कमरेड रामसिंह राई : मेरा स्मृतिमा एक निष्ठावान् कम्युनिस्ट नेता

– डिल्लीराम बोहोरा

कमरेड रामसिंह राईको उपचारको क्रममा २०८३ कात्तिक २५ गते काठमाडौंको वीर अस्पतालमा मृत्यु भयो ।भोजपुरका निष्ठावान् कम्युनिस्ट नेता कमरेड रामसिंह राईको चर्चा २०४६ सालको राजनीतिक परिवर्तनपछि भोजपुरमा निकै चुलिएको थियो। उहाँसँग मेरो पहिलो भेट २०५३ सालमा अनेरास्ववियुको १२औँ जिल्ला कमिटीमा रहँदा भएको थियो।

२०५४ साल मंसिरमा सम्पन्न अनेरास्ववियु भोजपुरको १३औँ जिल्ला सम्मेलनमा हलभित्र नेतृत्व चयन हुन सकेन। त्यसपछि बैंक रोडस्थित श्रीकुमार राईको कोठामा हामी केही प्रतिनिधिलाई बोलाएर उहाँले नेतृत्व चयनको विवादमा अल्झिनुभन्दा संगठनको हितलाई प्राथमिकता दिन सुझाव दिनुभएको थियो। उहाँको त्यो सुझावले संगठनभित्र उत्पन्न विवादलाई हेर्ने उहाँको परिपक्व राजनीतिक दृष्टिकोणलाई प्रतिबिम्बित गर्दथ्यो।

त्यसको करिब दस वर्षपछि, २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनका क्रममा उहाँसँग पुनः केही महत्त्वपूर्ण राजनीतिक प्रसङ्गमा भेट भयो। त्यसबेला अन्तरिम सरकारका गृहमन्त्री कृष्णप्रसाद सिटौला भोजपुर आउनुभएको थियो। जिल्ला विकास समिति (जिविस) को सभाहलमा राजनीतिक दल तथा उम्मेदवारहरूलाई आमन्त्रण गरिएको कार्यक्रममा रामसिंह राईले माओवादीले निर्वाचनलाई त्रासपूर्ण बनाउन खोजिरहेको विषयमा गृहमन्त्रीलाई आफ्नो दलका तर्फबाट जानकारी गराउनुपर्ने धारणा राख्नुभएको थियो।

निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात् चैत २३ गतेसम्म मेरो उम्मेदवार रहेको दल नेकपा (एकीकृत) को चुनावी कार्यक्रम चौकीडाँडा, आफर बजारमा सञ्चालन भइरहेको थियो। त्यसै क्रममा उहाँसँग पुनः भेट भयो। त्यतिबेला तत्कालीन नेकपा (माओवादी) ले चौकीडाँडा गाविस भवनमा आफ्नो पार्टी कार्यालय स्थापना गरेको थियो।

उहाँ माओवादीप्रति केही आक्रामक देखिनुहुन्थ्यो। उहाँले मसँग भन्नुभयो, “माओवादीले गाविसमा राखेको पार्टीको बोर्ड हामीले मिलेर हटाइदिनुपर्छ।” मैले उहाँलाई त्यस दिन त्यस्तो कदम चाल्नु उचित नहुने सुझाव दिएँ। यस विषयलाई छलफल र सहमतिका माध्यमबाट समाधान गर्नुपर्ने मेरो धारणा थियो।

त्यस दिनको चुनावी कार्यक्रममा मैले पनि आफ्नो धारणा स्पष्ट रूपमा राखेको थिएँ। निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अवस्थामा पुग्न सक्ने नेकपा (माओवादी) ले गाविस भवनमा राखेको पार्टीको बोर्ड अहिले नै हटाउनु उचित हुने मेरो तर्क थियो। भोलि माओवादीकै नेतृत्वमा सरकार बनेपछि अन्य दलले पनि त्यसैगरी सरकारी भवनमा पार्टीका बोर्ड राख्न थाले भने त्यसको राजनीतिक र व्यावहारिक असर सम्बन्धित सबै पक्षलाई पर्न सक्ने कुरा मैले औँल्याएको थिएँ।

हाम्रो चुनावी कार्यक्रम सम्पन्न भएपछि माओवादीका तर्फबाट लङ्का अधिकारीले मञ्चबाट नभनेको भए पनि हामीले उक्त बोर्ड हटाइसक्ने थियौँ भन्ने आशय व्यक्त गर्नुभएको थियो। त्यसपछि माओवादीले गाविस भवनमा राखेको आफ्नो पार्टीको बोर्ड हटायो। यस घटनालाई मैले कमरेड रामसिंह राईको राजनीतिक प्रयत्न सफल भएको रूपमा लिएको थिएँ।

निर्वाचन सम्पन्न भएपछि सबै राजनीतिक दलहरूले जनतासँगको भेटघाट तथा अन्तरक्रियालाई निरन्तरता दिइरहेका थिए। त्यसै क्रममा उहाँ मेरो जन्मगाउँ कुलुङ पुग्नुभएको थियो। त्यहाँ नेकपा (माओवादी) ले बस्नेत परिवारको कब्जामा लिएको रुद्राक्षको ठेक्कासम्बन्धी विवाद समाधान गर्ने क्रममा परिस्थिति तनावपूर्ण बन्यो। विवादले उग्र रूप लिएपछि केही व्यक्तिहरूको समूहले कुलुङ स्कुल बजारमा उहाँमाथि निर्मम कुटपिट गर्‍यो। कुटपिटबाट उहाँ मरणासन्न अवस्थामा पुग्नुभयो। पछि उहाँलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ल्याइएको थियो।

उहाँलाई अस्पतालमा भेट्न जाँदा उहाँले मलाई भावुक हुँदै भन्नुभएको थियो, “डिल्लीजी, मलाई साथीहरूले यो हालतमा पुर्‍याए।” त्यो घटनापछि उहाँको शारीरिक स्फूर्ति र पहिलेको जस्तो सक्रियता क्रमशः घट्दै गएको मैले महसुस गरेको थिएँ। मेरो आफ्नै जन्मगाउँमा उहाँमाथि भएको त्यो दुःखद् घटनाले उहाँको जीवन र राजनीतिक सक्रियतामा पुर्‍याएको क्षति आजसम्म पनि मेरो स्मृतिमा ताजै छ।

उहाँले यस्ता अनेकौँ राजनीतिक आरोह–अवरोह, चुनौती र प्रतिकूल परिस्थितिको सामना गर्दै भोजपुरमा नेकपा (एमाले) को संगठनलाई पुनर्जीवन दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो। उहाँको योगदान र निरन्तरको राजनीतिक सक्रियताकै कारण भोजपुरमा एमालेको संगठनात्मक आधार निर्माण र विस्तारमा उल्लेखनीय सहयोग पुगेको थियो।

तर विडम्बना, उहाँले आफ्नो जीवन समर्पित गरेको पार्टी कम्युनिस्ट पार्टीको आदर्श, सिद्धान्त र व्यवहारअनुरूप अघि बढ्न सकेन भन्ने मेरो राजनीतिक बुझाइ रह्यो। कम्युनिस्ट आन्दोलनप्रति उहाँको निष्ठा, संगठन निर्माणमा पुर्‍याउनुभएको योगदान र व्यक्तिगत जीवनमा भोग्नुपरेका पीडाहरू स्मरण गर्दा उहाँप्रति सम्मानभाव अझ गहिरो भएर आउँछ।

कमरेड रामसिंह राई केवल एक राजनीतिक व्यक्तित्व मात्र हुनुहुन्नथ्यो; उहाँ भोजपुरको कम्युनिस्ट आन्दोलनका एक संघर्षशील, निष्ठावान् र स्मरणीय नेता हुनुहुन्थ्यो। उहाँसँग जोडिएका यी व्यक्तिगत र राजनीतिक स्मृतिहरू मेरो जीवनका अविस्मरणीय अनुभवका रूपमा रहनेछन्।

रामसिंह राई

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित