बालकुमारी घटनाको सन्देश

ललितपुरकोे बालकुमारीमा पुस १३ गते वैदेशिक रोजगारीको लागि सरकारले विदेश पठाउँदै आएको देश कोरियामा काम गर्न जान पाउनु पर्छ भन्ने माग राखेर रोजगार अनुमति प्रणाली इपिएस कार्यालय नजिकै युवाहरूले आन्दोलन गरेका थिए । नेपाल सरकारले दक्षिण कोरियाको पानीजहाज निर्माण कम्पनीमा रोजगारका लागि युवाहरूलाई पठाउने भनेको थियो । त्यहाँ जानका लागि लिएको परीक्षामा असफल भएका युवाहरूले आफूहरूलाई अन्य काममा भएपनि सरकारले कोरिया जाने व्यवस्था गरिदिनु पर्‍यो भन्ने माग राखेर आन्दोलन गरेका थिए । उनीहरू शान्तिपूर्ण तरिकाले आफ्ना मागहरू लिएर इपियस कार्यालय नजिकै जुलुस प्रदर्शन गरेका थिए । उनीहरू स्वत:स्फूर्तरुपमा प्रदर्शनमा आएका थिए । सरकारले उनीहरूको मागलाई सुन्नु वा सम्बोधन गर्नुको सट्टा दमन गरेर प्रहरीद्वारा दुई जना देशका होनहार युवाहरूको ज्यान लियो । सरकारले उनीहरूमाथि लाठी, अश्रुग्यास, गोली वर्षाउनुको साथै दर्जनौँलाई गिरफ्तार गर्‍यो ।

सरकारले युवाहरूलाई विज्ञापन गरेर कोरिया पठाइरहेको छ । परीक्षामा असफल भएपनि अन्य ठाउँमा भएपनि सरकारले रोजगारीको व्यवस्था गरिदिनु पर्‍यो भन्दा तातो गोली खानु परेको छ । शारीरिक तथा मानसिक यातना भोग्नु परेको छ । गिरफ्तार हुनु परेको छ । प्रदर्शनमा सहभागी हुँदा ती ज्यान गुमाएका युवाहरूले सोचेका थिए होलान् कि सरकारले हाम्रो मागको सम्बोधन गर्ने छ अर्थात विकल्प दिने छ ।

तर बालकुमारी घटनाले त्यो सपना देखेका युवाहरूको माग पूरा गर्नुको सट्टा उल्टो गोलीले प्राण लिइदियो । अविभावकहरूको आशाका मुनाहरूलाई चुँडिदियो । अहिले अरुको देशमा काम गर्न जानको लागि युवाहरूले सङ्घर्ष गर्दा यसरी अनाहकमा ज्यान गुमाउनु परेको छ । युवाहरूको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले अन्धाधुन्ध गोली वर्षाएको छ । मारिनेहरूको जीवन त समाप्त भयो नै तिनका परिवारको खुसी खोसियो । गिरफ्तारीमा परे पछि यातना पाएकाहरू वा दमनमा परेका युवाहरूको शारीरिक र मानसिक पीडा सुन्ने निकाय छैन ।

नेपाललाई शारीरिक रुपले सशक्त युवाहरूले विदेश काम गर्न जान पाउनु पर्छ भनेर आन्दोलन गर्नु पर्ने देश बनाइयो । सरकारले देशमा केही छैन भन्ने युवा मनोविज्ञान बनाएर विदेश काम गर्न जान बाध्य बनाइरहेकोछ । रोजगारी केही दिन नसक्ने उद्योगधन्दा कलकारखाना केही नखोल्ने, निजी क्षेत्रबाट केही गर्न खोजेपनि उसलाई अनेक थरी कमीसन खाने संजालले चल्नै नदिने । सरकारी स्तरबाट प्रोत्साहनको लागि केही नगर्ने, ऋण लिएर केही गर्न खोजेपनि चर्को व्याज लगाएर व्याज तिर्नै हैरान पार्ने यहाँको भ्रष्ट प्रचलन संस्थागत बनेको छ । युवाहरूलाई देशमै राख्न के गर्नुपर्छ भन्ने योजना सरकार सित नहुँदा युवाहरू देशबाट बाहिरिएका छन् ।

अविभावकले विदेश जान खोज्ने युवाहरूलाई हुर्काउँदा, पढाउँदा कैयौँ मेहनत लागेकोछ । त्यसमाथि कोरियन भाषाको प्रशिक्षणको नाममा खुलेका संस्थाहरूले लिने मोटो रकम र भाषा सिक्दा लागेको खर्च पनि निकै महङ्गो हुन्छ । यसले गर्दा जसरी भएपनि विदेश जान पाएमा भविष्य बन्थ्यो कि भन्ने उनीहरूको आसा हुन्छ । त्यो आशाले गर्दा युवाहरू केही होलाकि भनेर प्रदर्शनमा आए तर दुईजनाको ज्यान गयो । यो घटनाले नेपालमा युवाहरूको अवस्था र बेरोजगारी समस्या कति भयावह छ भन्ने कुरालाई चित्रण गरेकोछ ।

देश बनाउने भनेको युवाहरूले हो । जुन देशका युवाहरूले आफ्नै माटोमा काम गरेका हुन्छन् त्यो देश माथि उठेको हुन्छ । युवाहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्ने कुरा सरकारले योजना बनाएर मात्रै सम्भव हुने कुरा हो । त्यसतर्फ काम हुन सकेको छैन । विदेशबाट आउने रेमिटेन्सको अत्यधिक हिस्सा उपभोगमा खर्च भैरहेकोछ । युवाहरूलाई देशमै रोजगारी दिने वातावरण सरकारले बनाउनु पर्दछ ।

देशमा वेरोजगारीको मारमा परेका युवालाई सरकारले गोलीले मारेको छ । अब यस्तो हुने अवस्था आउन दिनु हुँदैन । युवाहरूले कुनै पनि देशमा जान पाउनुपर्छ भन्दै मेनपावरको ढोका ढोका चाहार्दै हिड्नु पर्ने दिनको अन्त्य हुन आवश्यक छ । सडकमा आन्दोलन गर्न पर्ने अवस्थाको अन्त्य हुनु पर्दछ । देशमै रोजगारी सिर्जना हुनु पर्दछ ।

दिनदहाडै गोलीले जनतालाई मार्नु गम्भीर मानव अधिकार उल्लङ्घन हो । सरकारले परिवारका एक एक सदस्यलाई रोजगारी दिने, मृतकलाई सहिद घोषणा गर्ने गरी अहिले हत्या गरिएका दुई युवाको परिवार सित सरकारले सम्झौता गरेकोछ । अलिकति पनि नैतिकता भएको भए गृहमन्त्रीले राजीनामा दिनु पर्दछ । हत्यारा माथि छानवीनको लागि बाटो प्रशस्त गर्नु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित