एक अर्काबाट दुःखी बन्ने स्थिति अन्त्य गरौं भनेर भारतसित प्रष्ट अडान राख्नुपर्छ

प्रा.डा.रमेशकुमार ढुंगेल

उपकुलपति, योगमाया हिमालयन विश्वविद्यालय

प्रा.डा. रमेश कुमार ढुंगेल नेपालको प्राज्ञिक क्षेत्रमा सुपरिचित नाम हो । बुबा गणेश प्रसाद ढुंगेल र नैनकला ढुंगेलको कोखमा संखुवासभा जिल्ला, चैनपुर न.पा. वडा नं. ३ मा २०१३ साल असार १९ गते उहाँको जन्म भएको थियो । संखुवासभाको सर्वमंगला प्रा.वि. रातमाटेबाट अध्ययन प्रारम्भ गरेका ढुंगेलले संखुवासभाको मादी हाइस्कूलबाट एस.एल.सी. उत्तीर्ण गर्नु भएको थियो । ढुंगेलले काठमाडौंको सरस्वती क्याम्पस, त्रिचन्द्र कलेज र त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गर्नु भएको थियो । अमेरिकाको न्यूयोर्कको जर्ज मिशन, कोलम्विया युनिभर्सिटीबाट उहाँले १९९८ मा विद्यावारिधी अध्ययन पूरा गर्नु भएको थियो ।
उहाँको विद्यावारिधीको शीर्षक थियो – “हिमालयन कल्चरः मुस्ताङ”, उहाँको उक्त शोध ग्रन्थ अंग्रेजी, चिनियाँ र तिब्बती भाषामा प्रकाशित भएको छ । हराएका सम्पदा (लस्ट हेरिटेज), प्राचीन अर्थव्यवस्था, नेपालको मध्यकालीन इतिहास, प्राचीन सांस्कृतिक सम्पदा, सालाभेवार छोला भेवार (मुक्तिनाथ) लगायतका महत्वपूर्ण खोजमूलक कृतिहरु उहाँका प्रकाशित छन् ।
नेपालको दोस्रो संविधानसभाको अन्त्यतिर गठित राज्य पुनःसंरचना आयोगको सदस्यको भूमिकामा रहेर पनि उहाँले काम गर्नु भएको थियो । २०७७ सालमा संसदबाट नेपालको चुच्चे नक्सा पारित गर्नु भन्दा पहिले कालापानी क्षेत्रको अध्ययन गर्ने बारेमा सरकारले एउटा विज्ञ समूह बनाएको थियो । त्यस समूहको सदस्य समेत रहेर रमेश ढुंगेलले योगदान पु¥याउनु भएको थियो । यससपटक हाँक साप्ताहिकले कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र माथि केन्द्रित रहेर उहाँसित कुराकानी गरेको छ ।
० चुच्चे नक्सा नेपालको संसदबाट पारित हुनुभन्दा पहिले त्यसबारे बनेको विज्ञ समूहका सदस्य तपाई पनि हुनुहुन्थ्यो त्यसबारे केही बताउनु हुन्छ कि ?
–२०७६ को अन्त्य तिर लिपुलेक, कालापानी, लिम्पियाधुराको नेपाल–भारत विवादबारे अध्ययनगर्न डा. विष्णु उप्रेतीको नेतृत्वमा ९ सदस्यीय अध्ययन समूह सरकारले बनाएको थियो । जसमा प्रा.डा. सूर्य सुवेदी, म रमेश ढुंगेल, जनरल हिमालयथापा, नापी विभागका पूर्व महानिर्देशक तोय बराल, जगत भूसाल लगायत त्यो अध्ययन समूहमा थियौं । ४÷५ महिना अध्ययन गरेर हामीले सरकारलाई प्रतिवेदन बुझाएका थियौं । हामीले विभिन्न स्रोत व्यक्तिहरुसित कुराकानी गर्दा, अन्तर्वार्ता लिंदा संयुक्त रुपमा पनि लियौं तर प्रतिवेदन तयार गर्दा आ–आफ्नो तरिकाले लेखेका थियौं । भूगोल, संस्कृति, नापी, इतिहास यस्ता विभिन्न क्षेत्र बाँडेर हामीले अध्ययन गरेका थियौं । सरकारलाई सबैको प्रतिवेदन एकै ठाउँमा कम्पाइल गरेर बुझाएको भए पनि हामीले एकले अर्कोको प्रतिवेदन लिएनौं । हामी सबैको प्रतिवेदन ७०० भन्दा बढी पृष्ठको थियो । त्यो प्रतिवेदन अहिलेसम्म गोप्य नै छ । बाहिर खुला गरिएको छैन ।
० नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय सेना आएर बस्न कसरी सम्भव भयो ?
–१९६२ मा भारत र चीनको बीचमा युद्ध भइरहेको थियो । त्यो युद्धमा चीनले भारतलाई पराजित ग¥यो । चिनियाँहरुले भारतीय सेनालाई लखेटे । लखेटिएका सेनाहरु उत्तर–पश्चिमबाट लिपुभञ्ज्याङ काटेर भाग्दै लिपुभञ्ज्याङको फेंदीमा बगरमा आएर बसे। स्थानीयहरुलाई पनि त्यो कुरा थाहा थिएन । गाई, बाख्रा चराउने गोठालाहरुलेपछि देखेछन् ।पाल टाँगेर बगरमा बसेका रहेछन् । नेपाली भूमिमै उनीहरु बसेका थिए। त्यतिबेला राजा महेन्द्र जसरी पनि कोदारी राजमार्ग खोल्ने पक्षमा थिए । भारत र चीनको बीचमा सन्तुलन मिलाएर महेन्द्र काम गर्न चाहन्थे । त्यस कुरामा राजा थाहा नपाए जस्तो गरेर बसेको देखिन्छ । अप्ठ्यारो परेको बेलामा राजाले बस्न, आश्रय दिएको देखिन्छ ।
पश्चिमपट्टी चीन र भारतको बीचमा लडाई हुँदा भारतीय सेनाहरुलाई चिनियाँहरुले धुलोपिठो पारे । भारतीयहरु भागाभाग भए । लिपुभञ्ज्याङबाट झरे ।
मातृका प्रसाद कोइराला प्रधानमन्त्री र सूर्य प्रसाद उपाध्याय (ढुंगेल) गृहमन्त्री भएका बेला नेपालको उत्तरी सिमानामा २००९ सालतिर १८ ठाउँमा भारतीय सीमा–सुरक्षाकर्मीहरु आएर बसे । कतिपयले उत्तरी चेकपोष्ट राख्न दिएका वि.पी. भन्छन् । वि.पी. २००९ सालमा गृहमन्त्रीबाट हटिसकेका थिए । मातृका (प्रधानमन्त्री) र सूर्य प्रसाद (गृहमन्त्री) भएकै बेलामा उत्तरी चेकपोष्ट राखिएको हो । यहाँ केही मान्छेहरुले मातृकाले बोलाएर वा कांग्रेसले बोलाएर भारतीय सेना राखिएको भन्छन् । ९ पटकसम्म चिठी लेख्दा बल्ल नेपालको सरकारले भारतलाई उत्तरी चेक पोष्ट राख्न दिएको थियो । नेपालको सरकारले हुन्छ भन्न पनि नसक्ने हुन्न भन्न पनि नसक्ने । चिठी बोकेर आउने मान्छे ओहोर दोहोर गरेका छन्, निकै नै लिङ्गरिङ भयो । भारतका गृहमन्त्री बल्लभ भाई पटेलले के नेपालमाथि “चढाई” नै गर्र्न पर्ने हो कि कसो हो भनेर नेपाल नै खाने जस्तो धम्की दिन थाले पछि निकै बुद्धिमत्तापूर्ण तरिकाले एउटा चेकपोष्टमा ९ जना भन्दा बढी भारतीय सुरक्षाकर्मी नरहने गरी उत्तरी चेकपोष्ट राख्न दिइएको थियो । २००७ सालदेखि २००९ साल भनेको नेपालको लागि निकै संवेदनशील पिरियड थियो । भारतको मन्त्री मण्डलमा त्यतिखेर नेपाल राख्ने कि लिने भन्ने बारेमा छलफल हुन्थ्यो । नेपाललाई रहन दिनुपर्दछ, लिनु हुँदैन भन्ने नेहरु नै हुन् । नेहरुले भनेका थिए कि नेपालको अस्तित्व गएपछि संसारले हामीलाई हेप्दछ । कुमाउँ, गढवालमा हामीले हा¥यौं । गोर्खालीहरु बहादुरीका साथ लडे भनेर नेहरुले लेखेकै छन् । वि.पि.सित घनिष्ठ सम्बन्धका भएका समाजवादी भनिने राम मनोहर लेहिया पनि नेपाल खाने पक्षमै थिए । नेपाल जोगाउनमा सूर्य प्रसाद उपाध्याय र नेहरुले गर्दा हो । कालापानीमा २०६२ देखि भारतीय सेना बसिरहेकै थियो ।
२०२९ तिर भारतले उत्तरी चेक पोष्ट हटाउँदा त्यो क्षेत्रको एउटा चेकपोष्ट हटाएन । (लिपुखोलाको बगरमा लगेर मिसायो । त्यसरी भारतले सेना थप्दै गएर त्यो क्षेत्र नै मेरो हो भन्न थाल्यो । राजा महेन्द्रले भारतीय सेनालाई बस्न दिएको लिखितम कागज अहिलेसम्म भेटिएको छैन । एउटा पञ्जावी गोप्य रुपमा नेपालको दरबारमा आएर ४÷५ दिन बसेको र मौखिक रुपमा केही समयका लागि राजा महेन्द्रले त्यहाँ सेना बस्न दिएको भन्नेसम्म पाइएको छ ।
० लिम्पियाधुरासम्म नेपाल हो भन्ने प्रमाण र आधार के छन् ?
–नेपाल र अंग्रेज सरकारबीच भएको सन् १८१६ को सुगौली सन्धिको धारा ५ ले काली नदीभन्दा पश्चिमका सबै भूभागमाथिको नेपालको अधिकार नेपालले छाड्ने र काली पूर्वतर्फको भूखण्डमात्र नेपालका महाराजा अन्तर्गत रहने भन्ने स्पष्ट रुपमा बुझाएकोछ । सन्धिको यस बेहोराले नेपालको पश्चिमतर्फको सिमाना काली नदी भन्ने नै बुझिन्छ । साम्राज्यवादी युगका नक्सामा एक रुपता नदेखिएको र विवादित इलाकामा २ वा ३ वटा खोला मिलेर एउटा हुँदै झर्नेहुँदा कालीनदीको उद्गमस्थल लाङ्पे धुरा (लिम्पियाधुरा) तर्फबाट आउने खोलालाई मान्ने कि लिपुतिरबाट झर्नेखोलालाई मान्नेमा अंग्रेजको समयदेखि नै अस्पष्टता देखिन्छ । भारत अंग्रेजको उपनिवेश रहेका बेला बेलायत र भारतमा छापिएका नक्सामा यस्तो समस्या देखिएको हुँदा ती नक्साले लाङ्पे–कालापानी –लिपु इलाकाको नेपाल–भारत सीमा विवाद सुल्झाउने भन्दा समस्या सिर्जना गरेको देखिन्छ ।
यस्ता नक्सा मध्ये जेम्स होस्र्टले लण्डनमा सन् १८२७ मा छापेको नक्सा भने हाम्रो प्रयोजनका निम्ति उपयोगी देखिएको छ। यसमा लाङ्पे अर्थात् लिम्पियाधुरा पश्चिमतर्फबाट आएको नदीलाई स्पष्ट रुपमा काली नदी मानेको देखिन्छ र पूर्वतर्फबाट आउनेखोलाको भने नाम दिइएको छैन । यस नक्साले सुगौली सन्धिमा उल्लिखित सीमांकनका आधारमा लाङ्पेदेखिकै अर्थात् ३७२ वर्ग किलोमिटर भूभाग नेपालको हो भनेर बुझ्न मद्दत गर्छ । पश्चिम–उत्तरमा लाङ्पे धुरासम्म नेपालको सिमाना थियो भनेर दाबा गर्न मद्दत गर्ने पूराना बेलायती नक्सामा यो सर्वथा महत्वपूर्ण देखिएको छ । त्यसैले भारतसँग कुटनीतिक वार्तामा अंग्रेज सरकारको समयका नक्सामध्ये हामीले यसैलाई आधारनक्सा मान्नु उचित हुन्छ । यसमा दुई अर्थ हुन सक्ने विवादास्पद नाम र सिमानाका संकेत छैनन् । यसबाहेक साम्राज्यवादी युगका अरु नक्सामा कही न कहीं विवाद हुन सक्ने नै पाइएका छन् । कतिपय नक्सामा ठूलो र लामो खोला पश्चिमतर्फ देखाइए पनि फरकफरक नाम छन् । त्यस्तैगरी कालापानी, माथिल्लो मुस्ताङ, पुराङ तागलाखार जस्ता ठाउँलाई पनि यताउता पारेर छापेको देखिन्छ ।
० नक्सा बाहेक त्यो क्षेत्र नेपाल हो भन्ने अरु प्रमाण ?
–लाङ्पे धुरातर्फ अर्थात् पश्चिमपट्टीका गुन्जी, नाभी, बुदी,धुलीगाडा आदि इलाकाको वार्षिक मालपोत नेपालको बैतडी मालमा दाखिला गर्ने चलन सन् १९४० ताका अर्थात् राणाकालसम्म चलिरहेको प्रमाण भेटिएकाले कालापानी लिपु इलाका मात्र नभई त्यसभन्दा पश्चिमका इलाका अर्थात् लाङ्पे(लिम्पियाधुरा) सम्म नै नेपालको अधिकार धेरै पछिसम्म कायम थियो भन्ने पुष्टि हुन्छ । त्यसैगरी सन् १९६०–६१ सम्म नेपालतर्फको जनगणना कालापानी पश्चिमका गुन्जी, नावी आदि ठाउँमा समेत हुने गरेको उक्त काममा सरकारी अधिकारीका रुपमा खटिएका भैरव रिसालजस्ता व्यक्तिले बोल्दै गरेका प्रमाण नकार्न सकिंदैन । यद्यपि, यस विषयका फाइल तथा चिठीपत्रको थप खोजी आवश्यक छ ।
ब्रिटिस भारतका तत्कालीन कामु मुख्य सचिव जोन आदमले काठमाडौंमा ब्रिटिस रेजिडेन्ट गार्डनरलाई चौतरिया बम शाहका बारेमा जिज्ञासा राखेर पठाएको एउटा पत्रको उल्लेख पाइन्छ । त्यसमा पश्चिममा लाङ्पेतर्फको खोलालाई कालीको मुहान र सुगौली सन्धिपछि पनि यी भूखण्ड नेपालकै अधिकारमा रहेको देखिएको उल्लेख छ । त्यसै वर्ष जोन आदमले नै कुमाउँका प्रशासकलाई व्यास इलाकाका भोटे जमिन्दारहरुको उजुरी सन्दर्भमा निर्देशनसहित पठाएको पत्रमा पनि उक्त कालापानीभन्दा पश्चिमका इलाका नेपालकै अधिकारमा रहेको देखाइएको छ ।
सन् १९०३ को चिनियाँ नक्सामा लाङ्पेतर्फको नदीलाई कालीका रुपमा चिनाइएको र यस नदीको उद्गम पूर्वतर्फका कालापानी लिपुसम्म सम्पूर्ण इलाकालाई नेपाल अन्तर्गत नै देखाइएको छ । यस्तै कारणले हुन सक्छ–सन् १९९९(वि.सं. २०५६) मा चिनियाँ राजदुत जेङजु ओङले सन् १९६१ मा भएको नेपाल–चीन सीमा सम्झौतामा लिपुलेक भन्ज्याङलाई नेपाल, भारत र चीनको त्रिदेशीय विन्दु कायम गरिरहेको थियो र त्यसले गर्दा कालापानी इलाका नेपालमा पर्छ तर उक्त सम्झौतामा काली नदीको उद्गमस्थल लाङ्पे धुरा (लिम्पियाधुरा) सम्म नेपालको भूमि भएको प्रमाणका पुराना कागजलाई बेवास्ता गरिएको थियो भनेर स्पष्ट अभिव्यक्ति दिएका थिए । यस सम्झौताको पहिलो धारामा टिंकर र कालीको पानी ढलोलाई सिमाना कायम गरिएबाट लिपुला (लिपु खोला) सम्म नेपालको सीमा कायम रहेको थियो भन्ने बुझिन्छ ।
यस आधारमा हेर्दा सन् १९३० ताकादेखि नै निरन्तररुपमा कालापानी लगायत छेउछाउका इलाका तुन्सिन्युराङ्, नाभिगाङ् र पश्चिमतर्फका कमसेकम गुन्जी, नावी, निहाल, कुटी आदिसम्मका इलाका नेपाल अन्तर्गत नै थिए भन्ने देखिन्छ । सन् १९३० को नक्साले पनि कालापानी–लिपुलेक इलाका नेपालको भनेर चिनाएको पाइएको छ भने १९०३ को चिनियाँ नक्साले लाङ्पे धुरादेखि नै नेपालको भनेर उल्लेख गरेको पाइएकोछ । सन् १९६१को सीमा सम्झौताको समयदेखि भने भारतीय सीमा सुरक्षा बल कालापानीमा स्थायी रुपमै राखिएको देखिन्छ ।
० कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र नेपालकै हो भन्ने भाषिक आधार पनि छन् कि ?
–त्यो क्षेत्रका स्थान–नाम मध्य एसियाली भाषा (केन्द्रीय एशियाली भाषा) र तिब्बती मूलका भाषाबाट बनेको देखिन्छ । मेरो बुझाईमा मध्य एशियाली जाति टाटारको एउटा फ्राग्मेन्ट (समूह) नै मगर जाति हो भन्ने छ । यस भूक्षेत्रमा टाटार पछि खसहरुको आगमन भएको थियो । मगर भाषाको उद्गम टाटार जातिको मध्ये एशियाली भाषा हो । तर मगर भाषा भित्रको खाम र काइके भाषाको उद्गम चाहिं तिब्बती हो । पहिलेको भाषामा लाङ्गपा–धुरा हो । त्यो अपभ्रंस भएर नाम लिम्पियाधुरा बनेको हो । त्यो क्षेत्रको अन्तिम गाउँ भनेको कुती हो । कुती गाउँको छेउमा बग्ने लाङ्गपा (लिम्पियाधुरा) तिरबाट बग्दै पूर्व–दक्षिणतर्फ बग्दै आएको खोलालाई कुती खोला भनिन्छ । मध्य एशियाली भाषा (मगर भाषा) मा कु भनेको कालो, ती भनेको पानी÷खोला हुन्छ ।
मध्य एशियाली भाषामा ती को अर्थ खोला÷पानी हून्छ । ती अपभ्रंश भई पछि “दी” भयो । गण्डकी पनि पुरानो नाम गन्दी हो । पछि संस्कृत भाषावालाले गण्डकी बनाए । मादी, ज्ञादी, मस्र्याङ्गदी, दरौंदी यी सबै सेन्ट्रल एसियन भाषाको प्रभावबाट (मगर भाषाबाट) बनेको नदी÷ खोलाका नाम हुन् । कुनै कुनै “दी’ अप्रभ्रस नभई “ती” नै पनि छन् जस्तै “राप्ती” । कुती खोलामा अरु लिपुखोला , टिंकर खोला मिसिंदै जाँदा कुती याङ्गदी भयो । स्थानीय भाषामा “याङ्ग” भनेको विशाल “दी’ भनेको खोला “कुती याङ्गदी” अर्थात् विशाल कालीनदी, महाकाली बन्यो । गंगा नदीको किनारमा बस्ने हिन्दुहरु तिर्थ गर्न उहिलेदेखि नै मानसरोवार जान्थे । कुती याङ्गदी स्थानीय भाषा खस भाषी र हिन्दी भाषीहरुले महाकाली भने । व्यासस त्यो क्षेत्रलाई व्यास उपत्यका भनियो । त्यो त पछि हिन्दुहरुले भनेका छन् । त्यो क्षेत्र टाटार र तिब्बती मूलको समिश्रणको सभ्यता हो भन्ने बुझिन्छ । त्यहाँको भाषा सभ्यता सबै हिसावले नेपालको क्षेत्र हुन् भन्ने प्रमाण भेटिन्छ ।
० इतिहासका आधारमा पनि त्यो क्षेत्र नेपाल भन्ने आधार छन् कि ?
–त्यस्ता धेरै आधारहरु छन् । जस्तै चन्द्र शमसेर प्रधानमन्त्री भएका बेला व्यास उपत्यकाका ५ जना मुखियाहरु काठमाडौं आएर हामीलाई पराई ठान्नु भएन देशकै जस्तो ठानेर व्यवहार गर्नुप¥यो भनेका छन् । ५ ज ना मध्ये केही मुखिया व्यास उपत्यकाका कुती याङ्गदी पारीका समेत थिए । सुगौली सन्धिले महाकाली पारी इष्ट इण्डियाको भू–भाग भए पनि शासन नेपालबाट हुने गरेका प्रमाण छन् । उनीहरुको डेलिगेशन टोली फर्किए पछि चन्द्र शमशेरले डोटी गौंडालाई पत्र लेखेर त्यस क्षेत्रको समस्या के हो बुझि समाधान गर्नु भनेका थिए ।
० अहिले प्रम ओलीको चीन भ्रमणबारे के भन्नु हुन्छ ?
–प्रधानमन्त्री ओलीले चीनसित कालापानी क्षेत्र नेपालको भूभाग भनेर आफ्नो अडान राखेको देखिन्छ ।
० प्र.म. ओलीको भारत भ्रमण पनि हुँदैछ नि ?
–भाद्र ३१ देखि प्रम ओलीको भारत भ्रमण हुँदैछ । दिल्ली नभएर बोधगयामा ओली रमोदीको भेट हुँदैछ । प्रधानमन्त्रीले प्रष्टसँग कालापानी क्षेत्र नेपाली भूमि भनेर अडान राख्न सक्नुपर्दछ । बोध गयाले हामीलाई यसरी नजिक बनाएको छ । तर हामी एक अर्काबाट किन दुःखी बन्नु प¥यो, दुःखी बन्ने स्थिति अन्त्य गरांै भनेर अडान राख्नुपर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित