न्यायाधीश–विचौलिया इनमको मुद्दाप्रति जनताको चासो

इनम सापकोटा २०८३ असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी भारतको नयाँदिल्ली जान लागेका बेला प्रहरीले नियन्त्रणमा लिएको थियो। सुरुमा उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको थियो। तर अहिले
सम्पत्ति शुद्धीकरणको मुुद्दामा अनुसन्धान जारी छ।मंसिर ३ गते काठमाडौं जिल्ला अदालतले उनीसहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पुँजीवादी लोकतन्त्रमा व्यवस्थापिका र कार्यपालिकामाथि प्रश्न उठ्दा न्यायपालिकाले निष्पक्ष न्याय सम्पादन गर्छ भन्ने गरिन्छ । तर जब न्याय सम्पादन गर्ने सर्वोच्च निकायका न्यायाधीशहरू नै बिचौलियासँगको सम्पर्क, संवाद र शंकास्पद गतिविधिका कारण विवादमा तानिन्छन्, तब त्यसले एउटा व्यक्तिको आचरणमाथि मात्र होइन, समग्र न्यायिक प्रणालीको विश्वसनीयतामाथि प्रश्न खडा गर्छ। पछिल्लो समय चर्चामा आएको इनम सापकोटा प्रकरणले नेपाली समाजमा यस्तै गम्भीर प्रश्न जन्माएको छ।
बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको मोबाइलबाट सर्वोच्च अदालतका न्यायाधीशहरूसँग भएका संवाद, उच्चपदस्थ सरकारी अधिकारी तथा राजनीतिक व्यक्तिहरूसँगको सम्पर्क र शंकास्पद आर्थिक कारोबारका विवरण सार्वजनिक भएपछि यो प्रकरण थप चर्चामा आएको हो। विशेषगरी सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग विचाराधीन मुद्दाका विषयमा भएको ह्वाट्सएप संवाद र भेटघाटको विवरणले न्यायिक निष्पक्षतामाथि गम्भीर बहस सिर्जना गरेको छ। त्यस्तै, प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत आर्थिक कारोबारसम्बन्धी सार्वजनिक विवरणमा जोडिएपछि विवादको दायरा अझ फराकिलो भएको छ। सम्बन्धित न्यायाधीशहरूले आफ्नो पक्षबाट स्पष्टीकरण दिएका छन् तर आरोपसँग सम्बन्धित विभिन्न पक्षमा अनुसन्धानको आवश्यकता देखिएको छ।
यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष एउटा सामान्य व्यक्तिले कसरी न्यायपालिका, प्रहरी प्रशासन, राजनीतिक नेतृत्व र ठूला व्यवसायीसम्म पहुँच विस्तार गर्न सक्यो भन्ने हो। के यो व्यक्तिगत सम्बन्ध र सम्पर्कको परिणाम मात्र हो वा राज्यका विभिन्न निकायमा प्रभाव पार्न सक्ने कुनै संगठित सञ्जालको अस्तित्व छ ?यदि कुनै व्यक्तिले राजनीतिक पहुँच र आर्थिक प्रभावको प्रयोग गरेर न्यायिक निर्णयलाई प्रभावित पार्ने प्रयास गरेको हो भने त्यसको निष्पक्ष अनुसन्धान र कानुनी निरूपण हुनुपर्छ भनी जनताले आवाज उठाइरहेका छन् ।
न्यायाधीश र बिचौलियाबीच भएको संवादलाई सामान्य सामाजिक सम्पर्कको रूपमा मात्र व्याख्या गरेर यसबाट उठेका प्रश्नलाई पन्छाउन मिल्दैन। न्यायाधीशहरूको आचारसंहिताले न्याय सम्पादनमा नकारात्मक प्रभाव पार्ने गरी अनावश्यक सम्पर्क र सम्बन्ध विस्तार गर्न निषेध गरेको छ। विचाराधीन मुद्दाका विषयमा कुनै बाह्य व्यक्तिसँग संवाद हुनु, त्यसमा राजनीतिक नेतृत्वको नाम जोडिनु र मुद्दाको परिणामबारे चासो व्यक्त गरिनुले न्यायिक आचरणको प्रश्न उठाउँछ। न्यायाधीशले कुनै अनुचित आर्थिक लाभ नलिएको दाबी गरे पनि न्यायाधीसले विचौलियासँग भेटघाट र सम्पर्क गर्नु सरमसर न्यायाधीसको आचरण विपरित कार्य हो ।
यस प्रकरणले न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्धको सीमाबारे समेत प्रश्न उठाएको छ। राजनीतिक नेतृत्वले न्यायिक प्रक्रियालाई आफ्नो प्रभावमा राख्ने प्रयास गर्नु र न्यायिक पदमा रहेका व्यक्तिहरूले राजनीतिक दबाब वा बाह्य पहुँचलाई स्थान दिनु दुवै गलत हो । न्यायपालिका कार्यपालिकाको निर्देशनमा चल्ने निकाय होइन। त्यसैले प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका नेता, व्यवसायी वा अन्य कुनै प्रभावशाली व्यक्तिको नाम प्रयोग गरेर न्यायिक निर्णय प्रभावित पार्ने प्रयास भए त्यसको छानबिन हुनुपर्छ।
अर्कोतर्फ, यस प्रकरणलाई केवल न्यायाधीश र इनम सापकोटाबीचको सम्पर्कमा सीमित गरेर हेर्नु पनि पर्याप्त हुँदैन। सार्वजनिक भएका विवरणमा प्रहरी प्रशासन, सुरक्षा निकाय, राजनीतिक नेतृत्व र आर्थिक स्वार्थ समूहसँग जोडिएका विभिन्न प्रसङ्गहरू आएका छन्। त्यसैले अनुसन्धानको दायरा कुनै एक व्यक्ति वा निकायमा सीमित हुनुहुँदैन। सापकोटाले कसको प्रतिनिधित्व गर्थे, उनको सम्पर्क सञ्जाल कसरी निर्माण भयो, आर्थिक कारोबारको स्रोत र उद्देश्य के थियो तथा राज्यका निकायमा प्रभाव पार्ने कुनै संगठित प्रयास भएको थियो कि थिएन भन्ने प्रश्नको तथ्यपरक जवाफ खोजिनुपर्छ।
यस घटनाले सञ्चारमाध्यमको भूमिकालाई पनि महत्त्वपूर्ण बनाएको छ। सार्वजनिक सरोकारका विषयमा अनुसन्धानमूलक समाचार प्रकाशन गर्नु प्रेसको संवैधानिक तथा व्यावसायिक दायित्व हो। तर समाचार प्रकाशन गरेकै आधारमा पत्रकारलाई दबाब दिने, पक्राउ गर्ने वा स्रोत खुलाउन बाध्य पार्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। अनुसन्धानका नाममा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रयास भए त्यसले थप अविश्वास जन्माउँछ। पत्रकारिताले पनि अपुष्ट सूचना र आरोपलाई प्रमाणित तथ्यका रूपमा प्रस्तुत नगरी जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ।
अहिले जनताको मुख्य चासो इनम सापकोटा पक्राउ परे कि परेनन् भन्नेमा मात्र सीमित छैन। उनीसँग जोडिएका भनिएका शक्तिशाली व्यक्तिहरूमाथि पनि समान रूपमा अनुसन्धान हुन्छ कि हुँदैन भन्ने हो। एउटा सामान्य नागरिकमाथि आरोप लाग्दा राज्यका निकायहरू तत्काल सक्रिय हुने तर शक्तिशाली पद र पहुँच भएका व्यक्तिहरूको हकमा अनुसन्धान सुस्त हुने हो भने कानुनी समानताको सिद्धान्तको उपहास हुन्छ। अनुसन्धानको निष्कर्ष प्रमाणका आधारमा आउनुपर्छ, पद, प्रतिष्ठा र राजनीतिक निकटताका आधारमा होइन।
त्यसैले यस प्रकरणमा सरकारले अनुसन्धानलाई निष्पक्ष, पारदर्शी र राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ। न्यायिक परिषद् र सम्बन्धित संवैधानिक निकायले आफ्नो क्षेत्राधिकारअनुसार उठेका प्रश्नको निरूपण गर्नुपर्छ। सार्वजनिक भएका डिजिटल संवाद र आर्थिक कारोबारको प्राविधिक परीक्षण गरी प्रमाणको विश्वसनीयता सुनिश्चित गर्नुपर्छ। दोषी देखिने जोकोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ भने आरोप पुष्टि नभएका व्यक्तिको प्रतिष्ठा र कानुनी अधिकारको पनि सम्मान हुनुपर्छ। जनताको चासोको मूल प्रश्न पनि यही हो—न्यायको अन्तिम ढोकामै बिचौलियाको प्रभाव छ भने न्याय खोज्न जाने नागरिकले भरोसा कहाँ गर्ने ?

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित