सहिदले देखेको सपना पूरा भएको छैन

– नेत्र राजवंशी, सहिद विरेन राजवंशीका सुपुत्र

नेत्र राजवंशी ऐतिहासिक झापा विद्रोहका सहिद विरेन राजवंशीका सुपुत्र हुनुहुन्छ । पंचायती व्यवस्थाले झापा विद्रोहमा संलग्न अभियोगमा पक्राउ परेका रामनाथ दाहाल, विरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुँइकेल र नारायण श्रेष्ठलाई झापाको चन्द्रगढी जेलबाट इलाम जेल सुरुवा गर्ने बहानामा झापाको सुखानी जंगलमा पु¥याएर २०२९ फागुन २१ गते हत्या गरेको थियो । उहाँ बुबाको हत्या हुुँदा ५ वर्षको बालक हुनुहुन्थ्यो । अहिले नेत्र राजबंशीले मेची नगरपालिका वडा नम्बर ९ मा सुब्बा सरहको जागिरमा कार्यरत हुनुहुन्छ ।त्यसका अलावा उहाँ विभिन्न सामाजिक संघ संस्थामा पनि कार्यरत हुनुहुन्छ । नेत्र भन्नू हुन्छ ,“ सहिदले देखेको सपना पूरा भएको छैन ।“ यसपटक हाँक साप्ताहिकले सहिद पुत्र विरेन राजवंशी सित उहाँको बुबा, परिवार र राजनीतिक अवस्थाका बारेमा कुराकानी गरेको छ ।
० बुबाको हत्या हुँदा तपाई कति वर्षको हुनुहुन्थ्यो । सहिद विरेन राजवंशी बारे तपाईसित के कस्ता सम्झनाहरु छन् ?
– मेरो जन्म २०२४ साल माघ १२ गते भएको हो । २०२९ फागुन २१ गते बुबा सहित ५ जनाको हत्या भएको बेला म ५ वर्षको उमेरको थिएँ । म बच्चा नै भएकाले धेरै कुराको सम्झना छैन । मम्मीले भने अनुसार हामी दुई भाइ जन्मिएपछि बुबा भूमिगत हुनु भएको थियो ।
मेरा काकाहरुले बताए अनुसार मेरो बुबा २०१८ सालदेखि नै जिल्ला पंचायतको पि.टि.ए. (पंचायत टे«निङ एसिस्टेण्ट) हुनुहुन्थ्यो । बुबा राजबाङ्शी समाजमा पढेलेखेको युवा हुनुहुन्थ्यो । बुबाले पन्चायती ब्यबस्था सन्चालनका बारेमा पन्चहरू र कर्मचारीहरूलाई तालिम दिने गर्नु हुन्थ्यो । पन्चायती व्यबस्थाको कर्मचारी कसरी पन्चायत विरोधी बनेर निस्किएको होला भन्ने जिज्ञासा आम मान्छेलाई हुन सक्छ । अग्रजहरूबाट सुने अनुसार उहाँ पन्चायती ब्यबस्थाको कर्मचारी भएकाले विदेश भ्रमण गर्नु भएको थियो । विदेश जाँदा उहाँले कम्युनिस्ट विचार ,कम्युनिस्ट आन्दोलनका चमत्कारिक कथाहरू पनि सुन्नु भएको थियो । एकातिर विदेश भ्रमणमा कम्युनिस्टबारे प्रेरक कुरा सुन्नु र अर्को कुरा पारी पश्चिम बंगालमा नक्सलाईट आन्दोलन तथा वारि झापामा किसान संघर्ष चलेको अवस्थाले गर्दा मेरो बुबा पनि पन्चायत ब्यबस्था बिरोधी भएर निस्कनु भयो ।

बुबाको मृत्युपछि उहाँको पासपोर्ट हेर्दा त्यसमा चीन, हङकङ लेखेको थियो । बुबाको हत्या हुँदा म आमासितै ज्यामिरगढीमा थिएँ । म आमाको माइतमा हुर्किएको हुँ । बुबाको हत्या भएको खबर सबै भन्दा पहिले झापाको प्वाँटीवारीमा मेरो काका सुरेन, रामेश्वर र मेरो हजुरबुबा कुशल सिंहलाई जानकारी भएछ । मेरो आमाको माइती मेरो बुबाहरु भन्दा बढी सम्पत्तिवाला हुनुहुन्थ्यो । म आमासितै ज्यामिरगढी बस्थे । काका र हजुरबुबाले एक जना मान्छेलाई लिन भनेर खबर पठाउनु भयो । हामीलाई लिन आएका मान्छे एका बिहानै हाम्रो घर आउनु भएको थियो । आमाले भाइलाई काखमा बोकेर र मलाई डो¥याउँदै ज्यामिरगढीबाट प्वाँटीवारी पु¥याउनु भयो । प्वाँटीवारी घर पुग्दा काका, फुपु, हजुर बुबा, हजुर आमा, गाउँले र आफन्तहरु सबै शोकमग्न थिए । रोइरहेका थिए ।
त्यसपछि हामी प्वाँटीवारीबाट झापाको सदरमुकाम चन्द्रगढी हिंड्दै गयौं । हजुरबुबाले मलाई काँधमा बोकेर चन्द्रगढी लैजानु भएको थियो । कान्छो काका सानै ८÷९ वर्षका हुनुहुन्थ्यो । त्यही भएर उहाँ जानु भएन ।
मेरो बुबा सहित ५ जनाको लास मुर्दाघरमा लाइन लगाएर राखिएको थियो । अन्य मृतकहरुका परिवार र आफन्त पनि त्यहाँ पुगेका थिए । ५ मृतकका आफन्तहरु जम्मा हुँदा ठूलै जमघट भइसकेको थियो । मुर्दा घरको ताला खोल्न प्रहरीहरुले मानिरहेका थिएनन् । नेत्र घिमिरेकि श्रीमती जीवन घिमिरेले शव बोक्ने बाँस काट्न लगेको बन्चरोले मूर्दा घरको तालामा हिर्काउनु भयो । मुर्दा घरको ढोका खुल्यो । जीवन मम्मीले प्रहरीहरुलाई थर्काउनु भयो । ५ वटै परिवारका हामी यहाँ जम्मा भइसकेका छौं । सक्छस् भने हामीलाइ यहाँ लाइन लगाएर गोली हान् । हामी हाम्रो शव जसरी पनि लैजान्छौं भन्नुभयो । मुर्दा घरबाट आ–आफ्ना शव निकाल्ने काम भयो । मेरो बुबाको शवलाई मेची खोलाको किनारमा लगेर दाहसंस्कार ग¥यौं ।
० बुबाको मृत्यु भइसकेपछिका दिनहरु कसरी बिते ?
–बुबाको मृत्यु भइसकेपछिका दिनहरु मेरो निकै कष्टपूर्ण रहे । २०३२ सालतिर आमाले अर्को बुबा लिएर आउनु भयो । हाम्रो राजवंशी भाषामा घर ज्वाईलाई डँगुवा भन्छ । आमाले नरेन राजवंशी नाम गरेका डँगुवा लिएर आउनु भयो । उतापट्टिको डंगुवाबाट ३ छोरी र १ छोरा जन्मिए । हाम्रो बुबा तर्फका हामीदुई भाइ थियौं । अमामाले डँगुवा लिएर आएपछि मलाई सानिमाले र भाइलाई ठूली आमाले लगेर पाल्नु भयो ।
सानाबाले मलाई अलि ठूलो भएपछि मेरै घरमा काम गरे पछि तँलाई विवाह गराइदिउँला भन्नु भएको थियो ।
जग्गा आमाकै नाममा थियो । बुबा जेल पर्दा धरौटी राख्दा तीन विघा जग्गा बेच्नु भएछ । बुबा बितेपछि माइतीबाट मिलेको १८ विघाजग्गा थियो । त्यो पनि धेरै जसो आमा र अर्को डँगुवाले बेच्दै खाँदै गर्दा धेरै जसो जग्गा सकिए । आमा र डँगुवाले रक्सी खाएरै सम्पत्ति उडाए । हाम्रो हालत खराब हुने भएकाले हामी दुई भाइलाई सानिमा र ठूली आमाले पाल्नु भएको हो ।
०४६ सालमा प्रजातन्त्र आएपछि सहिद परिवारहरुको खोजविन भयो । मानव अधिकार मञ्चले जीवन घिमिरे (सहिद नेत्र घिमिरेकी श्रीमती) र विशेश्वरा दाहाल (सहिद रामनाथ दाहालकी श्रीमती) लाई काठमाडौं लिएर गयो । जीवन मम्मी र विशेश्वरा मम्मीलाई अहिले पनि मम्मी नै भन्छु । जीवन मम्मी र विशेश्वरा मम्मी काठमाडौंबाट फर्किएपछि हाम्रो परिवारलाई भेट्न आउनुभयो । मेरो आमाको २०४५ तिरै मृत्यु भइसकेको थियो । जीवन मम्मी र विशेश्वरा मम्मीकै पहलमा हामी दुई भाइलाई झापाको विर्तामोडको सगरमाथा बोर्डिङमा पढ्ने व्यवस्था गरिदिनु भयो । हामी दुई भाइले त्यही बोर्डिङबाट एस.एल.सी. पास ग¥यौं ।
केपी ओली २०५१ मा गृहमन्त्री हुनु भएका बेला जागिर माग्न गएका थियौं । जागिर खान धनगढी जान भन्नु भएको थियो । निकै टाढा भयो । म त्यहाँ गइन । ०५२ मा विमला राजवंशीसित विवाह गरें । २०५६ देखि मेची नगरपालिकामा कर्मचारीको रुपमा नियुक्त भइ काम गर्दै आएको छु ।
० तपाई राजवंशी समाज विकास समितिको मेची नगरपालिका वडा नम्बर १५ को सचिव रही काम गरिरहनु भएको छ । आफ्नै राजवंशी समुदायबारे बोल्नु पर्दा के भन्नुहुन्छ ।
–कोचे भन्नु र राजवंशी भन्नु एउटै कुरा हो । कुनै बेला यस क्षेत्रमा कोच राज्य थियो । कोच राज्यको दरवार विहारमा थियो ।
राजवंशी नेपालका पनि आदिवासी हुन् । विशेषतः झापा, मोरङ र सुनसरीमा राजवंशीहरु छन् । राजवंशीहरु निकै सोझा र इमान्दार जाति हुन् । उनीहरुसित प्रशस्त जमिन थियो । तर शिक्षा थिएन । मेरो युवा कालमा १५÷२० विघा जमिन भएका थुप्रै राजवंशीहरु थिए । तर हेर्दा हेर्दै उनीहरु जग्गा बेच्दै खाँदै गरेर गरिब भए । मेरी श्रीमतीका ५ दिदी बहिनी हुन् । मेरा साला र जेठान थिएनन् । मेरी श्रीमतीको भागमा परेको ससुरालीहरुले दिएको १ विघा ६ कठ्ठा जमिन थियो । ०४७ सालमा सहिद परिवारहरुलाई राजनीतिक पीडित कोषबाट प्राप्त रु. १ लाख मध्येबाट घडेरी किनेर घर बनाएका हौं । मेरा बच्चाहरु तीन वटी छोरी छन् ।
० बुबा बितेको दिन सम्झँदा कस्तो महशुस हुन्छ ?
–निकै पीडाबोध हुन्छ । अहिले नेताहरुको व्यहोरा हेर्दा चित्त बुझेको छैन । हामीले सुने अनुसार सहिद रामनाथ दाहालकै घरमा बसेर केपी ओलीले पढ्नु भएको हो । मेरो व्यक्तिगत जीवन त ठीकै छ । तर आम जनता र देशले मुक्ति पाएन । सहिदको सपना पूरा भएको छैन ।
केही समय पहिले केपी अंकल मेरो घर आउनु भएको रहेछ । नेत्र खै भनेर सोध्नु भएछ । म यता नगरपालिका कार्यालयमा थिएँ । दशैं भन्दा पहिलेको कुरा हो । दशैं खर्च भनेर मेरी श्रीमतीलाई २० हजार छाडेर जानु भएछ ।
० यो देशमा सहिदले रगत बगाए । के हुनु पर्दथ्यो , के भएन ?
–सहिद परिवारलाई रोजगारी र शिक्षाको ग्यारेन्टी हुनुपर्दछ । नेताहरुले जनतालाई दिएको आश्वासन पूरा हुनुपर्छ । कैयौं सहिद परिवारले अहिले पनि दुःख पाएर बसेका छन् । झापा विद्रोहको अभियोगमा लामो समय जेल जीवन बिताएका सानो दुर्गा अधिकारी अहिले पनि धुलावारीमा खोलाको किनारमा पुर्जा नभएको जग्गामा बसिरहनु भएको छ ।
० झापामा विकासको अवस्था के छ ?
–हामी केटाकेटी हुँदाका बेला भन्दा विकास भएको छ । तर समाजको असमानता र शोषण हटेको छैन । ज्यामीरगढीबाट धुलाबारीसम्म हिंड्दै हिंड्दै आउनु पर्दथ्यो ।अहिले सडकको विकास भएको छ । अहिले ज्यामिरगढीमा प्लाई, जुत्ता, चिया र सिमेन्ट उद्योग खुलेको छ । हजारौं मजदुरहरुले काम गर्दछन् । नेपाली भन्दा धेरै भारतीय छन् उद्योगहरुमा ।
० संघर्षमा बुबाले दिएको योगदानप्रति के भन्नुहुन्छ ?
–सहिद परिवारमै विभेद भएको छ । छविलाल राजवंशी झापा विद्रोहमा लागेको अभियोगमा जेलमै मरे । उनको छोरा कुमार मेचे हुन् । कुमार विमारी छन् । उपचार गर्न सकिरहेका छैनन् । हाम्रो परिवारमा बुबा पढे लेखेको हुनुहुन्थ्यो । पढेपछि सरकारले मार्ने रहेछ भन्ने डरले पनि कैयौं राजवंशीहरुले आफ्ना बच्चाहरुलाई पढाएनन् । अहिले पनि कतिपयले तिम्रो बुबाले गोली खाएका कारण हामीले पढ्न पाइएन भन्ने मान्छे भेट्छु ।
झापाको सुखानी, सालबाडी र ज्यामिरगढीमा मेरो बुबाको शालिक बनाइएकोछ । झापा विद्रोहमा मारिएका अन्य सहिदहरूको पनि विभिन्न ठाउँमा शालिक बनाइएकोछ । ज्यामिरगढी मेरो घरैको आडमा सहिद विरेन राजवंशीको नाममा प्रतिष्ठान खोलिएको छ । जनताको जीवन स्तरमा परिवर्तन नभई वा देशको राष्ट्रिय स्वाधीनता बलियो नभई सहिदको सपना साकार हुन्न ।
नेताहरू केवल आफै मात्र कमाउने ,सहिदको सपना के थियो भनेर नसोच्ने गरेको देख्दा दुख लाग्छ ।
० हाँक मार्फत् थप केही भन्नु हुन्छ कि ?
– मेरो विचार राख्ने अवसर दिएकोमा म हाँक साप्ताहिकलाई धन्यवाद दिन चाहन्छु । हाँक साप्ताहिकको प्रगतिको लागि शुभकामना दिन्छु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित