काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी राष्ट्रिय मोर्चा नेपालले अग्रगामी राजनीतिक निकासकोलागि एक जुट हुनु आजको एक मात्र विकल्प रहेको जनाएको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठक पछि मोर्चाका संयोजक सन्तबहादुर नेपालीले २०८२ मंसिर ७ गते एक प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताउनु भएको हो ।वक्तव्यको पूर्ण पाठ यसप्रकार छ । “राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको अनलाइन बैठक यही मिति २०८२ मंसिर ५ गते बस्यो । बैठकले देशमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाको बारेमा छलफल ग¥यो । बैठकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टी नेपाल, नेकपा (मशाल), प्रतिरोध जनअधिकार आन्दोलन लगायतका घटकहरुको तर्फबाट प्रमुख नेताहरुको उपस्थिति रह्यो ।
बैठकमा सुशिला नेतृत्वको कठपुतली सरकारले दिन प्रतिदिन देशमा मुठभेड, अराजकता, स्वेच्छाचारितालाई बढाउने गरको, फागुन २१ मा निर्वाचन गर्ने घोषणा गरेपछि पनि निर्वाचनका निम्ति उपयुक्त वातावरण बनाउन नसकेको र राजनीतिक दलहरुलाई दलीय अधिकारबाट पनि बञ्चित गर्ने जस्ता प्रयास भइरहेको र सामान्य सभा, जुलुसलाई पनि प्रतिबन्ध लगाउने, स्वेच्छाचारी शासन गर्ने, संसद नभएको मौका छोपी गम्भीर प्रकृतिका सन्धि सम्झौता गर्नेगरेको र कतिपय मन्त्रालयमा भ्रष्टाचार हुने गरेको जस्ता बिभिन्न विषयमा बैठकमा छलफल गरियो ।
जेनजी आन्दोलनबाट साम्राज्यवाद तथा विस्तारवादको आड धापमा गठित वर्तमान कठपुतली सरकार पनि विगतको सरकारको निरन्तरता मात्र भएको र यो पनि जनताको जनवादी अधिकार, जनजीविका तथा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताप्रति गैरजिम्मेवार रहेको बैठकले ठहर गरेको छ । आज देशमा जनताका तमाम समस्याहरुको सन्दर्भमा सबैभन्दा प्रमुख समस्या नेपालमाथि अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको बढ्दो हस्तक्षेप नै हो । यसबाट नेपालमा थप नवऔपनिवेशिक शोषण, उत्पीडन बढ्दै जाने र नेपालको अस्तित्वमाथि नै गम्भीरतम संकट आउने खतरा देखिएको छ । यस्तो संगीन अवस्थामा देशका संसदवादी दलहरु गैर जिम्मेवार बन्नु राष्ट्रिय स्वाधीनताप्रति बेखबर हुनु र फागुन २१ गतेको चुनावमा कथित जित हासिल गर्ने विषयमा केन्द्रित हुनुले देशको भविष्य नै थप खतरामा पर्न सक्ने अवस्था छ ।
यस्तो अबस्थामा बढ्दो विदेशी हस्तक्षेपको विरुद्ध आन्दोलन गर्नका लागि साम्राज्यबाद बिरोधी सबै देशभक्त, जनवादी, वामपन्थी क्रान्तिकारी शक्तिहरुले राष्ट्रिय स्वाधीनता, जनताको जनवाद र जनजीविकाको सुनिश्चितताका लागि एउटै मोर्चा निर्माण गर्न पहल गर्नुपर्ने सर्बोपरी आवश्यकता रहेको छ । जेनजी आन्दोलनपछि भएको प्रतिगमन र यथास्थितिका विरुद्ध संघर्ष नगरी जनआन्दोलनका उपलब्धि पनि जोगिन सक्ने छैनन् । त्यसकारण सबै अग्रगामी शक्तिहरु अग्रगामी राजनीति निकासकालागि एक जुट हुनु आजको एक मात्र बिकल्प बन्न पुगेको छ । ”

