सर्प दंशबाट बचौं र बचाऊँ

वर्षा यामका बेला सर्पहरू जमिनमुनिबाट बाहिर आउँछन् । विषालु सर्पको टोकाइबाट वर्षेनी मानिसहरूको मृत्यु हुन्छ । नेपालको मधेशमा सर्प दंशबाट कैयौं व्यक्तिहरूको मृत्यु भएका , बेलैमा उपचार नपाएका वा विरामी भएका घटनाहरू घटिरहेका छन् । सर्प दंशबाट बच्न र बचाउन आबश्यक पर्ने उपायहरू सचेततापूर्वक अबलम्बन गर्न जरुरी छ ।
जीवशास्त्रीहरूका अनुसार बिश्वमा करीव चार हजार प्रजातिका सर्पहरू छन् । नेपालमा सरकारको तर्फबाट आधिकारिकरूपमा कति प्रकारका सर्प छन् भनेर गणना लिने काम गरिएको छैन । तथापि , जीवशास्त्रीहरूले नेपालमा करीव ९० प्रजातिका सर्प फेला पारेका छन् । यदि सर्पको खोजी र गणना गर्न थाल्ने हो भने नेपालमा एक सय पचास भन्दा बढी प्रजातिका सर्पहरू हुन सक्ने अनुमान गरिन्छ । नेपालमा पाइने अधिकाँश प्रजातिका सर्पहरू विषालु छैनन् । नेपालमा पाइएका सर्प मध्ये गोमन , करेंत र बाघे सबै भन्दा विषालु सर्प हुन् । नेपालमा हरेक वर्ष करिब २ सय जनाले ज्यान गुमाउने अनुमान गरिएको छ।
सर्पले डसेको भागमा सर्पको दाँतको चिन्ह देखिनसक्छ, नदेखिन पनि सक्दछ ।डसेको भाग दुख्ने, सुन्निने,घाउ हुने, गाँठागुठी बढ्ने हुन सक्दछ । वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, कमजोरी महसुस हुने, पसिना आउने, चक्कर लाग्ने, हेर्ने शक्तिमा ह्रास आउँदै जाने, रक्तचाप घट्दै जाने, बेहोस हुने, मुटुको चालमा गडबडी आउने, डसेको घाउबाट रगत बग्ने, गिजा, नाक, मुखबाट रगत बग्ने, छालामा मसिना र ठूलाठूला राता दागहरू देखिने, रगत बान्ता हुने, खोकीमा रगत देखिने, पिसाबमा रगत देखिने,आदि लक्षण देखिन सक्दछ ।
सर्पले टोक्दा बित्तिकै त्यसले विष छाडेको हुन्छ नै भन्ने हुँदैन।सर्पले टोकेर बिष छाड्दा बित्तिकै मानिसको मृत्यु भै हाल्छ भन्ने पनि छैन । सर्पले टोके पछि मानिसहरू अत्तालिएर मरेका हुन्छन् । त्यसैले सबैभन्दा पहिलो कुरा सर्पले टोके पछि आत्तिनु हुन्न भन्ने मनोवल राख्न जरुरी छ । सर्प दंशमा परेको व्यक्तिलाई अरुले सान्त्वना दिनु पर्दछ ।
राती सुत्दा झुल भित्र सुत्ने, घर वरपर मट्टितेल, फिनेल वा लसुनको रस छर्कने गर्नुपर्दछ । सर्पले टोकेको भागलाई धेरै चलाउने गर्नु हुँदैन । विष छिटो र बढी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नु पर्दछ । हातखुट्टामा टोकेको छ भने काम्रो लगाएर नचलाईकन राख्नुपर्छ। गोमन र करेतले टोकेको हो भने टोकेको भागबाट माथि हल्का दवाब पर्ने गरी पट्टी बाँध्नुपर्छ तर एकै ठाँउमा एकदमै कसेर बाँध्नु हुदैंन। सकेसम्म चाँडो विरामीलाई नजिकको अस्पताल वा सर्प दंस उपचार केन्द्रमा लग्नुपर्छ ।
नियमितरुपमा घर वर पर सरसफाई गर्नु पर्दछ । सर्प देख्दा बित्तिकै अनाबश्यरुपमा हान्ने जिस्काउने गर्नु हुँदैन । सर्प बस्ने सम्भावना भएका प्वालहरूमा हात राख्नु हुँदैन । राती हिड्दा जुता र पाइन्ट लगाएर लौरो र लाइट लिएर हिड्नु पर्दछ । सर्पले टोके पछि झाक्री,धामी र झारफुक वा परम्परागत उपचारमा लाग्दा उपचारमा ढिला भइ विरामीको मृत्यु हुन सक्दछ ।
सर्पले भ्यागुता,मुसा,कीरा र फट्याङ्ग्रा खान्छ । सर्पले पृथ्वीका बिषालु ग्यास लिन्छ । सर्पले पृथ्वीमा पर्यावरणीय सन्तुलन कायम गर्न योगदान पु¥याएको हुन्छ । सर्पदंशमा परेका विरामीलाई लगाउने एन्टि स्नेक्स भेनम सर्पबाटै बनाइन्छ । क्यान्सर रोग लागेका विरामीको दुःखाई कम गर्ने औषधि सर्पको विषबाटै बनाइन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा प्रत्येक वर्ष ८१ हजार देखि १ लाख ३८ हजार जनासम्मको सर्पले टोकेका कारण मृत्यु हुने गरेको छ । कैयौंको शारीरिक समस्या र अपाङ्गता हुने गरेको छ । सर्पदंशबाट बच्नका लागि समाज, टोल, छिमेक र स्कूलमा सर्पको टोकाईबाट बँच्ने उपायबारे जनचेतना जगाउनु पर्दछ । सेना, प्रहरी, स्थानीय तहले पनि ती जनचेतनाको काम गर्नुपर्दछ ।
नेपालमा सर्पदंश उपचार केन्द्रमा औषधि नभएर विरामीको ज्यान जाने स्थिति आउन नदिन सम्बन्धित पक्षले ध्यान दिनुपर्दछ । अहिलेसम्म नेपालले भारतबाट सर्पदंशको औषधि लिने गरेको छ । नेपालमै सर्पको विष संकलन गरी भ्याक्सिन उत्पादन गर्ने भनिएको थियो । तर त्यो कार्यक्रम भ्रष्टाचार र विवादको विषय बनेको छ । त्यस्ता विवादित विषयलाई समाधान गरी नेपालमै एन्टी स्नेक्स भेनम उत्पादन गरिनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित