जनसम्बन्ध विस्तार अभियान ०८१÷८२ः अनुभूति ४

शहिद पार्क अवलोकन र शहिदपरिवारसँग भेटघाट

-रामसिंह श्रीस
यसपालिको जनसम्बन्ध विस्तार अभियानमा हाम्रो टीम पुगेको जिल्लाहरुमा रहेका कतिपय शहिदपार्कहरुको अवलोकन गर्ने र कतिपय शहिद परिवारसँग भेटघाट गर्ने अवसर प्राप्त भयो ।
सबभन्दा पहिले धनकुटाको छिन्ताङको शहिदपार्क अवलोकन गरियो । वि.सं. २०३६ सालमा धनकुटा जिल्लाको छिन्ताङमा भएको हत्याकाण्ड बहुचर्चित हत्याकाण्ड हो । यो हत्याकाण्ड तत्कालिन राजा विरेन्द्र र प्रधानमन्त्री सूर्यबहादुर थापाले गराएको हत्याकाण्ड हो । हाम्रो टिम वि.सं. २०८१ साल चैत्र १२ गतेका दिन छिन्ताङको शहिदपार्कमा पुग्यो । शहिदपार्क गाउँको छेउमा बाटोसँग जोडिएर कम्पाउण्डले घेरेर बनाइएको रहेछ । गेटमा ताला लगाउन मिल्ने व्यवस्था गरिएको रहेछ । पार्कभित्र पसेपछि त्यहाँ सहिदहरुको शालिक लस्करै राखिएको छ । ती लस्करै राखिएको देखिएको शालिकहरुमा ०३६ सालमा सहिद भएका १६ जना र दशवर्षे जनयुद्धका ४ जना गरी २० जना शहिदहरुको शालिकहरु छन् । कम्पाउन्डको एउटा कुनामा मदन भण्डारीको शालिक पनि छ । प्रत्येक शहिदको शालिकको तल नाम, जन्म, मिति, शहादत प्राप्त गरेको मिति र स्थान लेखिएको प्लेटहरु राखिएको छ । जस अनुसार २०३६ सालमा शहादत प्राप्त गरेका शहिदहरुको विवरण यसप्रकार छन् :

(१) केशरमान राई जन्म २०२२ /९/१५ शहादत प्राप्त २०३६/७/२० स्थान तारेभिर आँखी सल्ला
(२) गम्भीरमान दर्जी जन्म २००६/२/९ शहादत प्राप्त २०३६/७/२७ स्थान पाताल छिन्ताङ
(३) हाङिखमा राई (साइली) जन्म २००३/१०/१८ शहादत २०३६/७/२९ स्थान कुमाङ छिन्ताङ
(४) गणेशकुमार विश्वकर्मा जन्म २००८/६/१८ शहादत प्राप्त २०३६/७/२८ स्थान तारेभिर आँखी सल्लाह
(५) चन्द्रबहादुर दमाई, जन्म २०१४/६/२ शाहदत २०३६/७/२७ स्थान पाताल छिन्ताङ
(६) लखमान साधुराई जन्म १९७२/१०/१५ शाहदत प्राप्त २०३६/७/२७ स्थान पाताल छिन्ताङ ।
(७) भैरव बहादुर खालिङ, जन्म २००५/१०/७ शाहदत २०३६/७/२७ खानी खोला बेल्टार ,
(८) टेकबहादुर विश्वकर्मा जन्म १९९५/११/५ शाहदत २०३६/७/२७ स्थान पाताल छिन्ताङ
(९) रामकुमारी राई जन्म २००४/१०/१२ शाहदत २०३६/७/२७ स्थान छिन्ताङ,
१०) गंगाबहादुर तुप्रिहाङ, जन्म १९९९/३/१४ शाहदत २०३६/७/२७ स्थान पाताल छिन्ताङ ।
(११) पुत्रमान राई जन्म २००४/६/१२ शाहदत २०३७/७/२६ स्थान तमोर नदी
(१२)–धनवीर दर्जी जन्म १९९२/११/१ शाहदत २०३७/७/२७ स्थान पाताल छिन्ताङ ।
(१३) झगेन्द्र राई जन्म २०११/३/१० शाहदत २०३६/१०/१८ स्थान छिन्ताङ
(१४) बलबहादुर खत्री जन्म २०१२/१२/४ शाहदत २०३६/७/२७ स्थान खनी खोला छिन्ताङ ।
(१५) रणध्वज पुमा राई जन्म १९९८/१२/७ शाहदत २०३६/७/२७ स्थान डाँडा गाउँ छिन्ताङ ।
(१६) गोपाल आनन्द राई जन्म २००१/३/१५ शाहदत, २०३७/७/२५ स्थान खरीखोला छिन्ताङ ।
दश वर्षे जनयुद्धमा शाहदत प्राप्त शहिदहरु
(१) तीर्थ हाङसिङ राई (समीर) जन्म २०३५/११/३० शाहदत २०६२/११/२३ स्थान आहाले तामाङ
(२) चित्तकुमार राई (नमल) जन्म २०४४/७/३१ शाहदत २०६१/५/१४ स्थान एकलेवर
(३) तिलक राई (अजय) जन्म २०३५/६/२७ शाहदत २०६१/४/२१ स्थान तेह्रथुम
(४) नगेन्द्र कुमार राई जन्म २००८/१०/१४ शाहदत २०५९/५/२९ स्थान भञ्ज्याङ शहिदपार्कमा शहीदहरुको विवरण हेरेपछि त्यहाँका स्थानीय व्यक्तिहरुसँग त्यतिबेलाको घटनाको बारेमा जान्न जिज्ञासा राख्यौं । पहिलो कुराकानी ६१ वर्षीय बमबहादुर राईसँग भयो । उहाँले छिन्ताङ हत्याकाण्ड हुनु भन्दा अगाडि धनीहरुको भकारी फोरेर गरिव किसानहरुलाई पछि फिर्ता गर्ने गरी वितरण गरेको र तिरो नतिरौं भन्ने अभियान चलाएको कुरा बताउनुभयो । उहाँले त्यतिबेला प्रधानपञ्च गोविन्दबहादुर बलिक राई भएको र सीडीओ वीरबहादुर भुजेल थिए भन्नुभयो । आन्दोलनमा मुख्य नेता को को थिए ? भन्ने प्रश्न गर्दा उहाँले गरुलध्वज तेते राई र गोपाल आनन्द राई भएको कुरा बताउनुभयो । गरुल ध्वज राई बाँच्न सफल भएको कुरा पनि बताउनुभयो । उहाँले पहिले सबैलाई गिरफ्तार गरेको र पछि तिनीहरुले छुटकारा पायौं भनेर छोडेको अनि अर्को दिन विहानै फेरि गिरफ्तार गरेर विभिन्न ठाउँमा लगेर हत्या गरेको भन्नुभयो ।

धनकुटा जिल्लाको छिन्ताङस्थित शहिद पार्क
धनकुटाको छिन्ताङस्थित शहिदपार्क अगाडि अभियानकर्मीहरु
मकवानपुरको कालीखोलास्थित शहिद रुद्रबहादुर पाख्रिनको शहिद पार्क

त्यसपछि घटनाको प्रत्यक्षदर्शी सोमबहादुर दमाईसँग कुराकानी भयो । उनको भनाई अनुसार उनलाई र उनको बुबा धनवीर दमाईलाई सँगै गिरफ्तार गरेको रहेछ । उनले भने बुबा मलाई प्रहरीले गिरफ्तार गरेर खोकु (छिमेकी गाउँपंचायत) मा लगियो । त्यहाँ अरुलाई पनि लगिएको थियो । खोकु र उनीहरुलाई कार्तिक २३, २४ र २५ गते राख्यो । कार्तिक २६ गते विहान अब तिमीहरु घर जाउ भनेर छोड्यो । अब हामीलाई छोड्यो भनेर आ–आफ्नो घरमा गएर सुत्यौं । तर २७ गते विहान २ बजे प्रहरीहरु घरघरमा आएर पक्रँदै जंगलको आसपास लगेर गोली हान्दै हत्या गर्ने काम गरे । सोमबहादुर दमाई र उनको बुबा धनवीर दमाईलाई पनि प्रहरीहरुले पक्रेर जंगलको आसपास लगे । सोमबहादुर दमाईको भनाई अनुसार लखमान साधु राई, गम्भीरमान दर्जी, गंगाबहादुर तुम्राङ राई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी (सोमबहादुर दमाइको बुबा), चन्द्रबहादुर दमाई, रणध्वज पुमा राईलाई एकै लाइनमा राखेर आधा घण्टा आसपासमा गोली हानी हत्या गरेको रहेछ । उहाँले भन्नुभयो गंगा तुमिङ राई र गम्भीरमान दमाईलाई मेरै आँखा सामुन्ने गोली हानी हत्या ग¥यो मलाई भने मारेन छोड्यो । उहाँले अगाडि थप्नुभयो पछि सुनियो हामीलाई मार्ने नै भए पछि खोकुको प्रधानपंचले मेरो पंचायतभित्र नमार भनेपछि छोडेको बहाना बनाई छिन्ताङमा लिएर हत्या गरेको रहेछ ।
शहिदपार्क अवलोकन गरेर फर्कदा गाउँपालिकामा पसियो । गाउँपालिका अध्यक्ष मनोज राईसँग भेट भयो । उहाँसँग पनि छिन्ताङ हत्याकाण्डबारे जिज्ञासा राखियो । उहाँको भनाई अनुसार ०३५ सालमा चिन्तामणि पौडेल, बकसमान राई (खोकु), माइला महाजन, कान्छा महाजनको भकारी फोरेर पछि फिर्ता गर्ने गरी गरिब किसानहरुलाई वितरण गरिएको थियो । यस घटनाको कम्युनिस्टहरुले नेतृत्व गरे भनेर नै दमन गरिएको थियो भन्ने उहाँको भनाई थियो ।

      

भोजपुरस्थित शहिद रामप्रसाद राई र शहिद नारदमुनी थुलुङको शालिक

रामकुमारी राइको शालिक बीचमा छ र अलि ठूलो छ । यस सन्दर्भमा अध्यक्ष मनोज राईसँग बुझ्दा रामकुमारी राईलाई प्रहरीहरुले तेरो श्रीमान कहाँ छ ? देखा भन्दै बर्बर यातना दिए । त्यही यातनाको कारणले उनको मृत्यु भएको थियो । तर उनको परिवारले शहिदहरुमा दर्ता हुन नमानेको हुनाले पहिले शहिदहरुमा दर्ता भएन । ०६२÷०६३ को आन्दोलनपछि उनलाई पनि शहिदमा दर्ता गरियो र ०७५ मा उनको शालिक स्थापना गरियो । त्यसले त्यो अलि ठूलो पनि छ नेमप्लेट पनि फरक छ । बीचमा हुनुको कारण त्यहाँ खाली ठाउँ थियो । त्यसैले बीचमा राखेको हो भन्नु भयो ।
यो छिन्ताङ घटनाले राजाको शासन कस्तो थियो भन्ने प्रष्ट गर्दछ । वास्तवमा त्यहाँ गरिब किसानहरुको अवस्था अत्यन्तै दयनीय रहेछ । अनिकाल लागेपछि पछि फिर्ता गर्ने गरी किसानहरुले गाउँमा साहु महाजनको भकारीको अन्न लगेका रहेछन् । तर त्यतिबेलाको राजतन्त्रले त्यहाँका किसानहरुलाई भोकमरीको समस्याबाट कसरी मुक्त गर्ने भन्ने कोणबाट सोंचेन । अनिकालबाट ग्रस्त किसानहरुमाथि बर्बरतापूर्वक दमन ग¥यो । सामूहिक हत्या ग¥यो । साहु महाजनहरुको पक्ष लियो । यो छिन्ताङ घटनाले राजतन्त्रको माग गर्ने अहिलेका राजावादीहरुलाई दरिलो जवाफ दिन्छ ।
भोजपुरको सदरमुकाम भोजपुर बजारमा नारद मुनि थुलुङ र रामप्रसाद राईको शलिक रहेछ । विदाको दिन परेको हुनाले गेट नखुलेको हुँदा भित्रै गएर शालिक अवलोकन गर्न त सकिएन बाहिरैबाट हेर्ने काम गरियो । यी दुवै जनाले राणाशासन अन्तको लागि सशस्त्र विद्रोहमा महत्वपूर्ण भूमिका खेलेका रहेछन् । रामप्रसाद राई त २००८ सालमा के.आइ.सिं सँगै सशस्त्र विद्रोह गरेर सिंहदरबार कब्जा गर्ने मुख्य व्यक्ति नै हुनुहुँदो रहेछ । तर उहाँको मृत्युको बारेमा अहिले पनि एक मत रहेनछ । कसैले के.आई.सँग चीनतिर भाग्दा विरामी भएर बाटोमा मृत्यु भएको भन्दा रहेछन् । कसैले तत्कालिन नेपाली सेनाले हत्या गरेको भन्दा रहेछन् । जे होस् उनको मृत्युको बारेमा विभिन्न मतहरु रहेछन् ।

शहिद रुद्रबहादुर पाख्रिनको परिवारसँग अभियानकर्मीहरु

२०८१ चैत्र २२ गते हाम्रो अभियान टीम धनुषा जिल्लाको वर्मझिया चोकमा पुग्यो । त्यो चोकमा शहिद रामवृक्ष यादवको नाममा शहिद गेट रहेछ । गेटको माथि उहाँको परिवार सहितको शालिक राखिएको छ । क. रामवृक्ष यादव नेकपा (माओवादी) सँग सम्बद्ध हुनुहुन्थ्यो । जनकपुरमा पार्टीको कार्यक्रम सम्पन्न गरेर घरमा फर्किंदै गर्दा उहाँकै गाउँको नजिकै उखुवारीमा लुकेर बसेका नेपाली कांग्रेसका मान्छेहरुले सांघातिक हमला गरी उहाँको हत्या गरेका रहेछन् । उहाँको छोरा शेखर यादवलाई जनयुद्धकालमा नेपाली सेनाले हत्या गरेको रहेछ । उहाँहरुको सम्झनामा यो शहिदगेट बनाइएको रहेछ । का. रामवृक्ष यादवसँग पार्टीकै कार्यक्रममा वि.सं. २०४० सालभन्दा पहिले भेट भएको थियो । अहिले जनसम्बन्ध विस्तार अभियान कार्यक्रमले उहाँको सम्झनामा बनाइएको शहिद गेटको अवलोकन गर्ने अवसर प्राप्त भयो ।

शहिद रामवृक्ष यादवको स्मृतिगेट धनुषा

वि.सं. २०८२ साल वैशाख १२ गते मकवानपुर जिल्लाका शहिद क. रुद्र पाख्रिनको सम्झनामा बनाइएको शहिदपार्क अबलोकन गरियो । विहान मकवानपुरको छतिवन जहाँ रुद्र पार्खिनलाई नेपाली सेनाले गोली हानी हत्या गरेको थियो । त्यसै ठाउँमा निर्माण गरिएको शालिकको अवलोकन गरियो । दिउँसो उहाँकै गाउँ कालिखोलामा उहाँको सम्झनामा बनाइएको “सहिद क. रुद्रपाख्रिन स्मृति पार्क” अवलोकन गरियो । उहाँ जनयुद्धकालमा पार्टीको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको व्यक्ति हुनुहुँदो रहेछ । मानिसहरु जन्मन्छन् मर्छन् । यो प्राकृतिक नियम हो। तर समाजले सबै मर्ने मान्छेहरुलाई शहिद मान्दैन र पार्क पनि बनाउँदैन । विशेष मान्छे जसले समाजको उद्धारको निम्ति, शोषण, दमन र उत्पीडनको अन्तको निम्ति आफ्नो जीवनको बलिदान दिन्छ । उनीहरुलाई शहिद मान्दछ र उनीहरुको सम्झनामा शालिकहरु पार्कहरु बनाउँछ । यो जनसम्बन्ध विस्तार अभियानको क्रममा तिनै वीर शहिदहरुको सम्झनामा निर्माण गरिएका शालिक र पार्कहरुको अवलोकन गर्ने अवसर प्राप्त भयो ।
यो अभियानको क्रममा शहिदपार्कहरु हेर्नुको साथै शहिद परिवारहरुसँग भेटघाट गर्ने काम पनि गरियो । विभिन्न जिल्लामा सम्भव भएसम्म शहिद परिवारहरुसँग भेटघाट गर्ने र उहाँहरुको प्रतिक्रिया लिने काम पनि गरियो । राज्यस्तरबाट शहिद परिवारहरुको लागि उचित व्यवस्था गरेको पाइएन । अब हामीले शहिद परिवारहरुको लागि राज्यबाट उचित व्यवस्था गराउन संघर्ष गर्न आवश्यक छ ।

 

 

 

शहिदपरिवारसँग अभियानकर्मीहरु

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित