नेकपा स्थापना दिवसको महत्व

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७६ वर्षमा प्रवेश गरेको छ । नेकपा स्थापना २००६ साल वैशाख १० गते तदनुसार सन् १९४९ अप्रिल २२ मा भारतको कलकत्तामा भएको थियो । नेकपाको संस्थापकहरू चार जना थिए –महासचिव पुष्पलाल श्रेष्ठ ,सदस्यहरू नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण बिलास जोशी ।
स्थापनाको ७५ वर्ष पूरा हुँदा नेपाली कम्युनिस्ट आन्दोलनले राजनीतिक, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ । २००७, २०४६ र ०६२÷०६३ को ऐतिहासिक परिवर्तनमा नेपालको कम्युनिस्ट आन्दोलनको विराट योगदानलाई कसैले अस्वीकार गर्न सक्दैन । गणतन्त्र स्थापना, धर्मनिरपेक्षता र मौलिक अधिकारका जे प्रावधान आज संविधान र कानुनमा स्थापित भएका छन् , ती कम्युनिस्ट आन्दोलनको अनुपस्थितिमा सम्भव थिएनन् ।
किसान, मजदूर, सर्वहारा वर्गको नेतृत्व गर्ने र तिनीहरूको मुक्ति गर्ने उद्देश्यले नेकपाको स्थापना भएको हो । त्यो मुख्य उद्देश्य नेपाली कम्युनिस्ट आम्दोलनले प्राप्त गर्न सकेको छैन । नेकपा स्थापना दिवसले सम्पूर्ण कम्युनिस्ट आन्दोलन प्रेमीहरूलाई त्यो मुख्य उद्देश्य प्राप्तिका लागि प्रेरणा प्रदान गर्दछ । पार्टी स्थापना दिवसको औचित्य त्यतिबेला साबित हुन्छ जति बेला कम्युनिस्ट आन्दोलनका शुभेच्छुक, समर्थक, नेता, कार्यकर्ता त्यो मुख्य उद्देश्य प्राप्तिका लागि निस्वार्थ ढङ्गले कृयाशील हुन्छन् ।
नेपालको कम्युनिष्ट आनदोलन भूमिगत तथा अर्धभूमिगत, शान्तिपूर्ण या सशस्त्र संघर्षको रुपमा अगाडि बढ्दै आएकोछ । कम्युनिस्ट पार्टीहरू एकल या संयुक्त रुपमा, राष्ट्र , राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा संघर्षरत रहंदै आएका छन् ।
स्थापना भएको १३ वर्ष सम्म अविभाजित कम्युनिष्ट पार्टी २०१९ को तेस्रो महाधिवेशन पछि विभिन्न टुक्रामा विभक्त भयो । २०१९ पछिको चरम निराशाको कालबाट उठेर फेरि आफूलाई सुदृढ बनाउँदै लग्यो । यसले विभिन्न काल खण्डमा एकता–विभाजन– एकताको लामो शृङ्खला पार गरेको छ ।
अहिले देशमा आफूलाई कम्युनिष्ट बताउँने पार्टीहरु दर्जनौं संख्यामा छन् । तर ती पार्टी र तिनका नेता तथा कार्यकर्तामा कम्युनिस्ट चरित्र र गुण छ कि छैन भन्ने कुरा मुख्य हो । माओत्सेतुङले भने झै कम्युनिस्टको हृदय विशाल हुनु पर्दछ, ऊ ईमान्दार र सक्रिय हुनु पर्दछ, क्रान्तिका हितहरूलाई उसले आफ्नो ज्यान भन्दा पनि प्यारो सम्झनु पर्दछ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितमा राख्नु पर्दछ । के नेपालमा अहिले माओले भने जस्तै स्थिति छ ? यदि माओको यो भनाईलाई व्यवहारमा गएर हेर्यौँ भने स्थिति निकै चिन्ताजनक छ । कम्युनिस्ट भने पछि उसले शोषण नगर्ने र अरुले शोषण गरेको नसहने हुनु पर्दछ । अत्याचार नगर्ने, अत्याचारको विरोध गर्ने, जनताका सहयोगी, देश प्रति बफादार, भ्रष्टाचारका विरोधी नैतिकवान हुनु पर्दछ । तर त्यसको ठीक विपरीत आफूलाई कम्युनिस्ट बताउनेहरू नै भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । एक पछि अर्कि राष्ट्रघातमा संलग्न छन् । कम्युनिस्टको नामलाई बदनाम गरिरहेका छन् । यसको अर्थ सबै राष्ट्रघाती, भ्रष्ट,लुटेरा छन् भन्ने होइन । देशमा असल कम्युनिस्टहरू पनि छन् । कम्युनिस्ट आन्दोलन भित्रको खराब प्रवृत्तिलाई नङ्गाउने र असल चरित्र र प्रवितिलाई रक्षा गर्दै अगाडि बढ्ने प्रेरणा पार्टी स्थापना दिवसले देवस । हाँक साप्ताहिक परिवारको तर्फबाट नेपाली कम्युनिस्ट आन्दोलन प्रति यही शुभकामना छ ।
कम्युनिस्ट आन्दोलनमा नेपालका हज्जारौं सन्तानहरु शहिद बन्न पुगेका छन् । कैयौं नेता कार्यकर्ताहरुले जेलनेल र यातना भोग्नु परेको छ । कैयौं वेपत्ता पारिएका छन् । विगतमा कैयौंलाई सर्वस्वहरण समेत हुनु परेको थियो । आजको देश र जनताको यो दुर्गति देख्नका लागि ती सबै बलिदान र त्याग थिएन ।
कम्युनिष्ट पार्टीहरु विभिन्न भड्कावको शिकार भएका छन् । विभिन्न समयमा देखापर्ने उग्रपन्थी तथा दक्षिणपन्थी भडकावको शिकार हुँदै आएको छ । ती भड्कावहरूबाट आन्दोलनलाई जोगाउँदै सच्चा कम्युनिस्ट आन्दोलन अगाडि बढाउने अर्को चुनौती हो ।
सानो किसिमको मतभेद हुँदावित्तिकै नेतृत्वको बीचमा खिचातानी हुने,पार्टी विभाजन गरिहाल्ने,मतभेदलाई व्यवस्थित संचालन गर्न ध्यान नदिने, कम्युनिष्ट आचरण,बानी व्यवहार नेतृत्वले अवलम्वन नगर्ने , गुटगत स्वार्थमा रमाउने प्रवृति कम्युनिष्ट आन्दोलनको रोगको रुपमा रहँदै आएकोछ । पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा लाग्ने नयाँ पुस्ताहरु खासै आउन सकेका छैनन् । राष्ट्रियता ,जनतन्त्र र जनजीविकाको आन्दोलन चल्न सकेका छैनन् । आफूलाई कम्युनिष्ट पार्टी बताउने पार्टीहरुले मिलीजुली सत्तामा जाने प्रवृतिको विकास भएको छ । देशमा दलाल प्रवृतिको विकास चरम अवस्थामा पुगेको छ । देशलाई रोग, शोक र भोकले गाँजेकोछ । जनता तथा नेता कार्यकर्तामा चरम प्रकारको नैराश्यता आएको छ । कैयौं कार्यकर्ताहरु आन्दोलनमा टिक्न सकेका छैनन् ।
जनताका समस्या समाधानमा के गर्नु पर्ने हो भन्नेमा खासै ध्यान पुग्न सकेको छैन । पार्टीमा नयाँ नेता, नीति र पद्दतिको विकास हुन सकेको छैन । यस्तो अवस्थामा सच्चा कम्युनिष्ट पार्टीहरु एकीकृत र ध्रुवीकृत हुन जरुरी छ । पार्टीमा नयाँ नेता कार्यकर्ताको निर्माण हुनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित