उखु किसानको पीडा

नेपालका किसानहरू विभिन्न समस्याबाट पीडित छन् । बिउ नपाउनु, उपलब्ध बिउ महङ्गो हुनु, सिंचाइ र मल नपाउनु, उब्जनीले उचित मूल्य नपाउनु, भूक्तानी चाँडो नपाउनु विचौलियाले मात्रै नाफा कुम्लाउनु, आयातित कृषि उपजसङ्ग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता, महङ्गो लगानी लगाउनु पर्ने, महङ्गो ज्याला तिर्नुपर्ने, तर लगानी उठ्ने निश्चितता नहुनु, सरकारले कुनै पनि राहत उपलब्ध नगराउनु, प्राकृतिक विपत्ति भएमा किसानको लगानी नउठ्नु जस्ता किसानका समस्याहरू छन् । यी समस्यालाई समाधान गर्न सरकारले गम्भीरता देखाएको छैन । किसानहरू सधै चिन्तित छन् । यस्तै चिन्ताबाट वर्षौंदेिख नेपालका उखु किसानहरू पीडित भइरहेका छन् ।

उखु किसानहरूको समस्या भनेको उत्पादनका लागि चाहिने मल बिउको अभाव, पानी सिंचाईको अभाव, कामदारको अभाव,प्रोत्साहनको अभाव, राज्यले उपलब्ध गराउने रकमको अभाव जस्ता समस्याहरू छन् । त्यसका साथै सबभन्दा बढी समस्या भनेको किसानले उत्पादन गरेको उखुको उचित मूल्य नपाउने, मूल्य निर्धारण भइसकेपछि पनि चिनी मिलहरूले त्यो मूल्य दिन नमान्ने । वषौँसम्म भूक्तानी नपाउने, चिनी उत्पादन भएर बिक्री भइ चिनी मिल मालिकले नाफा कमाउने तर किसानले उखुको भुक्तानी नपाउने, सरकारले उखु किसानलाई दिने भनेको अनुदान रकम बेलामा नदिने दिए पनि निकै न्यून रकम दिने । अझ केही वर्ष पहिलेको त चिनीमिल मार्फत नै किसानलाई सरकारले उपलब्ध गराउने भनेको रकम दिने गरेको थियो । यस्ता समस्याहरू देशभरिका उखु किसानहरूले भोग्दै आइरहेका छन् ।

नेपालको पहाडी तथा तराईका भागहरूका किसानहरूले उखु लगाउँदै आइरहेका छन् । उखु उत्पादनदेखि बिक्रीको समय सम्म किसानहरू विभिन्न झन्जटहरू भोग्दै आइरहेका छन् । झन्जट सहन नसकेर कैयौँ उखु किसानहरूले उखुको उत्पादन नै छोडिरहेका पनि छन् । विगतको तुलनामा उखु लगाइएको जग्गा घट्दै गइरहेको छ । उखु नेपालको नगदे बाली हो । नगदे बाली भनेपछि यो तत्काल नै किसानको हातमा रकम प्राप्त गर्ने हुनु पर्ने हो । जसले उत्पादन गर्छ उनीहरूको हातमा तत्काल भूक्तानीको रकम पर्नु पर्ने हो तर भूक्तानी उचित मूल्यनिर्धारणको माग गर्दै उखु किसानहरू आन्दोलनमा उत्रिनु परेको छ । उखु काटेर मिलमा पुर्याउन हतार हुनुपर्ने समयमा किसानहरू सरकारसँग उचित मूल्य निर्धारणको माग गर्दै आन्दोलनमा हिड्नु परेको छ । यसो गर्दा पनि उखु किसानको मागको सुनुवाई हुन सकेको छैन । सरकारको र चिनी मिल मालिकको आलटालले गर्दा विगत देखि नै किसानहरू ठगिएका छन् ।

यो उखु कटानीको समय हो । उखु बेलैमा नकाटेमा सुक्दै गएर तौल घट्दै जान्छ त्यसको मारमा किसान पर्दछन् तर आजसम्मपनि उखुको मूल्य निर्धारण गर्न सरकारले सकेको छैन । किसानहरूले पोहोर साल भन्दा चिनीको भाउ बढेकाले अहिले उखुको भाउ पनि बढ्नु पर्ने माग राखिरहेका छन् तर सरकारले त्यो कुराको सुनुवाई गर्न सरिहेको छैन । मूल्य निर्धारया गरिदिन नसक्दा उखु किसान निकै मारमा परेका छन् ।

बजारमा चिनीको मूल्य बढेको बढ्यै छ । तर उखुको मूल्य भने किसानले भनेजति पाउन सकेका छैनन् । चिनी मिलले सक्दो सस्तोमा किन्न खोज्ने किनिसकेपछि पनि मूल्य तिर्न नखोज्ने जस्तो समस्याबाट किसान आजित भएका छन् । अहिले चिनीको बजारमा निकै महङ्गो भइरहेका बेला पनि किसानले उखुको भनेजति मूल्य पाउनेमा आशङ्का छ । एक, सरकारले मूल्य निर्धारण गरिदिने फाईल कृषि तथा पशुपन्छी मन्त्रालयमा गएर रोकिएको छ । यो कहिले अगाडि बढ्छ त्यो थाहा छैन । अर्को किसानको उखु बारीमा सुक्न थालिसकेको छ । उखु सुकेमा मारमा त किसानै पर्दछन् । लगानी त किसानको नै खेर जाने हो ।

यस्तो अवस्था भोगिरहेका उखु किसानहरूको समस्यामा सरकार चिनी मिलका संचालकहरूले किसानको उखुको मोललाई व्यवस्थित गर्न र किसानका उखु बेलैमा खरिद गर्ने वातावरण मिलाउन ध्यान दिनु पर्दछ । सरकारले मूल्य तोक्न जहिले ढिलाई गर्नु हुँदैन । अहिलेको मन्त्रायलमा रोकिएको फाइल तत्काल अगाडि बढाई मूल्य निर्धारण गरिदिनु पर्दछ । सरकारले किसानलाई दिन भनेको अनुदान तत्कालै दिने यवस्था गर्नु पर्दछ ढिलायो विलायो गर्नु हुँदैन । सरकारले बजारमा देखिएको चिनीको मूल्यको अवस्थालाई ध्यानमा राखेर थप किसानहरूलाई उखु खेतीतर्फ आकर्षित गर्नु पर्दछ । बाँकी रहेको अनुदान पनि तत्कालै दिनु पर्दछ । किसानलाई परेको समयमा राहत, मल, बिउ तथा पानी र लगाउन र कटानीको लागि आवश्यक उपकरणहरूको प्रयोगमा छुट तथा राहतको व्यवस्था गर्नु पर्दछ । उखु किसानलार्ई प्रोत्साहन गर्ने कार्यक्रम सन्चालनमा ल्याउनु पर्दछ । किसानको उखु जमिनमा सुक्ने अवस्थाबाट जोगाउनु पर्दछ र किसानले उचित मूल्य पाउनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित