काठमाडौँ, असोज ३० गते । विदेशमा बस्ने मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ । गत शनिबार साँझ भएको कार्यक्रममा दुबईमा बसोबास गर्ने मधेशीहरुको ठूलो उपस्थिति थियो ।कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गरे ।
एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा. रविन्द्र कुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिए ।
विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राखे ।
जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा. कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गरिन् ।
समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सुत्रमा बाँध्छ भन्नुभयो ।
एकता समाजका संस्थापकमध्ये अनिल साह परिवारसहित अमेरिका जानुपर्ने भएकोले त्यस अवसरमा उहाँलाई बिदाई गरिएको थियो । त्यस क्रममा साहले अमेरिकामा मधेशी एकता समाजलाई विस्तार गर्ने योजनाबारे जानकारी दिनुभयो ।
एकता समाजका महासचिव रोशन माक्र्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेश कुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरु सहभागी थिए ।
कार्यक्रममा उपस्थित सबैले स्वादिष्ट भोजनको आनन्द लिए भने एकआपसमा शुभकामना साटासाट पनि गरे । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो ।

