काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव सिपी गजुरेलले क्रान्ति गर्न क्रान्तिकारी पार्टी चाहिने बताउनु भएको छ । क्रान्तिकारी कम्युनिष्ट नेपाल, नेकपा बहुमत वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेकपा सहितको संयुक्त संघर्ष समितिको आयोजनामा काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा आयोजित “वर्तमान परिस्थिति र अबको बाटो शीर्षकमा आयोजित प्रवचन गोष्ठी कार्यक्रममा बोल्दै गजुरेलले सो कुरा व्यक्त गर्नु भएको हो । वहाँले क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टी विना नेपाल वा जुनसुकै देशको क्रान्ति सम्भव नहुने बताउनु भयो । वहाँले अहिले देशमा क्रान्तिकारी आन्दोलन कमजोर अवस्थामा रहेको बताउँदै क्रान्तिकारीहरुको बीचमा एकता आवश्यक रहेको उल्लेख गर्नु भयो । पार्टीहरु आवश्यक पर्दा फुट हुने भए पनि आवश्यक पर्दा जुट हुन पर्ने भन्दै वहाँले अब क्रान्तिकारीहरु एकजुट हुनु पर्ने विचार व्यक्त गर्नु भयो । वहाँले वर्तमान वालेन सरकारले विद्यार्थी ,मजदुर युनियनहरु माथि प्रतिबन्ध लगाएको प्रसंग सुनाउँदै वालेन सरकार झनै तानाशाही बन्दै गइरहेको बताउनु भयो । वहाँले गरिब दुःखी जनताको पक्षमा सरकार नरहेको भन्दै सुकुम्बासी जनताको वस्तीमा डोजर लगाउने कार्य हुकुमीशैली भएको बताउनु भयो ।
वहाँले नेपालबाट एमसीसी खारेज गर्नु पर्ने भन्दै एमसीसी पास गराएर अमेरिकाले नेपालमा अमेरिकी सेना राख्न अग्रसर भएको बताउनु भयो । वहाँले साम्राज्यवाद बलियो रहेको पनि र नरहेको पनि भन्दै इरानमाथिको आक्रमण र इरानको प्रतिरोध पछि अमेरिका रक्षात्मक भएको बताउनु भयो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ्श्रीसले कार्यक्रमको विषयवस्तु स्पष्ट गर्दै “जनताको भान्छामा छैन नुन ,सरकारका मन्त्रीहरुको सुनै सुन छ ।”भन्नुहुँदै संसदीय व्यवस्था भनेको पुँजीपतिहरुको हित गर्ने थलो हो भन्नु भयो र अहिलेको सरकार गरिब ,सुकुम्बासीहरुको नभइ पँुजीपतिहरुको हित गर्ने सरकार हो भन्नु भयो । जेनजी विद्रोह सुशासनको माग खारेर गरिएको भए पनि देशलाई अग्रगामी दिशातिर भन्दापनि प्रतिगामी दिशातिर लैजाने काम भएको बताउनु भयो ।

नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलाले जेनजी आन्दोलन सुधारको कुरा गरेर उठाइएको भए पनि साम्राज्यवादको योजनामा भएको बताउँदै जेनजी आन्दोलनलाई योजनाबद्ध तरिकाले हाइज्याक गरी अमेरिकी साम्राज्यवादको सुशीला कार्कीको नेतृत्वमा कठपुतली सरकार बनेको उल्लेख गर्नु भयो । वहाँले वालेन सरकार सुकुम्बासीहरु माथि डोजर चलाएको भन्दै भूमि सँधै नै सबै पूर्जाविहीन नै भएको पछि नीति ल्याएर सबले पूर्जा बाँडीचुँडी लिएको बताउँदै सुकुम्बासीहरुलाई पनि स्पष्ट भूमि नीति ल्याएर पूर्जा दिनुको सट्टा सुकुम्बासी बस्तीमाथि डोजर चलाउने सरकारी नीति सुकुम्बासी भूमिहीन विरोधी रहेको बताउनु भयो । वालेनद्वारा पालित पोषित “पालेन मिडिया”ले वालेनको जनविरोधी नीतिलाई बढाइचढाइ गरेर प्रचारमा ल्याइरहेको बताउनु भयो । वहाँले रास्वपाले दलितहरुसँग माफी मागेर दलितहरुलाई अल्मलाएको कुरा गर्दै दलितहरु माथि वर्गीय, जातीय सबै प्रकारको उत्पीडन कायमै रहेको बताउँदै त्यसको अन्त्य हुनु पर्ने बताउनु भयो ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले देशमा अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले देशको साधन स्रोत बाँडीचुँडी लैजान खोजेको बताउनु भयो । वहाँले इतिहासमा जनतालाई वैचारिक दिशामा लैजान कम्युनिष्टहरुले महत्वपूर्ण योगदान दिएको बताउँदै अहिले युवाहरुलाई विचारविहीनतामा पु¥याइ उपभोक्ता मात्रै बनाउन खोजिएको बताउनु भयो ।

नेकपाका उपाध्यक्ष आरसी भण्डारीले बदलिएको परिस्थितिमा कम्युनिष्टहरुले आफ्नो दायित्व पूरा गर्नु पर्ने बताउनुभयो । वहाँले मैदान खाली छ भन्नुहुँदै यो अवस्थामा कम्युनिष्टहरु बढी भन्दा बढी त्याग गरेर जनताकोबीचमा जानु पर्ने बताउनु भयो ।कार्यक्रमको संचालन नेकपा बहुमतका रुपा बुढाले गर्नु भएको थियो
फोटो ः जय दाहाल

