राष्ट्रिय स्वाधीनता र जनअधिकार रक्षार्थ जनएकता आवश्यक

काठमण्डौ । भाद्र २३ गते नयाँ वानेश्वरमा जेनजी आन्दोलनकारीहरुमाथि चलाएको गोलीबाट १७ जनाको हत्या तथा सोही दिन इटहरीमा २ जनाको हत्या र भाद्र २४ गते जेन जीको नामबाट चलाइएको आन्दोलनले काठमाण्डौ सहित नेपालका विभिन्न ठाउँमा हत्या, हिंसा, आगजनी सहित विध्वंशात्मक घटनाहरु भए । भाद्र २३ गते नेपाल सरकारका गृहमन्त्री रमेश लेखकसहित मन्त्रीहरुले राजीनामा दिएका थिए । भाद्र २४ गते काठमाण्डौमा आगजनी,तोडफोड, हिंसा भड्किएको बेला दिउँसोतिर प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । यो असहज अवस्थामा देशको राष्ट्रिय स्वाधीनता र जनअधिकारको स्थिति के हुन्छ ? भन्ने आम चासो र जिज्ञाशा जनतामा छ ।

भाद्र २४ गते बेलुकी नेपाली सेनाले राति १० बजेदेखि सेना सुरक्षाका लागि खटिने,जेनजीका केही समुहसित छलफल गरिरहेको बताएको थियो । सैनिक हेडक्वार्टरले भाद्र २५ गते राष्ट्रपति रामचन्द्र पौडेल समेतको उपस्थितिमा जेन्जी समुहहरुसित छलफल गरेर नेपालको राज्य संचालनको आगामी मार्ग तय गर्ने बताएको छ । नेपालमा जनताका अधिकारकालागि लामो समय देखि नेपाली जनताले शान्तिपूर्ण र सशस्त्र संषर्घ गर्दै आएका छन् । २००७ ,२०३६, २०४६,२०६२–६३ र दश वर्षे जनयुद्ध जस्ता ऐतिहासिक संघर्षहरुमा नेपाली जनताले जनअधिकारकालागि धेरै ठूलाठूला वलिदान गरेका थिए । यदि ती बलिदानबाट प्राप्त जनअधिकारहरुलाई खोस्ने,कटौती गर्ने काम गरिन्छ भने नेपाली जनताका लागि सैह्य हुने छैन । जनता फेरि आफ्नो अधिकार पुनःस्थापनाकोलागि संघर्षमा आउन बाध्य हुनेछन् ।

देशमा अशान्ति र तरलताको स्थिति श्रृजना भएका बेला विदेशी शक्ति केन्द्रहरुले आफ्नो भूमिका खोज्दछन् । संयुक्त राष्ट्रसंघले भाद्र २४ गते एक वक्तव्य जारी गरेर नेपालमा सहजकर्ताका रुपमा आफूलाई बोलाउन आग्रह गरेको छ । त्यसकालागि संयुक्त राष्ट्रसंघ तत्पर रहेको बताएको छ । संयुक्त राष्ट्रसंघ जस्तै अन्य शक्ति केन्द्रहरुले यो तरलताको अवस्थाको फाइदा उठाउन नेपाल प्रवेश गर्न खोज्ने सम्भावना छ । नेपालीहरुका बीचबाटै समाधान खोजिनु पर्दछ । कुनै पनि विदेशी शक्ति केन्द्रलाई नेपालको आन्तरिक मामिलामा निम्त्याउनु हुँदैन । नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामाथि आँच आउने कुनै पनि सम्झौता वा प्रस्तावलाई अगाडि बढ्न नदिन आम नेपाली जनता चनाखो हुनु पर्दछ ।

भाद्र २३ गते विद्यार्थीहरुको हत्या सहित हिंसात्मक घटनाको स्थिति श्रृजना हुन्जेलसम्म आवश्यक सतर्कता अपनाउन नसक्नु सरकारको ठूलो कमजोरी हो । भाद्र २४ गते देशव्यापी रुपमा जुन तोडफोड,आगजनी र हिंसात्मक घटना जेन्जी आन्दोलनको नाममा भए । त्यसले देशका थुप्रै अमूल्य सम्पदाहरुलाई खरानी बनाएको छ । २००७ ,२०३६,०४६,०६२÷०६३ कुनै पनि आन्दोलनमा सिंहदरबार जलेको थिएन । यस आन्दोलनले सिंहदरबार,सर्वोच्च अदालत, महान्यायधिवक्ताको कार्यालय, जिल्ला अदालत लगायत काठमाण्डौ भित्रका सरकारी भवन,पार्टी नेताहरुमा निजी निवास ध्वस्त पारेको छ । जेन्जीको नाममा गोप्य समुह खडा गरी काठमाण्डौ सहित देशव्यापी रुपमा जे जति विध्वंसात्मक कार्य गराइयो त्यस्ता गोप्य समुहहरु खडा गरी देश जलाउने पात्रहरु को हुन् ? घटनाक्रमबाट विस्तारै उनीहरुको मुखुण्डो उघारिँदै जानेछ ।
आज नेपालमा जुन लुटपाट,हत्या हिंसाको स्थिति श्रृजना भएको छ । यो वर्तमान संसदीय दलाल पुँजीवादी व्यवस्थाका संचालक र रक्षक नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादी केन्द्र समेतको असफलता हो । यसलाई विश्वपूँजीवादी व्यवस्थाको असफलतासित समेत जोडेर हेर्न सकिन्छ । यसै दशकभित्र फ्रान्समा पार्टी गठन भएको १३ महिना भित्रमा म्याक्रोन राष्ट्रपति बनेका थिए । युक्रेनमा हास्य कलाकार जेलेन्स्की राष्ट्रपति भएका थिए । श्रीलंकामा जनताको विद्रोह भड्किएर प्रधानमन्त्रीसहित देशका नेताहरु भाग्नु परेको थियो । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएर प्रधानमन्त्री शेख हसिना देश छोडेर भाग्नु परेको छ । इन्डोनेशियामा भ्रष्टाचार विरोधी आन्दोलन चलिरहेको छ । श्रीलंका र बंगलादेशको प्रकृतिको आन्दोलन अहिले नेपालमा भड्किएको छ । पुँजीवादी शोषण समाजमा कायम रहँदासम्म यसप्रकारका विद्रोहहरु दोहोरिरहने छन् । नयाँ जनवाद र वैज्ञानिक समाजवाद जस्ता अग्रगामी व्यवस्थाको स्थापना नहुँदासम्म यस प्रकारका समस्या दोहोरिँदै जाने छन् । गरिबी,अभाव ,असमानता, विभेद र भ्रष्टाचारले विद्रोह जन्माउँछ । न्याय र समानताको व्यवस्था बिना समस्याको स्थायी समाधान हुँदैन ।

भाद्र २३ गते नयाँ वानेश्वरमा घटेको घटना प्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले एक वक्तव्य जारी गरेको छ । २०८२ भाद्र २३ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यबाहक महासचिव सीपी गजुरेल गौरवले जारी गरेको वक्तव्य यस प्रकार छ ।
– ओली नेतृत्वको गठबन्धन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धका विरुद्ध ९जेन–जेड० को आयोजनामा आज देशैभर विरोध प्रदर्शन भइरहेको छ । उक्त विरोध प्रदर्शनका क्रममा काठमाण्डौ उपत्यका लगायत देशका विभिन्न शहरहरुमा प्रहरीले पानीका फोहरा, अश्रुग्यास, लाठीचार्ज र गोली प्रहार गर्दा अहिले साँझको ५ः१५ सम्म विभिन्न संचार माध्यमले जनाए अनुसार १७ जना आन्दोलनकारी युवाको मृत्यु भइसकेको छ । अन्य सयौंजना युवाहरु घाइते भएका छन् । सर्वप्रथम शान्तिपूर्ण ढंगले विरोधमा उत्रिएका युवाहरुमाथि ओली सरकारले गरेको प्रहरी दमन र हत्याको हाम्रो पार्टी तीव्र निन्दा तथा घोर भत्र्सना गर्दछ । साथै हाम्रो पार्टी प्रहरी दमन बन्दगर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने र त्यसको विरोधमा उत्रिएका निहत्था युवाहरुमाथि बल प्रयोग गरी दमन गर्ने ओली सरकार चरम फासीवादी बन्दै गएको तथ्य स्पष्ट हुन्छ । यसको हाम्रो पार्टी कडा विरोध गर्दछ । सरकारले कानुन बनाएर सामाजिक संजाल नियमन गर्नु पर्नेमा त्यसो नगरी एक्कासी सामाजिक संजाल बन्दगर्नु गलत भएको छ । हाम्रो पार्टी सामाजिक संजालहरुमाथि लगाएको प्रतिबन्ध तुरुन्त हटाउन माग गर्दछ ।

त्यसै गरी राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक सन्तबहादुर नेपालीले २०८२ भाद्र २३ गते एक वक्तव्य जारी गरी घटनाको निन्दा एवम् भत्सर्ना गर्नु भएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालद्वारा सरकारको नृशंश दमनको विरोध गरेको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक सन्तबहादुर नेपालीले २०८२ भाद्र २४ गते एक प्रेस बक्तब्ये जारी गरी सो विरोध गर्नु भएको हो । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –

“ देशमा सर्बत्र बढ्दो ब्यापक भ्रष्टाचारको विरोध गर्न र सामाजिक सञ्जाल बन्दविरुद्ध आवाज उठाउन हिजो भदौ २३ गते आन्दोलित जेन–जी पुस्ताको जुलुसमाथि केपी ओली सरकारले अत्यन्तै नृशंश र घोर दमन मच्चाएर २० भन्दा बढी नागरिकको क्रुर हत्या गरेको छ । शान्तिपूर्ण आन्दोलनमाथि भएको यस प्रकारको क्रुर दमनको राष्ट्रिय क्रान्तिकारी मोर्चा घोर निन्दा र तीब्र भर्त्सना गर्दछ । आन्दोलनमा जीवन गुमाउने सम्पूर्ण आन्दोलनकारीप्रति भावपूर्ण श्रध्दाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा मोर्चा हार्दिक समवेदना प्रकट गर्दछ । शान्तिपूर्ण आन्दोलनमाथिको दमन तुरुन्त रोक्न र पदबाट राजीनामा दिन ओली सरकारसँग यो मोर्चा जोडदार माग गर्दछ । यो हत्या काण्डको छानबिन गर्न तत्कालै उच्च स्तरीय न्यायिक आयोग गठन गर्न र दोषीलाई कडा कारबाही गर्न पनि मोर्चा जोडदार माग गर्दछ । साथै, मृतक परिवारलाई अधिकतम क्षतिपूर्ति तत्काल उपलब्ध गराउन तथा घाइतेहरुको यथाशीघ्र निशुल्क उपचार गर्न पनि सरकारसँग माग गर्दछ।

सत्ताका दलाल र भ्रष्ट शासकहरुले दमनको माध्यमबाट भ्रष्ट व्यवस्था जोगाउन खोजे पनि जनताले त्यसको छिटोभन्दा छिटो विकल्प खोजिरहेका छन् भन्ने भदौ २३ को आन्दोलनले पनि प्रष्ट पारेको छ । अतः यस स्थितिमा यो जेन जी आन्दोलनलाई सही दिशा र गति दिन राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपाल यो भ्रष्ट दलाल पुँजीवादी व्यवस्थाको विकल्प खोज्न सम्पूर्ण क्रान्तिकारी शक्तिहरुलाई सुझबुझपूर्ण, मूर्त र सार्थक बिकल्पकासाथ एकताबद्ध हुन पनि जोडदार अपिल पनि गर्दछ ।”

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित