नक्कली र सक्कली जेन्जी चिन्न आवश्यक

मनु वि.क.
भाद्र २३ गते नेपालमा जेन्जी आन्दोलनको नाममा भएको शान्तिपूर्ण आन्दोलनमा युवा विद्यार्थीहरुको सहभागिता भयो । युवा विद्यार्थीहरुको आन्दोलनमा साथ र समर्थन पार्टीका नेताहरु,अभियन्ताहरु,देशमा पूर्व कर्मचारीहरुको साथ, सहयोग र समर्थन रहेको भन्ने कुरा आयो । यो आन्दोलन भ्रष्टाचार विरोधी आन्दोलन र सामाजिक संजालहरु बन्दको विरोधमा आयोजना गरिएको भनिएको थियो । एक एनजीओको आयोजनामा भएको भनिएको यो आन्दोलनमा २३ गते १९ जना युवा विद्यार्थीहरुको सरकारको दमन र विद्यार्थीहरुको मृत्युका कारण २४ गते व्यापक जनआक्रोश सिर्जना ग¥यो ।
सोही असन्तोषको परिणाम २४ गते देशमा आगो बल्यो । देशमा व्यवस्थापिका,कार्यपालिका,न्यायपालिका लगायत सरकारी भौतिक संरचनाहरुमा आगो लगाएर ध्वस्त हुन पुगे । देशको प्रशासनिक केन्द्र सिंहदरबारदेखि लिएर राष्ट्रपति भवन सबै खरानी हुन पुगे । देशमा सुरक्षा दिने सुरक्षा निकायका भवनहरुदेखि लिएर सबै ध्वस्त हुन पुगे । संचार गृह, नेताका घरहरु सबै जल्न पुगे । नेताहरुमाथि पुरै आक्रमण भयो । कारागारबाट अपराधको सजाय काटिरहेकाहरु उम्किन सफल भए । आगो झोसेंपछि सबै सकिनु स्वाभाविक नै हो । नेताहरुका निवासहरु बाँकी रहेनन् । सबै सबैमा आगो लाग्यो ।
आगलागी गराउनु जेन–जी युवाहरुको मात्रै भूमिका थियो ?
जेन–जी आन्दोलनमा घुसपैठ भयो भनेर नेता भनिएकाहरुले भने । आन्दोलनमा घुसपैठ भयो भनियो र आन्दोलनमा क्षतिको कसैले जिम्मेवारी लिएन । किनकि कार्यक्रमको आयोजना गरिएको भनिएको संस्था देखाउनलाई एक एनजिओ भनिएको थियो तर एक एनजिओले यसरी देशभरि वितन्डा मच्चाउन कसरी सक्छ ?
परिवर्तनको कुरा बाहेक एक चोटी सोचेर हेर्ने हो भने एक एनजिओले कसरी यत्रो परिवर्तनको कुरा बोकेर हिँड्न सक्छ ?
के एनजिओहरु यसरी परिवर्तनको कुरा गर्न भनेर खोलिएका हुन्छन् कि सामाजिक सेवाकोलागि भनेर खोलिएका हुन्छन् ? नेपाल सरकारले एनजिओहरु आइएनजीओहरु सामाजिक सेवाकोलागि भनेर खोेल्न दिएको हुन्छ । एनजिओहरु दर्ता गर्दा सबैको व्यक्तिगत विवरण राखेर नै खोलिएको हुन्छ । यसरी खोलिएका एनजिओले कसरी स्कूल भरिका विद्यार्थीहरु उतारेर आन्दोलन गर्न सक्छ ?
आन्दोलन मात्र गरिएन । युवा विद्यार्थीहरु मारिएका र घाइते भएका छन् । सामाजिक संजालको प्रयोग गर्दै आयोजना गरिएको यो आन्दोलन विसुद्ध भ्रष्टाचार विरोधी र सामाजिक संजालको सुचारुको माग राखेर आयोजना गरिएको भनिएको थियो । यो आन्दोलनमा सबै सबै प्रयोग हुन पुगेका छन् । यो आन्दोलनमा नेपाललाई असफल सावित गर्न खोजिएको छ सबै संरचनाहरु डढाइएको छ । डढाउने मात्रै कुरा रहेन सबै स्थानमा सक्दो लुटपाट भएको छ ।
लुटपाटमा संलग्नहरुको सामाजिक संजालमा देखिएका भिडियोहरु देख्दा सबै उमेर समुहका मान्छेहरु लुटपाटमा संलग्न भएका देखिएका छन् । लुटपाट के निजी,के सरकारी के उद्योग करकारखाना सबैमा लुटपाट र आगजनी भएको छ ।
आन्दोलन सकिएपछि अन्तरिम सरकार बनेपछि र कार्यालयहरुले लुटपाट गरिएका सामानहरु फिर्ता गर्न भन्दै विज्ञप्ति नै जारी पनि गरेका छन् । साना साना सामानहरुदेखि लिएर सवारी साधन,अफिसका इलेक्ट्रोनिक साधनहरु जस्तै ःल्यापटप,कम्युटर देखि लिएर सबै सबै लुटपाट भएका छन् । बैंकहरुबाट नगद, सुन लुटिएको छ । तराइँतिरको भिडियो आएको थियो – मिलमा राखिएको चामल,दाल सबै सबै लुट्न जनताहरु नै गाउँबाट आएर बोराका बोरा बोकेर गएका थिए । लुट्ने अनि आगलागी गर्ने भरसक सबै डढाएर खरानी पारिदिने ।
यो किसिमको दृश्य र भोगाइले अबका नयाँ पुस्ता भनिएकाहरुमा विश्वासको वातावरण झनै खस्किएको छ ।आन्दोलनको क्रममा “युवाहरुले…..चोर, देश छोड” भन्दै नाराबाजी गरे । आन्दोलनमा लगाइएको यो नाराले चोर्नुहुने रहेनछ भन्ने सन्देश दिन खोजेको होला तर आफैले चोरेर,आफै नै चोरीमा संलग्न हुन भनेको त थिएन होला तर चोरी आगजनी भयो । चोरी पनि केही स्थानमा होइन सबै स्थानमा पसल ,घर, बैंक, सरकारी अफिस, सबैबाट सबै सामानहरु लगिएका छन् । फुटाइएका छन् आगजनी गरिएका छन् ।
२०८१ चैत्र १५ गतेको आन्दोलनमा पनि चोरी आगजनी भएको थियो । यो एक प्रवृति थियो,भदौ २४ गते पनि सोही प्रवृति दोहोरियो ठूलो मात्रामा ।
चोरी गर्नु हुँदैन, गरेमा कारबाहीको भागीदार बन्नु पर्छ तर चोरी र लुटपाट भयो । कानुनले गर्न हुने भनिएका सबै कार्यहरु तोडफोड,आगजनी, चोरी सबै गरिएको छ । युवा विद्यार्थीहरुले यो सबै कसको निर्देशनमा गरे ? कसैले थाहा पाएनन् किनकि यसको नेता देखिएको थिएन,नीति देखिएको थिएन, खोज्दा,विधान,प्रतिवेदन केही देखिने भेटिने गरी आजको मितिसम्म छैन, कार्यालय कहाँ हो ? भेट्ने कुन तहको नेता हो ? थाहा छैन । कुनै पनि आन्दोलनमा फलानाको नेतृत्व हुन्छ,फलानाको अफिस यहाँ छ भन्ने थाहा हुन्छ । फलाना नेताको क्षमता दक्षता यति छ भनेर जनताले जाँचिरहेका हुन्छन् । जनताले मूल्याङ्कन गरेर विचार गरेर विश्वास गरेका वा नगरेका हुन्छन् तर अहिलेको जेन्जी आन्दोलन निकै रहस्यमयी रह्यो । देखाउँन नेता छैन । एकले म हँु भन्छ,अर्कोले महुँ भन्छ, अर्कोले हैन भन्छ । आफैमा कुटाकुट भागाभाग छ,“जंगललाई देखेर बाघ डराउने,बाघलाई देखेर जंगल डराउने”भनेझैं आपसमै मारामार,आपस मै नेतृत्वको दावी तर खास नेतृत्व कोहो अझैसम्म कसैले चिनेको जस्तो छैन । आफ्नो साँच्चिकै नेता भए त चिन्नु पर्ने । मुख देखाउनु पर्ने,जनविश्वास आर्जन गर्न लाग्नु पर्ने तर त्यो केही पनि छैन । असली जेन्जी को हो ? कोहो? आज पनि चिन्न गाह्रो छ । जनताले कसलाई पत्याउने ? जनताले कसको कुरा मान्ने ? कार्यालय कहाँ हो थाहा छैन ।

आन्दोलनमा युवा विद्यार्थीहरु मारिए, हज्जारौं घाइते पारिए तर देशलाई राम्रोगरी थला पारिएको छ । देशमा पहिलेदेखि नै भ्रष्टाचारले थला पारेको छ । नेताहरुको अदूदर्शीताको कारण देशले जति नै गरेपनि परिवर्तनको अनुभूति गर्न सकेको छैन । अझै खरानी पारे पछि कसरी देश उठ्ला ? भन्ने चिन्ता र चासो सबैमा छ ।
अहिलेको आन्दोलन हेर्दा एक सामान्य एनजिओले पनि देशमा जे पनि गर्न सक्दो रहेछ भन्ने देखाएको छ । देशमा भएका संयन्त्रहरुले केही काम पनि गर्न नसक्ने बन्दा रहेछन् भन्ने देखाएको छ ।
आन्दोलनमा देशका सेना ,प्रहरीदेखि लिएर राज्यका संयन्त्रहरु पुरै काम लागेनन् । नत राज्यको पुरातात्विक ,ऐतिहासिक संरचनाहरु जोगाउन सके नत व्यक्तिगत सम्पत्तिको नै संरक्षण राज्यले गर्न सक्यो । राज्यको तलब खाएर बसेकाहरु ,जनताकोलागि भनेर बसेकाहरु आफ्नो मात्रै जीउ जोगाउन भागाभाग बने ।
राज्यलाई कर तिर्ने व्यवसायी,उद्योगीहरुको सम्पत्तिको संरक्षण गर्न राज्यले नसके पछि कसरी देशमा कर आउला ? कसरी कर लिने होला ?
जेन्जी आन्दोलनको परिवर्तन स्वरुप नयाँ सरकार बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व न्यायधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । यस पछि देशमा चुनावको घोषणा पनि गरिएको छ । फागुन २१ गतेलाई निर्वाचनको म्याद तोकिएको छ ।
जेन्जीहरुले निर्वाचनको माग जेन–जीको थिएन । नयाँ सरकार बनाउने माग पनि जेन्जीको थिएन। नयाँ सरकार बनाउने देशमा आगो लगाउने चोरी,लुटपाट सबै कसको माग हो सबैलाई बुझ्न गाह्रो परिरहेको छ । समय क्रममा त खुल्दै जाला । आन्दोलन भयो,आन्दोलनमाथि दमन भयो । दमनको प्रतिक्रियास्वरुव सबै लुटपाट,चोरी, आगजनी भयो भनेर मात्रै मूल्याङ्कन गरेमा त्यसको मूल्याङ्कन अपूरो हुन्छ ।
देशमा उथलपुल मच्चाएर फाइदा लिन चाहनेहरुले झनै हौसिने मौका पाउने छन् । यो सबै जेन–जीहरुकोलागि खुशीको कुरा हुने छैन । अहिले जेन–जी भनिएकाहरुमध्ये असली जेन–जीहरुको काँधमा नै देश चल्ने हो । यो उमेर समुह नै देशलाई अगाडि बढाउने तागत राख्छ । देशलाई कता लाने भन्ने कुरा राम्रोसँग ध्यान नदिएको खण्डमा देश कता जाने हो ? चुनाव समय मै नभएमा देशको स्थिति के हुने हो ? के कसको इशारामा आन्दोलन भएको हो ?
देश अहिले निकै अफ्ठ्यारोमा छ । देशमा जुनसुकै तरिकाबाट जे पनि गर्न सकिन्छ भन्ने खालको मनोविज्ञान विकास भएको छ ।
अहिले राजनीतिक दल र नेताहरुलाई निस्कन नदिने, उठ्न नदिने भन्ने धम्कीपूर्ण अभिव्यक्ति खुल्ला आइरहेका छन् । जनताले वर्षौंदेखि लडेर ल्याएको र संविधानले व्यवस्था गरेको नागरिक स्वतन्त्रता खोस्न खोजिएको छ ।
जेन्जी आन्दोलनको उद्देश्य यी सबै होइनन् । कुनै आगजनी गर्ने,चोरी गर्ने,लुटपाट गर्ने देशलाई खरानी बनाउने काम कुनै पनि देशको कुनै पनि उमेर समुहको व्यक्तिले गर्न सक्दैन । यसो गर्दा उसको मन दुख्नु पर्ने हो । मुख लुकाएर बस्ने र देशलाई असफल पार्न दूस्प्रयत्न गरी रमाउनेहरु कुनै पनि हालतमा देशलाई माया गर्नेहरु होइनन् । नत्र कोही पनि सबका सब जलाएर,लुटपाट गरेर, छिमेकीको घर जलाएर रमाउन सक्दैन । सबैले त्यस्ता प्रवृति र तत्वहरुलाई बेलैमा चिन्नु पर्दछ । सामाजिक संजालमा फोटो राखेको आधारमा उसले केही स्टाटसहरु राखेको आधारमा उसलाई विश्वास गरिहाल्नु र उसको पछि लागिहाल्नु भन्दा अगाडि अलिकता सोच्नु आवश्यक छ । अहिले देश निकै भयावह अवस्थामा छ ।जतिबेला जे पनि हुन सक्छ ।राजनीतिक तरलता र अस्थिरताको फाइदा उठाउँदै विदेशी शक्तिकेन्द्रहरु खेल्न चाहिरहेका छन् । यो अवस्थामा कसले के बोलिरहेको छ ? कसले के भन्न चाहिरहेको र गर्न चाहिरहेको छ ? राम्रोसँग बुझ्नु पर्ने आवश्यकता छ । सक्कली जेन–जी र नक्कली नकावधारी जेन–जी को हो सबैले चिन्नु पर्दछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित