काठमाडौं । इच्छुक प्रतिष्ठानद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको “सिर्जना र संवाद” कार्यक्रम १७ गते शनिवार सम्पन्न भएको छ । कुनै पनि सिर्जना र विषयमाथि चर्चा परिचर्चा गरिँदै आएको यस कार्यक्रमको बाह्रौ शृङ्खलामा कवि धनेश्वर पोख्रेलको कवितासङ्ग्रह “बन्दुकले विश्राम लिएपछि” माथि चर्चा गरिएको थियो । प्रगतिवादी कवि पोख्रेलको कृतिमाथि विशिष्ट समालोचक र समीक्षकदेखि पाठक तथा स्रोताहरूले पनि समीक्षात्मक धारणा राखेका थिए ।
पुस्तकमाथि बोल्दै मार्क्सवादी सौन्दर्य चिन्तक प्रा.डा. जगदीशचन्द्र भण्डारीले कवि पोख्रेल कवि मात्रै नभएर कवि सिपाही भएको र कवि सिपाहीले आफ्ना कविता मार्फत युद्ध नायकले बन्दुक बिसाएर क्रान्तिप्रति गद्दारी गरेकामा उद्धेलित हुँदै कविताका माध्यमबाटआक्रोश व्यक्त गरेको कुरा बताउनु भयो र उहाँले ऐतिहासिक परिदृष्यलाई पाठक सामु सरल ढङ्गले प्रस्तुत गरेका कविले क्रान्तिको यात्रा पूरा गर्न पुनः नया शिराबाट युद्ध थाल्नु पर्ने विषयको उठान पनि गरेका छन् भन्दै आफ्नो धारणा व्यक्त गरेका थिए ।
अर्का वक्ता कवि मित्रलाल पंज्ञनीले पुस्तकको रूप पक्ष र भाव पक्षको सारमा समीक्षा गर्दै बन्दुकसँगको यात्रा र बन्दुक बिसाएपछिको यथार्थ पस्किएको कविताहरूमा क्रान्ति प्रतिको प्रतिबद्धता प्रकट भएको बताएका थिए ।
अर्का समीक्षक तेजविलास अधिकारीले दस वर्षे जनयुद्धको दस्तावेजका रूपमा यो सङ्ग्रह आएको कुरा बताउँदै बन्दुकको मूल्य र भावको वरिपरि केन्द्रीत रहेर रचना गरिएका कविताहरूले युद्धप्रतिको स्वाभिमान, श्रद्धा र निष्ठालाई संगठित गरेको कुरा बताएका थिए ।
त्यस्तै गरेर डा. नन्दीश अधिकारी र मंगल विश्वकर्माले पनि कवितामाथि मन्तव्य व्यक्त गरेका थिए भने कवि आस्था घिमिरे र सुनिता देवकोटाले सङ्ग्रहभित्रबाट मन परेको कविता मन पर्नुका कारणसहित क्रमशः “जीवन” र “सुनसरा” वाचन गरेर सुनाएका थिए ।
संयोजक गौरी देवकोटाद्वारा सञ्चालित उक्त कार्यक्रममा बिम्बको प्रयोग गर्दा शिकारी जन्तु र पर्यावरण बीचको अन्तर्सम्बन्ध र असरबारे पनि कविहरूले ध्यान पुर्याउनु पर्ने विषयमाथि छलफल चलेको थियो । अन्तमा लेखकको छोटो मन्तव्यपछि कार्यक्रम समापन गरिएको थियो ।फोटो ः जय दाहाल

कवि धनेश्वर पोख्रेल

