कम्युनिस्ट चरित्रको निर्माण आजको कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण आवश्यकता हो

वीर बहादुर पुन
सचिव, नेकपा (मशाल), जिल्ला संगठन समिति, प्यूठान

वीर बहादुर पुन प्यूठान जिल्लामा स्थापित राजनीतिकर्मी हुनुहुन्छ । उहाँले बिगतमा शिक्षक र जनप्रतिनिधिको अनुभव हासिल गरिसक्नु भएकोछ । अहिले उहाँ व्यावसायिक कृषक पनि हो । तरकारी खेती र मौरिपालनमा लाग्नु भएका पुन सामाजिक काम र राजनीतिक काममा पनि उत्तिकै सकृय हुनुहुन्छ ।
पन्चायतकाल देखि नै राजनीतिमा चासो राखेका पुन २०५४ मा मसालका तर्फबाट वडा सदस्य निर्बाचित भएकाथिए । २०७४ को स्थानीय निर्वाचनमा राजमोको तर्फबाट प्यूठानको स्वर्गद्वारी नगरपालिकाको मेअर उम्मेदवार बनेका थिए । यसपटक हाँक साप्ताहिकले वीर बहादुर पुन सित अन्तर्वार्ता लिएकोछ ।

१ ) राजनीति र संगठन प्रति तपाई कसरीआकर्षित हुनु भयो?
– २०३७÷३८ साल तिर स्वर्गद्वारी धरमपानीको स्कुलमा कक्षा ६÷७ मा पढ्दा एक जना गुरूले कक्षा ८÷९मा पढ्ने छात्रासँग अनैतिक सम्बन्ध गरेको विषयमा विद्यार्थीहरूले ठूलो आन्दोलन गरेका थियौं । हामी विद्यार्थीहरूले जुलुस गरेका थियोें । अ.ने.रा.स्व.वि.यु. जिन्दावाद भन्दै नारा जुलुस गरेका थियौ । स्वर्गद्वारी मन्दिरबाट चिम्टा लिएर आएका जोगीसँग लड्न ढुंगा थुपार्ने काम गरेको संझना छ। २०४३ सालमा एस. एल.सी. परीक्षाको तयारीको लागि ट्युसन पढ्न विजुवार गएको बेला शशिधर भण्डारीको अखिल (छैेठौ) र कम्युनिस्ट पार्टीको बारेमा जुम्रीढिक झपेन्द्र वैद्यको घरमा र कृष्ण सेनको क्वाडी चेतनाथ योगीको घरको साथमा रहेको घरमा कलास दिनुभएको थियोे । त्यसबाट प्रभावित भएको थिएँ । अहिले पनि ती घर देख्दा ती दिनको सम्झना आउँछ । २०४६ सालको आन्दोलन पछि गाउँ गाउँमा साँस्कृतिक कार्यक्रम देखाउने , जाली फटाहालाई कारवाही गर्ने कार्यक्रम धरमपानी स्कुलका दामोदर पौडेल र रोचक सुवेदी सर र भिंगृ स्कुलका सर केशब सुवेदी र घनश्याम योगी सरहरूको अगुवाइमा भएको थियो । त्यसै क्रममा म अखिल नेपाल युवक संघ धनवाङ वडा समितिमा आवद्ध भएको थिएँ ।
२) २०४६ सालमा बहुदल आए पछि प्यूठान जिल्लामा कम्युनिस्ट विरुद्ध धेरै घटना घटे । जस्तैः रातामाटा काण्ड (गिरिजा काण्ड), दाङबाङ काण्ड ,पूजा काण्ड ,बरौला काण्ड ,तुषारा काण्ड । ती काण्डहरूमा तपाई कतै मुछिनु भयो कि भएन ? ती बारे तपाईलाई के सम्झना छ ?
– बहुदल आए पछि बरौलाको भवानी काण्ड पछि प्यूठानको सदरमुकाम खलंगामा २०५१ जेष्ठ १० गते प्रशासन कार्यालय घेराउ गरेका थियौं । प्रहरीले लाठीचार्ज गर्दा के.बि. गुरूङ र म गम्भीर घाइते भएका थियौं ।
३) २०४९ र २०५४ को स्थानीय चुनाव तथा २०५१ र २०५५ को संसदीय चुनाव बारे तपाईको अनुभव के छ ?
– २०४९ सालको स्थानीय चुनावमा मेरो उमेर नपुग्ने भएकोले स्वर्गद्वारी खाल गा.वि.स.को अध्यक्षमा टंक प्रसाद खनाललाई उठाएका थियौं र अध्यक्ष ,उपाध्यक्ष सहित ७ वटा वडा अध्यक्ष जित्न सफल भएका थियौं ।२०५४को स्थानीय चुनावमा अगाडिका प्रतिनिधिहरूले पार्टीको निर्णय अनुसार काम नगेकाले सबैलाई बदलेर नयाँ युवाहरूलाई उम्मेदवार बनाए पछि पुराना सबै प्रतिनिधिहरू एमाले भएकोले १ वडा मात्र जित्यौ सबै गुमायौ । त्यसको २ वर्ष पछि एउटा वडा अध्यक्ष पनि एमालेले लगिदियो र हामी जिरो भयौ
एमालेमा गएको वडा अध्यक्षलाई राजीनामा दे, गा.वि.स. अध्यक्षलाई राजीनामा स्वीकृत गर भनेर संघर्ष गर्यौ । हामीलाई सार्वजनिक मुद्दा लगाइयो । बालाराम राना र म ४५ दिन जेलमा बस्यौं । अन्तमा हाम्रो संघर्ष सफल भयो । गा.वि.स. अध्यक्ष सहित अधिकांश वडा अध्यक्ष, लगायत एमालेहरू राष्ट्रिय जनमोर्चामा प्रवेश गरे । चुनाव हारेको जनप्रतिनिधि फिर्ता भयो ।
२०५१ र २०५६ को संसदको चुनावमा राष्ट्रिय जनमोर्चा प्युठानको अबस्था राम्रो थियोे । ०५१ मा पार्टी पहिलोपटक संसदीय चुनावमा भाग लिएको थियोे। प्रतिक्रियावादी संसदीय ब्यवस्थाको भण्डाफोर गर्ने र क्रान्तिकारी कम्युनिष्ट पार्टीको संगठनलाई जनताको विचमा विस्तार गर्नको लागि कार्यनीतिक रूपले उपयोग गरेको थियोे । त्यस चुनावमा नवराज सुवेदीले जिते भने के.वि.गुरूङले थोरै मतले हारेका थिए ।
०५६ को चुनावमा पनि पार्टीले त्यसरी नै कार्यनीतिकरूपले एमाले सित मिलेर चुनाव उपयोग गरेको थियोे । प्युठानको दुवै क्षेत्रमा राजमोका नवराज सुवेदी र हरि आचार्यले जितेका थिए । त्यस बेला प्युठान जिल्लामै पार्टीको छवि राम्रो थियो। मसालको सांसदहरूले के बोल्दछन भन्ने जनतामा चासो, उत्सुकता हुन्थ्यो । संसदमा थुप्रै भ्रष्टाचारका काण्डहरू बाहिर ल्याउने काम भए । सारांसमा भन्दा पार्टीको चुनाव उपयोग नीति र ब्यवहारमा राम्रो थियोे ।
४) प्रतिगमन कालमा तपाईं शाही नेपाली सेनाबाट पटक पटक किन सताइनु परेको थियो ?
– मलाई द्वन्द्वकालमा शाही नेपाली सेनाले धेरै पटक यातना दियो । भिंगृको नेपाल बैंकको हतियार माओवादीद्वारा लुटिएको दिन हामी हाम्रो संगठनको मौसमी चन्दा उठाउन स्वर्गद्वारी खाल गा.वि.स. अन्तरगत नोस भन्ने गाउँमा गएका थियौं । त्यो ठाउँ रोल्पाको सिमाना पर्छ । म, मिनराज राना लगायत स्थानीय साथी कर्णबहादुर पुन, मलिम घर्ती त्यो अभियानमा गएका थियौँ । त्यसै वेला त्यो घटना भएको रहेछ । सशस्त्र दंगा प्रहरी रोल्पाको मसिनाबाट नाका घेराउ गर्न नोस आएको रहेछ हामीलाई देख्यो र खानतलासी गर्यो । हाम्रो गोजीमा मौसमी चन्दा उठाएको नामलिस्ट थियोे फेला पार्यो र यिनीहरू माओवादी हुन् भनी चारै जनालाई रोल्पा मसिना लग्यो ३ दिन राख्यो ४ दिनमा हुलाक सार गर्दै प्यूठान भिंगृ लिएर छाड्यो ।
अर्को घटना, लामाचौरको ब्यारेकमा ठाकुर भण्डारीको दिदीलाई सेनाले हिरासतमा राखेको थियोे । म र ठाकुर भण्डारीको बुबा दिदीलाई छुटाउन भनेर ब्यारेकमा गएका थियौं । त्यसै दिन माओवादीहरूले भिंगृमा रोल्पा काठमाडौं नाइट बसमा आएका रेडियो नेपाल सुर्खेतमा खाम भाषामा समाचार वाचकलाई बस रोकी अपहरण गरेका रहेछन । मलाई सेनाको क्याप्टेनले माओवादी कहाँ छन् ,त्यो अपहरण गरेको मान्छे कहाँ छ भन त माओवादी होस भन्दै बाँसको भाटाले ५÷६ चोट हान्यो ठाकुर जीको बुबा थर्थर काप्नु भयो । साझ फेरि ब्यारेकमा हाजिरी आउने गरी छाड्यो ।
५) तपाईलाई द्वन्द्वकालमा माओवादीहरूले पनि सफाया गर्ने भनेका थिए । किन त्यसो भने र कसरी बच्नु भयो ?
माओवादीहरूले मलाई सफाया गर्ने भनेर वीर बहादुर पुनले गरेको कर्तुतहरू भनी जिल्ला ब्यापी २२÷२३ बुँदाका आरोप लगाएर पर्चा पोस्टरिङ गरेका थिए । मिति याद भएन २०५८÷५९ साल तिर हुनुपर्छ । त्यसमा के आरोप थियो भने वीर बहादुरले सेनासँग गएर माओवादीको सुराकी गरेको,माओवादीको बन्दुक खोसेर सेनालाई बुझाएको, खान बस्न नदिएको, जनतालाई थर्काएको, गा. वि. स. अध्यक्ष दुर्गा न्यौपाने , भेग प्रसाद न्यौपानेलाई कुटपिट गरेको भन्ने छन् । मैले माओवादी बिरुद्ध सुराकी गरेको थिइन । माओवादीका हतियार सेनालाई बुझाउने काम पनि गरेको थिइन । त्यतिबेला मलाई पार्टीले बचाउने काम गर्यो ।
६)) ०६२÷०६३ को जन आन्दोलनमा तपाईको भूमिका के थियो?
– प्रतिगमन बिरुद्धका सबै आन्दोलनमा सहभागी भइयो । २०६० को प्रतिगमन बिरोधी काठमाडौ केन्द्रित आन्दोलनमा काठमाडौ गएको थिएँ । सदरमुकाम खलङ्गा , गाउँ स्तरका कार्यक्रममा सहभागी भएको थिएँ ।
७) संघीयता विरुद्धको आन्दोलनमा कृयाशील हुनु भयो । त्यसमा तपाईको भूमिका बारे बताउनु हुन अनुरोध छ ।
– पार्टीले तय गरेका संघीयता विरोधी आन्दोलनहरूमा सहभागी भइयो । २०६६ बैशाखमा पार्टीले आयोजना गरेको संघीयता विरोधी काठमाडौ केन्दृत आन्दोलनमा सहभागी भएको थिएँ । जिल्ला स्तरका कार्यक्रमलाई सफल पार्न सक्दो प्रयास गरियो । अखिल नेपाल जनजाति सम्मेलनले २०६६ मङ्सिरमा। सन्चालन गरेको मेची महाकाली सद्भाव यात्रा अन्तर्गत म पस्चिमको टोलीमा रही कन्चनपुर देखि दाङ सम्मको अभियानमा सहभागी भएको थिएँ ।
८) २०७२ देखि नेकपा (मसाल) मा चलेको अन्तर्विरोधका बेला तपाईं मसालको प्यूठान जिल्ला पार्टी र अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रमा रहेर काम गर्नु हुँदो रहेछ । एक्कासी तपाईलाई मसालबाट निस्काशन गरेको समाचार आयो । किन पार्टीबाट निस्काशनमा पर्नु भयो?
– २०७१ ÷०७२ देखि नै मैले जिल्ला पार्टीमा अनुशासन लग्गायतका विषयमा अन्तरविरोध राखेको थिएँ । म माथि एक जना जिल्ला सदस्यले पार्टीको बैठकमा नै हातपात गरे । मैले जिल्ला सेक्रेटरीलाई यो विषय राखे । केन्द्रमा कुरा राखे । केन्द्रले आयोग बनायो । पार्टीको जिल्ला सम्मेलनमा महामन्त्री आएका बेला महामन्त्रीलाई म माथि अन्याय भएको कुरा राखें ।महामन्त्री बोलेनन् । मेरो कुनै सुनुवाई भएन । पार्टीमा एकातिर अनुशासनको त्यो अबस्था अर्को तिर पार्टीले गलत बाटो समातिरहेकोछ भन्ने मलाइ लागि रहेकोथियो । त्यही बेला आठौं महाधिबेशनको समय आयो । केन्द्रबाटै दुई दस्ताबेज आए । २०७५ मा पार्टीमा फोरम चल्यो । मैले अल्पमतको दस्ताबेजलाई समर्थन गरेँ। त्यस पछि म माथि फरक व्यवहार गरियो । मेरा पछि सि.आइ. डि . लगाउने काम गरियो। एउटा अनलाईन कार्यक्रममा सहभागी भएकोमा आत्मालोचना गर्न भनियो । सार्बजनिक अनलाइनमा सहभागी हुँदैमा किन आत्मालोचित हुने? बहुमत पक्षका ब्यक्ति त्यहाँ सहभगी हुँदा उनीहरूलाई आत्मालोचना ,कार्बाही केही हुनु नपर्ने ।तर अल्पमतलाई कार्बाही हुनु पर्ने ? त्यो कस्तो नाटक ? म लगायतका कार्यकर्तालाई लखेट्न गरिएको षड्यन्त्र थियो । कार्बाही गरियो ।
९) ११ वर्ष पहिले २०७० को संविधान सभाको चुनावमा नेकपा ( एमाले) ले चुनावी घोषणा पत्रमा प्यूठानको माडी क्षेत्रमा माडीबाट पानी तानेर सिचाई गर्ने, माडीमा स्टिमर कुँदाउने, माडी क्षेत्रमा एअरपोर्ट बनाउने , हरेक पालिकामा चिस्यान केन्द्र खोल्ने, हरेक पालिकमा ५० सैयाको अस्पताल बनाउने,नौमुरे जलविद्युत परियोजना सम्पन्न गर्ने, बाग्दुला भिमगिठे सडक मार्ग पूरा गर्ने लगायत लेखेका थिए ।अहिले प्यूठानबाट एमालेकै संसद संघीय संसदमा छन् । ती घोषणा पत्रमा उल्लेखित काम अहिले सम्म कति सम्पन्न भए ?
– हामीले ती हावादारी गफ भनेका थियौ । यो ११ वर्षमा ती हावादारी गफ थिए भन्ने प्रमाणित भएकोछ ।
१०) प्यूठान जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहासलाई संक्षिप्तमा सिंहावलोकन गर्नु पर्दा के भन्नू हुन्छ ?
– २०१० सालमा प्यूठानको रातामाटामा जनता शिबिरको आयोजना गरेर नेकपा प्यूठानको स्थापना गरिएको थियो । २०१२ सालमा प्यूठानमा किसान आन्दोलन चलेको थियो । त्यो किसान आन्दोलनले जनतालाई त्यो बेलाको सापेक्षतामा न्याय पनि एक जद सम्म दिएको थियो । नेपालमा जसरी कम्युनिस्ट आन्दोलनमा संकट आएकोछ । त्यसरी नै प्यूठानमा पनि संकट आएकोछ । कम्युनिस्ट नैतिकता ,कम्युनिस्ट चरित्र ह्रास हुँदै गएकोछ । कम्युनिस्ट चरित्रको पुनर्स्थापना कसरी गर्ने आजको चुनौती हो ।
११) प्यूठान जिल्लाका समस्याहरू के के छन् ? समस्या समाधानका लागि सरकार , पार्टीहरू र जनताको भूमिका के हुनु पर्दछ?
– प्यूठानको समस्या भनेको पनि राष्ट्रिय समस्याहरू मध्येकै समस्या हुन् । बेरोजगारी ब्याप्त छ । युवाहरू विदेश पलायन भइरहेकाछन् । स्थानीय घरेलु उद्योगहरू निर्माण हुन सकेकाछैन । पाखा बारी बाँझिदै गएका छन ।गुणस्तरीय शिक्षाको अभाब छ । सडकहरूको स्तरउन्नति हुन सकिरहेको छैन । कृषिलाई व्यावसायिकरण गर्ने काम निकै पछि परेकोछ । पर्यटन पूर्बाधारका काम पछि परेकोछ ।
१२) नेपालमा कम्युनिस्ट आन्दोलनको एकता र ध्रुबीकरणको चर्चा पनि भइरहेको छ । के ध्रुबीकरण वा एकता सम्भव छ ?
– सिद्धान्त र बिचारको आधारमा कम्युनिस्ट पार्टीहरूको एकता आबश्यक छ । केवल संख्या बढाउने हिसाबले होइन निस्चित क्रान्तिकारी उद्देश्यका लागि क्रान्तिकारी कम्युनिस्टहरूको एकता जरुरी छ।
१३) अहिलेको नेपालको राजनीतिक परिस्थितिलाई कसरी हेर्नू हुन्छ ?
– देशको अबस्था निकै दयनीय छ । भ्रष्टाचारले देश चुर्लुम्म डुबेकोछ । देशमा उद्योगधन्दा खोल्ने सरकारको कुनै योजना छैन । दलाल पुँजीवादी सत्ताले देशलाई झन पछि झन पर आस्रित बनाउँदै लगेकोछ । ठूलो संकट तिर देश धकेलिदै छ । नेपाली युवाहरु संसारभरि श्रम बजारमा पुगेका छन् । कथित ठूला दलहरू कसरी बिदेशीलाई रिझाएर सत्तामा पुग्न सकिन्छ वा सतामा टाँसिइरहन सकिन्छ भन्ने मानसकितामा रहेका छन् र त्यस्तै व्यवहार गरिरहेका छन् ।
१४) पार्टीको आगामी कार्यक्रमहरू के के छन् ?
– प्यूठान जिल्लाका जनताका बीचमा पार्टीको नीति, कार्यक्रम लिएर जाने,संगठनलाई ब्यबस्थित बनाउने , जनताका समस्या ,राष्ट्रियताका समस्यालाई लिएर आन्दोलन गर्ने पनि हाम्रो आगामी कार्यक्रम हो । हाम्रो पार्टीको राष्ट्रिय भेला हुँदै छ ।त्यो भेलालाई सफल पार्न प्यूठान जिल्लाको प्रतिनिधित्व पनि महत्त्वपूर्ण नै हुने छ ।
१५) हाँक साप्ताहिक मार्फत थप भन्नू केही छ कि?
– हाँक साप्ताहिकको निरन्तरताको कामना गर्दछु । यो पत्रिकाले निरन्तर देश र जनताको पक्षमा काम गरोस् भन्ने शुभकामना ब्यक्त गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित