हिमालय नेपाल कृषि कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारण सभा

काठमाडौं, ८ कार्तिक । हिमालय नेपाल कृषि कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक डोलिंद्र प्रसाद शर्माले कम्पनीको भावी रणनीति तथा व्यवस्थापन प्रतिज्ञा पत्र प्रस्तुत गरेका छन् । कम्पनीको काठमाडौंमा आयोजित प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रबन्ध सञ्चालक शर्माले आर्थिक वर्ष २०८२/८३ को समीक्षा तथा २०८३/८४ को प्रस्तावित नीति तथा कार्यक्रममा कम्पनीको उत्पादनदेखि विश्वबजारसम्म भन्ने नारा सहित विशेष रणनीति तथा व्यवस्थापन प्रतिज्ञा पत्र प्रस्तुत गरेका हुन् ।

कम्पनीको हालसम्मको कार्यप्रगति, वित्तीय अवस्था, विद्यमान चुनौती, आगामी कार्ययोजना तथा दीर्घकालीन रणनीति प्रस्तुत गर्दै उनले नेपालको कृषि क्षेत्रमा अपार सम्भावना हुँदाहुँदै पनि परम्परागत उत्पादन प्रणाली, आधुनिक प्रविधिको सीमित प्रयोग, उत्पादन र बजारबीचको कमजोर सम्बन्ध, प्रशोधन तथा मूल्य अभिवृद्धिको अपर्याप्तता र कृषि उपज सामग्रीमा रहेकोले अपेक्षित उपलब्धि हासिल गर्न चुनौती रहेको बताए ।

यसलाई अवसरमा रूपान्तरण गर्दै नेपाली कृषिलाई आधुनिक, वैज्ञानिक, प्रविधिमैत्री, वातावरणमैत्री तथा व्यावसायिक बनाउने, स्वदेशी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, कृषि उपजको प्रशोधन, बजारीकरण र निर्यातलाई प्रवद्र्धन गर्ने तथा कृषकको आम्दानी र राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउँदै आयात निर्भरता क्रमशः घटाउने दीर्घकालीन सोचका साथ कम्पनीको स्थापना गरिएको प्रबन्ध सञ्चालक शर्माले बताए ।

उनले प्रस्तुत गरेको प्रतिज्ञा पत्रमा विगतका गतिविधि र वित्तीय विवरणको औपचारिक प्रस्तुति मात्र नभई, कम्पनी स्थापना गर्नुको औचित्य, हालसम्म हासिल भएका उपलब्धि, सामना गरिरहेका चुनौती र आगामी दिनमा कम्पनीलाई कुन दिशा तथा रणनीतिका साथ अघि बढाउने भन्ने विषयको स्पष्ट खाकासमेत प्रष्ट्याइएको छ ।
कम्पनीले कुनै एक व्यक्ति वा समूहको व्यक्तिगत व्यावसायिक स्वार्थमा सीमित संस्था नभएको स्पष्ट पार्दै कृषकको समृद्धि, लगानीकर्ताको विश्वास, उपभोक्ताको हित, रोजगारी सिर्जना र नेपालको कृषि अर्थतन्त्रलाई उत्पादनमुखी तथा प्रतिस्पर्धी बनाउने साझा अभियान भएको उनले बताए । उनले भने, ‘हाम्रो उद्देश्य केवल कृषि उत्पादन गर्ने वा कृषि वस्तु किनबेच गर्ने कम्पनी बन्नु मात्र होइन । हामी उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरण, कृषि सामग्रीको आयात, स्वदेशी उत्पादनको निर्यात, कृषि जग्गाको उपयोग, पानी प्रशोधन, जैविक मल उत्पादन र कृषि उद्यमहरूको संस्थागत एकीकरणसम्मका सम्भावनालाई एउटै व्यावसायिक प्रणालीमा जोड्न चाहन्छौँ । हामी यस्तो संस्था निर्माण गर्न चाहन्छौँ, जसको पहिचान विज्ञापन वा घोषणाबाट मात्र होइन, वास्तविक उत्पादन, वित्तीय तथ्याङ्क, कार्यसम्पादन, पारदर्शिता र परिणामबाट स्थापित होस् । भाषण त सबैले गर्छन् तर म वास्तविक परिणमा निकाल्ने गरि काम गर्दछु यो मेरो प्रण भयो । ’

नेपालमा कृषि क्षेत्रमा काम गर्ने विभिन्न कम्पनीको आफ्नै व्यावसायिक पहिचान र कार्यक्षेत्र रहेकोे बताउँदै कतिपय कम्पनी उत्पादनमा केन्द्रित छन्, कतिपय कृषि सामग्री आयात तथा वितरणमा, कतिपय ब्रान्डिङ र बजार व्यवस्थापनमा तथा कतिपय मध्यस्थ व्यापारमा सक्रिय छन् तर हिमालय नेपाल कृषि कम्पनी व्यापार मात्र होइन, उत्पादनदेखि विश्वबजारसम्मको एकीकृत प्रणालीको विकास मार्फत दीर्घकालीन परिकल्पना गतिविधिलाई एउटै संस्थागत रणनीतिमा जोड्नु रहेको उनले बताए ।

हामी आफैँ कृषि उत्पादन गर्नेछौँ, उनले भने, ‘कृषकहरूसँग सहकार्य गरेर उत्पादन विस्तार गर्नेछौँ, आवश्यक कृषि सामग्री तथा उपजको आयात गर्नेछौँ, स्वदेशी उत्पादनको प्रशोधन र मूल्य अभिवृद्धि गर्नेछौँ, आन्तरिक बजारमा बिक्री वितरण गर्नेछौँ र सम्भाव्य उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउनेछौँ । कृषि उत्पादनसँग सम्बन्धित पानी प्रशोधन, जैविक मल, च्याउ उत्पादन, जग्गाको एकीकरण र सञ्चालनमा कठिनाइ भोगिरहेका कृषि उद्यमको पुनर्संरचनासमेत हाम्रो दीर्घकालीन व्यावसायिक योजनाका हिस्सा हुन् ।’

उनले अन्य कम्पनीभन्दा फरक छौँ भन्ने कुरा केवल भाषणबाट प्रमाणित नहुने जिकिर गर्दै त्यो फरकपन वास्तविक उत्पादन, दक्ष व्यवस्थापन, गुणस्तर, वित्तीय पारदर्शिता, बजार विस्तार र संस्थागत सुशासनबाट प्रमाणित गर्ने उनले बताए । उनले हाम्रो लक्ष्य अरूलाई कमजोर देखाउनु होइन; हामीले अपनाउने एकीकृत कार्यप्रणालीलाई सफल बनाएर नेपालमा कृषि उद्यमको अनुकरणीय उदाहरण प्रस्तुत गर्नु भएको बताए ।

उनले विधि, प्रक्रिया, प्रणाली र नीति–नियमले कम्पनीको दीर्घकालीन सफलता तथा संस्थागत सञ्चालनको आधार सुनिश्चित गने बताए । उनले विधि र परिधिमा रहि कम्पनीका सबै कार्य प्रचलित कानुन, प्रबन्धपत्र, नियमावली, स्वीकृत नीतिहरू, शेयरधनीका वैधानिक अधिकार तथा सञ्चालक समितिका निर्णयअनुसार सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे । उनले खरिद, बिक्री, लगानी, भुक्तानी, नियुक्ति, सम्झौता, सम्पत्ति खरिद र परियोजना सञ्चालनमा स्पष्ट प्रक्रिया, आवश्यक स्वीकृति तथा प्रमाणित अभिलेख कायम गरिने समेत बताए ।

कम्पनी कुनै एक व्यक्तिको इच्छाशक्ति वा स्मरणशक्तिमा निर्भर नरहने स्पष्ट पार्दै उनले जिम्मेवारी, अधिकार, वित्तीय अभिलेख, डिजिटल सूचना, कार्यसम्पादन सूचक र नियमित प्रतिवेदनमा आधारित प्रणाली विकास गरिने बताए । उनले नीति तथा नियम, वित्तीय प्रशासन, कर्मचारी सेवा, खरिद, बिक्री, लगानी, जोखिम व्यवस्थापन, सम्पत्ति संरक्षण र आन्तरिक नियन्त्रणलाई स्वीकृत नीतिअनुसार कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘प्रबन्ध सञ्चालकका रूपमा मेरो प्रतिबद्धता स्पष्ट छ, कम्पनीको हित व्यक्तिगत स्वार्थभन्दा माथि हुनेछ, निर्णयको आधार तथ्यमा हुनेछ र परिणामको समीक्षा अभिलेखका आधारमा हुनेछ ।’

आर्थिक वर्ष २०८२/८३ को कार्यप्रगति तथा वित्तीय समीक्षा कम्पनीको पहिलो आर्थिक वर्ष संस्थागत आधार निर्माण, लगानी परिचालन, व्यावसायिक सञ्चालन, वित्तीय अभिलेख व्यवस्थापन र भावी विस्तारका लागि आवश्यक संरचना विकास गर्ने प्रारम्भिक वर्षका रूपमा रहेको प्रबन्ध सञ्चालक शर्माले बताए । उनले प्रारम्भिक अवधिमा कम्पनीको सञ्चालन तथा विकासलाई संस्थागत तथा प्रशासनिक विकास, सञ्चालक समितिमार्फत संस्थागत निर्णय प्रक्रिया सञ्चालन, संस्थापक शेयरधनीसँग पुँजी परिचालन तथा भावी कार्यदिशासम्बन्धी समन्वय, वित्तीय विवरण तयार गर्ने र लेखापरीक्षण प्रक्रिया सम्पन्न गर्ने कार्य, प्रथम वार्षिक साधारण सभाका लागि आवश्यक प्रतिवेदन तथा प्रस्तावको तयारी, वित्तीय प्रशासन, कर्मचारी सेवा, बजेट र आन्तरिक नियन्त्रणलाई व्यवस्थित बनाउने कार्यदिशा रहेको उनले बताए ।

कृषि परियोजनाको विकास बेनी नगरपालिका–४, सिंगास्थित कृषि परियोजनालाई कम्पनीको महत्वपूर्ण सञ्चालन आधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए । उनले कुखुरापालन, माछापालन, तरकारी उत्पादन, बाख्रापालन र रेस्टुरेन्ट सेवालाई एकीकृत गरी विभिन्न आम्दानीका स्रोत निर्माण गने योजना रहेको बताउन्दै परियोजनामा उत्पादन क्षमता, बिक्री, सञ्चालन लागत, बजार, जैविक सुरक्षा, कर्मचारीको कार्यक्षमता र नगद प्रवाहको नियमित समीक्षा गरी व्यावसायिक सञ्चालनलाई थप प्रभावकारी बनाइने बताए ।

पहिलो वर्षको वित्तीय परिणाम कम्पनीको पहिलो आर्थिक वर्षमै नाफा आर्जन भएको तथ्यलाई कम्पनीको प्रारम्भिक सकारात्मक उपलब्धिका रूपमा प्रस्तुत गर्दै उनले वास्तविक रकम, नाफाको प्रकृति र वितरणयोग्य नाफाको अवस्था लेखापरीक्षित वित्तीय विवरणअनुसार तयार गरिएको जानकारी दिए । पहिलो वर्ष नाफा आर्जन हुनु सकारात्मक आधार भएको बताउँदै उनले दिर्घकालीन सफलता प्रमाणित गर्न नाफाको स्थायित्व, नगद प्रवाह, ऋण व्यवस्थापन, सम्पत्तिको उत्पादक उपयोग र आगामी वर्षको कारोबारको गुणस्तर पनि निरन्तर मूल्याङ्कन गर्ने बताए । उनले भने, ‘हामी पहिलो वर्षको उपलब्धिमा सन्तुष्ट भएर रोकिने होइन, त्यसलाई अझ व्यवस्थित र दिगो बनाउने दिशामा अघि बढ्नेछौँ ।’

प्रबन्ध सञ्चालक शर्माले सरकार, शैक्षिक संस्था र राष्ट्रिय कृषि नीतिसँगको सम्बन्ध हिमालय नेपाल कृषि कम्पनीलाई कृषि उत्पादन, प्रशोधन, मूल्य शृंखला र व्यावसायिक व्यवस्थापनसम्बन्धी अध्ययन तथा छलफलमा उपयोगी उदाहरणका रूपमा विकास गर्ने लक्ष्ष राखिएको बताए ।

स्थानीय तह, प्रदेश सरकार, संघीय सरकार, विश्वविद्यालय, कलेज, प्राविधिक शिक्षालय र अनुसन्धान संस्थासँग सम्भाव्यताअनुसार सहकार्य गर्दै नेपाल तथा विदेशमा अध्ययनरत विद्यार्थीका लागि कृषि उद्यमशीलता, फिल्ड अध्ययन, इन्टर्नसिप, अनुसन्धान र व्यावहारिक सिकाइका अवसर विकास गर्ने सम्भावना पनि अध्ययन गरिने संस्थाका रुपमा विकास गर्ने उनले बताए । उनले भने, ‘कृषिसम्बन्धी नीति निर्माण, व्यावसायिक कृषि विकास र एकीकृत कृषि उद्योगबारे छलफल गर्दा हिमालय नेपाल कृषि कम्पनीको वास्तविक अनुभव उपयोगी बनोस् । यसका लागि कम्पनीले आफ्ना उपलब्धि, चुनौती, उत्पादन, लागत र परिणामको अभिलेख राख्दै प्रमाणमा आधारित कार्यसंस्कृति विकास गर्नेछ । ’

कम्पनीको प्रगति भाषणमा होइन, कार्यसम्पादनमा, आश्वासनमा होइन, उपलब्धिमा; र अभिव्यक्तिमा मात्र होइन, प्रत्यक्ष रूपमा देख्न, बुझ्न र अनुभूति गर्न सकिने परिणाममा प्रतिबिम्बित हुनुपर्छ भन्ने मेरोदृढ मान्यता रहेको बताउँदै उनले सुशासन, पारदर्शिता, संस्थागत जवाफदेहिता र परिणाममुखी कार्यसंस्कृतिलाई कम्पनीको मूल आधारका रूपमा स्थापित गरी कम्पनीलाई आर्थिक रूपमा सबल, व्यावसायिक रूपमा प्रतिस्पर्धी, कृषक तथा लगानीकर्ताप्रति उत्तरदायी र राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पु¥याउने प्रतिष्ठित संस्थाका रूपमा विकास गर्नु प्रमुख दायित्व हुने बताए ।

उनले कम्पनीको सफलता प्रतिबद्धताका शब्दबाट होइन, कार्यान्वयनका परिणामबाट मापन हुनुपर्ने स्पष्ट सङ्कल्प भएको बताउँदै उनले भने, ‘कथ्य होइन, तथ्य; आश्वासन होइन, उपलब्धि; र मौखिक दाबी होइन, प्रमाणमा आधारित दृश्यात्मक प्रगति । यही सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्दै कम्पनीको आर्थिक समृद्धि, संस्थागत विश्वसनीयता र सामाजिक मान–मर्यादा अभिवृद्धि गर्न हामी प्रतिबद्ध छौँ ।’

कम्पनीको वित्तीय विवरण निम्नानुसार रहेको छः वित्तीय शीर्षक उल्लेखित रकम गैरचालु सम्पत्ति रु.४,८६,१९,४७०.३६ चालु सम्पत्ति रु. ५,३१,४९,६७३.१३ कुल सम्पत्ति रु. १०,१७,६९,१४३.९७ शेयर पुँजी रु. ३,७०,५०,०००.०० अग्रिम शेयर पुँजी रु. ५,७९,८४,७५०.०० सञ्चित कोष तथा जगेडा रु. ७,३७,६८३.१३ रहेको छ ।
आर्थिक वर्ष २०८३/८४ को प्रमुख लक्ष्य: रु. १८ करोडको बिक्री कारोबार आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीको प्रस्तावित बिक्री कारोबार लक्ष्य रु. १८ करोड रहेको छ । व्यवस्थापनको लक्ष्य सम्भव भएसम्म वार्षिक १० देखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने लक्ष्य कम्पनीको रहेको छ । सर्बसाधारणको लागि प्राथमिक निष्कासन (आईपीओ) लाई तत्काल प्राप्त हुने उपलब्धि वा निश्चित मितिको वाचा नभई कम्पनीको वित्तीय अवस्था, लेखापरीक्षण, संस्थागत सुशासन र नियामकीय योग्यताका आधारमा अघि बढाइने दीर्घकालीन रणनीतिक लक्ष्यका रूपमा लिइएको छ ।

यस कम्पनीमा लगानी गर्दा कसैले आत्तीनु पर्दैन । ढुक्क भई लगानी गर्दा हुन्छ । यसले एक दिन नसोचेको प्रतिफल दिनेछ । कम्पनीमा नजोडिएकाहरुलाई पश्चाताप हुने  दिन आउने छ । त्यसकारण नेपालको अग्रणी कम्पनी बनाउनका लागि शेयरधनी, लगानीकर्ता, कर्मचारी र कृषक सबैको मिहिनेटबाट यो फल प्राप्त हुनेमा म विश्वस्त छु । मलाइ केवल आवश्यक छ तपाईको विश्वास । यो भएमा म परिणाम निकाल्ने छु । प्रबन्ध सञ्चालक शर्माको प्रतिवद्धता छ ।

यस्तै सभामा कम्पनीकी अध्यक्ष प्रा. डा. चण्डिका पण्डितले एकीकृत व्यावसायिक मोडेलको उद्देश्यसहित निर्वाहमुखी कृषिलाई उत्पादनशील, प्रतिस्पर्धी र किसान केन्द्रित प्रणलीमा रूपान्तरण गर्नु नै कम्पनीको मुख्य उदेश्य भएको बताइन् ।

सभाले कम्पनीको वार्षिक प्रतिवेदनमा छलफल गरि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारितसमेत गरेको छ । यस्तै कम्पनीको वार्षिक वित्तीय विवरण पारित, लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/०८३ को वासालत, नाफा/नोक्सान हिवास, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूची सहितका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित