काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको घोषित कार्यक्रम अनुसार निर्वाचन बहिस्कारको पर्चा बाँडिरहेको अवस्थामा गिरफ्तार गरिएका पार्टीका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई गैरकानुनी रुपमा थुनामा राखी झुठा मुद्दा लगाउने षड्यन्त्र गर्न थालेपछि सर्बोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ । पूर्णबहादुर खड्काका छोरा भगवान खड्काले पुर्ण बहादुर खड्कालाई बिनाकारण पक्राउ गरी गैरकानूनी थुनामा राखेकोले तुरून्त अदालत समक्ष सशरीर उपस्थित गराई गैरकानूनी थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश माग गर्दै रिट दायर गर्नुभएको हो ।माघ १८ गते उहाँले सर्बोच्चमा निवेदन पत्र पेश गर्नु भएको हो ।
माघ १६गते सिन्धुलीको दुधौली नगरपालीका वडा नं ९ खोरभनुज्याङको एक चिया पसलमा स्थानीय जनतासँग कुराकानी गरेर बसीराखेकै अबस्थामा बिनाकारण प्रहरीले पक्राउ गरेको थियो । हाल नेता खड्कालाई ईलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीको हिरासतमा राखिएको छ । आगामी फाल्गुन २१ गते हुने संसदीय निर्वाचन बहिष्कार गर्नुपर्छ भनी बहिष्कारको पर्चा वितरण गरेकाले उहाँलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
सर्बोच्च अदालतमा पेश गरेको निवेदन पत्रमा उहाँका परिवारलाई सहजरुपमा भेट्न नदिएको, विना पक्राउ पूर्जी , विना आधार, विना कारण गैरकानूनी रुपमा हिरासतमा उहाँलाई राखिएको उल्लेख छ । निवेदन पत्रमा उहाँलाई शारीरिक र मानसिक यातना समेत दिएको आशंका समेत गरिएको छ ।

