नेपालका चारवटा हिमतालको पानीको सतह घटाइने

काठमाडौं । नेपालका चारवटा हिमतालको पानीको सतह घटाउन थालिएको छ । उक्त योजनाअन्तर्गत मनाङ जिल्लाको ठुलागी, संखुवासभाको लोअर बरूण, सोलुखुम्बुका लम्दिङ र होंगु–२ हिमतालका पानीको सतह घटाइने छ । सरकारले तल्लोतटीय क्षेत्रमा बाढीको जोखिम न्यूनिकरण गर्न हिमतालको पानीको सतह घटाउने योजना बनाएको हो । उक्त योजना कार्यान्वयनका लागि सरकारले अहिले प्रारम्भिक कार्यशाला गर्ने र प्रतिवेदन बनाउने गरी काम सुरु गरिने जनाएको छ।

सुरुमा सर्भे डिजाइन गर्ने यसलाई रिडिजाइन गरेर स्वीकृत गराएपछि पानीको सतह घटाउने काम पूरा गर्न ७ वर्षजति लाग्ने बताइएको छ । नेपालले सन् २०२६ मा सुरु गरेर सन् २०३३ सम्ममा ४ वटै आयोजना सम्पन्न गर्ने लक्ष राखिएको छ ।

यी चार हिमतालमध्ये होंगु –२ को एक मिटर र बाँकीको करिब ३ मिटर पानीको सतह घटाउने योजना रहे पनि अध्ययन गर्दै जाँदा त्यसमा केही तलमाथि हुनसक्ने अधिकारीहरूले बताएका हुन्।

यी हिमतालको पानीको सतह घटाउनका लागि ग्रीनप्लानेट फण्ड अर्थात् हरित जलवायु कोषले ३६ मिलियन अमेरिकी डलर अनुदान स्वीकृत गरेको थियो भने बाँकी करिब १४ मिलियन डलर नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले खर्च गर्ने जनाइएको छ।

हिमतालबाट हुनसक्ने बाढीको जोखिम न्यूनिकरण, मौसम पूर्वानुमानमा सुधार र जोखिममा रहेका समुदायसम्म समयमै सूचना पुर्‍याउने कार्यक्रम समेतलाई यो योजनाले समेट्ने . बताइएकोछ ।

नेपालमा जोखिममा रहेका हिमतालकै सङ्ख्या २३ रहेको र त्यसमध्ये दुईवटा तालको पानीको सतह विगतमा घटाइएको थियो भने अब चारवटा घटाउन लागिएको हो।

नेपालमा यसअघि सन् २००० मा च्छो–रोल्पा र सन् २०१६ मा इम्जा हिमतालको पानीको सतह घटाइएको थियो। च्छो रोल्पा र इम्जा हिमतालको पानीको सतह ३ मिटर र ३.४ मिटर घटाइएको थियो।

ती तालहरूको सतह घटाएर जोखिम कम हुने भए पनि हिमतालबारे पूर्वसूचना प्रणालीलगायत तल्लोतटीय क्षेत्रमा पर्ने असर जस्ता कुराहरूमा पनि उत्तिकै जोड दिनुपर्ने विज्ञहरूले बताएका छन्। विगतमा दुईवटा तालको पानीको सतह घटाउँदाको अनुभवसहितका आधारमा अब काम गरिने जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।

ू

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित