काठमाण्डौ। पूर्वविद्यार्थी नेताहरुले देश, गणतन्त्र र संविधानको रक्षाका दृढ रहेको उद्घोष गरेका छन् । देशमा जेन्जीहरुको आन्दोलनको नाममा गम्भीर राजनीतिक परिस्थिति सिर्जना भइरहेको अवस्थामा परिवर्तनको पक्षमा लडेका विद्यार्थी नेताहरुले मिति २०८२ भदौ २६गते संयुक्त वक्तव्यजारी गर्दै सो उद्घोष गरेका हुन् । पूर्व विद्यार्थी आन्दोलनको तर्फबाट नैनसिंह महर राजीव ढुंगाना माधव ढुंगेल, नवीना लामा , नरेन्द्र न्यौपाने , रञ्जित तामाङ , पञ्चा सिंह , सुदेश पराजुली ,आरती लामा , अनिलकिशोर घिमिरे , विमल पोखरेल र रुपनारायण श्रेष्ठ ले संयुक्त रुपमा वक्तव्य जारी गरेका छन् वक्तव्यकोपूर्ण पाठ यसप्रकार छ ,–
“मिति २०८२ भदौ २३ र २४ गते नेपालको राजधानी काठमाडौं र देशका विभिन्न शहरमा घटेका अकल्पनीय र विध्वंसपूर्ण घटना, देशको जटिल राजनीतिक परिस्थितिमा शान्ति, सुव्यवस्था कायम गर्न तथा राजनीतिक निकासको बारेमा हाम्रो धारणा सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।
१.मिति २०८२ भदौ २३ गते युवाहरूलाई गोली हानेर हत्या गरिएका युवाविद्यार्थी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । मृतकका परिवारलाई क्षतिपूर्ति दिन, उक्त हत्याकाण्डमा संलग्न व्यक्तिहरु र भदौ २४ गते राष्ट्रको सम्पत्ति जलाउने, जनधनको क्षति पु¥याउने, लुटपाट गर्ने सम्पूर्ण व्यक्तिहरूलाई कारवाही गर्न शक्तिशाली स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गर्दछौं । सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गरी कारवाही गर्न, गैरकानूनी सम्पत्ति जफत गर्न र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कारवाही गर्न माग गर्दछौं ।
२. जननिर्वाचित संसद जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने थलो भएको हुनाले प्रतिगामी तथा केही अवान्छित तत्वहरूबाट गरिएको संसद विघटन गर्ने मागलाई दृढतापूर्वक अस्वीकार गरी आम जनता र युवाहरूको भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने जस्ता मागलाई सम्बोधन गर्न, संसदबाटै राजनीतिक निकास खोज्न, संसदभित्रबाटै नयाँ सरकार गठन गरी चुनावको वातावरण बनाउनु आजको वास्तविक यथार्थ र आवश्यकतामो जोड दिन चाहन्छौं ।
३. भदौ २४ गते गरिएको विध्वंसको आवरणमा संसद विघटन गर्नुपर्ने, राष्ट्रपतिले राजीनामा दिनुपर्ने, राजा ल्याउनेजस्ता प्रतिगामी मागहरू उठ्न थालेको हुनाले सबै प्रकारका प्रतिगामी हर्कतका विरुद्धमा एकजुट हुन सम्पूर्ण अग्रगामी युवा, विद्यार्थी र आम जनतालाई अनुरोध गर्दछौं । विद्यार्थी र युवाहरुले उठाएका मुद्दा, देशको समस्या वर्तमान संविधान, यसमा आवश्यकता अनुसार गरिने संशोधन र संसदीय प्रक्रियाबाटै समाधान हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं ।
४.देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहना अनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत् मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौं । संसद विघटन, राष्ट्रपतिको राजीनामा, कथित स्वतन्त्र व्यक्तिको नेतृत्वमा सरकार गठनजस्ता प्रतिगामी मागका विरुद्धमा सडक संघर्षमा उत्रिन तयार रहन सम्पूर्ण युवा विद्यार्थीहरूलाई अपील गर्दछौं ।
५. देशभर व्यापक लुटपाट र आगजनीका घटना भइरहेको परिस्थितिमा जनताको निजी, व्यवसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अपराधको कैद सजाय भोगिरहेका व्यक्तिहरु जेलबाट भागेको हुनाले तिनीहरुले समाजमा थप अपराध गर्ने भएको हुनाले जेलबाट भागेका सम्पूर्ण कैदीहरूलाई खोजी गरी नियन्त्रणमा लिई कैदमा राख्न जोडदार माग गर्दछौं । कुनै पनि बहानामा थप हिंसा र मुठभेडको स्थिति सिर्जना नगर्न, हुन नदिन हामी सबै पक्षलाई गम्भीरतापूर्वक आग्रह गर्दछौं ।
पूर्व विद्यार्थी नेताहरुको उद्घोष ःदेश, गणतन्त्र र संविधानको रक्षाका दृढ छौं
Comments

