पूर्वराजा ज्ञानेन्द्र शाह अहिले सुदूरपश्चिमको भ्रमणमा छन् । धनगढीमा उनले सभालाई सम्बोधन पनि गरेका छन् । धनगढी मै उनलाई त्यहाँका विभिन्न सङ्घसंस्थाहरूले नागरिक अभिनन्दन पनि गरेका छन् । उनी अहिले खुला रुपमा वर्तमान सरकारका विरुद्ध बोल्न पनि थालेका छन् । उनको यो भ्रमणको उद्देश्य भाषण गर्न वा जनतालाई भेट्न मात्र नभएर यो राजनीतिक तरलताको बीचबाट आफ्नो पक्षमा जनमत तयार गर्ने र सत्तारोहणका लागि वातावरण बनाउने हो भन्ने कुरामा कुनै द्विविधा रहेन । उनले भनेका छन्“ भोलिको सपनालाई साकार र विपना बनाउन नेपालीपन, मान्यता र मनोभावना अनुसार नेपाली जनतालाई नै जिम्मा दिउँ, यसैमा हाम्रो कल्याण हुन्छ ।” उनको यो भनाईबाट के बुझ्न सकिन्छ भने राजतन्त्रलाई फेरि पुनस्र्थापित गर्नका लागि जनमत सङ्ग्रहमा जाउँ जे परिणाम आउँछ, त्यसैलाई सबैले स्वीकार गर्नुपर्छ भन्ने हो । तर राजसंस्था ल्याउनका लागि जनमत सङ्ग्रहको कुनै आवश्यकता छैन । २०६२÷६३ मा जनमत उनको विरुद्धमा गइसकेको थियो ।
२०६३ जेठ १५ गते पुनस्र्थापित संसदले गणतन्त्रको प्रस्ताव पारित गरेपछि उनी नारायणहिटी राजदरबार छाडेर आफ्नो निजी निवासतिर सरेका थिए । उनले लामो समयसम्म मौनता साधेका थिए । तर पछि उनी मठ मन्दिरहरूमा दर्शनका लागि जाने गर्न थाले । त्यस क्रममा नेपाल र भारतका थुप्रै मठ मन्दिरमा पुगे । त्यही क्रममा उनी भारतीय नेताहरूसित पनि भेटघाट गरे । राजाको सक्रियता देखा परेपछि राजावादीहरू पनि जुर्मुराउन थाले । आज राजालाई समर्थन गर्नेहरूले विभिन्न गुट उपगुट बनाएर राजालाई पुन: सिंहासनमा स्थापित गर्न तम्सिएका छन् । पछिल्लो समयमा दुर्गा प्रसाईले आयोजना गरेको सार्वजनिक समारोहमा उनी उपस्थित भएका थिए । उनले जनतालाई यो व्यवस्थाको अन्त गरेर राजसंस्था ल्याउन साउति गरिरहेका छन् ।
पूर्व राजाका साथसाथै पूर्व पंचहरू पनि राजतन्त्र व्यूँताउन खुला रुपमा बोल्न थालेका छन् । राप्रपाका सांसदहरू त संसदमा आउनुका पछाडि राजतन्त्र ल्याउनका लागि हो भनेर घोषणा नै गरेका छन् । पूर्व राजाले भने सीधै भन्दैनन्, उनी कुरा घुमाएर आप्mनो आशा व्यक्त गर्छन् । धनगढीमा पनि उनी त्यही प्रकारको आशय प्रकट गरेका छन् ।
अहिले देशमा व्याप्त कुशासन, महङ्गी, बेरोजगारी, कमिशनखोरी, तस्करी, भ्रष्टाचार, माफिया गिरी, आदिले गर्दा जनताको जीवनस्तर झनपछि झन जर्जर बन्दै गएको छ । जनसङ्ख्या बढिरहेको छ, कृषि उत्पादन घटिरहेको छ । उद्योगधन्दा नीजिकरण भएका छन् । व्यापार घाटा निरन्तर बढिरहेको छ । राजनीतिक दलहरूको मनोमानी बढेको छ । संविधान माथि नै अतिक्रमण हुने गरेको छ । वैदेशिक हस्तक्षेप बढिरहेको छ । एमसीसी पारित भएपछि देशमा अब अमेरिकनहरूको हस्तक्षेप बढ्ने अवस्था देखिएको छ ।
राष्ट्रघाती नागरिकता विधेयकले विदेशी नागरिकको जनसङ्ख्या बृद्धि हुने र खास रैथाने नेपाली अल्पमतमा पर्ने अवस्था देखिएको छ । स्वयं उच्चपदस्थ नेताहरू नै नक्कली शरणार्थी बनाएर ठगी गरिरहेका छन् । यी सबै कुराहरूले देशको अवस्था आज चिन्ताजनक देखिएको छ र देश असफल राष्ट्र«को रुपमा घोषणा हुन मात्र बाँकी छ । यही अवस्थालाई उठाएर पूर्व राजा ज्ञानेन्द्रले जनता समक्ष चिन्ता प्रकट गरिराखेका छन् र जनतालाई के बुझाउन खोजिरहेका छन् भने राजसंस्था पुनस्र्थापित भयो भने यसप्रकारको बेथिति हुने छैन । जनता सुख गरी बाँच्ने छन् ।
यो कुरा सत्य हो कि लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु भन्दा पूर्व जनताले यस्तो सास्ती भोग्नु परेको थिएन । तर जनताको लागि लोकतन्त्र थिएन । अहिले लोकतन्त्र छ तर सुशासन र प्रणाली छैन । चरम वेथितिले सीमा नाघेको छ । देशमा जुनप्रकारको बेथिति विकृति आएको छ, त्यसका लागि काङ्ग्रेस, एमाले र माओवादीहरू जिम्मेवार रहेका छन् । देशमा सङ्घीयता आएपछि घरघरमा सिंहदरबार आउँछ भनेर सङ्घीयता विदेशीको इशारामा लादियो । तर सङ्घीयताले देशमा आठ वटा सरकार बन्न पुगे । खर्च दशौँ गुणा बढेर गयो ।
अहिले नेपालको वैदेशिक ऋण साढे एक्काइस खर्ब पुगेको छ । कुनै दिन श्रीलङ्काको जस्तो अवस्था हुन बेर छैन । जुन देशका नेता मानवतस्करी, ठगी र राष्ट्रद्रोही काम गर्छन्, त्यो देशमा केही हुन्छ भनेर आशा गर्नु नै बेकार छ । तर आज पूर्व राजाले जुन तर्क गरिरहेका छन्, त्यो वस्तुनिष्ट तर्क होइन ।
खास कुरो त के हो भने देशमा निजीकरण, भूमण्डलीकरण र उदारीकरणको नीति लागु भएपछि देशमा दलाल पुँजीपति वर्गको सङ्गठित रुपमा उदय हुन गयो । सङ्घीयता, एमसीसी, भ्रष्टाचार, राष्ट्रघाती नागरिकता, कमिशनतन्त्र, सिन्डीकेट, कर्टेलिङ जस्ता जनविरोधी र राष्ट्रघाती नीतिहरू ल्याइयो, त्यसले जनतालाई अत्यन्त पीडित बनायो । फलस्वरूप त्यसको असर शिक्षा र स्वास्थ्यमा पनि परेको छ । युवाहरू विदेश पलायन हुनु पर्यो । श्रमशक्ति देशमा नभएपछि राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्र विकृत बन्न पुग्यो । तर यसको समाधान राजसंस्थाको पुनस्र्थापना हुन सक्दैन । पुँजीवादबाट समाज सामन्तवादतर्फ पछाडि फर्कन सक्दैन ।
केही मानिसहरू आफ्नो विचार राख्न पाउँछन् । पूर्व राजाले पनि एउटा नागरिकका हैसियतले त्यो कुरा राख्न पाउनु स्वाभाविक हो । तर त्यो जनतालाई स्वीकार्य हुँदैन । त्यस्तो रहर नगर्दा राम्रो हुन्छ । अब समाज अगाडि बढ्नु पर्छ, पछाडि होइन । दलाल पुँजीवादले देशलाई वर्वाद पारेको अवस्थामा यो भन्दा उच्चस्तरको वैज्ञानिक व्यवस्थामा जानु नै अहिलेको विकल्प हुन सक्छ । त्यो भनेको मजदुर किसान नेतृत्वको जनताको जनवाद (पुँजीवाद) र त्यसपछि समाजवाद हो । त्यसका लागि जनता निरिह बसेर पाइँदैन, जनता जाग्नुपर्छ सङ्घर्षमा होमिन सक्नुपर्छ । जनता जागेपछि सामन्त, दलाल तथा नोकरशाहहरूको बोली बन्द हुनेछ । पूर्व राजाको सक्रियताको पनि पटाक्षेप हुनेछ ।

