मजदुर दिवसमा क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा शुभकामना

काठमाडौं । १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा क्रान्तिकारी ट्रेड युनियन महासंघले शुभकामना वक्तव्य जारी गरेको छ ।

महासंघका संयोजक इश्वर तिमिल्सिनाले जारी गरेको वक्तव्यमा भनिएको छ, “विक्रम सम्वत २०८२ वैशाख १८ तदनुसार १ मई २०२५ संसारका श्रमिकवर्गका लागि गौरवको दिन हो। अमेरिकी श्रमिकवर्गले वीरता र बलिदानद्वारा पुजीपतिवर्गद्वारा गरिदै आएको श्रमशक्तिको शोषणका विरुद्ध विजय प्राप्त गरेको ऐतिहासिक दिनको स्मरण गर्नु र त्यसको आलोकमा श्रमिक आन्दोलनको बाटो तय गर्नुले विशेष अर्थ राख्दछ। १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा देश विदेशमा कार्यरत श्रमिकहरुमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। श्रमिकवर्गको मुक्ति र परिवर्तनका लागी जीवन आहुती दिने महान शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै क्रान्तिकारी योद्धाहरुमा सम्मान, अभिवादन व्यक्त गर्दछौ ।

मजदुरवर्गको त्याग, वीरता, बलिदान र विद्रोहबाट प्राप्त समाजवादी सत्ताको नेतृत्वदायी कमरेड स्टालिनको मृत्यु पछि सोभियत समाजवादको सामाजिक साम्राज्यवादमा पतन हुँदै कमरेड माओको मृत्युपछि चिनियाँ समाजवादको राज्य पुँजीवादमा सङ्क्रमणसम्म आइपुग्दा नपुग्दै विश्व पुँजीवादले अगाडि बढाएको उदारीकरण आजसम्म आउँदा भूमण्डलीकृत भैसकेको छ। उदारीकरण, भूमण्डलीकरण र विश्वव्यापीकरणको नारा लगाउदै संसारभरका साधन श्रोत, सम्पदा र श्रम शक्तिको दोहन गरेर पुँजीपतिवर्गले सबै वैभव साम्राज्यवादी देश र मुठ्ठीभर मानिसहरूको थैलीमा संकेन्द्रीत गरिरहेको छ भने अरवौं मानिसहरु अभाव, गरिबी र बेरोजगारीको संकट बाट उन्मुक्तिको निम्ति संघर्ष गरिरहेका छन ।

वर्तमान विश्व पूँजिवादले देशिय सिमाहरु भत्काएर आफ्नो उत्पादन, वितरण र नाफाको विस्तार मात्र गरेको छैन बरु श्रम बजारलाई समेत विश्वव्यापी बनाइदिएको छ। उत्पादनमा विकेन्द्रीकरण र वितरणमा वा नाफाको केन्द्रीकरणको प्रणाली अनुसार नेपाल लगायत तेस्रो विश्वका श्रमिकहरु व्यापक रूपमा वैदेशिक रोजगारीको अपमानजनक श्रम बजारमा भौतारिन बाध्य भइरहेका छन ।

सुखी नेपाली, समृद्ध नेपालको प्रचारवाजी गरेर वर्तमान संसदीय व्यवस्था र त्यसको नेतृत्वले नेपाली श्रमिकहरुको आँखामा छारो हाल्दै कथित उदारीकरणका नाममा श्रमिक विरोधी ऐन, कानुन र व्यवस्था लागू गर्दै आइरहेको छ। अस्थायी, करार र ज्यालादारी श्रमनीतिका आधारमा कथित लगानीमैत्री श्रम ऐन, ट्रेड युनियन ऐनका साथै कथित रोजगारदाताको नाममा श्रमिकहरुको श्रमको शोषण गर्न दलालहरुको तहगत संरचना समेत निर्माण गरेर श्रमिकहरुको वर्तमान र भविष्य समेत अन्योलपूर्ण, अनिश्चित र अपमानजनक बनाउदै लगेको छ।
पुजिपतिवर्गको चन्दा, अनुदान र सहायताका नाममा साम्राज्यवादी तथा विश्व पुजिवादी परियोजना संचालन गरेर संसारका जस्तै नेपालका कथित ट्रेड युनियनहरुले समेत श्रमिकवर्गको शोषणका निम्ति पुजिपतिवर्गलाई मद्दत पुऱ्याउदै आएका छन । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने कुरा गदां विश्व पुजिवाद,साम्राज्यवादी स्वार्थ निम्ति गरिने युद्धका साथै घरेलु प्रतिक्रियावाद तथा दलाल ट्रेड युनियनवादका विरुद्ध समेत संघर्ष गर्दै विजय प्राप्त गर्ने उद्देश्य सहित अगाडि बढ्नु पर्छ भन्ने कुरामा स्पष्टता हासिल गर्नु महत्त्वपूर्ण हुन्छ ।

आज पुँजीवादी लुट र डकैती संसारभर नांगिदै मात्र गैरहेको छैन, बरु श्रमिकवर्गको विरोध र आक्रमणको निशानामा समेत पर्दै आइरहेको छ । यो अवस्थामा विश्व पुँजीवाद तथा तिनका दलाल शासकहरुले खडा गरेका चुनौतीहरुको सामना गर्दै क्रान्तिकारी मजदुर आन्दोलनलाई नयाँ उचाइमा उठाउन र श्रमिकवर्गको राजनैतिक व्यवस्था नयाँ जनवाद–वैज्ञानिक समाजवाद स्थापना गर्न दृढतापूर्वक अगाडि बढ्नु आजको आवश्यकता भएको छ । यसका निम्ति श्रमिकहरुमा विशेष अपिल गर्न चाहन्छौं ।”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित