स्वर्णिम वाग्लेले आफूलाई राष्ट्रघाती निकृष्ट दलालका रुपमा परिचित गराए

हरिभक्त कंडेल
कार्यबाहक महासचिव,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

० वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन कसरी गर्नुहुन्छ ?
–देशको वर्तमान राजनीतिक अवस्था एक जटिल, संकटपूर्ण एवं संवेदनशील मोडबाट गुज्रिरहेको छ । एकातिर बहुमतको नाममा रास्वपाको सरकारले बुर्जुवा संसदीय गणतन्त्रको सामान्य प्रक्रियालाई पनि लत्याएर जनहित एवं राष्ट्रहीत विपरीत स्वेच्छाचारी ढंगबाट अध्यादेश तथा ठाडो आदेश मार्फत् फासिवाद अभ्यास गरिरहेको छ । लामो तयारीका साथ अमेरिकी साम्राज्यवादको डिजाइनमा र भारतीय विस्तारवादको सहयोगमा निर्मित कठपुतली बालेन सरकारले जनताका विभिन्न संघर्षका माध्यमबाट प्राप्त गरेका जनवर्गका सीमित हकहित र सार्वभौम अधिकार प्रतिबन्धित गरी दमन र हस्तक्षेपको डण्डा बर्षाएको छ । सरकारले राष्ट्रिय स्वाधीनतामाथि खेलवाड गर्दै साम्राज्यवाद र विस्तारवाद प्रति आत्मसमर्पण र लम्पसारको नीति लिएको छ । अर्कोतिर चरम महंगी, भ्रष्टाचार तथा असुरक्षा एवं अनियमितताले जनजीवन अत्यन्तै कष्टकर र भयावहले देश आक्रान्त छ ।
सरकार दिनप्रतिदिन राजनीतिक मूल्य, मान्यता र जवाफदेहीता विहिन बन्दै गएको छ । साम्राज्यवाद र ठूला शक्तिका स्वार्थ केन्द्रित नवउदारवादी अर्थतन्त्रको दलालीको चपेटामा कार्यरत सरकार दिनानुदिन उनीहरुको नांगो कठपुतली बन्दै गएको छ । खरबौंको ऋणभार नेपाली जनता र राष्ट्रका नाममा थोपर्दै त्यसलाई उत्पादनमूलक र कुनै उपलब्धिमूलक कार्यमा खर्चिएको छैन । विभिन्न संसदवादी स्वार्थ केन्द्रहरुको आपसी टकराव र षडयन्त्र पनि बढ्दै गएको देखिन्छ । श्रमजीवी र स्वाभिमानी जनतामा व्यापक असन्तुष्टि र चरम आक्रोश बढ्दै गएको छ । समग्रमा अहिलेको राजनीतिक परिस्थिति बाह्य हस्तक्षेपको बोलाबाला, जताततै विचौलियाको चलखेल र साँठगाँठ एवं आन्तरिक द्वन्द्वले उकुशमुकुश र विस्फोटनको संघारमा खडा भएको छ । सबै न्यायप्रेमी र परिवर्तनका पक्षधर जनसमुदाय सचेत र एकताबद्ध हुँदै सतर्कतापूर्वक विस्फोटनलाई नयाँ जनवादी क्रान्ति सहित समाजवादी क्रान्ति तथा राष्ट्रिय मुक्तिको पक्षमा मुखरितगर्न सबै आवश्यक तयारीमा ढिलो नगरी जुट्न पर्याप्त ध्यान पु¥याउनु पर्दछ ।
२) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भएको दुई वर्ष हुन थाल्यो। राष्ट्रिय एकता महाधिवेशनदेखि अहिलेसम्मको यो करिव दुई वर्षको पार्टी कार्यको मूल्यांकन कसरी गर्नु हुन्छ ,
–राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गरेको दुई वर्ष पुग्नै लाग्दा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले केन्द्रीय समितिका ४ वटा पूर्ण बैठक सम्पन्न गरी समग्र अवस्था र स्थितिको समीक्षाका साथ संगठन र संघर्षका कार्यक्रम गर्दै आएको छ । त्यसबारे पार्टीले समय समयमा प्रेस विज्ञप्ती मार्फत् पार्टीका धारणाहरु सार्वजनिक गर्दै आएको पनि सर्वविदितै छ । यो अवधिमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका यथावत समस्याहरुलाई लिएर एकल वा संयुक्त रुपमा जनसंघर्ष गर्नुका साथै सरकारलाई ज्ञापनपत्र बुझाउने काम भएको छ । यस अतिरिक्त जनसम्बन्ध सुदृढ अभियान, पार्टी सुदृढीकरण अभियान लगायतका अभियानात्मक कार्यक्रमहरु संचालन गर्नुका साथै संगठन निर्माणका आन्तििरक कामहरु पनि हुँदै आइरहेका छन् । जुन अनुपातमा विचार दृष्टिकोण निर्माण र अन्य निर्णयहरु लिने हिसावले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय, राष्ट्रिय घटनाक्रमको चिरफार गर्न स्पष्टताका साथ अग्रसरता लियौं–त्यस अनुरुप संगठन चुस्त दुरुस्त गर्न र वर्गसंघर्षको क्षेत्रमा उल्लेख्य पहल लिन सकिएको छैन । त्यसैले अब क्रान्तिकारी आशावादका साथ योजनाबद्ध ढंगले कडा मेहनतका साथ निर्धारित लक्ष्यमा एकीकृत र केन्द्रिकृत भई सक्रियापूर्वक लाग्नुपर्दछ ।
३) पार्टीमा एकताको भावनालाई सुदृढ गर्न र क्रान्तिकारीदिशामा पार्टीलाई अगाडि बढाउन के के गर्नुपर्छ भन्ने ठान्नुहन्छ ?
–कम्युनिस्ट क्रान्तिकारीहरुको एकता एवं ध्रुवीकरण आजको आवश्यकता हो । क्रान्तिकारी विचार कार्यदिशा, काम कार्वाहीमा एकरुपता र भावनाको संयोजन नै वास्तविक एकताको आधार हो । पार्टी स्वयं विपरीतको एकत्व भएकोले कतिपय सवालमा मतभिन्नता हुनु स्वभाविक कुरा हो, मूल लक्ष्य र कार्यदिशामा समान सोंच र एक ठाउँमा रहँदा क्रान्तिकारी दिशामा पार्टीलाई अगाडि बढाउन सकिन्छ । विचार र नीतिमा बुझाइएको एक रुपता भएरमात्र पुग्दैन– त्यसमा काम कार्वाहीको लगावमा पनि एक रुपताको खाँचो पर्दछ । त्यसैले विचार र व्यवहारमा एकरुप हुनु भनेको वास्तविक अर्थमा एकताको जग खडा गर्नु हो । त्यसले मात्र एकतालाई भावनात्मक रुपमा सुदृढ गर्न बढवा दिन्छ । कमरेडली भावनाको विकास निर्दिष्ट लक्ष्य सहितको काम कार्वाहीको एक रुपताले पार्टी एकताको भावनालाई सुदृढ र सवल बनाउँछ ।
हाम्रो समाजमा निम्न पुँजीवादी चिन्तन र प्रवृत्तिले हरेकलाई निहित स्वार्थ र सुविधाले घर गरेको पाइन्छ । जब हामी पार्टी निर्देशनमा सामूहिक स्वार्थ र कार्यहरुमा केन्द्रित हुन थाल्दछौं । त्यसले मात्र हामीलाई त्याग, तत्परता, समर्पण, वर्ग निष्ठा, नयाँ खालको सच्चा वर्गीय मित्रताको आलोक पैदा पर्दछ । अनि मात्र हामी यहाँ रमाउँछौं । जसको क्रान्तिकारी संकल्प ओइलाउँदै जान्छ, उनीहरुको भावनालाई सुदृढीकरणद्वारा पुनर्जीवित तुल्याउन सकिन्छ। योजनाबद्ध प्रशिक्षण, छलफल, मैत्रीपूर्ण आलोचना र स्वआलोचनाद्वारा काम कार्वाहीमा नयाँ उचाई पैदा गर्दछ साथै एकताको भावनालाई थप सुदृढ गर्न योजनाबद्ध कामको संकल्पले पैदा गर्दछ । एकताको भावनालाई जनसस्तरसम्म फैलाउन हामी जनकार्यमा समर्पित भएर लाग्नु पर्दछ ।
४) संयुक्त मोर्चाको कार्यलाई कसरी अगाडि बढाउनु भएको छ ?
–कम्युनिस्ट आन्दोलनमा विभिन्न समयमा आवश्यकता हेरेर संयुक्त मोर्चाको अभ्यास भएको पाइन्छ । मुख्य दुश्मन विरुद्ध कमजोर दुश्मनसँग पनि मोर्चाबन्दी गरेको क. स्टालिनको अभ्यासको अनुभव पनि हामीसँग छ । प्रतिक्रियावादी सत्ता र व्यवस्थाका विरुद्धको संघर्षमा मित्र पार्टीहरु, देशभक्त र जनवादी शक्तिहरुसँगको संयुक्त मोर्चा वा कार्यगत एकता गरेको अनुभव त्यति धेरै नभए पनि केही संयुक्त संघर्षका घटनाहरु छन् । हाम्रो पार्टीले एउटा रणनीतिक संयुक्त मोर्चा निर्माण गरेको छ, जो अहिलेको हकमा पार्टीका मातृसंगठनहरु मात्र समावेश छन् । त्यसभन्दा अगाडि बढेर यसको विकास हुन सकेको छैन । अर्को नयाँ जनवादी क्रान्ति र समाजवादी क्रान्ति गर्नुपर्दछ भन्ने कम्युनिस्ट वामपन्थी पार्टीहरुको एउटा मोर्चा बनेको छ । चारवटा पार्टीहरुको बीचमा सामान्य कार्यगत एकता भन्दा माथिल्लोस्तरको मोर्चाको अभ्यास भैरहेको छ । यसले वैचारिक, सैद्धान्तिक र कतिपय राजनीतिक सवालहरु लिएर छलफल, बहस गर्दै कम्युनिस्ट आन्दोलनलाई कसरी सवल र प्रभावकारी ढंगले अगाडि बढाउन सकिन्छ भन्ने विषयमा नजिक रहेर काम गर्ने गरेको छ । यसले राष्ट्रियता , जनतन्त्र र जनजीविकाका सवालहरु एवं विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय घटना क्रमलाई लिएर संयुक्त संघर्ष गर्दै आएको छ । यसका साथै अन्य विभिन्न घटकहरु र व्यक्तित्व आदिलाई समेटी राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चा निर्माण गरी खास खास विषय र मुद्दाहरुलाई लिएर कार्यगत एकता वा संयुक्त मोर्चा मार्फत् संघर्ष उठाउँदै आएको छ । यस अतिरिक्त साम्राज्यवाद विरोधी अलि खुकुलो र व्यापक प्रकारको संयुक्त मोर्चा निर्माणको अवधारणा पनि पार्टीले औपचारिक रुपमा अगाडि सारेको छ–जसले राष्ट्रिय स्वाधीनता र स्वाभिमानका साथै सरकारको फासिवादी कदमका विरुद्धको संघर्षमा सहकार्य गर्नेहरु, त्यसबारे विभिन्न राजनीतिक पार्टीहरुसँग छलफल बहस चलिरहेको छ र छिटै निश्कर्षमा पुगिने छ ।
५) नेपाल सरकार र नेपालका राजनीतिक दलहरु स्थानीय तहको निर्वाचन तर्फ केन्द्रित भएको देखिन्छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आसन्न स्थानीय निर्वाचनसम्बन्धी दृष्टिकोण के हो ?
कठपुतली बालेन सरकारले स्थानीय निर्वाचनको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट “हामी आयौं” भनी डंका पिट्ने कामको शुरुवात गरेको छ । आसन्न स्थानीय निर्वाचनलाई लिएर अन्य संसदवादी पार्टीहरु पनि आफ्नो पार्टीको भूमिका के कसरी प्रभावकारी बनाउन सकिन्छ भनी आपसी परामर्शमा देखिन्छन् । यस निर्वाचनमा एकल वा मोर्चाबन्दी गरेर जाने भन्ने बारे कुरा उठे पनि निश्कर्षमा पुगिसकेका छैनन् । सरकारले पनि स्थानीय निर्वाचनको बारेमा खास मिति र प्रक्रियाबारे मूर्त गरिसकेको छैन ।
प्रतिक्रियावादी सत्ताधारीहरुले गराउने निर्वाचनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको भूमिकाबारे यो कार्यनीतिक विषय भएकोले के गर्दा पार्टी र क्रान्तिको हित हुन्छ –पार्टीको क्रान्तिकारी नीति र कार्यदिशालाई टेवा पु¥याउन सकिन्छ र जनहितमा स्थानीय निर्वाचनलाई प्रयोग गर्न सकिने सम्भावना छ कि छैन भन्ने आधारमा टुंगो लगाउनु पर्दछ । यसप्रकारको निर्णय लिंदा तत्कालीन अवस्था र परिस्थितिको ठोस मूल्यांकनका साथ निश्कर्षमा पुग्नुपर्दछ । यसबारे निकट भविष्यमा बस्ने पार्टीको बैठकबाट आसन्न स्थानीय निर्वाचन सम्बन्धी निर्णयको टुंगो लगाइने छ ।
६) हालै भारतको एक टेलिभिजनलाई अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्वार्ता दिने सन्दर्भमा “भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग अन्त्य भयो” भनेका छन् ? यसबारे तपाईको भनाई ?
–भारतको एक टेलिभिजनलाई अर्थमन्त्री स्वर्णीम वाग्लेले अन्तरर्वार्ता दिने क्रममा “भारतको विरोध गरेर राष्ट्रवादी बन्ने युग अन्त्य भयो ।” भन्ने जुन अभिव्यक्ति दिए त्यो पदीय मर्यादा र कुटनीतिविहीन अत्यन्तै असान्दर्भिक एवं अमर्यादित मात्र नभएर ज्यादै आपत्तिजनक पनि छ । यसले राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनता विरुद्ध खुलेआम विष वमन गरेको छ । यो भारतीय विस्तारवादको नांगो दलाली र चाकडी मात्र नभएर राष्ट्रिय आत्मसमर्र्पण र लम्पसारको ज्यादै निकृष्ट भद्दा नमुना हो । यो सुगौली सन्धिदेखि नेपालका तमाम प्राकृतिक स्रोत साधनमाथि भएका असमान सन्धि सम्झौता, नेपाली भूमिमाथि भएका भारतीय विस्तारवादी अतिक्रमणका साथै नेपालमाथि हरेक गिद्देदृष्टि राख्ने भारतीय दृष्टिकोण र व्यवहारको समर्थनमा परिलक्षित छ । तमाम स्वाभीमानी र स्वाधिनताप्रेमी नेपाली जनताले भारतीय विस्तारवादको नेपाल विरोधी हर्कत र समग्र गतिविधिको विरोध गरेर नै नेपालको यतिसम्म सार्वभौमिकता जोगिएको हो । स्वाभीमानी नेपालीको यस कार्यलाई हामीले गौरवताका साथ लिनुपर्दछ ।
रास्वपाको सरकारको समय समयका विभिन्न अभिव्यक्ति र प्रधानमन्त्री बालेनले संसदमा दिएको “नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ” भन्ने भनाईको भिन्न रुपको निरन्तरतामा यो आएको छ । योभारत सरकारले नेपाल र नेपालीप्रति गरेको हेपाहा र मिचाहा प्रवृत्तिको नांगो समर्थन हो यसले भारतको ठाडो हस्तक्षेप र नेपाललाई भारतीय भूमिमा गाभ्ने वा भुटानीकरण गर्ने प्रक्रिया कै पक्षपोषणको उद्घोष गरेको छ । यसरी स्वर्र्णीम वाग्लेले देशद्रोही र राष्ट्रघाती निकृष्ट दलाल नेपाली लेण्डुप दोर्जेका रुपमा आफूलाई परिचित गराएका छन् ।
७) क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आगामी कार्यक्रम के के छन्् ?
–राष्ट्रिय एकता महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमहरु सम्बन्धी विस्तृत राजनीतिक प्रस्ताव पारित गरेको छ । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नेपाली सर्वहारावर्गको अग्रदस्ता र तमाम शोषित, पीडित जनताको राजनीतिक पार्टी हो । यसको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद–माओवाद हो । पार्टीको आम कार्यक्रम नयाँ जनवाद हो र यसको आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो । तसर्थ पार्टीले नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको मार्ग हुँदै साम्यवादको लक्ष्यसम्म पुग्ने अपेक्षा राख्दछ । घोषित गन्तव्यमा पुग्न पार्टीले चरणबद्ध वा थुप्रै स–साना खुड्किला पार गर्नुपर्दछ । त्यसको लागि ठोस परिस्थितिको ठोस विश्लेषण गरेर आगामी कार्यक्रमहरु निर्धारण गर्दछ ।
वैज्ञानिक समाजवादी क्रान्तिको पूर्व सन्ध्यामा रहेको नयाँ जनवादी क्रान्ति सम्बद्ध कार्यक्रमहरु नै अहिलेको लागि आगामी कार्यक्रमहरु हुन् । सर्वप्रथमतः नेपाली आर्थिक सामाजिक विशेषताहरुको वस्तुनिष्ट अध्ययन गरी नेपाली क्रान्तिको स्वरुप निर्धारण गर्नु र त्यस अनुरुप क्रान्तिका तीन साधनहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी, त्यस मातहत जनसेना र संयुक्त मोर्चाको निर्माण तथा विकासको लागि संगठनात्मक तथा संघर्षका कार्यक्रमहरुको उचित तर्जुमा गर्नु हो ।
देशको आर्थिक सामाजिक अवस्था र त्यसका विशेषताहरुले नेपाल अर्धसामन्ती, अर्ध औपनिवेशिक विशेषता सहित नव औपनिवेशिक स्थितिमा रहेकोले यो अन्तविरोधहरु हल गर्न वा ती अवरोधका पहाडहरु पन्छाउँदै देशलाई मुक्त गर्दै अगाडि बढ्नको लागि पार्टीको आम कार्यक्रम नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै समाजवादी क्रान्तिमा लाग्नु हो । अहिले भने नयाँ जनवादी क्रान्तिका लागि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाललाई लिएर उत्पीडित वर्ग र समुदायका हकहित र अधिकारका समस्याहरुलाई लिएर जनसंगठन निर्माण गर्दै संघर्ष गर्नु नै कार्यक्रमको प्राथमिकता हो र हुनुपर्दछ । त्यसका लागि राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका कार्यक्रमहरु ठोस गर्दै संघर्षको योजनाबद्ध कार्यक्रम निर्माण र संचालन गर्नु हो । साथै अन्य उत्पीडन र भेदभावमा परेका सबै जनसमुदायका अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पार्टीका तत्कालीन एवं निकट आगामी कार्यक्रम हुन् ।
८) हाँक साप्ताहिक मार्फत् थप भन्नु केही छ कि ?
–सर्वप्रथम तपाईको साप्ताहिक पत्रिका हाँक मार्फत् अन्तर्वार्ताको माध्यमबाट आम जनसमुदायमा विचार राख्ने अवसर प्रदान गर्नु भएकोमा तपाई र हाँक साप्ताहिकको समग्र परिवारलाई हार्दिक धन्यवाद दिन चाहान्छु । धेरै विषयवस्तुहरु माथि उठाइएका अन्तर्वार्ताको सन्दर्भमा राखियो । नेपाल, नेपाली जनताका मुक्तिका पक्षमा एवं अन्तर्राष्ट्रिय प्रसंगमा समेत जनसमुदायको पक्षमा हाँक साप्ताहिक पत्रिकाले महत्वपूर्ण भूमिका खेलेको छ । यो पत्रिका प्रशासनमा जुन दुःख कष्ट र अभावबीचबाट मेहनतका साथ लेख, रचना, समाचार र अन्तर्वार्तामाफर््त जनजागरण पैदा गर्ने काम भएको छ– त्यो सह्रानीय छ । यसको उत्तरोत्तर प्रगति र सफलताको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित