–शेरबहादुर देउवा, पि.वि.एम.
तथा ३ नं. व्यूरो इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला
१. क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गत असोजमा सम्पन्न तेस्रो पूर्ण बैठकबाट कर्णाली क्षेत्र अर्थात ३ नम्बर व्युरोको ईन्चार्ज भएर जानु भएको छ । यस भन्दा पहिले तपाई १ नम्बर व्युरो ईन्चार्ज हुनुहुन्थ्यो । फरक व्युरोमा जाँदा कस्तो महसुस गर्नु भएको छ ?
–फरक फरक ठाउँको आ–आप्mनै विशेषता हुने गर्छ । १ नम्बर व्यूरोमा हुँदा त्यहाँको पार्टी, पार्टी कार्यकर्ताको कार्यशैली, त्यहाँका आम जनताको मनोविज्ञान, भौगोलिक विशेषता, त्यहाँको भाषा एक किसिमको थियो । ३ नं. व्यूरोमा आइपुग्दा तुलनात्मक रुपमा फरक त हुने नै भयो, मैले फरक भाषा बाहेक अन्यमा त्यति भिन्नता महशुस गरेको छैन । ३ नं. व्यूरोका पार्टी क्याडर र जनतामा अन्तरघुलन हुन केही समय लाग्छ कि जस्तो महशुस भएको छ ।
२. तपाई यतिबेला डोल्पा हुनुहुन्छ । के तत्कालै त्यस व्युरोका सबै जिल्लामा पुग्ने योजना बनाउनु भएको हो र?
–पार्टी केन्द्रको तेस्रो पूर्ण बैठक पश्चात् ३ नं. व्यूरोको बैठक गत कार्तिक २४–२५ गते सम्पन्न भयो । बैठकले पार्टीको धारणा, कार्यक्रम र योजना सबै जिल्लामा पु¥याउने निर्णय गरेको छ र हाम्रो योजना सबै जिल्लामा पुग्नेछ । तथापि मौसमका कारण हिमाली जिल्लाहरुमा भौतिक रुपमा पुग्न सकिएन भने विभिन्न माध्यमबाट भए पनि पार्टीको योजना सबै जिल्लामा पुराउने छौं ।
३ . क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यही मंसिर १६ र १७ मा सम्पन्न चौथो पूर्ण बैठकबाट आगामी फागुन २१ को निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको थाहा भयो । सबै दलहरु निर्वाचनमा जुटिरहेका बेला तपाईहरु किन बहिस्कार तिर लाग्नु भयो ?
–चुनावमा सबै दलहरु जुटे जुटेनन्, त्यो मुख्य कुरा होइन । मुख्य कुरा त मुलुकमा राजनीतिक स्थायित्व कायम हुन्छ कि हुँदैन, देशले अग्रगामी निकास पाउँछ कि पाउँदैन भन्ने हो । यो साम्राज्यवाद र विस्तारवादको योजनामा हुने चुनाव हो । यो चुनावले राष्ट्र, राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षा हुन सक्दैन । चुनाव त २०१५ सालदेखि अहिलेसम्म भएकै छ्रन् । सबै राजनीतिक दलहरुले भाग लिएकै हुन् । चुनावले त देशलाई आयातमुखी बनायो, परनिर्भर बनायो । देशका उद्योगधन्दा धरासायी बनायो, देशको अर्थतन्त्र ओरालो लाग्यो, युवा शक्तिलाई विदेश पलान गरायो । त्यसैले यो चुनावले देशलाई निकास दिन सक्दैन । त्यसो हुँदा यो सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले सम्पन्न गराउने चुनावको विकल्पमा सर्वपक्षीय राजनीतिक सम्मेलन गर्ने, त्यो सम्मेलन मार्फत् स्वाधीन संयुक्त सरकार गठन गर्ने, उक्त सरकारले मौजुदा संविधान खारेज गरेर जनताको संविधान निर्माण गर्ने । त्यसले मात्र देशलाई अग्रगामी निकास दिन्छ भन्ने हाम्रो पार्टीको निष्कर्ष हो । त्यसैले यो कथित संसदीय निर्वाचन बहिष्कारतिर हाम्रो पार्टी लागेको हो ।
४. के बहिस्कार सफल होला र ?
– बहिष्कार सफल पार्ने किसिमले हाम्रो पार्टी लाग्छ । बहिष्कार सफल हुन्छ ।
५. ३ नं. व्युरोमा बहिस्कारको के कस्तो कार्यक्रम बनाउनु भएको छ ?
–३ नं. व्यूरोमा हाम्रो पार्टीले बहिष्कार सफल पार्नको निम्ति पहिलो कुरा साम्राज्यवाद, विस्तारवादको योजनामा सुशीला कार्की नेतृत्वको सरकारले सम्पन्न गर्ने दलाल पुँजीवादी संसदीय निर्वाचनको भण्डाफोर गर्ने । दोस्रोः यो चुनावलाई बहिष्कार गर्न आम जनसमुदायमा अपिल गर्ने । तेस्रो पर्चा वितरण, भित्तेलेखन गर्ने र तेस्रो हाम्रो बहिष्कारलाई दमन गर्न खोजेको खण्डमा प्रतिरोध गर्ने योजना र कार्यक्रम बनाएका छौं ।
६. नेपालको कम्युनिस्ट आन्दोलनको इतिहास फर्केर हेर्दा अधिकांश कम्युनिस्ट पार्टीहरु संसदीय व्यवस्थाबाट होइन,नयाँ जनवाद, समाजवादबाट नेपाल र नेपालीको मुक्ति हुन्छ भन्थे । सबैले त्यो बाटो छोडेर जे गर्न सकिन्छ यही संसदीय व्यवस्थाबाट गरौं भनेर लागेका छन् । एमालेले २०४६ को परिवर्तन पछि नै घोषितरुपमा त्यता लाग्यो । दश वर्ष जनयुद्धको नेतृत्व गरेका धेरै नेताहरु बैचारिकरुपमा एमालेकै पथमा लागे । जनताले तपाईहरुलाई प्रश्न गर्न थालेका छन् ,सबैले बाटो फेरि सके तपाई सीमित व्यक्तिले क्रान्तिको कुरा गरेर क्रान्ति होला र ?
–नेपालको कम्युनिस्ट आन्दोलनको विराशतलाई नियाल्दा त्यस्तो देखिन्छ । जब क्रान्तिकारी आन्दोलनभित्र साम्राज्यवाद,विस्तारवाद प्रवेश गर्छ, त्यसले आन्दोलनलाई विघठनतिर लैजान्छ । साम्राज्यवादले क्रान्तिको नेतृत्वलाई सत्तामा पुग्न नदिन र क्रान्ति असफल पार्ने सरकार र विद्रोही पक्ष बीचमा सम्झौता गराउँछ ।
पार्टी विभाजन गराउँछ, एउटा पक्षलाई सरकारको मोर्चामा पु¥याउँछ । त्यसपश्चात् सरकारको मोर्चामा पुगेको नेतृत्व त्यहाँबाट फिर्ता हुन सक्दैन । त्यसपछि ऊ संसदीय व्यवस्थाबाट समाजवाद आउँछ भनेर जनतामा भ्रम छर्छ, त्यो सम्भव छैन, संसदीय व्यवस्था र समाजवाद विपरीत ध्रुव हुन । चुनाव वा संसदीय व्यवस्थाबाट जनवाद र समाजवादको कल्पना गर्न सकिंदैन । सीमित व्यक्तिले क्रान्तिको कुरा गरेर क्रान्ति होला र ? भन्ने कुरा जो छ त्यसमा हाम्रो भनाई के भने परिवर्तनको कुरा शुरुमा थोरै मान्छेले गर्छन्, विस्तारै त्यो फैलिदै जान्छ, त्यसले आफ्नो बाटो फराकिलो बनाउँदै अगाडि बढ्छ । हिजो जनयुद्ध थोरै मान्छेले शुरु गरेका थिए । पछिल्लो चरणमा २०६४तिर नेपाल माओवादीमय भयो । त्यो विचारधारा र राजनीतिक कार्यदिशासँग जोडिएको प्रश्न हो । यतिबेला हाम्रो पार्टीले २०८१ मंसिर १३ देखि २३ सम्म सम्पन्न एकता महाधिवेशनले नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने कार्यदिशा निर्माण गरेको छ । त्यसलाई सफल पार्न जनसंघर्ष, प्रतिरोध संघर्ष र जनविद्रोहबाट अगाडि बढ्ने योजना छ । तत्कालीन कार्यनीतिको रुपमा हाम्रो पार्टीको गत असोज २९ देखि कार्तिक १ मा सम्पन्न केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले स्वाधीन संयुक्त सरकार गठन गरेर देशलाई अग्रगामी दिशातिर लैजाने कार्यनीति पास गरेको छ । यसबाट क्रान्ति र परिवर्तन सम्भव छ र हुन्छ ।
७. अब अलि फरक प्रसंगमा कुरा गरौं , तपाई अछाम जिल्लामा जन्मनु भएको व्यक्ति । तपाईको बाल्यकालको अछाम र आजको अछाममा के भिन्नता पाउनु हुन्छ ?
–समय र परिस्थिति सधै एकनास रहँदैन । वस्तु र संसार गतिशील हुन्छ । त्यसैले हिजो र आजको अछाम केही भिन्नता छ । जस्तै मेरो बाल्यकालमा त्यो ठाउँमा सडक थिएन, विद्युत थिएन, जनतालाई उपभोग्यवस्तु नुन, लुगा कपडा चिनी, गुड, चामल आदि राजपुर वा नेपालगन्जबाट पिठ्युमा बोकेर १५ देखि २५ दिनसम्म पैदल हिंडेर लगिन्थ्यो । नदीहरुमा पुल पुलेसा थिएनन् । गाडी मोटर चल्दैनथे। नजिक स्कूल, स्वास्थ्य चौकी थिएनन् । स्वयं मैले मेरो बुबासँग १२ वर्षको उमेरमा राजपुरबाट नुन बोकेर १२ दिनमा घर पुगेको र स्कूल जाँदा खाली खुट्टा चप्पल समेत नभएको खुट्टाले १ घण्टा पैदल हिंडेर स्कूल गएका दिनहरु स्मरणमा छन् । अहिले सबैतिर बाटो, घाटो, सडक,पुलपुलेसा, नजिक बस, स्कूल र सामान्य टिटमेन्टको निम्ति स्वास्थ्य चौकीहरु निर्माण भएका छन् ।यति कुरामा फरक पाइन्छ ।
८. तपाईको राजनीतिक र साँगठनिक जीवनको प्रारम्भ कसरी भएको थियो ?
–पंचायती व्यवस्थामा खासै राजनीतिमा लागिएन चुनावमा प्रचार गरियो । २०४६ सालको जनआन्दोलन पश्चात् देशमा बहुदलीय व्यवस्था आएपछि नेपाली कांग्रेसको साधारण सदस्य भइयो २०५६ सालसम्म । २०५७ सालदेखि भारतको यमुना नगरमा चौकीदारी काम गर्ने क्रममा नेपाली मजदुरदेखि विभिन्न पेशामा काम गर्ने नेपाली माथि हुने भेदभाव उत्पीडनले गर्दा भारतको हरियाणा राज्यको यमुनानगर जिल्लामा आफू माथिको अन्याय अत्याचार विरुद्ध आवाज उठाउनको निम्ति गोरखा चौकीदार युनियन बनाएका थियौं । म त्यसको प्रमुख अर्थात् प्रधान थिए । तत्कालीन अवस्थामा देशमा जनयुद्ध चलिरहेको थियो । प्रवासमा नेपाली जनतालाई संगठित गर्ने अखिल भारत नेपाली एकता समाज (कलकत्ते) पक्षबाट ) २०५७ सालदेखि मेरो राजनीतिक र सांगठनिक जीवन प्रारम्भ भयो ।
९.जनयुद्धकालमा यहाँको सांगठनिक जिम्मेवारी के थियो ?
–जनयुद्धकाल मै म तत्कालीन नेकपा (माओवादी) निकट अखिल भारत नेपाली एकता समाजको एरिया समिति सभापतिदेखि शुरु गरेर जिल्लाको कोषाध्यक्ष सम्म भएँ । २०५८ मा अभाने एकता समाज प्रतिबन्धित भएपछि । हामीले नेपाली जनअधिकार सुरक्षा समिति भारत गठन ग¥यौं । त्यो संगठनको म यमुना नगर जिल्लाको संस्थापक अध्यक्षदेखि केन्द्रीय सचिवालय सदस्य र उत्तराप्रदेश उत्तरखण्ड राज्यको अध्यक्षको जिम्मेवारी थियो मोर्चाको हिसावले । पार्टी गत रुपमा सेल, सेक्रेटरी, एरिया सेक्रेटरी हुँदै २०६४ मा मलाई २ नं. जिल्लाको जिल्ला सेक्रेटरीको जिम्मेवारी थियो । अन्य काम पनि ।
१०. प्रवासबाट कहिले फर्कनु भयो ? नेपाल आएपछिका तपाइले गरेका पार्टीगत कार्यको पनि जानकारी पाऊँ ।
–२०६५ सालमा पार्टीको भेलाले मलाई व्यूरो सदस्य बनायो । त्यसको लगत्तै २०६५ पुसमा पार्टीले स्थानान्तरण गरे पश्चात् म नेपाल आएँ । कैलाली जिल्लामा मैले विभिन्न एरिया इन्चार्जको जिम्मेवारीमा रहेर पार्टीको योजना कार्यान्वयन गर्दै पटकपटकका फुट विभाजन बेहोर्दै २०६९ मा ड्यास माओवादी, २०७१ मा विप्लव नेतृत्वको नेकपा मा हुँदा २०७३ मा कैलाली जिल्ला सचिव, २०७४ मा डोटी जिल्ला इन्चार्ज, २०७५ देखि पार्टी प्रतिबन्धित कालमा २०७७ अछाम जिल्लाको इन्चार्ज, २०७७ मा सेती महाकाली व्यूरोको स्कूलिङ विभाग प्रमुखको जिम्मेवारी सम्हालियो । २०७९ मा नेकपा (बहुमत) मा हुँदा कैलाली जिल्लाको इन्चार्ज, २०८१ वैशाखमा नेकपा (बहुमत) र नेकपा (क्रा.मा) को एकता पश्चात् कञ्चनपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा रहेर कार्य गरियो । ३ पार्टीको एकता महाधिवेशन पश्चात् तेस्रो पूर्ण बैठकबाट १ नं. व्यूरो इन्चार्ज तेस्रो पूर्ण बैठकबाट ३ नं. व्यूरो इन्चार्जको जिम्मेवारीमा छु ।
११. तपाईको जिम्मेवारी रहेको व्यूरोको आगामी कार्यक्रम के छ ?
–पहिलो कुरा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाई लिएर राष्ट्रघात, जनघात, भ्रष्टाचार, कुशासन, अनियमिताता, हत्याहिंसा, बलात्कार मिटर व्याजी र लघुवित्तिय संस्थाले गरेको अत्याचार तथा उत्पीडन विरुद्ध संघर्ष गर्ने । दोस्रो पार्टी संगठन जवसहरुका भेला, सम्मेलन, बैठक तथा प्रशिक्षणहरु सम्पन्न गर्ने । तेस्रो, दलाल पुँजीवादी संसदीय व्यवस्था र दलाल राजनीतिक पार्टीहरुको भण्डाफोर गर्ने । भ्रष्टहरुलाई आवश्यक जनकार्वाही गर्ने । चौथो, साम्राज्यवाद, विस्तारवादको योजनामा सुशीला कार्की नेतृत्वले सम्पन्न गराउने २०८२ फागुन २१ गतेको कथित निर्वाचन असफल पार्न संघर्ष गर्ने र पार्टीको २०८२ पुस ११ गते अर्थात् २६ डिसेम्बर माओ दिवसको अवसरमा काठमाडौंमा हुने केन्द्रीय जनसभामा ३ नं. व्यूरोबाट जनमास सहभागी गराउने । पाँचौं, पार्टीलाई आत्मनिर्भर बनाउनको निम्ति पार्टीलाई श्रमसँग जोड्ने र उत्पादनमूलक कार्य गर्ने जस्ता कार्यक्रम तय भएका छन् ।
१२. हाँक साप्ताहिक मार्फत अन्त्यमा भन्नु केही छ कि ?
–सर्वप्रथम हाँक साप्ताहिक जनताका समस्या देख्ने दृष्टि बनोस् । यसले जनताका मुद्दाहरु समेटेर सरोकारवाला पक्षसम्म पु¥याउने काम निश्पक्ष रुपले गरोस् र यसले आफ्नो कलम जहिले पनि न्याय, स्वतन्त्रता र समानताको पक्षमा चलाओस्, अन्याय र अत्याचारीहरु यो हाँकको नाम सुनेर थुरथुर काप्ने गरी यसले आफ्नो कदम अगाडि बढाओस् । हाँकको ४३ औं वार्षिकीको सफलहोस् भन्ने अग्रिम शुभकामना व्यक्त गर्दछु । अन्त्यमा मेरो धारणा, मेरो विचार जनताको बीचमा पु¥याउने अवसर दिएकोमा धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

