-मनबहादुर श्रीस, ६ नं. व्यूरो सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
मनबहादुर श्रीस कम्युनिस्ट आन्दोलनको अनवरत यात्री हुनुहुन्छ । श्रीसले गाउँमा आफ्नै घरका माहिलो दाजु टेकबहादुर श्रीसका सांगठनिक गतिविधि र जीवन शर्मा (रामकृष्ण आचार्य) को मन छुने गीतहरुबाट प्रभावित भएर कम्युनिस्ट आन्दोलनप्रति आकर्षित हुनु भएको थियो ।
मनबहादुर श्रीस बुबा प्रेमसिंह श्रीस र आमा मनकली श्रीसको कोखमा जन्मनु भएको थियो । अहिले उहाँको परिवारमा आमा मनकली, श्रीमती दिलकुमारी थापा, ३ छोरी र १ छोरा छन् । मनबहादुर श्रीस ३ दाजु, २ दिदीका कान्छ भाई हुनुहुन्छ । नेकपा (मसाल) मा रहेका बेला एउटा भ्रष्टाचारको मुद्दामा एक जनाले गरेको गम्भीर अपराधलाई एमालेसित सहमति गर्ने नाममा पीडितलाई नेताहरुले अन्यायमा पारेको कुरा, कतिपय राजनीतिक मुद्दामा पार्टीले हेलचेक्राई गरेको पीडा मनबहादुर श्रीसको मनमा रहेको देखिन्छ ।
राङखानी मावि राङगखानीमा कक्षा १ देखि ७ सम्मको अध्ययन, त्यसपछि सर्कुवा माविमा कक्षा ८ पढ्नु भयो । कक्षा ९ र १० महेन्द्रोदय पातीडाँडा, सिन्धुपाल्चोकबाट गर्नु भएको थियो । एसएलसी सिन्धुपाल्चोकबाट उत्तीर्ण गरेपछि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आई.एस.सी. उत्तीर्ण गर्नुभयो ।
राङखानी माविमा २०५१ देखि २०५५ समम विज्ञान शिक्षकको रुपमा काम गर्नुभयो । हाल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा आबद्ध हुनुहुन्छ । प्रस्तुत छ उहाँसँग हाँकले गरेको कुराकानीः
० सुरुमा संगठनमा कसरी आकर्षित हुनुभयो ?
–मेरो बुबा आमाका हामी ४ भाइ हौं र दुईवटी दिदी हुनुहुन्छ । मेरा माहिला दाजु टेकबहादुर श्रीस १३ वर्षको उमेरमा भागेर पोखरा जानु भएछ । करिव २ वर्षपछि चितवनको लङ्कु भन्ने ठाउँमा गएर ज्यामी काम गर्नुभएछ । लङ्कुमा सुकुम्बासी आन्दोलनमा जोडिनु भएछ । त्यो आन्दोलनमा लागेपछि उहाँलाई नेकपा (मसाल) का साथीहरुको सम्पर्कमा आउनुभयो । गाउँमा फर्किनु भयो । यहाँ गाउँमा जीवन शर्माले बेलुकीमा गितार, हार्मोनियम लिएर आउनुहुन्थ्यो । धेरै जसो राङगखानी भूपाल रानाको घरमा जम्मा भइन्थ्यो । कहिलेकाहीं हाम्रो घरमा पनि बसिन्थ्यो । जीवन शर्माले गरिब, दुःखीहरुको दुःख र पीडाका गीत गाउनुहुन्थ्यो । हामी केटाकेटी, बुढाबुढी सबै जम्मा भएर सुनिन्थ्यो । मेरो दाइ टेकबहादुर र जीवन शर्मा (रामकृष्ण आचार्य) को निकै गहिरो मित्रता भए जस्तो देखिन्थ्यो । घरकै दाजु पार्टी राजनीतिमा लागेको र जीवन शर्माको गीत – यी प्रभावहरुका कारण राजनीति र संगठनप्रति चासो बढ्यो र क्रियाशील पनि भइयो । दाजु टेकबहादुरले , लुथ्रन भन्ने एनजिओले खानेपानी योजना र स्कूल भवन बनाउँथ्यो, त्यसमा टेकनीसियनको रुपमा काम गर्नु भयो ।
० विद्यार्थी संगठनमा काम गर्दाको अनुभव के छ ?
–म बागलुङको मान्छे सिन्धुपाल्चोक पढ्न जानुको पनि कथा छ । मेरी कान्छी दिदी पूर्णमायाको प्रकाश पौडेलसित विवाह भयो । प्रकाश भिनाजुको यही राङ्गखानीको पाही घर हो । भिनाजुले महेन्द्रोदय मावि पातीडाँडा सिन्धुपाल्चोकमा पढाउनु हुन्थ्यो । म पनि दिदी भिनाजुको साथमा लागेर सिन्धुपाल्चोक गएँ । ९ र १० कक्षा पनि त्यहींबाटै पास गरें । पंचायतकालमा तामाङ केटाहरुलाई भिनाजु प्रकाशत पौडेलले अखिल (छैठौं) को बारेमा सुनाउनु हुन्थ्यो । राजनीति र संगठनका बारेमा बताउनुहुन्थ्यो । त्यसबेला मैले पनि कुरा सुन्ने गर्थें । अखिल (छैठौं) र वामपन्थी राजनीतिप्रतिको बागलुङदेखिको झुकाव कायमै थियो । २०४६ सालमा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा अध्ययन गर्न गइयो । पाल्पामा आइ.एस.सी. पढ्दा अखिल (छैठौं) मूल इकाई समितिको सदस्य रहेर काम गरें । बहुदल आउनु भन्दा पहिले अखिल (छैठौं) को वनदेवीमा भएको भेलामा पनि म सहभागी थिएँ । २०४६ सालमा बहुदल आएपछि पाल्पाका गाउँहरुमा गएर सांस्कृतिक कार्यक्रम गरिएको थियो । गुल्मीको रेशम श्रीस, बागलुङ, राङखानीका नविन थापा (जो पछि पाल्पाली नै बनेर बसे) ले गीत गाउँथे, म, गुल्मीका युवराज गिरी लगायत नाचिन्थ्यो ।
० २०४६ सालको जनआन्दोलनको अनुभव के छ ?
–२०४६ सालको जनआन्दोलनमा म पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पढ्थे । जनआन्दोलन बढ्दै थियो । त्रिभुवन क्याम्पसको विज्ञान विषय बतासे डाँडामा पढाई हुन्छ र अन्य विषय लहरे पिपल बजारको भवनमा पढाई हुन्थे । तर कमर्सको एउटा विषय बतासेडाँडामा पढाई हुन्थ्यो । तलमाथि दुवै ठाउँमा अखिल (छैठौं) को राम्रै अवस्था थियो । बागलुङ, प्यूठान,गुल्मी, अर्घाखाँची तिरका विद्यार्थीहरुको राम्रै जमघट हुन्थ्यो । जनआन्दोलन बढ्दै जाँदा हामीले पनि नारा जुलुश, विरोध प्रदर्शन गरियो । बतासे डाँडाको सानो बजारमा हातहातमा कालो झण्डा बोकेर अखिल (छैठौं) जिन्दावाद, पंचायती व्यवस्था मूर्दावाद ! भन्ने नारा लगाउँदै दौडिएर क्याम्पस भित्र प्रवेश गरिन्थ्यो । क्याम्पसको कम्पाउण्डमा प्रवेश गरेपछि हामीले सुरक्षित महशुस गरिन्थ्यो । किनभने क्याम्पस प्रमुखको अनुमति नलिइकन प्रहरीहरु पनि क्याम्पस भित्र प्रवेश गर्दैनथे । क्याम्पसमा प्रवेश गरेपछि प्रायः अखिल (छैठौं) का नेता झोकेन्द्र थापाले भाषण गर्नुहुन्थ्यो ।
एक पटक त कस्तो भयो भने क्याम्पसको गेटमा प्रहरीहरुले कुरिरहेको थियो । छैठौंका नेता झोकेन्द्र थापालाई केटीको कपडा लगाएर विद्यार्थीहरुको हुलमा बाहिर पठाइएको थियो । हामीले तीन दिनसम्म बतासे डाँडाको क्याम्पसमा आन्दोलन गरियो । तर प्रहरीले धेरै निगरानी गर्ने र क्याम्पस बाहिर प्रहरी तैनाथ गरिरहेपछि हामीले आन्दोलनको काम तल लहरेपिपल मै आएर गर्न थालियो । एक पटक कस्तो भयो भने लहरेपिपल क्याम्पसमा विरोधसभा भइरहेको थियो । विरोधसभामा विद्यार्थी नेता रामप्रसाद बञ्जाडेले बोले जस्तो लाग्छ । बञ्जाडे बोल्दाबोल्दै असिना वर्षिए झैं कार्यक्रम स्थलमा ढुंगा ईंटा वर्षियो । कार्यक्रम भन्दा माथि मण्डलेहरु जम्मा भएर योजनाबद्ध रुपमा प्रतिकार गर्ने कार्यक्रम बनाएका रहेछन् । त्यस किसिमले आक्रमण होला भन्ने हामीलाई लागेको थिएन । उनीहरु कार्यक्रमस्थल भन्दामाथि योजनाबद्ध थिए । कैयौं साथीहरु घाइते भए । म लगायत केही साथीहरु पर्खाल नाघेर, हामफालेर भागियो । त्यसपछि नवीन थापाको दिदीको घर गएर बसियो । खर्च पनि सकिएको थियो । पाल्पाबाट जेनतेन ३ दिनको घर आइपुगियो । खर्चपर्च बोकेर फेरि कलेज जाँदै थियौं । स्याङ्जाको गल्याङ वारी कल्लेरी पुग्दा भञ्ज्याङपुग्दा गल्याङबजार तलमाथि विशाल जुलुश निस्केको देखियो । अनि हामीलाई थाहा भयो– पंचायत ढल्यो ।
० शिक्षक हुँदाका दिनहरु कस्तो थिए ?
–मैले आइएसी दिएपछि राङखानी माविमा विज्ञान शिक्षक भएर पाँच वर्ष पढाएँ । राङखानी प्रस्तावित मावि थियो । निमावि सरकारी शिक्षक थियो । प्रस्तावित मावि भएकाले तलव खानका लागि शिक्षकहरुले अभिभावकहरुसित पैसा उठाउनु पथ्र्यो । गाउँलेहरुले पनि कति दिउन् ? पाहीको २ वटा वडाले आफ्नो छुट्टै स्कूल खोले, साविकको २ नं. वडाले पैसा दिन छाडेर पैयुँतिर विद्यार्थी पठाए । गाह्रो भयो । त्यही बेला जीवन शर्मालाई बोलाएर भैलो खेलेर (२०५२तिर) रु ८० हजार उठाइयो । स्कूल ढल्न पाएन । सरकारले विस्तारै मावि राहत थप्दै गयो र सजिलो भयो ।
० शिक्षक छाडेपछि के गर्नुभयो ?
–शिक्षक छाडेपछि मैले एकातिर व्यक्तिगत व्यवसायको काम गरे र अर्कोतिर पार्टीको काममा लागियो । अखिल नेपाल युवक संघको जिल्लादेखि केन्द्रसम्म काम गरियो ।
० राज्य–माओवादी द्वन्द्वकालमा मसाल–माओवादी बीचमा बागलुङमा अलि बढी तिक्तता भयो कि ?
–त्यतिबेलाको परिस्थिति त्यस्तै थियो । मसालको तर्फबाट हामीले कहिलै पनि सुराकी गरिएन । दुःखद कुरा हो तिक्तता भयो । हामीले मित्रवत व्यवहार गर्नुस् माओवादीलाई भनेका थियौं । ती पुराना इतिहासको कुरा भयो, कम्युनिस्ट आन्दोलनमा इतिहासका ती कुराहरुबाट पाठ सिक्नुपर्दछ ।
० अहिलेको राजनीतिक परिस्थितिलाई कसरी हेरिरहनु भएको छ ।
–मलाई के लाग्दछ भने कम्युनिस्ट पार्टी भनाउँदाहरुले पनि जनतालाई बेइमानी गरे । सत्ता संचालनमा गएपछि जनताको आवाज कदर गर्न सकेनन् । यो परिस्थिति सिर्जना हुनुमा कम्युनिस्ट पार्टीले मान्छेले विकल्प खोज्ने क्रममा नयाँ पार्टीहरु खोल्ने क्रम चलिरहेको छ । दलहरुको नयाँ विकल्प खोज्ने लहर चले पनि त्यो हुने देखिंदैन । देशको भविष्य अन्धकार छ जस्तो लाग्छ । जेनजी आन्दोलनको उद्देश्य हाइज्याक भएको छ ।
० तपाईले त प्रगतिशील विवाह गर्नुभयो । आजभोलि समाजमा प्रगतिशील संस्कृति कमजोर भएको लाग्दैन ?
–२०५३ साल वैशाख १० गते म र बागलुङ विनामारे (अहिलेको जैमिनी न.पा. ५) की दिलकुमारी थापासिता विनामारे गाउँमा मैन्टोल बालेर राति विवाह गरिएको थियो । अखिल (छैठौं) को कुश्मिसेरामा बागलुङ जिल्ला सम्मेलन भएको थियो । त्यो सम्मेलन सकेर विनामारे गएर विवाह गरियो । अखिल (छैठौं) को नेता सुरेश थापा , पार्टीका नेताहरु कृष्ण थापा, लिला थापा, नारायण सापकोटा (गलकोट), नारायण सापकोटा (दमेक), टेकबहादुर आरसी लगायतका नेताहरु जम्मा भएका थिए । गाउँलेहरु थ्रुपै जम्मा हुनु भएको थियो । कार्यक्रमको संचालन पदम थापाले गर्नु भएको थियो ।
पदम थापाले निकै रोचक पाराले कार्यक्रम संचालन गर्नुभएको थियो । हाम्रो विवाह गराउनमा कृष्ण थापाको भूमिका महत्वपूर्ण थियो । गाउँमा उत्साहका साथ प्रगतिशील विवाहहरु हुन्थे । त्यसैमा मानिसहरु खुशी थिए । अहिले प्रगतिशील विवाहको चलन हराउँदै गएको छ । वनपाखामा रक्तिमका गीतहरु गुञ्जन्थे । अहिले ती पनि हराउँदै गएका छन् । कम्युनिस्ट आन्दोलनमा आएको निराशा संस्कृतिमा पनि प्रभाव परेको छ ।
० अहिलेको राजनीतिक परिस्थितिलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
–जेनजी आन्दोलन पछि देश विषम परिस्थितिमा प्रवेश गरेको छ । सामाजिक सञ्जालमा पहुँच, भ्रष्टाचार नियन्त्रण, सुशासन जस्ता माग राखेर शान्तिपूर्ण आन्दोलन जेनजीहरुले गरेका थिए । तर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इसारामा जनेजी आन्दोलनलाई हाइज्याक गरेर हिंसात्मक आन्दोलनमा परिणत गरियो । जेनजी आन्दोलनपछि गठन भएको सुशिला कार्की नेतृत्वको सरकार साम्राज्यवादी र विस्तारवादीहरुको कठपुतली सरकार हो भन्ने कुरा आम देशप्रेमी जनतालाई महशुस भएको छ । पुराना संसदवादी दलहरुको भ्रष्टाचार, कुशासन र राष्ट्रघात, जनघातले जेनजी विद्रोह जन्माएको थियो । पुराना संसदवादी दलहरु त गलत थिए नै, नयाँ दलहरु पनि अझै राष्ट्रघाती, जनघाती बन्ने देखिन्छ । नयाँ भनिएका दलहरु पनि देशप्रतिको जिम्मेवारी देखिएन । हामी क्रान्तिकारी शक्तिहरुको सही सिद्धान्त र राजनीति छ तर सांगठनिक र जनआधार कमजोर छ । संगठनलाई कसरी सुदृढ गर्दै गएर देशको रक्षा गर्ने र क्रान्तिको नेतृत्व गर्ने शक्तिमा लैजाने हो भन्ने बारेमा हामीले ध्यान दिनुपर्ने छ ।
० देशमा विदेशी शक्तिको हस्तक्षेप बढेको छ । चुनावमा तिनैका भक्तहरु उठ्दैछन् भन्नुभयो । निर्वाचनमा देशभक्त शक्तिहरु मिलेर विदेशीका एजेण्टलाई परास्त गर्नुपर्ने बेलामा किन चुनाव बहिष्कारमा लाग्नुभयो ?
–निर्वाचनमा प्रतिस्पर्धा गरेर विदेशीका एजेण्टहरुलाई परास्त गर्नुपर्ने त्यो पनि एउटा बाटो हुन सक्थ्यो । तर जतिसुकै चुनावमा प्रतिस्पर्धा गरेर निर्वाचन जिते पनि यही प्रतिक्रियावादी संसदीय व्यवस्था भित्रबाटै राष्ट्रघात, जनघातको समस्याको हल खोज्नुपर्ने हुन्छ । स्वयं संसदीय व्यवस्था नै विदेशीहरुको दलाल व्यवस्था भइसकेकाले निर्वाचनबाट जितेर राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्न हल गर्न सम्भव नभएकाले यो व्यवस्थाकै विकल्पमा राष्ट्रिय स्वाधीन सरकारको गठन गर्दै क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाएर मात्र देशले सही निकास पाउँछ भन्ने हाम्रो निस्कर्ष छ ।
० ६ नं. व्यूरो(साविकको धवलागिरी अञ्चल) मा निर्वाचन बहिष्कार सम्बन्धी के कस्ता कार्यक्रम छन् ?
–पार्टीको नीति निर्देशन अनुसार कथित निर्वाचन बहिष्कार गर्दैछौं । त्यसका लागि प्रचारात्मक कार्यक्रम, पर्चा वितरण लगायतका कार्यक्रमहरु अगाडि बढाउँदैछौं ।
० कम्युनिस्ट आन्दोलन अगाडि बढाउन के गर्नु पर्ला ?
–अहिले कम्युनिस्ट आन्दोलनमा निराशाको काल छ । पुराना साथीहरुमा जतिसुकै दुःख गरे पनि नहुँदोरहेछ भन्ने भावना पाइन्छ । नयाँ पुस्ता मोवाइल, कम्प्यूटरको दुनियाँमा हराइरहेको छ । सामाजिक भावना भन्दा पनि व्यक्तिवादी, उपभोक्तावादी संस्कृति हावी भएको छ । यस स्थितिमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन वर्गसंघर्षको विकास, माक्र्सवादी–लेनिनवादी र माओका क्रान्तिकारी शिक्षाको प्रचार प्रसार, प्रशिक्षण र त्यस अनुसारको संगठनतिर ध्यान दिनु बाहेक अर्को उपाय छैन ।
० हाँक साप्ताहिक मार्फत् थप केही छ कि ?
–हाँकले अनेक समस्या झेल्दै आफ्नो यात्रा, देश र जनता प्रतिको दायित्व प्रतिको प्रतिबद्धता छाडेको छैन । हाँकको निरन्तरताको कामना गर्दछु ।

