-कार्ल माक्र्स
मानिसहरु आफ्नो जीवनको सामाजिक उत्पादनमा त्यस्ता निश्चित सम्बन्धहरुमा बाँधिन्छन्, जुनि अपरिहार्य हुन्छन् र उनीहरुको इच्छाबाट स्वतन्त्र हुन्छन् । यी उत्पादनसम्बन्धहरु भौतिक शक्तिहरुको विकासको एक निश्चित चरणको अनुरुप हुन्छन् । यी उत्पादनसम्बन्धहरुको समष्टि नै समाजको आर्थिक ढाँचा हो, वास्तविक जग हो, जसमा न्यायिक एवं राजनीतिक आधेय (उपरिसंरचना) खडा हुन्छ र सामाजिक चेतनाका निश्चित रुपहरु जसको अनुरुप हुन्छन् । आमरुपमा नै जीवनका सामान्य सामाजिक, राजनीतिक तथा बौद्धिक प्रक्रियाहरु भौतिक जीवनको उत्पादन प्रणालीमा निर्भर हुन्छन् । मानिसहरुको चेतनामा उनीहरुको अस्तित्व निर्भर हुने होइन, अपितु, यसको उल्टो, उनीहरुको सामाजिक अस्तित्वमा उनीहरुको चेतना निर्भर हुन्छ । विकासको निश्चित चरणमा पुगेपछि समाजका भौतिक उत्पादन शक्तिहरु विद्यमान उत्पादनसम्बन्धहरुसँँग, अर्थात् यही कुरा कानुनी भाषामा व्यक्त गर्ने हो भने ती स्वामित्वका रुपहरुसँग बाँझिन्छन्, जसभित्र अहिलेसम्म तिनको विकास हुँदै थियो । अब यी सम्बन्धहरु उत्पादन शक्तिहरुको विकासको रुपबाट तिनको बन्धन बन्न पुग्दछन् र त्यस बेला सामाजिक क्रान्तिको युग शुरु हुन्छ । आर्थिक आधारमा परिवर्तनको साथै सम्पूर्ण बृहदाकार आधेय (उपरिसंरचना) धेरथोर तीव्र गतिले बदल्न थाल्दछ । यस्ता परिवर्तनहरुको विश्लेषण गर्दा उत्पादनको आर्थिक परिस्थितिको भौतिक रुपान्तरणबाट, जुन कुरा प्रकृति विज्ञानको प्रमाण्यतासाथ ठम्याउन सकिन्छ, न्यायिक, राजनीतिक, धार्मिक, कलात्मक अथवा दार्शनिक, संक्षेपमा, वैचारिक रुपलाई छुट्टयाउनुपर्छ, जसको सीमाभित्र मानिसहरु यस टक्करप्रति सचेत हुन्छन् र त्यसको समाधानको लागि संघर्ष गर्दछन् । जसरी कुनै व्यक्तिले आफूबारे के सोच्दछ भने आधारमा त्यस व्यक्तिबारे विचार बनाउन सकिंदैन, त्यसैगरी यस्तो परिवर्तनशील युगबारे स्वयं त्यस युगको चेतनाको आधारमा कुनै निष्कर्षमा पुग्न सकिंदैन । यसको विपरीत, भौतिक जीवनका अन्तर्विरोधहरुको आधारमा, समाजका उत्पादन शक्तिहरु तथा उत्पादन सम्बन्धहरुको विद्यमान टक्करको आधारमा नै यस चेतनाको व्याख्या गर्नु पर्छ । कुनै पनि सामाजिक व्यवस्था त्यतिञ्जेल नष्ट हुँदैन, जबसम्म ती तमाम उत्पादन शक्तिहरु विकसित हुँदैनन्, जसको लागि त्यसमा पर्याप्त स्थान रहन्छ, त्यस्तै किसिमले नयाँ, बढी, उच्चस्तरीय उत्पादनसम्बन्धहरु त्यतिञ्जेल प्रकट हुँदैनन्, जबसम्म तिनको अस्तित्वमा भौतिक आधारहरु स्वयं पुरानो समाजको गर्भमा परिपक्क हुँदैनन् । त्यसैकारणले मावनजातिले आफूसमक्ष सदा त्यस्तै उद्देश्यहरु मात्रै राख्दछ, जुन त्यसले पूरा गर्न सक्दछ, किनभने बढी गम्भीरतापूर्वक सोचविचार गर्दा हामी सधै के पाउँदछौं भने त्यसैबेला मात्रै स्वयं उद्देश्य प्रकट हुन्छ, जब त्यसको समाधानको लागि आवश्यक भौतिक अवस्था देखा पर्दछ, अथवा कम्तीमा पनि तयार हुने प्रक्रियामा हुन्छ । आम रुपमा एसियाली, प्राचीन, सामन्ती एवं आधुनिक पुँजीवादी उत्पादनप्रणालीलाई समाजको आर्थिक संरचनाको अनुक्रमित युगहरु भन्न सकिन्छ । बुर्जुवा उत्पादन सम्बन्धहरु उत्पादनको सामाजिक प्रक्रियाका अन्तिम विरोधी रुप हुन् –व्यक्तिगत विरोधको अर्थमा होइन, अपितु व्यक्तिहरुको जीवनको सामाजिक अवस्थाबाट उत्पन्न विरोधको अर्थमा, परन्तु यसको साथसाथै बुर्जुवा समाजको गर्भमा विकसित उत्पादन शक्तिहरुले यस विरोधको समाधानको लागि आवश्यक भौतिक परिस्थितिको पनि सिर्जना गर्दछ । त्यसैकारणले यस बुर्जुवा सामाजिक संरचनासँगसगै मानव ससमाजको विकासको प्राक्ऐतिहासिक अध्याय पनि पूरा हुन्छ ।
(कार्ल माक्र्स, राजनीतिक अर्थशास्त्रको समीक्षा–एक प्रयास, रचना संग्रह, खण्ड १३, पृ.६–८)
विचार, धारणा, चेतना आदि कुराको रचना सुरुमा मानिसहरुको भौतिक गतिविधि र भौतिक संसर्गसँग, वास्तविक जीवनको भाषासँग प्रत्यक्ष रुपमा जेलिएको हुन्छ । मानिसहरुको परिकल्पना, चिन्तन तथा बौद्धिक संसर्ग यस चरणमा अझै पनि उनीहरुको भौतिक आचरणकै प्रत्यक्ष परिणामको रुपमा प्रकट हुन्छन् । यही कुरा बौद्धिक उत्पादनमा पनि लागु हुन्छ, जुन रुपमा त्यो कुनै जनताको राजनीति, कानुन, नैतिकता, धर्म, तत्वमीमांस आदिको भाषामा अभिव्यक्त हून्छ । आफना् धारणाहरु, विचारहरु आदिका सिर्जनाकर्ता स्वयं मानिस नै हुन्छ, परन्तु यहाँ त्यो वास्तविक क्रियाशील मानवबारे चर्चा हुँदैछ, जो आफ्नो उत्पादनको निश्चित विकासमा र त्यस विकासको समरुप संसर्गमा, त्यसका दुरतम रुपहरुमा समेत निर्भर हुन्छ । चेतना अनुभवजन्य अस्तित्व सिवाय अरु केही हुन सक्दैन र मानिसको अस्तित्व भनेकै उसको वास्तविक जीवन प्रक्रिया हो । यदि समग्र विचार धारामा मानिसहरु र उनीहरुका बीचको सम्बन्ध कुनै Camera abscura जस्तै उल्टो लाग्न सक्छ भने यो घटना पनि ठीक त्यस्तै किसिमले उनीहरुको जीवनको ऐतिहासिक प्रक्रियाबाट उत्पन्न हुन्छ, जसरी चक्षुपटलमा वस्तुहरुको प्रतिलोमन तिनको शारीरिक जीवन प्रक्रियाले गर्दा हुन जान्छ ।
त्यस जर्मन दर्शनको ठीक उल्टो, जुन आकाशबाट पृथ्वीमा झरेको छ, हामी चाहिं पृथ्वीबाट आकाशतिर लाग्दैछौं, अर्थात् मानिसहरुले के भन्दछन्, के सोच्दछन् र कस्तो कल्पना गर्दछन् भन्ने कुराको आधारमा अगाडि बढ्दैनौं, न त हामी रुपलाई नै आधार बनाएर अगाडि बढ्दछौं, जसमा तिनको वर्णन गरिन्छ, तिनबारे सोचिन्छ, तिनबारे कल्पना गरिन्छ र जुन रुपद्वारा वास्तविक मानवसम्म पुग्न सकिन्छ । हाम्रो लागि त यथार्थ रुपमा क्रियाशील मानिसहरु मात्रै प्रस्थान विन्दु बन्न सक्दछन् र उनीहरुको वास्तविक जीवन प्रक्रियाको आधारमा नै हामी त्यस जीवन प्रक्रियाका वैचारिक प्रतिविम्बहरु तथा प्रतिध्वनिहरुको विकास देखाउँदछौं । मानिसहरुको मस्तिष्कमा उत्पन्न हुने मायाजाल पनि त एक किसिमले अनिवार्य फल नै हो, तिनको भौतिक जीवन प्रक्रियाकै आदर्श रुप हो, जुन अनुभवद्वारा पारख गर्न सकिन्छ र भौतिक पूर्वाधारहरुसँग बाँधिएको हुन्छ । यसै कारणले नैतिकता, धर्म, तत्वमीमांस, बाँकी सबै विचारधारा र तदअनुसार नै चेतनाका रुपहरु पनि स्वतन्त्र हुन सक्दैनन् । तिनको कुनै इतिहास र कुनै पनि प्रकारको विकास हुन सक्दैन । परन्तु आफ्नो भौतिक उत्पादन र भौतिक संसर्गको विकास गर्दै मानिसहरुचाहिं आफ्नो यस वास्तविकताको साथसाथै आफ्नो चिन्तन र आफ्नो चिन्तनका उपजहरुलाई पनि बदल्दै जान्छन् । चेतनाद्वारा जीवन निर्धारित हुँदैन, अपितु चेतना जीवनद्वारा निर्धारित हुन्छ । निरीक्षणको पहिलो विधिमा चेतनाले सजीव व्यक्तिको रुपमा प्रस्थान विन्दुको काम गर्दछ भने दोस्रो विधिमा, जुन वास्तविक जीवनको अनुरुप हुन्छ, स्वयं यथार्थ सजीव मानिसहरुमा आधारित हुन्छ र चेतनालाई केवल उनीहरुकै चेतनाको रुपमा मात्रै हेरिन्छ ।
निरीक्षणको यस विधिको आफ्नै पूर्वाधार नभएको होइन । वास्तविक पूर्वाधारबाट नै यसको आरम्भ हुन्छ र एक क्षणको लागि पनि पूर्वाधारहरु यस विधिबाट अलग्गिँदैनन् । मानिसहरु नै यसका पूर्वाधार हुन्, जो कुनै कपोलकल्पित एकान्त र पृथक कोठामा थुनिएका हुँदैनन्, बरु एक निश्चित अवस्थामा प्रवाहित हुने वास्तविक अनुभवजन्य विकासको प्रक्रियामा भेट्टाइन्छन् । जब यस सक्रिय जीवन प्रक्रियाको चित्रण गरिन्छ, इतिहास निर्जिव तथ्यहरुको संग्रह बन्न छोड्छ, जस्तो अनुभववादीहरु ठान्दछन् (जो आफै अमूर्त छन्) न त त्यो कल्पित मानिसहरुको कल्पित कार्यकलाप नै रहन ज ान्छ, जस्तो भाववादीहरु ठान्दछन् ।
मनगढन्ते कल्पनाको अन्त्य हुन्छ र वास्तविक जीवन शुरु हुन्छ, ठीक त्यही एक वास्तविक सकारात्मक विज्ञानको पनि अभ्यूदय हुन्छ, मानिसहरुको व्यवहारिक कार्यकलापको विकासको व्यवहारिक प्रक्रियाको चित्रण सुरु हुन्छ । चेतनासम्बन्धी खोक्रो कुरा रोकिन्छ र वास्तविक कारणले त्यसको स्थान लिन्छ । जब वास्तविकताको चित्रण गर्न थालिन्छ, तब ज्ञानको एक स्वतन्त्र शाखाको रुपमा दर्शनले आफ्नो अस्तित्व गुमाउँदछ । धेरै भए त्यसको स्थान संग्रहले लिन सक्दछ, जुन मानिसहरुको ऐतिहासिक विकासको प्रेक्षणबाट उत्पन्न हुन्छ । यथार्थ इतिहासबाट पृथक रुपमा यस अमूर्तताको वास्तवमा कुनै पनि मूल्य रहन जाँदैन । ऐतिहासिक सामग्रीको व्यवस्थापन र त्यसका कतिपय शब्दहरुको क्रमिकता निर्धारण गर्न मात्रै यो अमूर्तता काम लाग्न सक्दछ । परन्तु दर्शनशास्त्रको विपरीत यस अमूर्तताले कुनै त्यस्तो नक्सा अथवा रुपरेखा प्रदान गर्दैन, जसले ऐतिहासिक युगहरुलाई आपूmभित्र समेटेको हुन्छ । यसको विपरीत त्यसै बेला मात्रै कठिनाईहरु सुरु हुन्छन्, जब मानिसले सामग्रीहरुको, चाहे ती विगत युगका हुन् अथवा वर्तमान समयका, प्रेक्षण र व्यवस्थापन सुरु गर्दछ, जब त्यसको वास्तविक चित्रण सुरु गर्दछ ।
(कार्ल माक्र्स तथा फ्रिडरिख एंगेल्स, ‘जर्मन विचारधारा’, रचना संग्रह, खण्ड ३, पृ.२४–२६)

