व गर्ने सौभाग्य पनि उहाँलाई नै प्राप्त भयो। उहाँले आफ्नो जिल्लाको बन्दीपुर व्यारेक कब्जा गरी क्रान्तिकारी सरकार गठन गर्नुभयो । क्रान्तिकारी सरकार गठनको साथै सामन्ती शोषण तथा बन्धनको विरुद्ध क्रान्तिकारी सुधारका कामहरु पनि भए। त्यस इलाका सामन्ती तत्वहरुले पहिलो चोटी क्रान्तिकारी सरकारको मार खाए ।
२००७ सालको क्रान्तिको दौरानमा देशका अरु भागहरुमा काम गरिरहेका कम्युनिस्ट तथा अन्य सामन्ती व्यवस्था विरोधी सच्चा प्रजातन्त्रवादी क्रान्तिकारीहरुले पनि जनसरकार गठन गरी सामन्ती व्यवस्थाको विरुद्ध काम कार्वाही गर्न थालेका थिए । यसरी सामन्ती व्यवस्थाकै विरुद्ध विभिन्न ठाउँमा भैरहेका यी क्रान्तिकारी कदमहरु केन्द्रीय रुपमा संगठित भएमा जनआन्दोलनको नेतृत्व आप्mनो हातबाट गुम्नेदेखि राजा त्रिभुवन र नेपाली कांग्रेसका नेताहरुले राणासँग दिल्लीमा सम्झौता गरे । सो सम्झौता दिल्ली सम्झौता नामले देशमा कुख्यात छ ।
नेपाली जनताले सात सालको परिवर्तनलाई सामन्ती शोषण र साम्राज्यवादी बन्धनबाट मुक्ति भनी ठानेका थिए । राजा त्रिभुवन र नेपाली कांग्रेसले पनि यही प्रचार गरेका थिए । समय बित्दै गएपछि नेपाली जनतामा कुरा स्पष्ट हुँदै गयो । श्री ३ सरकारको साटो श्री ५ को दबदबा, सिंहदरबारको रंग नारायणहिटीमा सरेको, नेताजीहरुले जनताको माया मारी नारायणहिटीतिर धाएका र अंग्रेजी साम्राज्यवादको खाँडो जागेको नेपाली जनताले छर्लङ देखे । यस दिल्ली सम्झौताको विरोध कम्युनिस्ट पार्टीका अतिरिक्त नेपाली कांग्रेसका कार्यकर्ताहरुले पनि गरे । मुक्ति सेनाको ठूलो अंग यसको विरोधमा थियो । दिल्ली सम्झौतापछि राजा त्रिभुवनले गठन गरेका विभिन्न सरकारहरुले दिल्ली सम्झौताका विरोधीहरुलाई जेलमा ठुस्न थाले । प्रशस्त्र मात्रामा मुक्ति सेनाका जवानहरु पनि बन्दी बनाइए ।
रक्षा दलका जवानहरुले सरकारको यस नीतिको विरुद्ध सन् १९५३ मा राजधानीमा विद्रोह गरे । यस विद्रोहको मुख्य संगठनकर्ता क. आले हुनुुहुुन्थ्यो । उहाँकै प्रयासले तोपखाना र ठिमी कब्जा भयो। केन्द्रीय सचिवालय पनि कब्जा गर के.आई. सिंह तथा रामप्रसाद राई, आदिलाई मुक्त गराईयो । यसपछि विद्रोहको नेतृत्व के.आई सिंहको हातमा आयो । उनले विद्रोहलाई संचालन गर्नुभन्दा श्री ५ सँग सम्झौतागर्ने कुरामा जोड दिन थाले । सम्झौताको ओतमा श्री ५ त्रिभुवनले विभिन्न ठाउँमा तैनाथ भएका मुक्तिसेनाका जवानहरुलाई बन्दी बनाए । जसलाई के.आई. सिंहले गोली नचलाउने आदेश दिएका थिए, निःशस्त्र गर्न थाले । अन्त्यमा आप्mना विद्रोही जवानको आँखामा छारो हाली आफ्ना दल बलका साथ के. आई. सिंह सचिवालयबाट भागेपछि श्री ५ को फौजको प्रवेश सचिवालयमा भयो ।
त्यसपछि क.आले पनि आप्mनो दलबलका साथ सचिवालय छोड्न बाध्य हुनुभयो । क. आले र के.आई.सिंहको भेट त्यसै दिन राती ककनीमा भयो । क. आलेले पश्चिमतिरका जिल्ला कब्जा गरी क्रान्तिकारी सरकार गठन गर्ने र काठमाडौंलाई चारैतिरबाट घेर्ने योजना प्रस्तुत गर्नुभयो । धेरै वादविवाद पछि के.आई. सिंहले आप्mनो स्वीकृति दिए । क. आलेलाई दक्षिणतिरबाट गई धादिङ कब्जा गर्ने अभिभारा दिइयो र के.आई.सिंहले उत्तरबाट गई नुवाकोट कब्जा गर्ने अभिभारा लिई अगाडि बढेपछि के.आई सिंह नुवाकोट हान्नुका सट्टा रसुवातिर बढ्न थाले । यस्तो अवसरवादी भगुवा नीतिको विरोध श्रीरामप्रसाद राईले गर्नुभयो । यसपछि उहाँको मृत्यु आश्चर्यजन किसिमबाट भयो ।
क. आले भोलिपल्ट धादिङकोनगीचै एक ठाउँमा पुग्दा चारैतिरबाट श्री५ को फौजको घेरामा पर्नुभयो । उहाँ आफ्ना ५० जवान साथीका साथ बन्दी बनाइनुभयो । काठमाडौं सेन्ट्रल जेलमा पुगेपछि चारैतिर उहाँले आप्mना मुक्ति सेनाका जवान भाइहरुसँग भेट गर्नुभयो। राणाशाहीको विरुद्ध लड्ने मुक्ति सेनाका जवानहरु शाहशाहीको जेलमा पुग्नुभयो । “नेपालको अझै सामन्तशाहीको विरोधी क्रान्ति गर्न बाँकी नै छ” भन्ने शिक्षा उहाँले लिनुभयो ।
यसैबन्दी जीवनमा क. आले पहिलो चोटि कम्युनिस्ट पार्टीको सम्पर्कमा आउनुभयो । उहाँ र अन्य कैयौं मुक्ति सेनाका जवानहरुल्े त्यस बन्दी जीवनमा कम्युनिस्ट पार्टीका साथीहरुबाट माक्र्सवाद लेनिनवादको ज्ञान प्राप्त गर्नुभयो । जेलमा हुने अमानवीय शोषण, दुराचार,भ्रष्टाचार, आदिको विरुद्ध कम्युनिस्ट पार्टीका साथीहरु र क. आले सहित मुक्ति सेनाका जवानहरुले लामो अवधिसम्म अनसन शुरु गरे । नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा उहाँहरुलाई विना शर्त छोड्न सरकार बाध्य भयो ।
यस रिहाइृपछि उहाँ सिधै आफ्नो इलाकामा जानुभयो र नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिनुभयो । म तथा क. हिक्मतसँग उहाँको पहिलो भेटघाट यसै समयमा भयो । पार्टीले उहाँलाई अञ्चल किसान मोर्चाको भार सुम्पिदियो । केही समयपछि उहाँ पार्टीको अञ्चल समितिमा पनि चुनिनुभयो । उहाँको हृदयमा भएको सामन्त विरोधी भावनाले फुक्का रुपले हिंड्ने बाटो नेपाल कम्युनिस्ट पार्टीमा पायो । गण्डकी अंचलमा किसानहरुको संगठन गर्ने र उनीहरुलाई आन्दोलनमा उतार्ने काममा क. आलेको विशेष रुपले देन रहेको छ ।
२००९ सालमा तनहुँ जिल्लाको मानौं फाँटको पर्ति जग्गा त्यहाँका सामन्तहरुले कब्जा गरी आफ्ना निजी घोडा तथा अरु चौपायाहरु चराउने गरेका थिए । त्यहाँका सुकुम्बासी गरिव किसानहरुलाई संगठन गरी सामन्तहरुले ओगटेका उक्त जग्गा कब्जा गरी क. आलेले सुकुम्बासी गरिब किसानहरुलाई वितरण गरी दिनुभयो । यस कामले त्यहाँका किसानहरुमा एकता र नयाँ जागृति ल्यायो । सामन्तवर्गको स्वार्थमा यसरी धक्का लागेकोदेखि त्यस समयका वडा हाकिमले क. आलेलाई गिरफ्तार गरी उपरोक्त जग्गा सामन्तहरुकै अधिनमा गराउनको लागि सशस्त्र फौजहरु पठाए । क. आलेले पनि भूतपूर्व सैनिक जवानको संगठन गरी भरुवा बन्दुक लिई मानौं काटेमा मोर्चा कसे । वडा हाकिमको फौजले उहाँलाई गिरफ्तार गर्न सकेन । अन्तमा जनआन्दोलनको समक्ष प्रशासकलाई झुक्न प¥यो । वितरण गरिएको जग्गा त्यहाँका किसानहरुकै भनाई अनुसार दर्ता गरी उहाँको गिरफ्तारी रद्द गर्न उक्त वडा हाकिमलाई बाधय हुन प¥यो । मुक्ति सेनाको विद्रोहको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धित हुनाको बाबजुद पार्टीलाई किसानको बीच लैजाने र सामन्त विरोधी किसान आन्दोलन निर्माण गर्ने काम चालु नै रह्यो । देशका इलाकाहरुमा कम्युनिस्ट पार्टीको नेतृत्वमा किसान आन्दोलनले जोड पकडी रहेको थियो । यस किसान आन्दोलनबाट भयभीत भै राजा र तथाकथित प्रजातन्त्रवादीका नेताहरु र सामन्तहरुले देशमा कम्युनिस्ट हौवा खडा गर्न थाले । यस्तो स्थितिमा किसान आन्दोलनलाई कृषि क्रान्तिमा परिवर्तन गर्ने उद्देश्य र नीति लिनुको साटो गद्दार माझीले पार्टी नेतृत्वको फाइदा उठाई राजावादी तथा अवसरवादी नीति अपनाई राजदरबारसँग साँठगाँठ गर्न पुग्दा कम्युनिस्ट पार्टीको अर्को अंगले त्यसको विरोध गरिरहेको थियो । पार्टीमा देखा परेको यस राजावादी तथा अवसरवादी नीतिको विरोधी गरिरहेको थियो । पार्टीमा देखा परेको यस राजावादी तथा अवसरवादी नीतिको विरुद्ध संघर्ष गर्ने साथीहरु मध्ये उहाँ पनि एक प्रमुख साथी हुनुहुन्थ्यो । पार्टीको दोस्रो महाधिवेशनमा सबभन्दा प्रमुख रुपमा उठेको गणतन्त्र कि वैधानिक राजतन्त्र प्रश्नमा गणतान्त्रीय पक्षमा क. आले पनि हुनुहुन्थ्यो ।
पार्टीको दोस्रो महाधिवेशनले नयाँ जनवादी कार्यक्रम पारित गर्नको साथ तत्काल संविधान सभाको निम्ति संघले गर्ने कार्यनीति पास गरेको थियो । पार्टीको सर्वोच्च संस्था पार्टी महाधिवेशनको फैसला विरुद्ध गद्दार माझीगुट खुलारुपले गए पनि त्यस नीतिका विरुद्ध लड्ने साथी मध्ये उहाँ पनि एक वरिष्ठ साथी हुनुहुन्थ्यो । सन् १९६० तदनुसार संवत २०१७ सालको पौष १ गते राजाको फौजी काण्डको घोषणाले संसद विघटन गरी देशको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर सम्पूर्ण राजनैतिक पार्टी तथा जनवर्गीय संगठनहरुलाई प्रीतबन्ध लगाएपछि देशमा उत्पन्न भएको संकटमय यस राजनीतिक स्थिति छलफल गर्न दरभंगमा पार्टीको केन्द्रीय प्लेनम बोलाइयो । यस प्लेनममा गद्दार माझीगुटले पार्टीलाई विसर्जन गरी शाही हस्तान्तरणलाई समर्थन गर्न चाहन्थे भने क. हिक्मत र क. मोहनविक्रम सहितका हामीहरु त्यसको विरोधमा उभियौं । त्यस नीतिको दृढ समर्थन गर्ने मध्ये एक कमरेड आले पनि हुनुहुन्थ्यो । दरभंगाको प्लेनमले गद्दार माझीको विसर्जनवादी नीतिका विपरीत प्रजातान्त्रिक आन्दोलन गर्ने निर्णय ग¥यो ।
दरभंगाको प्लेनमपछि पार्टीको फैसलालाई लागु गर्न क. आले आफ्नो इलाकामा जानुभयो । त्यहाँ भूमिगत रुपमा बसी जनआन्दोलनको संचालन गरिरहेको बेलामा २०१८ साल वैशाखमा उहाँ पक्राउ पर्नुभयो। उहाँलाई पोखरा जेलमा सुरक्षा कानुन अन्तर्गत नजरबन्द गरियो । यसै बन्दी जीवनमा पनि उहाँले पोखरा जेलमा साधारण कैदीहरुप्रति सामन्ती अत्याचारीहरुको अमानवीय शोषणको विरुद्ध संघर्ष गर्नुभयो । त्यसै जेलमा बन्दी भै रहनुभएका पार्टीका अन्य एक साथीलाई विरामी अवस्थामा नै सडाई मार्ने सरकारको षडयन्त्रका विरुद्ध उहाँले आफ्नो जीवन नै अर्पी सरकारी अधिकारीहरुसँग संघर्ष गर्नुभयो । यस संघर्षले पोखरा बजारमा ठूलो सरकार विरोधी भावनालाई उग्ररुपले बढायो । फलस्वरुप उक्त साथीलाई अपरेशनको लागि अस्पतालमा पठाउन सरकार बाध्य हुनुप¥यो । डाक्टरहरुको भनाई अनुसार केही समय ढिलो भएको भए उहाँलाई बचाउन सम्भव थिएन ।
पोखरा जेलमा रातदिन अशान्ति मच्चिदा सम्पूर्ण गण्डकी अञ्चलमा नै राजनीतिक हलचल बढिरहेको हुँदा उहाँलाई केही महिनापछि लुम्बिनी अञ्चल अन्तर्गत पाल्पा तानसेनको केन्द्रीय जेलमा चलान गरियो । यसपटक उहाँले जेलमा नौलो नीति अपनाउनु भयो । पाल्पा जेलमा उहाँले कुनै अशान्तिको नीति अपनाउनु भएन । भलाद्मी बन्दीको रुपमा देखिनुभयो । २०१८ साल माघ महिनामा ज्योतिषीको अनुसार आठग्रह सामेल हुने दिन भोजको आयोजना गर्नुभयो । सबै भोजमा व्यस्त भएको बेलामा दिनको ४ बजे कै समयमा पाल्पा जेल एकाएक तोडियो र सारा बन्दीहरुका साथ ग्रुपग्रुप बनाएर क. आले आप्mनो दल बलका साथ जंगल पस्नुभयो ।
क. आलेले जेल तोडी आउँदा पार्टीका क्रान्तिकारी साथीहरु पार्टीको तेस्रो महाधिवेशन गर्नमा व्यस्त थिए। दरभंगा प्लेनमपछि पार्टीको फैसला लागु गर्नको लागि क. हिक्मत, क. मोहनविक्रम सिंह, क. निर्मल लामा सहितका हामीहरु भूमिगत रुपले देशभित्र गयौं । तर गद्दार माझी गुटले सरकारको दरबन्दीमा रही गुप्तचरको रुपमा कामगर्न थालेकोले देशभित्र भूमिगत रुपमा काम गरिरहेका केही कमरेडहरु काठमाडौंमा भेला भई पार्टीमा उत्पन्न भएको स्थितिमा छलफल ग¥यो । तेस्रो महाधिवेशन गरी पार्टीमा उत्पन्न भएको वैधानिक अड्चनलाई हटाई पार्टीलाई आन्दोलनमा उतार्ने जरुरी भएको हुँदा साथीहरुको राय सल्लाह अनुसार म काठमाडौंबाट भारतमा जाउँ । क. आले जेल तोडेको २ महिनापछि सिधै बनारस आइपुग्नुभयो । पार्टीको तेस्रो महाधिवेशन सम्पन्न गराउनमा योगदान दिनुभयो । तेस्रो महाधिवेशनमा सर्वसम्मतिबाट क. आले पार्टीको केन्द्रीय कार्यकारिणीमा छानिनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन समाप्त भएको केही समयपछि नै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा तीब्र रुपले सैद्धान्तिक मतभेद देखा पर्न गयो । यसको असर नेपाल कम्युनिस्ट पार्टीमानपरी छाडेन, अन्तर्राष्ट्रिय संशोधनवादीहरुको इशारामा तुलसीलाल अमात्यले पार्टीको जनवादी केन्द्रीयतालाई खुला रुपले तोडी गुटबन्दीको बाटोमा लागे । श्री ५ को सरकारको दरबन्दीमा गुप्त रुपले रही विद्यार्थी आन्दोलनमा देखा परेका भरतराज जोशीको लहैलहैमा लागि केही नौं जवान ठिटाहरुले नयाँ रगतको नारा दिई पार्टीको जनवादी केन्द्रीयतालाई तोड्न तुलसीलाललाई मद्दत पु¥याइरहेका थिए । ती ठिटाहरुले क. आलेलाई सम्झाउँथे, खोइ आलेज्यू जीवन यसै बर्बाद भयो,पार्टीमा लागेर आखिर पार्टीले के ग¥यो ? उनीहरुलाई कड्केर क. आले भन्नुहुन्थ्यो, पार्टीले केही गर्न सकेन भन्ने कुरा गलत हो । जन्मदेखि आजसम्म पार्टीले सामन्तवाद साम्राज्यवादको विरुद्ध आफ्नो झण्डा झुकाएन यही सबभन्दा ठूलो काम पार्टीले गरेको छ । जुन काम नेपालको अरु कुनै पार्टीले गर्न सकेन । तेस्रो महाधिवेशनपछि पार्टीमा प्रकट रुपमा देखा परेको संशोधनवाद र अवसरवादका विरुद्ध जुन भित्री पार्टी संघर्ष चलिरहेको थियो, त्यसमा उहाँले साथ दिनुभयो । अन्तमा केही गरे पनि पार्टीको नेतृत्वदायी कमिटीको बैठक बस्न नसकेपछि म लगायत ६ जना केन्द्रीय समितिका साथीहरुले संगठित रुपमा अगाडि बढ्ने फैसला लियौं । ती साथीहरु मध्ये एक जना उहाँ पनि हुनुहुन्थ्यो ।
पार्टीको केन्द्रीय नेतृत्वको अस्तित्व समाप्त प्रायः भएको अवस्थामा पार्टीभित्र गुप्त रुपले दरबन्दीमा रहेका शाही गुप्तचरहरुले थरीथरीका भ्रमहरु फैलाए । उनीहरुको भ्रमजालमा परी कतिपय इमान्दार साथीहरु पनि इलाकावाद, तटस्थतावाद, आदिको दल दलमा फस्न पुगे । पार्टीमा अत्यन्त आर्थिक संकट देखा प¥यो । यस्तो स्थितिमा क. आले अत्यन्त परिश्रमका साथ साथीहरुलाई सम्झाउने र संगठन गर्ने काममा अति नै व्यस्त रहनुभयो । उहाँको कार्यतत्परता र लगनशीलता देखेर पार्टी साथीहरु उत्साहित भएर जान्थे । क. आलेलाई भेट्दा उहाँको क्रान्तिप्रतिअटल विश्वासदेखि प्रभावित एवं उत्साहित नहुने सायद कुनै व्यक्ति होला ? उहाँको लगनशीलता सबैको निम्ति ईष्र्याको विषय भएको थियो । क्रान्तिप्रति यस्तो अडिग विश्वास भएका र संगठनमा लगनशील क. आलेलाई हामीहरुसँग फाटो गराउन पाएमा क्रान्तिकारी पार्टीको निर्माणमा विघ्नबाधा उपस्थित गराउन सकिने उद्देश्यले नेतृत्वको लोभ देखाई उहाँलाई केही छदमभेषी संशोधनवादीहरुले पहिले आफ्नो इलाकामा पार्टी निर्माण गरेपछि केन्द्रीय पार्टीको निर्माण हुन सक्छ भन्दथे । यसको जवाफमा उहाँले बहुतै स्पष्ट शब्दमा भन्नुहुन्थ्यो विश्वका सर्वहारा एक होउ भन्दै हिंड्ने हामी कम्युनिस्टहरु यदि जिल्ला एक होउ भनी इलाकावादको झण्डा बोकी हिंड्दछौं भने हामी कम्युनिस्ट रहँदैनौं । हाम्रो आदर्श इलाकीय एकतामा प्राप्त हुन सक्दैन, अन्तर्राष्ट्रिय एकतामा मात्र प्राप्त हुन सक्दछ । माक्र्सवाद –लेनिनवाद– माओ विचारधाराले हामीलाई इलाकावाद, तटस्थतावाद तथा कृपावादबाट माथि उठाई अन्तर्राष्ट्रिय सर्वहारावादमा पु¥याउँदैछ । यही उच्च आदर्श हाम्रो हुनुपर्दछ । राजाले नेपाली मात्र एक हौं भनी सामन्त वर्गको प्रभुत्व हाम्रो समाजमा लाद्ने कुचेष्टा गर्दैछन् ।हामीले माओको विचाराधारामा आधारित सशस्त्र क्रान्तिद्वारा कृषि क्रान्ति सम्पन्न गर्न सक्ने कम्युनिस्ट पार्टीको निर्माण गर्नुपर्दछ ।
सन् १९६८ को मइ महिनामा सम्पन्न भएको पार्टीको तेस्रो ऐतिहासिक सम्मेलनले यस्तै क्रान्तिकारी पार्टीको जग हालेको छ । पार्टीमा उत्पन्न भएको राजावादी रुझान र अवसरवादी तटस्थतावादी आधुनिक संशोधनवादी तथा छद्मभेषी संशोधनवादी विचारधाराका विरुद्ध संघर्ष गरी माओको विचारधारामा आधारित कम्युनिस्ट पार्टीको निर्माण गर्नमा क. आलेको एक विशिष्ट देन रहेको छ । क. आलेको पार्टी जीवन एक असल अर्थात् अब्बल दर्जाको कम्युनिस्टको रुपमा देखिन आएको छ। वास्तवमा पर्सियन भाषामा आलेको अर्थ श्रेष्ठ भन्ने हुन्छ ।
प्रवास कालमा क. आलेको मुख्य थलो गोरखपुर रह्यो । तेस्रो ऐतिहासिक सम्मेलनले पारित गरेको नीति (पार्टीलाई किसानको बीचमा लग, त्यसमापनि विशेष गरी गरिब तथा सुकुम्बासी किसानको बीचमा पु¥याउ) अनुसार प्रवासमा बसोबास गर्ने लाखौं कुल्ली दरवान बेरा बबर्ची आदि पेशामा लागेका नेपाली दाजुभाई दिदीबहिनीहरुप्रति उहाँको ध्यान आकर्षित भयो । त्यहाँबाट नै उहाँले प्रवासी नेपालीहरुलाई सहयोग गर्ने जुन काम गर्नुभयो । त्यो काम देशका गरिब जनता संगठित गरी नेपाली क्रान्तिको निम्ति सहयोग गर्नचाहने सम्पूर्ण क्रान्तिकारीहरुको निम्ति अनुकरणीय छ। बेला मौकामा उहाँ उत्तर भारतका प्रमुख नगरहरु जस्तो दिल्ली, कानपुर, बनारस, कलकत्ता, आदि ठाउँमा गई नेपालमा सामन्त तथा सरकारको मारबाट आफ्नो देश छोड्न बाध्य भएका नेपालीहरुलाई संगठित गर्ने काम गर्नुहुन्थ्यो ।
यो सबैलाई विदितै भएको कुरा हो कि गोरखपुर मध्ये नेपालको मुख्य नेपालको मुख्य द्वार हो । देशभित्रबाट आउने नेपालीहरुलाई भरसक भेटी देशको राजनीतिक स्थिति पार्टीको नीति र जनताको कर्तव्यको बोध उहाँले गराउनु हुन्थ्यो । उहाँको कार्य तत्परता देख्दा सबैमा क्रान्तिप्रति यस्तो विश्वास हुन्थ्यो कि आफ्नो थैली खोली पार्टीलाई चन्दा दिन मानिसहरु गौरव ठान्दथे । पार्टीको अत्यन्त संकटकालीन स्थितिमा पनि आफ्नो गोरखपुरको खर्च चलाउनुको साथै पार्टी दस्तावेजहरु छपाउन केन्द्रमा बेला मौकामा चन्दा पठाउनु हुन्थ्यो ।
प्रवास कालमा उहाँले आप्mनो सैद्धान्तिक स्तर उठाउनुभयो । पाल्पा जेल तोडी बनारसमा आउँदा साँच्चै भन्ने हो भने क. आलेलाई केवल बारखरीको मात्र ज्ञान थियो। नेपाली भाषा शुद्ध रुपमा लेख्न र सैद्धान्तिक स्तर उठाउनमा हामीहरुले उहाँलाई विशेष जोड दियौं । उहाँले नेपाली मात्र लेखपढ गर्न होइन, हिन्दीको पनि ज्ञान हासिल गरी अंग्रेजी पनि पढ्न लाग्नु भएको थियो । उहाँ बिहान सबेरै उठी आफ्नो नित्यको काम समाप्त गरेपछि दिनको नित्य दुई घण्टा पढ्नुहुन्थ्यो । उहाँलाई कसैले कहिल्यै पनि चुप लागेर बसेको देखेनन् । उहाँ कहिले संगठन कार्यमा, कहिले पार्टी क्लास लिनमा, कहिले आफ्नो लुडा फाटो सिउनमा,कहिले आफ्नो साइकलको मर्मत गर्नमा, कहिले खान बनाउनमा व्यस्त हुनुहुन्थ्यो । बेला मौकामा माछा समेत मारी आफ्नो गुजारा गर्नुहुन्थ्यो । क. आले कहिल्यै पनि निस्क्रिय रहनुभएन । उहाँ आफ्नो सम्पूर्ण काम आफै गर्नुहुन्थ्यो ।
गोरखपुरमा बसी उहाँले विद्यार्थीहरुको पनि संगठन गर्नुभयो । पछि हुँदा हुँदा उहाँले आफ्नो सैद्धान्तिक ज्ञान र साधारण ज्ञान पनि बढाउनुभयो । वि.ए. तथा एम.ए. का छात्रछात्राहरुलाई समेत पार्टी क्लास लिनुहुन्थ्यो । बुद्धिजीवीहरुको बीचमा पनि उहाँको इज्जत र प्रतिष्ठा बढ्न गयो । नेपाली कांग्रेसका सयौं कार्यकर्ताको बीचमा गोरखपुरमा उहाँ केवल एक मात्र कम्युनिस्ट हुनुहुन्थ्यो । उहाँले त्यहाँ राजनीतिक तथा सामाजिक काम गरी कहिले पनि विर्सन नसकिने छाप छोड्नु भएको छ। उहाँको गोरखपुरको बसाईलेनेपाली विद्यार्थीहरुको बीचमा एक नयाँ मोड ल्याइ दिएको छ। पहिले त्यहाँका विद्यार्थीहरु पढाई नभ्याउँदै गोरखा पल्टनमा भर्ती हुने दाउमा रहन्थे भनेस न् १९६२ देखि विरलै कोही नेपाली विद्यार्थी होलान् जो गोर्खा पल्टनमा भर्ना भए । उहाँ विद्यार्थीहरुलाई हमेशा भन्नुहुन्थ्यो । हाम्रा पूर्वजहरु अनजान रुपमा प्रशस्त मात्रामा साम्राज्यवादको निम्ति लडे । देशको सामन्तवाद र अंग्रेजी साम्राज्यवादको निम्ति अकारणैअनजानमा नमकको सोझो गर्नुपर्दछ भन्ने गलत धारणाको आधारमा भारत, बर्मा,मलाया आदि देशका जनआन्दोलनलाई दबाउन रगतको खोलो बगाएकाथिए । अब हामीले हाम्रा पूर्वजहरुले अनजानमा गरेको यस पापको प्रायश्चित गर्नुपरेको छ । त्यसको निम्ति पुरोहितलाई दान दक्षिणा दिएर होइन गोर्खा पल्टनमा भर्ना भएर होइन, आप्mनो देशमा किसानको सशस्त्र क्रान्ति गरी पंचायती व्यवस्थालाई पल्टाएर नयाँ जनवादी व्यवस्था कायम गर्नु परेको छ । छात्रहरु मात्र होइन, छात्राहरु पनि उहाँबाट प्रभावित भै मलाया तथा भारतको गोर्खा पल्टनका आफिसरहरुसँग बिहा गर्नुको साटो देशभित्र गै बिहा गर्ने अठोट गर्न थालेका छन् ।कमरेड आले ती समस्त क्रान्तिकारी साथी मध्ये एक हुनुहुन्छ जसले आफ्नो जीवनकालमा मात्र होइन मरेपछि पनि देशका क्रान्तिकारीहरुलाई उत्साहित गर्नु भएको छ ।
उहाँको निधनपछि नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले प्रकाशित गरुेको विज्ञप्तिको एक अंश यस प्रकार छः
पेटको क्यान्सरको रोगले सन् १९६८ जनवरी २६ का दिन क. एकदेवको निधनको दुःखद समाचार नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयलाई दरभंगा मेडिकल कलेजबाट प्राप्त भएको छ ।
क. आलेको जीवन एक संघर्षमय जीवन रहेको छ। आफ्नो इलाकाको सामन्ती शोषणबाट बाँच्नको निम्ति उहाँलाई गोर्खा पल्टनमा भर्ना हुन बाध्य हुनुप¥यो । राणाशाहीको विरोधमा उहाँले प्रजातन्त्रको निम्ति संघर्ष गर्नुभयो । पार्टीभित्र संशोधनवाद, इालकावाद, तटस्थतावाद रराजावादी रुझानको विरुद्ध उहाँले संघर्ष गर्नुभयो। अन्तमा आएर उहाँले आफ्नो जीवनको निम्ति क्यान्सर जस्तो भयानक रोगसँग संघर्ष गर्नुभयो ।
आज क. आले हामीहरुको बीचमा हुनुहुन्न, तर जुन उद्देश्यको निम्ति उहाँले आफ्नो जीवनको विदाई गर्नुभयो सो उद्देश्य हाम्रो समक्ष छ । पार्टीको निम्ति उहाँले आफ्नो स्वार्थलाई जसरी त्याग गर्नुभयो सो हामीहरुको समक्ष छ । देशका शोषित र पीडितलाई संगठित गर्न उहाँ जसरी तल्लिन हुनुहुन्थ्यो । सो हामीहरुको निम्ति आदर्श स्वरुप छ । अन्तिम घडीमा पनि आप्mनो देशको माटोमा लड्दै गर्ने जुन इच्छा उहाँले व्यक्त गर्नुभयो, त्यो हामी सबैलाई उहाँको आत्माको पुकारको रुपमा अनुकरणीय छ ।
क. आलेको निधन त्यस समय भयो, जब उहाँको सबभन्दा बढी आवश्यकता थियो । उहाँको असामायिक मृत्युले पार्टी र देशको क्रान्तिको निम्ति अपार क्षति पुगेकोा छ । यस दुःखद् स्थितिामा नेपाल कम्युनिस्ट पार्टी उहाँको सम्मानमा आफ्नो झण्डा झुकाउँछ । उहाँको शोकग्रस्त परिवारप्रति समवेदना प्रकट गर्दछ । समस्त पार्टी शाखा प्रशाखालाई उहाँको निधनमा शोक प्रस्ताव पास गर्न र समस्त पार्टी साथी तथा सहयोगीहरुलाई उहाँको जीवनको अनुकरण गर्ने प्रतिज्ञा गर्नु भन्ने आदेश दिन्छ ।
नेपाल कम्युनिस्ट पार्टीको तेस्रो केन्द्रीय विस्तारित बैठकले पार्टी कार्यालयको निर्णय अनुसार प्रत्येक साल २६ जनवरीका दिन क. आलेको स्मृति दिवस मनाउन फैसला गरेको छ । पार्टीको यस फैसलाले कुनै पनि कमरेडलाई पार्टीले दिनसक्ने सबभन्दा ठूलो सम्मान क. आलेलाई दिएको छ ।
आज प्रत्येक पार्टी सदस्यले कमरेड एकदेव आलेको क्रान्तिकारी जीवनको अनुकरण गर्नु परेको छ।
कमरेड एकदेव आले जिन्दावाद !
संशोधनवाद, इलाकावाद, तटस्थतावाद मुर्दावाद!
नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद!

