मजदुर आन्दोलन आज किन कमजोर भयो ः एक मूल्यांकन 

—लोकनारायण सुवेदी
आजभन्दा १२३ वर्ष अघि अर्थात १९०३ मा अमेरिकाका छब्बिसौं राष्ट्रपति थ्योडोर रुजबेल्टले अन्तर्राष्ट्रिय मजदुर दिबसको सन्दर्भमा एउटा बहुचर्चित सम्वोधन गरेका थिए । त्यसमा के मूल र महत्वपूर्ण कुरा थियो भने – मानिसको जीवनमा यदि कुनै महत्वपूर्ण पुरस्कार छ भने त्यो ‘काम गर्ने अवसर’ हो, जुन यस्तो काम होस् जसले मजदुरको जीबिका चलोस् र महत्ता बढोस् ।
तत्कालीन अमेरिकी राष्ट्रपति रुजभेल्टले धेरै बर्ष अगाडि भनेको यो कुरा आज पनि यस अर्थमा अत्यन्तै महत्वपूर्ण लाग्दछ कि आजको २१औं शताब्दीको तेश्रो दशकको अन्त्यतिर बिश्व पुगिसक्दा पनि मजदुर वर्गको जीवनको यो सबैभन्दा ठूलो पुरस्कारबाट उ अझै पनि बञ्चित छ । अनि त्यो पुरस्कार(अर्थात काम पाउने अवसर) सुरक्षित काम पाउन सकिरहेको छैन  र कामको खोजीमा आज पनि अन्तहीन किसिमले मजदुर वर्गको ठूलो संख्याले विश्वमा  संघर्ष गरिरहेको छ । यति मात्रै होइन, कामको यस खोजीमा टाउको दुखाउनका लागि मजदुर बर्गको धेरै ठूलो संख्या आज पनि बिवश छ र यसरी कामको पुरस्कार पाउनबाट बिमुख मजदुरहरुको संख्या दिनानु दिन चिन्ताजनकरुपमा बढिरहेको छ ।
मूलरुपमा विश्वको स्थिति यस्तो भए पनि यस कालखण्डमा विकसित सम्पन्न अर्थ ब्यवस्था भएका देशहरुमा मजदुर वर्गको एउटा सानो तप्तकालाई चाँही कुन स्थितिमा पुगेको महसुश गराइदिएको छ भने उसले राम्रो पद, प्रतिष्ठा, पैसा र स्तरीय आवास र विलाशी गाडीसम्मको सुविधा लगायत जीवनको विलाशीताका प्रायः सबै सर–सामान जुटाएर आफ्नो सपना पूरा (यही कुरा पुरा हो त ?) गरिसकेको या गरिरहेको छ । ती विकसित देशहरुका मजदूर विरोधी व्यवस्थाहरुले यो स्थितिबाट बञ्चित ठूलो संख्याका मजदुर वर्गको बीचको एकतालाई खण्डित गर्ने तथा मजदुरै मार्फत मजदुहरुको शोषण गर्ने उपकरणकोरुपमा त्यसको उपयोग गर्न पनि चुकेको छैन ।
फलतः आम मजदुरहरुको स्थिति र नियति पनि आज  त्यत्तिका धेरै बद्लिन सकेको छैन । यसको एउटा अर्को कारण के पनि के  छ भने बदलिदो समयको साथै मजदूरका पुराना कामहरुका प्रायःजसो सबै कौशलहरु बेकार या पुराना हुन पुगेका छन् । तिनको जुन स–साना कामका अंशहरुमा आवश्यकता पर्दछ तिनको पनि सानो हिस्साले मात्र आवश्यक बताइएका कतिपय यस्ता नयाँ कौशलहरु हासिल पनि गरेका छन् । अनि तिनै मार्फत कुशलता र अकुशलता बीचको कथित लडाईलाई अझ तीब्र तुल्याएको छ । यस लडाईको माध्यमले कुशल र अकुशल मजदुरहरुका बीच ठूलोे खाडल खडा गरेर कुन वास्तबिकतालाई झूटो प्रमाणित गर्न खोजेको देखिन्छ भने आम मजदुर अहिले पनि बेरोजागर रहन, अत्यन्तै कम बेतनमा काम गर्न तथा आफुले गरेको कामबाट सन्तुष्टी तथा महत्ता नपाउने स्थितिमा धकेलिन अभिशप्त छन् । स्वभाविक छ कि यसबाट सारा विश्वभरी नै केवल आयको असमानता मात्र बढेको छैन त्यस असमानताले गर्दा सामाजिक तनाब र असन्तोषको आगो पनि भुसको आगो जस्तै भित्रभित्रै सल्किरहेको छ र त्यो सर्बत्र ब्याप्त छ ।
निश्चय नै यो कालखण्डमा बद्लिदो विश्व व्यवस्था र प्रविधिका कारण रोजगारी र मजदुरीको संरचनामा धेरै ठूलो परिबर्तन आइसकेको र आइरहेको छ । फलतः अत्याधुनिक यन्त्रहरु र उपकरणहरुका कारण कयौं कठिन मानिने परम्परागत कामहरु पनि सहज हुन गएका छन् । अनि अविकसित तर बिकासशील देशहरुलाई छोडिदिने हो भने पनि सम्पन्न विकसित देशहरुमा उच्चरुपमा बढ्दो बेरोजगारीले बास्तविक स्थितिको दोश्रो पक्षलाई पर्दाफास गरिदिइरहेको छ । यसबाट एकदमै स्पष्ट हुन्छ कि नयाँ भनिएको विश्वव्यवस्था र त्यसका नीति निर्माताहरु विश्वमा कही कतै पनि ती गरीब तथा कमजोर तप्काका आम जनताको हितलाई ध्यान दिने गर्दैनन् जसलाई, थ्योडोर रुजबेल्टको भाषामा भन्ने हो भने, मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पुरस्कार सबैभन्दा बढी आवश्यक छ ।
यस प्रकारको अबाञ्छित स्थितिका कारणहरुको खोजी गर्ने क्रममा नोबेल पुरस्कार बिजेता माइल स्पेन्सले के भनेका छन् भने ‘यस कुरामा कुनै दुइ मत छैन कि रोजगारी नयाँ प्रविधिको बिकासले पनि कम हुन पुगेको छ नै तर त्यसभन्दा पनि बढी भूमण्डलीकरणको विश्व वर्चश्व र कल्याणकारी नीतिहरुको अभावनै यसको सबैभन्दा ठूलो कारण हो । निश्चय पनि त्यो भूमण्डलीकरण नै हो, जसले ती  संरचनात्मक सुधारहरुमा ब्यबधान खडा गर्दछ जुन सुधारहरुको मद्दतले रोजगारीको अवसर बढाउन सकिन्थ्यो र शक्ति तथा संसाधनहरुको मजदुर बिरोधी संकेन्द्रिकरणलाई रोक्न सकिन्थ्यो र सकिन्छ ।
अवश्य पनि यस्ता गर्न सकिने सुधारहरुको अनुपस्थितिमा शिक्षामा उपयुक्त  र आवश्यक परिवर्तन र प्रशिक्षण उपलब्ध गराउन सकिदैन, जुन शिक्षा र प्रशिक्षण बिना मजदुरहरुको नयाँ पिढीका पुराना कौशलहरु बेकारका बन्न पुग्दछन् तिनबाट उत्पन्न हुने चूनौतिहरुको सामना गर्न असक्षम हुनुपर्ने हुन्छ । यस कुरालाई पनि आज राम्ररी बुझ्न सकेको देखिदैन कि अकुशल र कुशल मजदुरका बीचको खाडल पुर्ने हो भने त्यसको पहिलो उपाय नै अकुशल मजदुरहरुको दक्षतालाई विकास गर्नै पर्ने हुन्छ । अनि यस्तो विकास कुनै एक दुइ क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा गरिनु पर्ने हुन्छ । आजको दुनियामा कुनै हावादारी कौशलले आधुनिक विकास परियोजनाहरुको आवश्यकता पूर्ति हुन पनि सक्तैन र ती उपयोगी बन्न पनि सक्तैनन् ।
यो कुरा बिश्वभरी र हाम्रै देशमा पनि उत्तिकै सान्दर्भिक छ । यहाँ त एकातिर उद्योगधन्धाकै अभाव छ, जसले गर्दा कामको अभाव छँदैछ, हुन्छ नै । अनि जे जति काम पाएका संगठित असंगठित मजदूरहरु छन् तिनको दुर्दशाका कारण के हुन्छ भने सत्ताधारी वर्ग र तिनका अनुचरहरुले उनीहरुलाई केवल अर्थबादमा अल्मल्याएर मजदुर वर्गको आमूल परिवर्तनकारी चेतनालाई भुत्ते पार्ने र दुषित तुल्याउने गर्दछन् र गरिरहेका छन् । जसले गर्दा आफ्नो आधारभूत वर्गीय हितको संघर्षकाप्रति समर्पित हुने बाटो बहुतै कंटकाकीर्ण बन्न जान्छ र बनिरहेको छ । यस स्थितिमा कम्तिमा दुइटा अनर्थ त पूरै स्पष्टरुपमा देखिन्छ् ।पहिलो हो मजदुर आपसमै मजदुर वर्गका विभिन्न श्रेणीमा विभक्त छन् या भइरहेका छन् र ती हरेक ‘आ–आफ्नै सीमित दायरा’मा केवल आफ्नो श्रेणीको संकीर्णतभित्र मात्र चिन्तित भएका या हुने गरेका छन् । यस स्थितिले गर्दा सामाजिक तथा आर्थिक आमूल परिबर्तको ‘हिराबल दस्ता’का रुपमा उनीहरुको कुनै भूमिका नै आज देखिन छोडेको छ । यसरी एक  जमानको सशक्त विश्व ट्रेड  यूनियन आन्दोलन शिथिल  कमजोर हुन पुगेको छ ।
अर्को दोश्रो कारण हो कि मजदुरहरुो पहिचानमा कयौं अन्य संकीर्ण कुरा जस्तो जातीय, धार्मिक र साम्प्रदायिक सोच हावी र प्रभावी हुन थालेको छ । त्यसले गर्दा मजदुर बर्गको हितमा हुने संघर्षहरु, आन्दोलनहरुको बेला केही जोशमा आएर लागेको देखिए पनि राजनीतिक निर्णय गर्नुपर्ने बेलामा आजको स्थितिमा चुनावको बेलामा पनि उनीहरुको समेत अर्कै रंग देखिन थाल्दछ । ती कुराको वशिभूत भएर सही अर्थमा मजदुर वर्गको बर्गीय आन्दोलनले सही दिशा र गति पाउन सक्तैन । यो बिगतदेखि अहिलेसम्मका अनुभवहरुले प्रष्ट पार्दै आएको महत्वपूर्ण अनुभवको निचोड हो ।
यस्तै प्रकारका  अल्मल र दोमनका कारणले समेत गर्दा पाँच बर्ष  जति अघि बिश्वब्यापीरुपमा देखापरेको र  फैलिएको विश्व कोरोना महामारीका बेला सही किसिमले मजदुर हितलाई नसोची उतिबेला लगाइएको ‘लकडाउन’का बेला उनीहरुले आफ्नो रोजीरोटी गुमाउँदा र भोक र रोगको भीषण त्रासदीमा एकैचोटी पर्दा पनि उनीहरुको संघर्ष दबाबकारीरुपमा उठ्न सकेन । न तिनले सदाशयता र सहानुभूति नै त्यत्ति धेरै पाउन सके । न पहिलेदेखि नै रहेका मजदुर बिरोधी श्रम कानुहरुको बिरुद्ध आन्दोलनलाई हस्तक्षेकारीरुपमा संगठित नै गर्न सके । अहिले स्थिति त कस्तो देखिन थालेको छ भने अब मजदुर वर्गले ८ घण्टाको साटो बाह्र घण्टा काम गर्नु पर्ने र त्यो पनि रोजगाराताको निगाहमा रहनु पर्ने त्रासद  स्थिति सामुमा देखा पर्न थालेको छ ।यसले गर्दा उनीहरुले लामो समयदेखिको संघर्षबाट पाएका आंशिक अधिकारहरु पनि गुम्ने वा क्रमशः गुम्दै जाने स्थिति बिकसित भइरहेको देखिन्छ । त्यसैले सम्पूर्ण संगठित तथा असंगठित क्षेत्रका श्रमजीवी बर्ग आज अझ बढी  सचेत, अझ बढी संगठित र अझ बढी संयुक्तरुपमा संघर्षशील बनुन् । उनीहरुका अगाडि अरु कुनै बिकल्प र बनिबनाउ बाटो पनि छैन । यो आजको विश्वको कटु यथार्थ हो । यस यथार्थलाई आत्मसात गरेर यो विश्वब्यापी आन्दोलनलाई सही किसिमले पुनर्जीवित तुल्याउन अग्रसर हो औैं ! अन्तर्राष्ट्रिय १३७औं मई दिवस जिन्दावाद !
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित