– पिताम्बर भट्टराई
परिचय
नेपालको संविधान २०७२ अनुसार स्वास्थ नेपालका नागरिकको मौलिक अधिकार भित्र पर्दछ । हरेक नेपालीले प्रारम्भिक स्वास्थ सेवा निशुल्क पाउनु पर्दछ । गाउँ र दुर्गम क्षेत्रका मानिसहरु अशिक्षित र पिछडिएको मानसिकतामा छन् । आधुनिक उपचार पद्धतिबाट टाढा रहेकोले झारफुक मै विश्वास गर्दछन् । ‘एक पालिका एक अस्पताल’ चुनावी नारा दिए पनि हरेक पालिकामा प्रारम्भिक स्वास्थ सेवा सहज हुन सकेको छैन भएकोमा पनि स्वास्थकर्मी र औषधिको अभाव छ ।
स्वास्थ सेवा जनतालाई सहुलियत र न्युन शुल्कमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारले स्वास्थ विमा कार्यक्रम लागु गरेको छ । स्वास्थ विमा नीतिको पृष्ठभूमिमा भनिएको छ । “नेपालको अन्तरिम संविधान २०६३ ले आधारभूत स्वास्थ सेवालाई नेपाली नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ ।” स्वास्थ विमाको पृष्ठभूमि र उद्देश्य हेर्दा स्वास्थ विमा कार्यक्रम निःशुल्क स्वास्थ सेवा उपलब्ध हुने सुनौलो अवसर महशुस हुन्छ ।
स्वास्थ विमा कार्यक्रम अनुसार विमा गर्दा व्यक्तिले ३५०० रुपैयाँ भुक्तानी गर्दा परिवारका ५ जनासम्मका सदस्यका लागि एक लाख रुपैयाँसम्मको स्वास्थ सेवा सुविधा एक वर्षसम्मका लागि निःशुल्क उपलब्ध हुनेछ साथै जेष्ठ नागरिकको सामाजिक सुरक्षाको दायित्व सरकारको भएको हँुदा जेष्ठ नागरिकलाई स्वास्थ विमा शुल्क समेत राज्यले भुक्तानी गर्दछ ।
विमा सुविधा कहाँबाट कसरी लिने?
विमा सुविधाका लागि नेपाल सरकार, स्वास्थ विमा वोर्डले स्वास्थ विमा लागु भएका क्षेत्रमा एजेण्ट तोकेको हुन्छ उनीहरुलाई निर्धारित शुल्क बुझाएपछि आफुलाई पायक पर्ने तोकिएको स्वास्थ संस्थाबाट स्वास्थ सुविधा लिन सकिन्छ । एक वर्षमा एक लाख नबढ्ने गरी एक्सरे, भिडियो एक्सरे, ल्याब आदि सुविधाका अतिरिक्त सुचिकृत औषधिहरु निःशुल्क पाइने कानुनी प्रावधान विमाले गरेको छ ।
नेपाल जस्तो गरिव र आर्थिक रुपमा पिछडिएको मुलुकका लागि संविधानले प्रत्याभूत गरे अनुसार निःशुल्क स्वास्थ सुविधा दिन ल्याइएको स्वास्थ विमा कार्यक्रम प्रशंसनीय छ तर यत्तिले सन्तोष हुने अवस्था भने होइन । यसलाई स्वास्थ क्षेत्रको जग मानेर अन्य ईटाहरु थप गर्न सरकारले थप कदम चाल्नु आवश्यक छ ।
कार्यान्वयनको अवस्था कस्तो छ ?
नीति अनुसार काम भएमा स्वास्थ विमा कार्यक्रम आम नेपाली नागरिकको लागि अत्यन्तै उपयोगी कार्यक्रम हो । यहाँ ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै स्वास्थ विमा कार्यक्रम हात्तीको देखाउने दाँत जस्तो मात्र भएको छ । विमाबाट निःशुल्क स्वास्थ उपचार भनेर जति प्रचार गरे पनि निशुल्क र सहज हुन सकेको छैन । सुविधा लिन बिरामीहरु तोकिएकै स्वास्थ सस्थामा पुग्नु पर्दछ । एक लाख रुपैयाँसम्मको औषधि र स्वास्थ उपचार सेवा निःशुल्क भनेपनि विमाबाट प्राप्त हुने औषधि मध्ये आधा भन्दा बढी औषधिको अभाव देखाइ किन्न लगाइन्छ । औषधि किन्नु नै पर्ने हो विमा गर्नुको सार्थकता के ? भनिन्छ, विरामीबाट औषधि चुहावट तथा दुरुपयोग भयो तर यो अनर्गल प्रचार मात्र हो किनभने विरामीले त डाक्टरको सिफारिसमा मात्र औषधि पाउँछन् । चुहावट त बरु वितरकबाट हुन सक्दछ ।
सुधारका लागि के गर्नु पर्ला ?
१) विमा सुविधा उपलब्ध स्वास्थ संस्थाको सख्या थप गरिनु पर्दछ ।
२) एक लाख रुपैयाँसम्मको उपचार सेवा सहजै उपलब्ध हुनु पर्दछ ।
३) औषधि खरिद र वितरण प्रक्रियामा बेलाबेला अनुगमन हुनु पर्दछ ।
४) औषधिका सबै प्रकारका विल विरामीलाई उपलब्ध गराइनु पर्दछ ।
५) गुनासोको लागि हट लाइन र गुनासो पेटिकाको व्यवस्था गारिनु पर्दछ ।
६) स्वास्थ्य विमा सेवालाई सरल र सहज बनाइनु पर्दछ ।

