–मानध्वज गुरुङ,अध्यक्ष, नेकपा माक्र्सवादी (पुष्पलाल)
० पार्टीको नाम किन माक्र्सवादी (पुष्पलाल) राख्नु भयो ?
– पार्टीको पहिचान स्पष्टताका लागि नेकपा पछाडि ‘माक्र्सवादी (पुष्पलाल)’ थप्नु परेको हो । २०४७ सालमा नेकपा (माक्र्सवादी) र नेकपा (माले) का बीचमा पार्टी एकता भयो । पार्टी एकतापछि र २०४८ सालको संसदीय चुनाव अगाडि तत्कालीन महासचिव मदन भण्डारीले पार्टीको निर्णय विपरीत “बहुदलीय जनवादबारे” भन्ने पुस्तिका प्रचारमा ल्याए । त्यो कार्य माक्र्सवादी र मालेको एकताका बेलाको सहमति विपरीत थियो । जसले गर्दा एमालेबाट माक्र्सवादीमा संलग्न भएका हामीले प्रभुनारायण चौधरीको नेतृत्वमा नेकपा (माक्र्सवादी) पुनर्गठन ग¥यौं ।
२०४९ साल माघ ६–९ मा काठमाडौंमा सातौं राष्ट्रिय सम्मेलन गरेर अध्यक्ष प्रभुनारायण चौधरी र महासचिव माधव ज्ञवाली बन्नुभयो । नेकपा (मार्क्सवादी ) र नेकपा (संयुक्त) बीचमा एकता गरी २०६२ मा नेकपा संयुक्त (मार्क्सवादी ) बनायौं ,
अध्यक्ष प्रभुनारायण चौधरी ,महासचिव बिष्णुबहादुर मानन्धर हुनु भयो । तर माक्र्सवादीका महासचिव माधव ज्ञवाली त्यो एकता प्रति असहमत भई नेकपा(माक्र्सवादी) लाई निरन्तरता दिनुभयो । प्रभुनारायण चौधरी, म मानध्वज गुरुङ, एकराज पाण्डे, जयप्रकाश भरत लगायत नेकपा संयुक्त (मार्क्सवादी ) गठनमा लाग्यौं । संयुक्त माक्र्सवादीमा विष्णुबहादुर मानान्धर पक्षले नयाँ जनवादी क्रान्तिको कार्यक्रम स्वीकार नगरेपछि पार्टीलाई विभाजित गरेर २०६४ मा पुनः माधव ज्ञवालीजीसित मिलेर नेकपा (माक्र्सवादी) लाई निरन्तरता दियौं । ०६७ भाद्र २९ मा प्रभुनारायण चौधरीको मृत्युपछि माधव ज्ञवालीको अध्यक्षतामा पार्टीलाई निरन्तरता दियौं । २०६७ फागुन २५–२७ मा दशौं सम्मेलन भयो । अध्यक्ष माधव ज्ञवाली र महासचिव गम्भीरबहादुर कार्की बन्नु भयो । २०७० माघ २२ र २३ गतेको राष्ट्रिय परिषद् बैठकबाट अध्यक्ष माधव ज्ञवाली र महासचिव मानध्वज गुरुङ हुनु भयो । साथीहरुले कतिपय व्यवहारिक कुरा उठाएपछि पार्टी विभाजित भयो । एउटा माक्र्सवादीको नेतृत्व माधव ज्ञवालीले नै गर्नु भयो र अर्को माक्र्सवादीको नेतृत्व गम्भीर बहादुर कार्कीले नेतृत्व गर्नुभयो । कुन माक्र्सवादी आधिकारिक हो भन्ने बारेमा अदालतमा मुद्दा चल्यो । २०७३ मार्ग ११ गते अध्यक्ष माधव ज्ञवालीको मृत्यु भयो हामीले २०७५ श्रावण ६ र ७ को भेलाले पार्टीको नाम नेकपा माक्र्सवादी (पुष्पलाल ) बनायौं । जसले गर्दा पार्टी पहिचानका लागि सजिलो भयो । माधव ज्ञवालीको मृत्युपछि ११ औं सम्मेलनबाट (२०७९ वैशाख) बाट म पार्टीको अध्यक्ष छु । २०७९ वैशाख १८–२० को विरगन्जको एघारौं राष्ट्रिय भेलाले मानध्वज गुरुङ अध्यक्ष र दीपक ज्ञवाली महासचिव बन्नुभयो ।
० तपाईले नेकपाका संस्थापक महासचिव पुष्पलालको संगत गर्नुभयो ?
–हो, मैले पुष्पलाललाई भेट्ने, संगत गर्ने, उहाँको कलास सुन्ने मौका पाएँ । मलाई पार्टीका साथीहरुले अध्ययनलाई निरन्तरता दिनु पर्छ भनेर सल्लाह दिनुभयो । एसएलसीको अध्ययन पूरा गर्न भनी म २०३१ सालमा बनारस पुगें । २०३१ देखि २०३३ सालसम्म मैले त्यहाँ पढें । त्यही बीचमा पुष्पलालजी सित भेट्ने र संगत गर्ने अवसर मिलेको थियो । त्यसो त मैले प्राइभेटरुपमा आई.ए. र बि.ए.सम्मको अध्ययन बनारसबाटै गरेको थिएँ ।
० पुष्पलालसित संगत गर्दाको स्मरणीय क्षणहरु के छ त ?
–एउटा प्रशिक्षण कार्यक्रममा मैले पुष्पलालजीलाई एउटा प्रश्न गरेको थिएँ । “भियतनाममा क्रान्ति सम्पन्न गर्न रुसको सहयोग थियो । रुसले सहयोग नगरेको भए भियतनाममा क्रान्ति सम्पन्न हुँदैन थियो कि ! नेपालमा क्रान्ति सम्पन्न गर्न पनि समाजवादी देशहरुको सहयोग चाहिन्छ होला, हैन र ?” भनी प्रश्न गरेको थिएँ । पुष्पलालजी क्रान्तिको लागि बाह्य भन्दा पनि आन्तरिक पक्ष प्रधान हुन्छ । नेपालभित्रकै जनता, नेपालको संगठन बलियो भएर क्रान्ति गर्नुपर्छ । बाह्य सहयोग सहायक पक्ष मात्र हो भन्नुभयो । मेरो युवा उमेरमा अलि गरमजोसले डिसकस गरें । तिलक पराजुलीले त्यसलाई सामन्जस्य गर्ने काम गर्नु भएको थियो । त्यो कुरा मेरो दिमागमा अहिले पनि ताजै छ ।
२०२५ को तेस्रो सम्मेलनमा पुष्पलालजीले प्रस्तुत गरेको र पारित भएको नयाँ जनवादी कार्यक्रम नै अहिले पनि वस्तुगत र वैज्ञानिक कार्यक्रम हो भन्ने कुरामा म आजसम्म विश्वस्त छु ।
० २०१९ सालमा पार्टी विभाजन गर्नमा पुष्पलाल नै मुख्य दोषी हो भनेर रायमाझी पक्षले भनेको पढ्न पाइन्छ । यसबारे तपाई के भन्नु हुन्छ ?
– पुष्पलालजी कहिलै पनि पार्टी विभाजन गर्ने मानसिकतामा हुनुहुन्थेन । पार्टीको संस्थापक महासचिवलाई २००८ सालमै महासचिवबाट हटाइँदा पनि त्यही पार्टीमै रहेर लामो समय काम गरेको देखिन्छ । केशरजंगले पार्टीलाई नै दरबारमा बुझाउने प्रपञ्चका विरुद्ध संघर्ष गर्दा केशरजंगसित पार्टी विभाजित भयो । २०१९ मा तेस्रो महाधिवेशनपछि पार्टी लथालिंग भएकाले देशभरी पार्टीलाई समेटेर लैजान २०२५ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गरे जस्तो लाग्छ । यता मोहनविक्रम सिंहजीसितको सन्दर्भमा पनि पुष्पलालजीले प्रधान दुश्मन देशीय सामन्तवाद हो भन्नु हुन्थ्यो भने मोहनविक्रम सिंहले देशीय सामन्तवाद र दलाल पुँजीपति वर्ग समान दुश्मन हो भन्नु हुन्थ्यो । मोहनविक्रमको विचारले प्रकारान्तरले सामन्तवादको मुख्य प्रतिनिधि संस्था राजतन्त्रलाई कमजोर बनाउन सक्दैन भन्ने पुष्पलालको विचार थियो ।
० पुष्पलालजीको मृत्युबारे यहाँको स्मरण ?
–२०३५ साल श्रावण ७ गते उहाँको मृत्यु भयो । पुष्पलालजीलाई मुटुसम्बन्धी रोग लागेको थियो । गोविन्द बल्लभ होस्पिटल दिल्लीमा उहाँको मृत्यु भयो । उहाँको शव नेपाल ल्याउने प्रयास गरियो । पंचायती सरकारले शव ल्याउन नदिएपछि दिल्लीमै अन्तेष्टी गरियो । पछि रामबहादुर भण्डारी र रामचन्द्र चापागाई दुईजनाले पुष्पालालजीको अस्तु लिएर आउनुभयो । विष्णुमति नदीमा सेलाउने काम गरियो । दाजु गंगालाललाई मृत्युदण्ड दिएको स्थान नजिकै अस्तु सेलाउने काम गरिएको थियो । निकै ठूलो जनमासको सहभागितामा त्यो अस्तु सेलाउने काम भएको थियो ।
पुष्पलालजी विमारी भएपछि केही सहयोग गर्न सकिन्छ कि भनेर मैले मेरो आफन्तको सुन सापटी ल्याई विक्री गरेर जयप्रकाश भरत मार्फत् सहयोग पठाएको थिएँ । जयप्रकाश भरतको घर स्याङ्जा निवाखर्क ग्वादीमा थियो र मेरो सिर्सेकोट, अहिलेको वालिङ–१२ हो ।
० पुष्पलालजीको विचारको अहिले के महत्व छ ?
– पुष्पलालजीले पार्टीको पथप्रदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद, माओविचार र नयाँ जनवादी क्रान्तिको कार्यक्रम प्रस्तुत गर्नुभयो । तिनीहरुको महत्व छँदैछन् । उहाँले संयुक्त राष्ट्रिय जनआन्दोलनको जुन आवधारणा अगाडि सार्नु भएको थियो । त्यो अहिले पनि आवश्यक छ । २०४६ मा पंचायती व्यवस्था फाल्न कम्युनिस्ट कांग्रेसको संयुक्त जनआन्दोलन–पंचायत इतर सम्पूर्ण शक्ति मिल्नु परेका थियो । १० वर्ष जनयुद्ध गरेको माओवादीले पनि राजतन्त्र फाल्न संयुक्त जनआन्दोलनमा नै आउनु प¥यो । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि आधार तयार पार्न संयुक्त जनआन्दोलनको आवश्यकता छ । त्यसैले पुष्पलालको संयुक्त राष्ट्रिय जनआन्दोलनको अवधारणा अहिले पनि सान्दर्भिक छ ।
० पुष्पलालको संयुक्त राष्ट्रिय जनआन्दोलनको अवधारणा पछ्याउने तपाईहरु, स्वयं तपाईहरु पुष्पलालको स्कूलिङबाट आएका बीचमै एकता छैन । कसरी संयुक्त राष्ट्रिय जनआन्दोलनको निर्माण हुन्छ ?–२०२५ सालमा नेपाली समाजको विश्लेषण गरेर नेपाली क्रान्तिको खाका तय गरिएको थियो । त्यस विश्लेषण प्रति एउटै बुझाई नभएकाले पुष्पलालका विचार मान्ने पार्टीहरुकै बीचमा एकता हुन सकेको छैन । अध्ययन–अनुभवबाट विस्तारै एकता हुनेछ भन्ने आशा गर्न सकिन्छ ।
० गत भाद्र २३ र २४ को किशोर–युवाहरुको आन्दोलनलाई, जेनजी आन्दोलन–जेनजी विद्रोह, जेनजी प्रदर्शन भनेको सुनिन्छ । तपाई र तपाईको पार्टीले यसलाई के भन्नुहुन्छ ?
–सत्तामा रहँदै आएका नेपाली कांग्रेस, कम्युनिस्ट नामधारीहरुले भ्रष्टाचार, नातावाद, कृपावादलाई मलजल गरे । राज्यकोषको दोहन गरे । विनाकारण कर बृद्धि गरे । जनताको असन्तोष विस्फोट भएर गत भाद्र २३ र २४ को आन्दोलन भयो तर त्यो आन्दोलनलाई विदेशी शक्तिहरुले प्रयोग गर्ने काम गरे । हामीले जेनजी आन्दोलन नै भनेका छौं । विदेशी शक्तिहरुको आगमन र प्रभाव नेपालीहरुको बेमेलकै कारणले हो । आन्तरिक कारणले बाह्यतत्वहरुलाइ निम्त्याएको हो ।
० फागुन २१ को निर्वाचनपछि गठित बालेन साहको नेतृत्वको सरकारको प्रशासन सुधारका १०० बुंदे कार्यसूची प्रति के भन्नुहुन्छ ?
–सैद्धान्तिकरुपले हेर्दा त्यो १०० बुँदे कार्यसूची विगतमा अन्य पार्टीहरुले पेश गर्दै आएका सरकारको नीति तथा कार्यक्रम र बजेट भन्दा फरक छैन । मलाई लाग्छ त्यो केवल जनतालाई देखाउने आशा मात्र हो । कतिपय त्यसमा राखिएका सुधारात्मक कुराहरु पनि छन् । तर ती धेरै केवल जनतालाई अलमल्याउने कुरा मात्र हुन् ।
० विद्यार्थी संगठनलाई विश्वविद्यालयबाट र क्याम्पसबाट हटाउने, टे«ड युनियन खारेज गर्ने सरकारले निर्णय गरेको छ ?
–विद्यार्थी संगठनलाई शिक्षण संस्थाबाट हटाउने कार्य गलत हो । टे«ड युनियनहरु आवश्यक छ । कर्मचारीहरुलाई पनि संगठन चाहिन्छ तर कर्मचारीहरुलाई पार्टीको भातृ संगठनको रुपमा लैजानु हुँदैन ।
० तपाईको पार्टी आबद्ध राष्ट्रिय क्राीन्तकारी मोर्चा कसरी अगाडि बढ्दैछ ?
–हामीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको विषयलाइ लिएर कार्यक्रम बनाएका छौं । र, परिचालन गर्ने नियमावली बनाएका छौं । त्यसलाई राष्ट्रव्यापीरुपमा परिचालन गर्न सकिरहेका छैनौं । त्यसप्रति हामीले ध्यान दिनुपर्नेछ । अहिले साम्राज्यवादीको हस्तक्षेप विरुद्ध कार्यक्रम बनाउनुपर्नेछ । भर्खरै बसेको बैठकमा साम्राज्यवादी हस्तक्षेपको विरुद्ध संघर्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चा मात्र नभएर “वृहत साम्राज्यवाद विरोधी मञ्च” बनाएर जाने बारेमा छलफल गरेका छौं । त्यसलाई मूर्तरुप दिन बाँकी छ ।
० वर्तमान राष्ट्रिय समस्याको समाधान के हो ?
– नेपालको राष्ट्रिय समस्या केवल आर्थिक, गरिबी, राजनीतिक अस्थिरता मात्र छैन । यो ऐतिहासिक, वर्गीय संरचनागत समस्या हो । तसर्थ नेपालको राष्ट्रिय समस्यालाई राजनीतिक समस्याका रुपमा मात्र लिनु सतही हुनेछ ।
समस्याहरुः
१) कमजोर उत्पादन, असमान वितरण प्रणाली, अव्यवस्थित कृषि प्रणाली ।
२) साम्राज्यवाद र एकाधिकार पुँजीवाद मुखापेक्षी राजनीति ।
३) आयातमुखी र परनिर्भर अर्थतन्त्र ।
४) सुरक्षा तथा प्रशासनिक यन्त्र परम्परागत सामन्ती संरचनामा आधारित ।
५) नेपालमा साम्राज्यवादीको शक्तिहरुको अनावश्यक हस्तक्षेपको कारण शक्ति राष्ट्रहरुको रणमैदान बन्ने जोखिम ।
६) युवा श्रमशक्ति विदेश पलायन ।
समाधानको उपाय–
१) विद्यमान राज्य संचालनमा सम्पूर्ण संयन्त्रहरु विघटन गरी सामन्ती प्रभावबाट मुक्त नयाँ स्वच्छ र प्रविधियुक्त संयन्त्रको निर्माण गर्ने ।
२) क्रान्तिकारी भूमिसुधार, आम विद्युतीकरण र औद्योगिकरणलाई एकीकृत रुपमा अगाडि बढाउने ।
३) अमेरिकी साम्राज्यवाद तथा भारतीय एकाधिकार पुँजीवादबाट मुक्त स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने ।
४) शिक्षा स्वास्थ्यमा भइरहेको व्यापारिकरण अन्त्य गरी त्यसको जिम्मा राज्यले लिने । गर्नुपर्ने काम यी हुन् ।
वर्गीय संरचनामा तात्विक फरक आएको छैन । २०२१ सालको भूमि सुधारले सामन्तवर्गलाई नष्ट गर्ने कार्यक्रम थिएन । अहिले पनि सामन्ती शोषण कायम छ । गिरीबन्धु टी स्टेटलाई नै हेर्नुहोस् । फर्मको नाममा अहिले पनि हजारौं विगाहा जग्गा राखिएको छ । कृषि मजदुरको अवस्था उही छ । त्यसैले त नयाँ जनवादी क्रान्ति आवश्यक भएका हो ।
० अन्त्यमा थप केही छ कि ?
–नेपालको क्रान्तिकारी आन्दोलनलाई ध्रुवीकृत गरेर जान आवश्यक छ । यहाँको वस्तुगत अवस्थाको ठोस विश्लेषण गरेर आन्दोलनलाई अगाडि बढाउन आवश्यक छ ।

