अनुसन्धान, आविष्कार र नवप्रवर्तनको महत्व

कुनै पनि चिजको अध्ययन गर्नु, खोजी गर्नु, छानवीन गर्नु अनुसन्धान हो । नयाँ वस्तु, विचार वा सिद्धान्तको निर्माण गर्नु वा उत्पादन गर्नु आविष्कार हो । जीवनको विभिन्न क्षेत्र वा विषयमा नयाँपनको आवश्यकता बोध गर्नु, नयाँपनको खोजी गर्नु र नयाँ चिजको सृजना गर्नु नवप्रवर्तन हो । नवप्रवर्तन एउटा दार्शनिक अवधारणा हो । ग्रीस दार्शनिक एवम् इतिहासकार जेनोफेन (ई. पू.४३०– ३५५) ले नवप्रवर्तनको बारेमा प्रारम्भिक अवधारणा दिएका थिए । अहिले समाजका विभिन्न क्षेत्रहरु विचार, सिद्धान्त, वस्तु उत्पादन सबै ठाउँमा नवप्रवर्तनलाई महत्व दिइन्छ ।
वैज्ञानिक महावीर पुन असार १५ गतेबाट सरकार सित अनुसन्धान, आविष्कार र नवप्रवर्तनका लागि ४ वुँदे माग राख्दै काठमाडौ माइतीघर मण्डलामा धर्ना बसेका थिए । उनका मागहरु–एक, अनुसन्धान ,आविष्कार र नवप्रवर्तनका लागि सरकारले कोष खडा गर्नु पर्दछ । दुई, अनुसन्धान सम्बन्धमा बेग्लै ऐन बन्नु पर्दछ । तीन, आविष्कार गरिएका वस्तुहरुको दर्ता र लाइसेन्स आदिको व्यवस्था गर्नु पर्दछ र चार, राज्यले आविष्कार सम्बन्धमा एउटा विभाग नै बनाउनु पर्दछ । नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्ने व्यवस्था गर्नु पर्दछ ।
वैशाख १५ गते महावीर पुन काठमाडाँैको माइतीघर मण्डलामा धर्ना बसेका थिए । उनलाई राजनीतिक दल, संघ, संस्था र व्यक्तिहरुले धर्नास्थलमा गएर समर्थन जनाए । माघ १८ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का र महावीर पुनले ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिमा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरूमा लगानी गर्ने उल्लेख छ । कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसद्को आगामी अधिवेशनबाट कानुन निर्माण गर्ने सहमति भएको छ ।
नेपालमा जे जति अनुसन्धानका संस्थाहरू थिए २०४६ को परिवर्तन पछि नव उदारवादको प्रभाव बढ्दै जाँदा नेपालका अनुसन्धान गर्ने सीमित संस्थाहरु ध्वस्त नै भए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अनुसन्धान संस्थाहरुले गरेको अनुसन्धान मूल्यवान मानिन्थे र युरोप, अमेरिकासम्म तिनका रिसर्च डकुमेन्ट बिक्री हुन्थे । खोजी खोजी पढिन्थे । तर आज त्रिभुवन विश्वविद्यालय अन्तर्गतका चार वटै अनुसन्धान संस्थाहरु सिनास्ट ,सेडा, सेरिड, रिकास्टलाई सरकाबाट न बजेट छ । न अनुसन्धान प्रति राज्यको चासो छ । ती संस्थाका प्राध्यापकहरुलाई सरकारले तलब मात्र उपलब्ध गराउँद छ । अनुसन्धानको लागि उनीहरुले विभिन्न दाताहरु खोजेर अनुसन्धान गर्दछन । स्पष्ट छ नेपाललाई , चाहिने अनुसन्धान हैन स्वयं दातालाई चाहिएको अनुसन्धान उनीहरुलाई गराउँछन् । नेपालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नामक अनुसन्धान संस्था पनि छ । त्यसको पनि दयनीय हालत छ । नेपाल प्रज्ञा प्रतिष्ठानले ५ वटा विधामा एक वर्षमा करीब ५० लाख अनुसन्धान र करिब ५० लाख पुस्तक प्रकाशनमा छुट्टाउँछ । त्यो रकम अनुसन्धानको विशाल क्षेत्रका अगाडि हात्तीको मुखमा जिरा हुने गर्दछ । साझा प्रकाशनले नयाँ प्रतिभा र अनुसन्धानकर्ताको प्रकाशन करीव बन्द गरेको छ ।साझा प्रकाशन पुराना पुस्तक पुुनःप्रकाशन गर्दै जेनतेन चलिरहेकोछ ।
साम्राज्यवादीहरु नेपाल जस्ता गरीव मुलुकमा अनुसन्धान र नयाँ उत्पादन,नयाँ निर्माण देख्न चाहदैनन । किनकि उनीहरु नेपाल जस्ता उत्पीडित देशका जनतालाई उपभोक्ता मात्र बनाउन चाहन्छन् । नेपालमा अनुसन्धान, आविष्कार र नवप्रवर्तनको संस्कृति विकास भएर जाने हो भने नेपालको आफ्नै उत्पादनको विकासको सम्भावना हुनेछ । त्यसबाट नेपालको राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जग बस्ने छ । तर नेपालमा अनुसन्धान, आविष्कार र नवप्रवर्तनको संस्कृति सजिलै सित विकास हुने सम्भावना छैन किनभने यहाँका शासकहरु विदेशी साम्राज्यवादीहरुको हित रक्षा गर्ने वाला छन् ।
महावीरले आफ्नै देशमा अनुसन्धान, अन्वेषणलाई बलियो बनाऔं भनेका छन् । पुनको विचार र मागहरु देशको हितमा छन् । यो दलाल संसदीय व्यवस्थाका शासकहरुले सही मागलाई अलमल्याउने र राष्ट्रिय हितका पक्षमा काम गर्ने छैनन् । तैपनि सही मागलाई समर्थन गर्नु पर्दछ । माग पूरा गर्न यथासम्भव दवाव पनि सृजना गर्नु पर्दछ ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित