खुकुरी टी–ट्वान्टी कपः बुटवल युथ र एमएसएमटी राम स्पोट्र्स विजयी

 

भैरहवा, बैशाख ९ । बुटवल युथ स्पोट्र्स क्लब र एमएसएमटी राम स्पोट्र्स गोरखपुरले भैरहवामा जारी ‘खुकुरी टी–ट्वान्टी कप–२०८३’ अन्तर्गत बुधबारको खेलमा जित निकालेका छन् । बुटवल युथले लुम्बिनी शाक्यन क्रिकेट क्लबमाथि ८ विकेटको प्रभावशाली जित निकाल्दा गोरखपुरले वेष्टर्न क्रिकेट क्लबलाई ४ विकेट हराएको छ ।

सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले ७ विकेट गुमाएर १ सय १७ रन बनायो । उसका लागि सचिन राजभरले २४, अजमत अलीले अविजित २०, सन्दीप बनियाले १८ र साह आलमले १६ रन बनाए । बलिङमा बुटवल युथका शिव कुँवरले २ तथा निराजन भट्टराई, मनिष थापा, अजय चौधरी र सन्तोष कौसलले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बुटवल युथले १६ ओभरमा २ विकेटको क्षतिमा १ सय १८ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा कृष्ण चापागाईंले अविजित ४१, स्वीकृत विश्वासले नटआउट ३२, निरज भण्डारीले १९ र ऋषभ बेल्बासेले १७ रन बनाए । बलिङमा लुम्बिनी शाक्यनका आकाश गिरीले २ विकेट लिए । खेलमा कृष्ण चापागाईं प्लेयर अफ द म्याच घोषित भए ।

यस्तै, दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले ५ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि रन्जित खड्काले ४०, कलम मुसलमानले २९, मिर्नाल गुरुङले २३, हरजीत सिंहले नटआउट २०, दीपेश रोकाले १९ र प्रज्वल थापाले १३ रन बनाए । बलिङमा प्रिन्स शाही र आनन्द दुवेले २–२ तथा अभिषेक दुवेले १ विकेट लिए ।जवाफमा एमएसएमटी राम स्पोट्र्सले १९ ओभरमा ६ विकेट गुमाउँदै १ सय ५८ रन बनाई जित निकाल्यो । उसको जितमा निखिलप्रताप राओले अविजित ६४, राहुल सिंहले २८, संकटा प्रसादले १६, प्रिन्स शाहीले अविजित १४, अंकुर लखमनीले १२ र आनन्द दुवेले १० रन बनाए । बलिङमा वेष्टर्नका सागर गैरेले ३, अभिषेश गौतमले २ तथा हरजीत सिंहले १ विकेट लिए । खेलमा निखिलप्रताप प्लेयर अफ द म्याच भए ।

लुम्बिनी खुकुरी क्लब, भैरहवाको आयोजनामा जारी प्रतियोगितामा नेपालका १३ तथा भारतका ३ गरी कुल १६ टीमको सहभागिता छ । यही बैशाख १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेता टीमले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक नन्दन श्रेष्ठले बताए । साथै, म्यान अफ द सिरिजलाई १५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही ५ हजार ५ सय रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एक हजार ५ सय प्रदान गरिनेछ ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित