अन्तर्राष्ट्रिय मजदुर दिवशको सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवश संसारभरिका मजदुरहरुले हरेक वर्ष मई १ का दिन मनाउने गर्दछन् । मजदुर दिवश १३५ औं वर्षमा प्रवेश गरेको छ ।
मई १ संसारभरिका मजदुरहरुको अधिकारको लागि संघर्ष गरेको दिन हो । विरतापूर्वक आफ्नो अधिकारकोलागि लडेको दिन हो । अमेरिकाको शिकागो शहरमा विभिन्न कल कारखानाहरुमा कार्यरत मजदुरहरुले आठघण्टा काम ,आठ घण्टा आराम र आटघण्टा मनोरञ्जनको नारा लिएर मजदुर हक अधिकारकोलागि आन्दोलन गरेका थिए । मजदुर, कामदारहरुले मालिकको कारखानामा १८ देखि २० घण्टा काम गर्नु पर्दथ्यो । कामदारलाई कुनै पनि सेवा सुविधाको व्यवस्था थिएन । केवल काम मात्रै गर्नु पर्दथ्यो । सन् १८८६मा अमेरिकाको शिकागो शहरका मजदुरहरु मई १ को दिनमा मजदुर अधिकारको माग लिएर सडकमा उत्रिएका थिए । उनीहरुमाथि प्रहरीले निर्मम दमन गरेको थियो । निहत्था मजदुरहरुमाथि व्यापक दमन भएको थियो । तर सरकार उनीहरुको मागलाई सम्बोधन गर्न बाध्य भएको थियो । त्यो आन्दोलनको सन्देश संसारभरि प्रवाह भयो । यही दिनलाई सन् १८८९ देखि मजदुर दिवशको रुपमा मनाउन शुरु भएको थियो ।अमेरिकामा १८९२ मा मजदुर अधिकारलाई कानुनी रुपमा नै स्वीकार गरिएको थियो ।
यो दिनलाई सम्झनु भनेको अधिकार प्राप्ति र संरक्षणका लागि संगठित हुनुपर्दछ भन्ने हो ।
अहिले मजदुर अधिकारहरु विस्तारै कटौतीमा पर्दै गईरहेका छन् ।मजदुरहरुमा एकताको भावना विस्तारै हराउँदै गईरहेको छ । विचारधारात्मक रुपमा भन्दा पनि कसैको हो होमा लाग्ने प्रवृतिको विकास हुँदैछ । मजदुरहरुलाई करारमा लिने र करार अवधिमा काम मरी मरी गर्नु पर्ने ,उनीहरुले पाउनु पर्ने सेवा सुविधालाई वेवास्ता गर्ने , मजदुरलाई कुनै दोस्रो दर्जाको नागरिक सरह व्यवहार गर्ने ,मजदुरहरुको विरामी हुँदा आराम तथा औषधि उपचारको व्यवस्था नहुने ,स्वस्थ कार्यस्थलको अभाव , मालिकहरुद्वारा हायर एण्ड फायरको नीतिले मलजल पाउनु ,मजदुरहरु आफ्नै देशमा काम नपाउने ,आफ्नो परिवार छोडेर सीमापारी जानु पर्ने जस्ता समस्याहरु छन् । सरकारले नै मजदुरलाई अर्को देशमा पसिना बगाउन बाध्य पारेको छ । मजदुरले अहिले विश्वव्यापीरुपमा विभिन्न प्रकारका संकटहरुको सामना गर्नु परिरहेको छ । विश्वव्यापी रुपमा आप्रवासन जस्तो समस्यामा मजदुरहरु परेका छन् । एक स्थानबाट अर्को स्थानमा आवत जावत गर्ने क्रममा नै कैयौं मजदुरहरुको मृत्यु हुन पुगेको छ ।
मजदुरहरु दलालहरुबाट ठगी र शारीरिक तथा मानसिक यातनाको शिकार भइरहेका छन् । कैंयौं मजदुरहरु भोकै प्यासै रात दिन नभनेर अवैध बाटो हुँदै अर्काको देशमा छिर्न बाध्य भएका छन् । मजदुरहरुमाथि चरम प्रकारको शोषण उत्पीडन कायमै छ । दलालहरुले अवैध बाटो हुँदै अर्को देशमा पु¥याउने क्रममा मजदुरहरुले तमाम प्रकारका यातना शास्ती भोग्नु, लामो समयसम्म बाटो मै तड्पिनु पर्ने देशको सुरक्षाकर्मीले देखेमा जेल, नेल यातना भोग्नु पर्ने बाध्यतामा मजदुर रहेका छन् ।कैयौं आप्रवासीहरुको समुन्द्रमा नै डुबेर मृत्युहुन पुगिरहेको अवस्था छ । सबैभन्दा पीडित त असंगठित तथा अदक्ष कामदार रहेका छन् । उनीहरुको मानव अधिकार तथा श्रमिक अधिकार सबै खोसिएको छ । उनीहरुले पाउनु पर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुले प्रदान गरेका अधिकारहरु बेकामे हुन पुगेका छन् ।
यसरी मजदुरहरुको दिन प्रतिदिन अधिकारहरु कुण्ठित हुन पुगेको छ । मजदुर एकता र आन्दोलनको अवस्था दयनीय हुन पुगेको छ । विचारधारात्मक रुपमा मजदुरहरुलाई फुटाउने वा वर्ग समन्वयकारी नीतिमा जान बाध्य भएका छन् । मजदुर नेताहरुले समग्र मजदुर अधिकार र आन्दोलनमा ध्यान दिन सकिरहेका छैनन् । मजदुर अधिकारका लागि भनेर खोलिएका ट्रेड युनियनहरु निकम्मा भएका छन् ।
संसारभरिका मजदुरहरु एकीकृत र संगठित हुन जरुरी रहेको छ । संसार भरिका मजदुरहरुलाई विभिन्न बहानामा फुटाउने काम भैरहेको छ । मजदुर अधिकार कटौती हुँदै गईरहेका छन् । यसको डटेर सामना गर्न सक्ने स्थितिमा मजदुरहरु रहनु पर्दछ । मजदुर दिवशले यही सन्देश दिन्छ । कम्युनिस्ट पार्टी मजदुर वर्गको पार्टी हो । आफूलाई कम्युनिस्ट बताउने दक्षिणपन्थीहरुले मजदुर आन्दोलनलाई अर्थवादमा पथभ्रष्ट बनाएका छन् । मजदुर वर्गलाई नै सत्ताको मालिक बनाउने क्रान्तिकारी मजदुर आन्दोलनको विकास आजको आवश्यकता हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित