लेनिन स्मृति शतवार्षिकीको समापन, २२ अप्रिल साँस्कृतिक साँझ –२०२५

मनु वि.क.,काठमाण्डौ । करिब तीन दर्जन जनवादी कलाकार,श्रष्टा र साहित्यकारहरु काठमाण्डौको राष्ट्रिय नाँचघरमा जम्मा भएर लेनिनलाई स्मरण गरे । लेनिनले विश्व कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदानहरुको भाका मिलाएर गीत गाए , लय मिलाएर कविता वाचन गरे, नाटकको प्रस्तुति गरे । अभिनयको बेजोड प्रस्तुतिले हलमा उपस्थित दर्शकहरुलाई जुरुक्क उचाले । एक नयाँ जोश र शोषण विरुद्ध जुध्ने एक आशा जगाए । शतवार्षिकी समापन समारोहको मेसोमा उनीहरुले संसारमा भएको शोषण उत्पीडनको विरोधमा सिर्जिएका रचनाहरुलाई पनि गीत, संगीत, नृत्य ,कविता र अभिनय मार्फत अभिव्यक्त गरे र सबैलाई शोषण र असमानताका विरुद्ध तथा न्याय र समानताको सुन्दर समाज निर्माण गर्न आह्वान गरे । सबै सर्जकहरुलाई एकै ठाउँमा भेला भई प्रस्तुति दिने मेसो मिलाएको हो सुसेला संगीत समुहले । २२ अप्रिल साँस्कृतिक साँझ –२०२५ शीर्षक दिइएको उक्त कार्यक्रम राष्ट्रिय नाँचघर जमलमा २०८२ जेठ ३ गते विविध साँस्कृतिक प्रस्तुति सहित सम्पन्न भएको छ । साँस्कृतिक साँझमा सुसेला सांगीतिक समुह सहित नयाँ तथा पुराना जनवादी कलाकारहरु,लेखक तथा कविहरुको प्रस्तुति रहेको थियो ।

ल्याटिन अमेरिकाका सुविख्यात कवि पाब्लो नेरुदाको लेनिन सम्बन्धी सशक्त कवितालाई संगीत श्रोता र विष्णु अधिकारीले वाचन गरेसँगै कार्यक्रमको ढोका खोलिएको थियो । सुसेला संगीत समुहले युजे पोत्तर लिखित “अन्तर्राष्ट्रिय” गाएर कार्यक्रमको उद्घाटन गरिएको थियो । इसासका कलााकरहरुले स्वागत गीतगाएका थिए । रायनको शब्द र संगीतमा रहेको “ढुङ्गाको शालिक ढाल्दैमा” बोलको गीतलाई इसासका वीर प्रसाद भण्डारीले गाएका थिए । सन् १९९० मा सोभियत संघ विघटन भएपछि पुँजिवादी तत्वहरुले लेनिनको शालिकहरु ढालेका थिए । उनीहरुले उनको शालिक ढाले पनि उनीहरुले संसारभरिका मुक्तिकामी जनताको मन मुटुमा बसेको लेनिन र लेनिनको विचारलाई ढाल्न सक्दैनन् भन्ने सन्देश यो गीतले दिएको थियो ।

रक्तिम साँस्कृतिक अभियानका कलाकारहरुले तीनवटा प्रस्तुति दिएका थिए । अभियानका अध्यक्ष नारायण शर्माले जीवन शर्माको शब्द ,स्वर र संगीतबद्ध “सानो सानो बुकुरो पहराको छेउमा मेरो घर,त्यही नि साहुले खाइदियो अब मलाई झनै केको डर ?” बोलको गीतमा जीवन्त अभिनय प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिले दर्शकहरुमा शोषणविरुद्धको घृणा भाव प्रकट गराएको थियो ।

रक्तिम कै महासचिव लक्ष्मी रिजाल उदयले “लेकै फुल्यो लालीगुराँस वेशी सुनाखरी , शोषणको रुप एउटै हो शासक आए थरी थरी” बोलको गीत प्रस्तुत गरेका थिए । रक्तिमका कलाकार द्वय प्रतिभा पौडेल र केशव रानाले “उठ किसान मजदुर हो हसियार हथौडाको झण्डा बोकेर”बोलको गीतमा बेजोड नृत्य प्रस्तुत गरेका थिए ।सामना परिवारका कलाकारहरु “हिउँचुलीमा लालझण्डा बोलको सालैजो भाकाको लोक गीतमा असल पाख्रिन, सफल सोडारी, सन्ध्या घर्तीमगर र निशा घर्तीमगरले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको उत्तरार्धतिर रक्तिम साँस्कृतिक अभियानका संस्थापक अध्यक्ष जीवन शर्मा,निलिमा पुन र अनुशर्माको प्रस्तुति रहेको थियो । जीवन शर्माले “चाहिँदैन मलाई सिसाको महल, सिमली छायाँमा” ,जीवनशर्मा, निलिमा पुन र अनु शर्माले “रातोलालटिन” बोलको गीत नवप्रतिभा अनु शर्माले “जान्न मत विदेश जान्न” बोलको गीत गाएका थिए ।कार्यक्रममा मसाल सम्बद्ध रक्तिमका कलाकारहरु हेमराज आश्रम ,मेस्मा पुन, हरी सर्तुङगी ,पूजा बेलवासे,वन्दनावि.क.को “अक्टोबर क्रान्तिलाई लालसलाम”बोलको गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विनोद विक्रम केसीले ‘बन्द वर्कसप अगाडि उभिएर’ शीर्षकको कविता वाचन गरेका थिए ।केदार श्रेष्ठको निर्देशनमा रहेको सार्दुल भटटराईलिखित नाटक ‘भोको अतिथि’ प्रस्तुत गरिएको थियो । नाटकले लेनिनको इमान्दारितालाई दर्शाएको थियो । नाटकमा अभिनय निकै जीवन्त थियो । जनवादी गायक कर्ण विद्रोहीले ‘बदलौं यो वेथिति’ शीर्षकको गीत गाउँदै यो व्यवस्थाको वेथिति बदल्न आह्वान गरेका थिए ।
सौरभ ढकाल ,भरत परियार र साथीहरुले एउटा साथीको सम्झना बोलको गीत गाएका थिए । सविर कार्की नविन लामिछाने ,अविनास शर्मा र रवि कार्कीले वी शाल ओभर कम शीर्षकको अंग्रेजी गीत गाएका थिए । सुसेला समुहले सयौं लेनिन फुल्न देऊ,ओ वागमती खोली ,आमाले सोध्लिन नी , दैली उघार ,सुसेला हौं ,चरी लैजा समाचार जस्ता चर्चित गीतहरु प्रस्तुत गरेका थिए ।यो समुहले आफ्नो गीत मात्रै नगाएर पुराना जनवादी गायक, खुसीराम पाख्रिनको बहु चर्चित गीत गैंटी बेल्चा उचालेर शीर्षकको गीत गाएर अग्रजलाई सम्मान ग¥यो । त्यस्तै कार्यक्रममा श्याम तमोटको शब्दमा रहेको ‘कठिन छ यात्रा बोलको गीतलाई वीर प्रसाद भन्सारीेले प्रसतुत गरेका थिए । नेकपा सम्बद्ध सामना परिवारका कलाकारहरुले एक जाति एक वर्ग बोलको गीत प्रस्तुत गरेका थिए ।मातृका पोख्रेलको शब्दमा रहेको समाजवादी गणतन्त्रबोलको गीतलाई मदन शर्मा र सैदेश प्रधानले गाएका थिए । ऋषि अधिकारी ,सुबोध गौतम लगायतले पनि आफ्नो प्रस्तुति राखेका थिए ।कार्यक्रममा लेनिनल शतवार्षिकी समारोह समितिको पनि ना वाचन गरिएको थियो। कार्यक्रममा सो समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

नेपालको प्रगतिशील साँस्कृतिक क्षेत्रमा छाडावाद, उद्देश्यहीन मनोरञ्जन ,उपभोक्तावाद हावी भइरहेको अवस्थामा प्रगतिशील कलाकारहरुलाई एकै ठाउँमा जम्मा गरेर सामुहिक प्रस्तुति दिनुलाई प्रगतिशील साँस्कृतिक आन्दोलनकालागि महत्वपूर्ण काम भएको ठानिएको छ । सुसेला समुहले पछिल्लो पिँढीका पुस्तालाई प्रगतिशील साँस्कृतिक आन्दोलनमा सिर्जना कर्मर कलाकारितामा सक्रिय पार्नु सकरात्मक र प्रगतिशील कर्मीहरुकालागि अनुकरणीय काम हो भनेर समिक्षा र टिप्पणी गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित