बेङ्गलोर, ७ नोभेम्बर २०२६। अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको आयोजनामा गौरवशाली संगठन अखिल भारत नेपाली एकता समाजको ४८औँ स्थापना दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता नगर समितिका उपाध्यक्ष वीरेन्द्र बि.के.ले गर्नुभएको थियो भने सञ्चालन नगर समितिका कोषाध्यक्ष शिवराम बि.के.ले गर्नुभएको थियो। कार्यक्रममा संगठनका केन्द्रीय सचिव रामसिंह बि.के. प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी केन्द्रीय सदस्यहरू धर्मराम बि.के., शेरसिंह बि.के., मीना बि.के., क्षेत्रीय सदस्य द्रोपती बि.के., विद्यार्थी केन्द्रीय सदस्य प्रतिभा बि.के. तथा नगर सदस्य अर्जुन टमाटाको अतिथिका रूपमा उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूले आसन ग्रहण गरेपछि देश र जनताको मुक्तिका लागि आफ्नो जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरिएको थियो। त्यसपछि नगर सदस्य राधिका बि.के.ले उपस्थित सम्पूर्ण जनसमुदायलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो। स्वागत मन्तव्यसँगै रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीत तथा संगीतमार्फत स्वागत गीत प्रस्तुत गर्दै कार्यक्रमलाई सांस्कृतिक र उत्साहपूर्ण वातावरण प्रदान गरेका थिए। कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथि तथा केन्द्रीय सचिव रामसिंह बि.के.ले दीप प्रज्वलन गरेर गर्नुभएको थियो। ४८ वर्षको गौरवशाली इतिहास र संगठनको उद्देश्य कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामसिंह बि.के.ले अखिल भारत नेपाली एकता समाजको ऐतिहासिक पृष्ठभूमि, स्थापना कालदेखि हालसम्मको संगठनात्मक यात्रा र उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ मा भारतको पवित्र सहर वाराणसीमा गोविन्दसिंह थापाको अध्यक्षतामा भएको ऐतिहासिक तथ्य स्मरण गराउँदै संगठनले ४७ वर्षको यात्रा पूरा गरी ४८औँ वर्षमा प्रवेश गरेको बताउनुभयो। उहाँले संगठन स्थापनाको मूल उद्देश्य भारतमा रोजगारी, शिक्षा, व्यापार तथा विभिन्न पेसामा संलग्न श्रमजीवी प्रवासी नेपालीहरूको हकहितको संरक्षण गर्नु रहेको स्पष्ट पार्नुभयो। प्रवासी नेपालीहरू विभिन्न समयमा आइपर्ने सामाजिक, आर्थिक तथा कानुनी समस्याहरूको समाधानका लागि संगठनले आफ्नो क्षमताअनुसार आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको इतिहासलाई स्मरण गराउनुभयो। त्यसैगरी संगठनले प्रवासी नेपालीहरूलाई संगठित गर्दै उनीहरूको अधिकार, सम्मान र सामाजिक सुरक्षाका विषयमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो। संगठनको यही संघर्ष, चेतना र संगठनात्मक यात्राबाट शिक्षा लिँदै कतिपय व्यक्तिहरू नेपालको संसद्सम्म पुग्न सफल भएको प्रसङ्गसमेत उहाँले उल्लेख गर्नुभयो। उहाँले संगठनले भारतमा रहेका नेपालीहरूको हकहितका सवालमा मात्र नभई नेपालमा सञ्चालन भएका विभिन्न जनतान्त्रिक आन्दोलनहरूप्रति समेत ऐक्यबद्धता जनाउँदै आएको ऐतिहासिक भूमिकालाई स्मरण गराउनुभयो। अन्त्यमा ४८औँ स्थापना दिवस केवल उत्सव मनाउने अवसर मात्र नभई विगतका संघर्ष, योगदान र उपलब्धिहरूको समीक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ व्यवस्थित, सक्रिय र जनमुखी बनाउने संकल्प गर्ने अवसर भएको सन्देश दिनुभयो। संगठनात्मक एकता र आगामी जिम्मेवारी अखिल भारत नेपाली एकता समाजको ४८औँ स्थापना दिवसले भारतमा रहेका प्रवासी नेपालीहरूबीच एकता, आपसी सहयोग, अधिकारप्रतिको चेतना र संगठनात्मक जिम्मेवारीलाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरेको छ। संगठनले विगतमा निर्वाह गर्दै आएको भूमिकालाई निरन्तरता दिँदै नयाँ पुस्तालाई समेत संगठनको इतिहास, उद्देश्य र संघर्षसँग जोड्नु आजको आवश्यकता हो। प्रवासी नेपालीहरूको हकहित र अधिकारको संरक्षणका लागि संगठित बनौँ ! नवौँ अखिल भारत नेपाली एकता समाजको सम्मेलन सफल पार्न जालन्धर जाऔँ ! संगठनको एकता, संघर्ष र उपलब्धिलाई अझ सुदृढ बनाउन नवौँ अखिल भारत सम्मेलन सफल पारौँ ! अखिल भारत नेपाली एकता समाज जिन्दावाद ! संसारका मजदुर एक हौँ ! नेपाली एकता जिन्दावाद !!
Comments

