रामबहादुर बुढा
१) युवा संगठनको उद्देश्य
० युवा संगठन पार्टीको दाहिने हात मानिन्छ ।
यो कम्युनिस्ट पार्टीको महत्वपूर्ण संगठन भएकाले यसलाई संचालनमा विशेष ध्यान दिनुपर्दछ ।
०विगतमा युवा संगठनले स्थानीयस्तरमा जनताको सामाजिक अवस्था, जनताका दुःख, पीडा, जनतालाई शोषण दमन गर्ने शोषक फटाहाहरु र विभिन्न राजनीतिक दलका नेताहरुको रेकर्ड संकलन गर्नेर युवा संगठनको माथिल्ला समितिलाई रिपोर्ट बुझाउने गर्दथ्यो । त्यसबाट कम्युनिस्ट पार्टी र युवा संघलाई नीति, कार्यक्रम तय गर्न मद्दत पुग्दथ्यो । युवा संघको त्यो कार्य अहिले पनि आवश्यक छ ।
० विगतमा युवा संघले १६ वर्ष नपुगेका बालक किशोरहरुलाई जम्मा गरेर बाल संघ बनाउँथ्यो । बालकहरुलाई स्थानीयस्तरमा सानातिना खेलकुंद, हाजिरजवाफ, वक्तित्वकला कार्यक्रम गराउँथ्यो त्यो अहिले पनि आवश्यक छ ।
० युवा संघले युवाहरुमा प्रगतिशील संस्कृति, आचारणको निर्माण गर्न ध्यान दिनुपर्दछ ।
० युवा संघले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको आन्दोलनमा सक्रियतापूर्वक नेतृत्व गर्ने काम गर्नुपर्दछ ।
० युवा संघले मजदुर किसानको आन्दोलनमा सक्रियतापूर्वक भाग लिनुपर्छ र आन्दोलनको नेतृत्व गर्न पनि तयार हुनु पर्दछ ।
० युवाहरुमा वर्गीय दृष्टिकोण र भावनाको विकास गर्नु ।
युवा संघको इतिहासः
० २००६ साल भाद्र ३० (१९४९ सेप्टेम्बर १५) मा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र जारी गरिएको थियो । त्यो घोषणापत्रमा विभिन्न जनवर्गीय संगठनहरुको घोषणापत्रको आधार दिइएको छ । घोषणापत्रमा भनिएको छ– नेपालका प्रजातन्त्रवादी युवाहरु हो । नेपालको पहिलो राष्ट्रिय आन्दोलनमा तिमीले महत्वपूर्ण योगदान दिएका छौं । प्रशस्त मात्रामा रगतको भेटी चढाएका छौं । युवक गंगालालको अमर सहादत प्राप्तिले तिमीलाई नयाँ संघर्ष र बलिदानको निम्ति उत्साहित तुल्याएको छ । सन् १९३० का एक जना वीर युवक श्री खड्गमान अझै पनि तेल हत्कडी र गल्फन्दी सहित जेलैमा छन् । नेपाली परम्परालाई उच्च टाकुरामा लैजाने बेला यही हो । यसको निम्ति दिनहुँ पाको संघर्ष गर्नुपर्दछ । आजसम्म तिम्रो स्वतन्त्र पाको संगठनको कमी छ । तपसिलका मागहरु हासिल गर्नका निमित आफ्नो स्वतन्त्र लडाकु संगठन कायम गर ः
१) सर्वसाधारण जनताको निम्ति पूरा प्रजातान्त्रिक अधिकार ।
२) प्रजातान्त्रिक ढाँचाको शिक्षा विना फिस र अनिवार्य प्राथमिक शिक्षा, उच्च शिक्षाको निम्ति कम फिस ।
३) पाठशालाको पूर्ण अधिकार ।
४) सच्चा स्वतन्त्रताको निम्ति प्रजातन्त्र र शान्ति ।”
० नेकपाको प्रारम्भिक कालमा राष्ट्रियस्तरको छुट्टै युवक संगठन थिएन । अखिल नेपाल विद्यार्थी फेडेरेशन २००६ सालमा स्थापना गएिको थियो । युवक र विद्यार्थीहरु त्यससंगठनमा नै आवद्ध थिए ।
० सुरुमा नेपाल कम्युनिस्ट पार्टीले हिक्मत सिंह र केशरजंग रायमाझीलाई युवक विद्यार्थी मोर्चा हेर्ने जिम्मा दिइएको थियो ।
० २०१२ साल जेष्ठ २९ गतेदेखि असार ३ गतेसम्म पाल्पाको तानसेनमा प्रथम पश्चिम नेपाल युवक सम्मेलन सम्पन्न भएको थियो । सम्मेलनको उद्घाटन जनकवि केशरी धर्मराज थापाले गरेका थिए । प्रथम पश्चिम नेपाल युवक सम्मेलनले पारित गरेको विधान÷प्रतिवेदन हेर्दा त्यस संगठनको कार्यक्षेत्र पश्चिममा प्यूठान, उत्तरमा थाक (मुस्ताङ), दक्षिणमा कपिलवस्तु र पूर्वमा कास्कीसम्म थियो । त्यस संगठनको उद्देश्य हेर्दा अहिले कम्युनिस्ट पार्टीको युवक स.गठनले उठाएका माग वा बोकेका उद्देश्यहरुसित मिल्दा जुल्दा देखिन्छन् । जस्तै SEATO सन्धिको विरोध, गोर्खा भर्ती केन्द्रको खारेजी, युवकहरुको शिक्षा,स्वाथ्य, रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका उद्देश्यहरु थिए । पश्चिम नेपाल युवक संघको प्रतिवेदनमा “काठमाडौं र अरु पूर्वी नेपालका युवक संस्थाहरुसँग सम्बन्ध बढाउने” र राष्ट्रियस्तरको युवक संघ बढाउन पहल गर्ने” भनेर लेखिएको छ । त्यसबाट के स्पष्ट हुन्छ भने त्यतिबेला राष्ट्रियस्तरको नेपालव्यापी युवक संघ थिएन । हुन त २००८ सालमा नेपाल युवक संघ र २०१४ सालमा योगङ् कम्युनिस्ट लिग नायक संगठनहरु स्थापना भएको पनि पाइन्छ । तर तिनीहरुको राष्ट्रव्यापी प्रभाव थिएन भन्ने बुझिन्छ । पश्चिम नेपाल युवक संघको प्रथम सम्मेलनले मदनबहादुर प्रधान सभापति, सूर्यलाल प्रधान (उपसभापति), जगतबहादुर जोशी (महामन्त्री) रहेको समिति बनाएको थियो । पश्चिम नेपाल युवक संघको दोस्रो सम्मेलन नवलपरासीमा सम्पन्न भएको थियो । २०१७ मा राजा महेन्द्रले प्रतिगामी कदम चालेपछि पश्चिम नेपाल युवक संघ काम गर्न नसकेपछि स्वतः विघटन भयो ।
० नेकपा नजिकको संगठन वा नेपाली कांग्रेस नजिकका युवक संगठनहरु अहिलेको जस्तो थिएनन् । अहिले भन्दा खुकुला थिए।
० अखिल नेपाल युवक संघको प्रथम राष्ट्रिय भेला २०३८ माघ २५ देखि १७) गतेसम्म भारतको कुशिनगरमा सम्पन्न भएको थियो । भेला पुष्पकमल दाहाल संयोजक, सदस्यहरु देव गुरुङ (मनाङ), हुकुम सिंह (प्यूठान), राजेन्द्र श्रेष्ठ (गोर्खा) , कमानसिंह लामा (काभ्रे), मेघराज ज्ञवाली (कपिलवस्तु) सहित १७ सदस्यीय कमिटी गठन गरिएको थियो । भेलामा २९ जिल्लाको प्रतिनिधित्व थियो ।
० २०४२ मा नेकपा (मशाल) विभाजित भएपछि नेकपा (मसाल) को दोस्रो राष्ट्रिय भेला २०४२ चैत्र ६ गते सम्पन्न भयो । भेलाबाट रामसिंह बुढाथोकी अध्यक्ष र महामन्त्री राजेन्द्र श्रेष्ठ रहेको ९ सदस्यीय कमिटी गठन भएको थियो ।
०२०४४ चैत्र २१ देखि २३ सम्म ललितपुरको गोदावरीमा अखिल नेपाल युवक संघको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो । त्यस राष्ट्रिय सम्मेलनबाट केशव नेपाल अध्यक्ष हुनुभयो । २०४७ भाद्रमा दोस्रो, २०५२ मा तेस्रो, २०५८ चैत्रमा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न भएको थियो ।
० २०८०÷२०८१ मा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) र नेकपा (बहुमत) का बीचमा पार्टी एकता भएपछि क्रान्तिकारी युवा संघ नेपाल बनाइएको छ ।
० २०४७ मा नेकपा (एकताकेन्द्र) बनेपछि गिरिराजमणि पोख्रेलको नेतृत्वमा अखिल नेपाल जनवादी युवा लिग गठन भएको थियो । २०५१ मा पार्टी विभाजन भएपछि नेकपा (एकताकेन्द्र) र नेकपा (माओवादी) निर्माण भए । नेकपा (एकताकेन्द्र) ले अखिल नेपाल जनवादी युवा लिगलाई नै निरन्तरता दियो । तर नेकपा (माओवादी) ले युवाहरुलाई जन मिलिसियामा भर्ना गरी क्रियाशील बनाएको हुँदा युवा मोर्चा खासै क्रियाशील भएन । यदाकदा कतिपय ठाउँमा योङ कम्युनिस्ट लिग (वाइसिएल) लाई स्थानीयस्तरमा संगठित र परिचालित गरे पनि राष्ट्रियस्तरबाट युवा मोर्चा परिचालनको काम भएन । तर २०६३ मा नेकपा (माओवादी) शान्ति प्रक्रियामा आइसकेपछि गणेशमान पुनको नेतृत्वमा योङ कम्युनिस्ट लिग (वाइसिएल) लाई सक्रिय पार्ने काम भएको थियो ।
युवाबारे माक्र्सवादी दृष्टिकोण
कार्ल माक्र्स ः
सन् १८३५ मा१७ वर्षकै उमेरमा कार्ल माक्र्सले“पेशा छनौट सम्बन्धी एक युवकको विचार” निबन्ध लेखेका थिए । त्यो निबन्धमा माक्र्सले लेखेका छन्–“ यदि कुनै व्यक्तिले केवल आफ्ना लागि मात्र काम गर्दछ भने ऊ केवल एउटा जाने, बुझेको प्रसिद्ध मान्छे, उत्कृष्ट कवि, लेखक बन्नसक्छ तर ऊ पूर्ण मान्छे बन्न सक्दैन ।
० लेनिनः सन् १९१६ मा लेनिनले “युवा अन्तर्राष्ट्रिय”शीर्षकमा एउटा लेख लेख्नु भएको थियो । त्यस लेखमा लेनिनले लेख्नु भएके थियो, “युवा संघले समाजवादी पार्टीका निम्ति कार्यकर्ताहरुलाई प्रशिक्षित गर्नुपर्दछ ।” लेनिनले युवाहरुले गल्ती गरे भने उनीहरुको गल्ती प्रति धैर्यता राख्नुपर्दछ, उनीहरुलाई सम्झाई, बुझाई सुधार्ने कोशिश गर्नुपर्दछ ।” भनेका छन् । युवा संगठन कम्सामोलको तेस्रो महाधिवेशनमा लेनिनले दिएको भाषण विश्व प्रसिद्ध छ । त्यो भाषणमा लेनिनले भनेका थिए, “युवाहरुको अनुशासन, शिक्षा र अध्ययनको सारा कार्य उसमा कम्युनिस्ट नैतिकताको शिक्षा दिक्षा दिने उद्देश्यले गरिनु पर्दछ ।”
“कम्युनिस्ट नैतिकता त्यो हो, जसले श्रमजीवीहरुलाई जुनसुकै किसिमको शोषणका विरुद्ध जुनसुकै किसिमको सानातिना स्वामित्व विरुद्ध एकताबद्ध पर्दछ ।” लेनिनले युवाको काम र दायित्वबारे जोड दिएर भनेको कुरा यो हो, “युवाको काम सिक्नु हो ।”
माओः
सन् १९३९ मा माओले “युवा आन्दोलनको दिशा” शीर्षकमा एउटा लेख लेखेका थिए । त्यसमा माओले लेखेका छन्–“कुनै पनि युवा क्रान्तिकारी हो वा होइन भन्ने छुट्टाउने एउटा मात्र कसी भनेको ऊ मजदुर र किसानहरुको आन्दोलनमा, सहभागी हुन्छ वा हुन्न भन्ने हो ।” सन् १९५७ मा रुस भ्रमण गएका बेला मस्कोमा चिनियाँ विद्यार्थीहरुसँग कुरा गर्दै माओले भनेका थिए–“युवाहरु ! तिमीहरु विहानीको उदाउँदो सूर्य र पक्रँदोफूल हौं ।”
नेपालमा युवाको वर्तमान अवस्था
० राष्ट्रिय युवा परिषद् ऐन –२०७२ र राष्ट्रिय युवा नीति–२०७२ ले १६ वर्षदेखि ४० वर्षका उमेर समूहलाई युवा मानेको छ ।
० बंगलादेश र फिलिपिन्समा १५–३० वर्ष, भारतमा १६–२९, चीनमा १८–३५ जर्मनीमा १४–२६, दक्षिण अफ्रिकामा १५–२९ वर्षको उमेर समूहलाई युवा मानिन्छ ।
० नेपालमा युवाहरुको जनसंख्या २०७८ को राष्ट्रिय जनगणना अनुसार १ करोड २४ लाख १२ हजार १ सय ७३ (४२.५६ प्रतिशत छ) सरकारले १९.८ प्रतिशत पूर्ण बेरोजगार ३६ प्रतिशत युवा अर्ध बेरोजगार छ भनेको छ ।
युवाको दायित्वः
(क) युवा भएकाले युवाहरुको समस्यालाई उठाउन गर्दै संघर्ष गर्ने ।
(ख) युवा मजदुर किसानकै छोराछोरी भएकाले मजदुर, किसानको लागि संघर्षमा योगदान गर्ने ।
(ग) युवा देशकै नागरिक भएकाले देशप्रतिको जिम्मेवारी बोक्न तयार हुनुपर्दछ ।

