नेपाली कम्युनिस्ट आन्दोलन गम्भीर वैचारिक, सांगठनिक र सांस्कृतिक मूल्य विघटनको अवस्थाबाट गुज्रेको छ । संसदवाद, वर्ग समन्वय र परिस्कृत नव बुर्जुवाकरण नेपाली कम्युनिस्ट आन्दोलनको मूल चरित्र बनेको छ । संसदीय लाभ र सत्ता स्वार्थका निम्ति राष्ट्रिय विखण्डनकारी, प्रतिक्रियावादी शक्तिहरुसितको गठबन्धन र सहकार्यका रुपमा तिनीहरुको लाइन प्रष्ट रुपमा बाहिर आएको छ । त्यसको बदलामा संवैधानिक कु को मार्ग अवलम्वन गरेको अर्को शक्तिले प्रतिगामीहरुसित गठबन्धन गर्न पुगेको छ । अर्को क्रान्तिको राग अलाप्ने एकसिटे गुट चुत्था संसदीय लाभको निम्ति गठबन्धनको नाममा लुखुर लुखुर कचौरा बोकेर बुढानिलकण्ठ र खुमलटार धाइरहेको एउटा लज्जित तस्वीर हाम्रा अगाडि छ । कम्युनिस्ट क्रान्तिकारीहरुका लागि निर्वाचन एउटा सामान्य कार्यनीतिक प्रश्न हो । यस्तो मामुली विषयमा यस्तो लम्पसारवाद साँच्चिकै उदेगलाग्दो देखिन्छ ।
यो दृश्यले नेपाली कम्युनिस्ट आन्दोलनमा भयानक रुपमा सैद्धान्तिक संकट पैदा भएको देखाएको छ । सिंगो कम्युनिस्ट आन्दोलन नै डुब्न थालेको र यो प्रतिक्रियावादी व्यवस्था जोगाउने मतियार बनेको अवस्थामा क्रान्तिकारी विचार सिद्धान्त र राजनीति जोगाउने दायित्व इतिहासले सच्चा क्रान्तिकारीहरुको काँधमा सुम्पेको छ । त्यही इतिहासले सुम्पेको महान् ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व बोकेर एउटा क्रान्तिकारी विद्रोही तागतका रुपमा नेकपा (मसाल) केन्द्रीय समन्वय समिति र राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको उदय भएको देखिन्छ । यो उदय आज एउटा सामान्य फरक विचार जस्तो मात्र देखिएको छ । यथार्थमा यो उदयका दृश्यहरुका दृश्यहरु दक्षिणपन्थी मुकाम विरुद्धका क्रान्तिकारी झिल्काहरु हुन् भन्ने विश्वास गर्न सकिन्छ । आसन्न स्थानीय निर्वाचनमा हुँदै गरेको राजमो समन्वय समितिको उपस्थिति यो प्रतिक्रियावादी व्यवस्थाको रक्षाकवज बन्नका निम्ति निश्चय पनि होइन होला भन्ने आशा गरिएको छ । मसाल समन्वय समिति र राजमो समन्वय समितिका राजनैतिक दस्तावेजहरु हेर्दा यसको लक्ष्य यो दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्थाका विरुद्धमा प्रचारात्मक आन्दोलनलाई अगाडि बढाउने, द्वितीय ः यो जनविरोधी भ्रष्ट र नालायक व्यवस्था भित्रको विकृति र विसंगतिलाई भण्डाफोर गरेर जनसमक्ष व्यवसथाको शोषक वर्ग चरित्रलाई उदांगो पार्ने, तृतीयः योव्यवस्थाका विरुद्धमा जनमत सृष्टि गर्दै यसलाई बृहद जनमत साथ बल प्रयोग मार्फत् जनवादी क्रान्ति सम्पन्न गर्ने आदि यसका महान लक्ष्यहरु रहेका छन् । त्यसकारण कम्युनिष्ट आन्दोलन यसरी बर्बाद हुँन्दै गएको अवस्थामा समन्वय समितिको तर्फबाट निर्वाचनको मैदानमा खटिएका उम्मेदवारहरुलाई मतदान गर्नु यो जनविरोधी व्यवस्थाको मतियार हुनबाट जोगिनु पनि हो भन्ने दरिलो आधार देखिन्छ ।
अर्को यसको महत्व कम्युनिस्ट आन्दोलनको विचार, सिद्धान्त, राजनीतिक लाइन, लक्ष्य र समपनाहरुको प्रश्नसित पनि जोडिएको छ । अब नेपाली कम्युनिस्ट आन्दोलन क्रमशः नववुर्जुवा चेहराको संसदवादी र क्रान्तिकारी गरी दुई धु्रवमा विभाजन हुने दिशामा उन्मुख भइरहेको छ । त्यस आलोकमा नेकपा (मसाल) समन्वय समिति र राष्ट्रिय जनमोर्चा समन्वय समिति आजको झिल्को हो भने भोलिको ठूलो क्रान्तिकारी ज्वाला पनि हो । सच्चा क्रान्तिकारीहरुका लक्ष्य र महान् सपनाका अगाडि निर्वाचन एउटा सामान्य विषय हो । क्रान्तिकारी राजनीतिक लाइन, आदर्श र लक्ष्यका मूल्यहरुमा समान माक्र्सवादी दृष्टिकोण र दार्शनिक समझ्दारी भए पश्चिात् नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी ध्रुवीकरण र नयाँ कम्युनिस्ट केन्द्रको निर्माण निश्चय नै टाढाको विषय बन्ने छैन । यही मार्गमा नै कम्युनिस्ट आन्दोलनको उज्जवल भविष्य निर्भर छ । त्यसका लागि पूर्व घटकीय आग्रह, पूर्वाग्रहबाट माथि उठेर सम्पूर्ण छरिएर रहेका क्रान्तिकारीहरु एकताबद्ध हुनु आजको आवश्यकता हो । तसर्थ छरिएर रहेका क्रान्तिकारीहरुले समन्वय समितिका स्वतन्त्र उम्मेदवारहरुलाई मत दिएर सहयोग गर्नुपर्ने देखिन्छ । यो नै क्रान्तिकारी विचार र धारप्रतिको निष्ठा हुनेछ । प्रतिक्रियावाद, विखण्डनवाद र पुनरुत्थानवादका विरुद्धमा सम्झौताहीन संघर्ष, हरेक मोर्चामा लडाई र कम्युनिस्ट आन्दोलनको शिविरमा रहेका दक्षिणपन्थीहरुको मुकामको सैद्धान्तिक भण्डाफोर गरेर अगाडि बढ्नु नै सच्चा क्रान्तिकारीहरुको अहिलेको तत्कालिन ऐतिहासिक दायित्व र जिम्मेवारी दुवै हो ।