हिजो असोज १६ गते जिल्ला प्रशासन कार्यालय बाँकेले दिउँसो १ बजेदेखि लागु हुने गरी नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कफ्र्यु जारी गरेको थियो । सामाजिक संजाल फेसबुकमा लेखिएको स्टाटसका कारण नेपालगन्जमा हिन्दु र मुस्लिम समुदायका बीचमा तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले स्थिति थप खराव नहोस् भनेर कफ्र्यु जारी गरेको हो । असोज १४ गते मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको एक स्टाटसलाई लिएर मुस्लिम समुदायले नेपालगन्जमा एक विरोध र्याली निकालेको थियो । अर्कोतिर असोज १६ गते विहानमा हिन्दुवादी सङ्गठनहरूले स्टाटसकै विषयलाई लिएर अर्को र्याली निकालेका थिए । हिन्दुवादी सङ्गठनको र्यालीमाथि घरका छत माथिबाट ढुङ्गामुढा वर्षिन थाले पछि जातीय एवं धार्मिक सद्भाव बिग्रिँदै जाने खतराले प्रशासनले कफ्र्यु जारी गरेको थियो । जिल्ला प्रशासन कार्यालय बाँकेले जनाए अनुसार पूर्वमा राप्तिनदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक र दक्षिणमा जमुनाहा नाका चार किल्ला सीमा क्षेत्र कायम गरी कफ्र्यु लगाइएको छ ।
नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालमा १४२ जात÷जाति, १२४ मातृभाषी र १० प्रकारका धर्मावलम्बीहरू छन् । जाति, भाषा र धर्मका हिसावले विविधतायुक्त समाज हुनु नेपालको गौरव हो । तर नेपाली समाजको यो सुन्दर पक्षलाई भाँड्न, विथोल्न र साम्प्रदायिक द्वन्द्व भड्काउन विभिन्न तत्त्वहरूले दुस्प्रयास गर्दै आएका छन् । त्यस्ता तत्त्वहरू हामी सबै नेपालीहरूको एकताका विरोधी हुन् । नेपालीहरूलाई भाँड्ने खालका सबै प्रवृत्तिहरूलाई सबै मिलिजुली निरुत्साहित गर्नुपर्दछ ।
गत भाद्र महिनामा धरानमा हिन्दु र क्रिश्चियनको बीचमा विवाद भएको थियो । धरानमा एक हिन्दु मन्दिरको नजिकै चर्च निर्माण गरिएको विषयलाई विवादित बनाइएको थियो । अहिले धरान उपमहानगरपालिकाका उपमेयरको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित कार्यदल बनाइएको छ । कार्यदलले सकारात्मक दिशामा लगेर समस्याको निकास खोज्ने प्रयास जारी राखेको छ ।
धरानको समस्यालाई सुल्झाउने तिर लागिरहेका बेला असोजको १२ गते जनकपुरमा एक हिन्दु धार्मिक सन्तले खुकुरी प्रदर्शन गर्दै धार्मिक सद्भाव खलबलाउने अभिव्यक्ति दिए । कतिपय जनजाति युवाहरूले त्यसको प्रतिवाद गर्दै प्रतिक्रिया सामाजिक सन्जालमा दिए । यदि यसरी जाने हो भने यसले धार्मिक विवादको श्रृङ्खला बढाउँदै जाने छ ।
दिउँसो १ बजे कफ्र्यू लगाएपछि प्रहरीले भीडलाई नियन्त्रण गर्न नसकेपछि नेपालगञ्जमा सेना परिचालन गर्नु परेको थियो । कफ्र्यु पछि पनि नेपालगञ्जको कतिपय ठाउँमा हिन्दु र मुस्लिमको बीचमा साना तिना झडप भएका थिए । ४ बजेपछि सेना परिचालन पछि स्थिति नियन्त्रणमा आएको छ । कहिलेसम्म कफ्र्यु जारी गरिनेछ भन्ने बारेमा प्रशासनले अझै स्पष्ट गरेको छैन ।
यस्ता जातीय वा धार्मिक द्वन्द्वमा अतिवादी शक्तिहरूले स्थितिलाई खराव बनाउन भूमिका खेलेका हुन्छन् । विभिन्न विदेशी शक्ति केन्द्रहरूले पनि नेपालमा धार्मिक द्वन्द्व भड्काएर आफ्नो स्वार्थ पूर्ति गर्न खोजेका हुन्छन् ।
धार्मिक मामलामा नेपालगन्ज, विरगञ्ज, जनकपुर, चन्द्रौटा जस्ता तराईका स्थानहरू संवदेनशील छन् भन्ने कुरा विगतका घटनाहरूबाट पनि स्पष्ट हुन्छ । नेपालगन्जमा बेलाबखतमा हिन्दु र मुस्लिमका बीचमा धार्मिक द्वन्द्व हुने गरेका छन् । नेपालगन्जको संवेदनशीलतालाई बुझेर प्रशासनले हिन्दु र मुस्लिम दुवै पक्षका धार्मिक नेतृत्वलाई छलफल गराउनु पर्छ । राजनीतिक दल र सङ्घ संस्थाले आफ्ना पार्टी सङ्गठनको संरचना परिचालन गरी धार्मिक सद्भावमा जोड दिनुपर्दछ । मिडियाले सकारात्मक सन्देश र समाचार प्रवाह गर्नुपर्दछ । प्रशासन चनाखो भई कसैलाई पनि गलत र भड्किलो समाचार सम्प्रेषण गर्न दिनु हुँदैन ।

