हाँक निरन्तर प्रकाशित भइरहँदा खुशी र गौरव महशुस हुन्छ

-मोहन तामाङ र शंकर पौडेल, उदयपुर
२०५३ सालदेखि हाँक उदयपुर गाइघाटमा आउन थालेको थियो । गाइघाटमा पार्टीको सम्पर्क कार्यालय थियो । नेकपा (मसाल) को पार्टी नामबाट कार्यालयको फोन दर्ता थियो । कार्यालय गाइघाटको मुख्य चोकबाट दक्षिणतर्फ राजेन्द्र चौधरीको घरमा थियो ।
हाँक साप्ताहिकको ग्राहक बनाउन हामी पार्टीका साथीहरु लाग्थ्यौं । तर वितरण गर्ने जिम्मा राजेन्द्र चौधरीकै थियो । त्यस बाहेक मुनाल पुस्तक भण्डार (पुस्तक पसल) मा पनि हाँक साप्ताहिक आउँथ्यो । २०६२ सालसम्म हाँक साप्ताहिक गाइघाट आइरहन्थ्यो ।
तत्कालीन नेकपा(एकताकेन्द्र–मसाल) विभाजित भएपछि हाँकले गाइघाटमा निरन्तरता पाएन । (एकताकेन्द्र–मसाल) बनेपछि गाइघाटमा जनएकता पनि आउने गर्दथ्यो ।
हाँक साप्ताहिकले कार्यकर्ताहरुको सैद्धान्तिक–वैचारिकस्तर उठाउन मद्दत गर्दै आएको छ । यसबाट देश दुनियाँको खबरहरु प्राप्त हुन्छ । यसले जनताको संघर्षलाई साथ सहयोग दिंदै आएको छ । राष्ट्रिय स्वाधीनता, जनतन्त्र, जनजीविकाको पक्षमा आवाज उठाउँदै आएको छ ।
विगतमा हाँक छापिएपछि मोहनविक्रम सिंह, रामसिंह श्रीस, हुकुमबहादुर सिंह, युवराज पन्थी, प्रेम सुवेदी, परी थापा, नवराज सुवेदी लगायतको लेखहरुलाई प्रतिगमनकालमा गाइघाटमा उत्सुकताको साथ पढ्ने गरिन्थ्यो । हाँक अहिले पनि प्रकाशित भइरहँदा खुशी र गर्व लाग्छ । हाँकका सामग्री अहिले हामीले मोवाइलमा नै पढ्ने गरिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित