काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले एकताको राष्ट्रिय सम्मेलनका निर्णयहरू पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको छ। काठमाडौँस्थित संवाद डबलीमा २०८२ फागुन ६ गते आयोजना गरिएको उक्त पत्रकार सम्मेलनको अध्यक्षता संगठनका नवनिर्वाचित अध्यक्ष महेश श्रेष्ठले गर्नुभएको थियो।
अखिल(क्रान्तिकारी)ले देशको शिक्षा क्षेत्रमा बढ्दो ब्यापारिकरणलाई अन्त्य गर्न संघर्ष गर्ने बताएको छ । बारबरा फाउण्डेसन र अमेरिकी युथ काउन्सिललाई खारेज गर्नसमेत माग गरेको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठले हालै फागनु १ देखि ३ गतेसम्म काठमाडौं भएको एकता राष्ट्रिय सम्मेलनले देशको शिक्षा क्षेत्रको बेथितिविरुद्ध संघर्ष गर्ने निर्णाय गरेका जानकारी दिए । पछिल्लो समयमा द ब्रिटिश कलेज लगायतका विदेशी सम्बन्धन प्राप्त कलेजहरुले विभिन्न सपना देखाएर विद्यार्थीलाई ठगेको भन्दै आक्रोश व्यक्त गरे । “नेपालको ऐन–कानून भन्दा माथि रहेर सञ्चालित विदेशी सम्बन्धन प्राप्त कलेजहरु बन्द नगरिए हामी कारवाही गर्छौं” श्रेष्ठले भने । उनले सेना दिवसको अवसरमा टुडिखेलमा अमेरिकन सेनाको परेडले देशको स्वाधीनता र सर्वभौमसत्तामाथि ठाडो हस्तक्षेपको संकेत गरेको बताएका छन् । उपाध्यक्ष नेत्र शाहीले अखिल (क्रान्तिकारी) टुटफुट र विभाजन मात्रै नभएर एकता हुन पनि जान्छ भन्ने सन्देश दिएको बताए ।
महासचिव नविन खड्काले एकता राष्ट्रिय सम्मेलनले पारित गरेका निर्णयहरु बाचन गर्दै समग्र शिक्षा क्षेत्रमा व्याप्त बेथितिविरुद्ध आफ्नो संगठनले संघर्ष गर्ने बताए । खड्काले प्रिमियर, युलेन्स र विदेशी सम्बन्धन कलेजहरु नेपालको ऐन–कानूनभन्दा बाहिर रहेर सञ्चालन गरिरहेको जनाउँदै उनीहरु तत्काल नसच्चिए कारबाही गर्ने चेतावनी दिए ।
सचिव दिनेश जोशीले शिक्षालाई देशको मौलिकता अनुसार परिमार्जित गर्नुपर्ने धारणा राखे । सचिव प्रवेश रुम्बा शिक्षा क्षेत्रमा भएका विकृति विसंगतिहरु नसच्याए शैक्षिक माफियाहरुका विरुद्ध संघर्ष गर्ने चेतावनी दिए ।
सचिव नरबहादुर कुमालले फागुन २१ मा हुने निर्वाचन वहिस्कार गर्ने बताउँदै भने,“देश जलाउने र जनताका छोराछोरी मार्नेहरुले चुनावी नौटंकी गरिरहेकोले हामी यसको सशक्त बहिस्कार गर्छौं ।”
कोषाध्यक्ष लक्ष्मण विकले देशमा बढ्दो शैक्षिक व्यापारिकरणलाई अन्त्य गर्नुपर्ने धारणा राखे । संगठनले चुनाव वहिस्कारको आन्दोलनमा रहेका धर्मेन्द्र बास्तोला, ऋषि कट्टेललगायत देशभरीका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई तत्काल स–सम्मान रिहा गर्न माग गरेको छ । साथै संगठनले वर्तमान निर्वाचनमार्फत देशले राजनीतिक निकास नपाउने तथा वैदेशीक हस्तक्षेप बढ्ने ठहर गर्दै, स्वाधीन संयूक्त सरकार निर्माण गरी जनसंविधान लागु गरी गरिने बताएको छ ।
पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस वक्तव्य यसप्रकार छ–
१) हाम्रो महान तथा गौरवशाली संगठन अखिल क्रान्तिकारीको एकता राष्ट्रिय सम्मेलन २०८२ फागुन १ गतेदेखि घ गतेसम्म काठमाडौँमा सम्पन्न भयो। संगठनका तत्कालीन संयोजक महेश श्रेष्ठको अध्यक्षता र तत्कालीन कार्यालय सदस्य नवीन खड्काको सञ्चालनमा उद्घाटन सत्र सम्पन्न भएको छ। संगठनका तत्कालीन सचिवालय सदस्य तथा अध्यक्ष मण्डलका अध्यक्ष कमरेड लक्ष्मण बिकको अध्यक्षतामा बन्द सत्र सम्पन्न गरियो । हाम्रो मातृ पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव तथा उद्घाटन समारोहका प्रमुख अतिथि कमरेड सीपी गजुरेल गौरवले एकताको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको थियो।उद्घाटन कार्यक्रममा पार्टी स्थायी समिति सदस्यहरू रामसिंह श्रीस ,हेमन्त प्रकाश ओली ,हरिभक्त कडेल, सन्तबहादुर नेपाली, कृष्णराज पौडेल, सिताराम तामाङ ,पोलिट ब्युरो सदस्य तथा सहि‘‘‘।। परिवारको तर्फबाट दिनेश शर्मा ,पोलिट ब्युरो सदस्य चिन्तामणि पौडेल, जवस मोर्चाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रह्यो। देशभरिबाट उपस्थित प्रतिनिधि पर्यवेक्षक कामरेडहरूको सहभागितामा सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्व, पारित नयाँ नीति,योजना तथा कार्यक्रमहरुको सार्वजनिकीकरणका लागि यो प्रेस वक्तव्य जारी गरिएको छ ।
२) एकता राष्ट्रिय सम्मेलनले राजनीतिक प्रतिवेदन पारित गरेको छ जसअनुसार अनेरासेको क्रान्तिकारीले दलाल पुजीवादी शिक्षाको विकल्पमा जनवादी वैज्ञानिक समाजवादी शिक्षा प्रणालीका लागि संघर्ष गर्ने निर्णय‘।। यसको साथै विधान पारित गरेको छ।यसको साथै विधान पारित गरेको छ।
३) एकताको राष्ट्रिय सम्मेलनद्वारा तपसिल अनुसारको केन्द्रीय सभापति तथा ६५ केन्द्रीय पदाधिकारी तथा ६५ सदस्य केन्द्रीय समिति निर्वाचित गरेको छ। केन्द्रीय जस गरिएको छ। जसअनुसार अध्यक्ष अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष नेत्र शाही ,महासचिव नवीन खड्का ,सचिवहरू नरबहादुर कुमाल, प्रवेश रुम्बा, दिनेश जोशी, प्रतिभा पौडेल ,ईश्वर सिंह साउद, संग्राम भ्यू थापा, नवराज बि.क., कोषाध्यक्ष लक्ष्मण बि.क., केन्द्रीय सदस्यहरु सविन खड्का, निर्मला लुहार, लक्ष्मण बम, प्रकाश बि.क., गणेश हिरोजक, सागर कार्की, देवेन्द्र धामी, बन्दना खड्का, देवेन्द्र शाही ,विष्णु थापा ,हेमन्त डाँगी, मनोज अर्याल, पावेल राई, मनबिर कुमाल, सूर्य बिक, गिनिज बुढा, सुजन बोहरा, रबिया खातुन, इशान महर्जन, बेबिन बुढाथोकी, सुजाता बिष्ट,नितम खड्का, सुमन राउत, शक्ति बि.क., सन्देश परियार , टेकबहादुर के.सी., सक्षम बि.क., जीवन अधिकारी रहनुभएको छ ।
४)समसामयिक प्रस्ताव
१. दलाल संसदीय व्यवस्थाको विकल्पमा जनवादी वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न सङ्घर्ष गर्ने
२. शिक्षामा निजीकरण व्यापारीकरणको अन्त्यका साथै शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्ने सुनिश्चितता र शिक्षालाई उत्पादन र श्रमसँग जोड्ने नीतिसहितको शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गर्ने
३.साम्राज्यवादी देशहरूले साना र कमजोर मुलुकमा गरिरहेको अन्यायपूर्ण हस्तक्षेप र उत्पीडनको घोर विरोध गर्दै संसारभर श्रमजीवी र उत्पीडित जनताको पक्षमा भइरहेको सम्पूर्ण क्रान्तिकारी संघर्षको दृढ समर्थन गर्ने
४.रुस युक्रेन युद्ध र मध्यपूर्वको युद्ध तत्काल रोकी मानव जीवन र प्रकृतिको रक्षा गर्न जोडदार माग गर्दछौं र यी दुवै युद्धमा अमेरिकी साम्राज्यवादले खेलेको भूमिकाको आलोचना गर्नुका साथै कडा विरोध गर्दछौँ।
५. नेपालको राष्ट्रियता र सार्वभौमिकता समेत खतरामा पर्ने गरी अमेरिकी सैन्य रणनीति इन्डोप्यासिफिक रणनीति अन्तर्गतको राष्ट्रघाती एमसीसी सम्झौता लगायत विगतमा गरिएका सम्पूर्ण राष्ट्रियता विरोधी अन्यायपूर्ण र असमान सन्धि सम्झौता खारेज गर्न जोडदार माग गर्दछौं।
.६ं. जनवादी –वैज्ञानिक समाजवादी शिक्षा जनगणतन्त्र र वैज्ञानिक समाजवादी व्यवस्थामा मात्रै प्राप्त गर्ने हुँदा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा दृढतापूर्वक लामबद्ध हुन आम विद्यार्थीलाई अपिल गर्दछौं।
७. माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षा निःशुल्क हुनुपर्ने विषयलाई पूर्ण कार्यान्वयन गर्न र अनिवार्य समेत गर्न जोडदार माग गर्दै शिक्षामा भएको विभेदको अन्त्य गरी समान शिक्षा लागू गर्न माग गर्दछौं।
८. विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म भइरहेको भइरहेको राजनीतिक भागबण्डाको पूर्ण अन्त्य गर्न जोडदार माग गर्दछौँ।
९. मेडिकल शिक्षामा भएको मेडिकल माफियाको दादागिरी अन्त्य गरी सरकारको लगानीमा मेडिकल कलेजहरूको विस्तार गर्न जोडदार माग गर्दछौं।
१०. शिक्षाका नाममा भइरहेको प्रतिभा र पुँजीपलायन हुनबाट रोक्न एन.ओ.सी. स्नातक गरेपछि मात्र दिने आवश्यक व्यवस्था गर्न माग गर्दछौं।
११. लिपुलेक, लिम्पियाधुरा सुस्ता लगायत देशैभर भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्ता गरी सिमानामा काडे तारा लगाउन र खुला सिमाना बन्द गर्न जोडदार माग गर्दछौं।
१२. बढ्दो छात्रा हिंसा नियन्त्रण गर्न, कथित सुन्दरी प्रतियोगिता खारेज गर्न र छात्रा सशक्तिकरण कार्यक्रम हरेक शिक्षालयमा सञ्चालन गर्न जोडदार माग गर्दछ साथै लागू पदार्थ दुव्र्यसनीको महामारी नियन्त्रण गर्न जोडदार माग गर्दछौं।
१३. बढ्दो महङ्गी नियन्त्रण गर्न र ग्यास पेट्रोलियम पदार्थ यातायातमा विद्यार्थीलाई दिने भनी सम्झौता भएको सहुलियत पूर्णरूपमा कार्यान्वयन गराउन माग गर्दछौं।
१४. मिटर सहकारी पीडित लगायत वित्तीय शोषणमा परेका सम्पूर्ण नागरिकलाई न्याय दिन र दोषीलाई कारबाही गर्न हामी जोडदार माग गर्दछौं।
१५. यो एकताको राष्ट्रिय सम्मेलन राष्ट्रिय खेलाडीहरूमा महिला र पुरुषको बीच विभेद नगर्न र पर्याप्त सेवा सुविधा तलब र भत्ताको व्यवस्था गर्न जोडदार माग गर्दछौं।
१६.पर्यावरण विनाशका कारण भइरहेको जलवायु परिवर्तनले उत्पन्न भएको समस्या र संकटहरूको सम्बन्धमा विश्व मानव समुदायको ध्यान आकर्षित गर्दछौं साथै पर्यावरणको रक्षाको लागि एकजुट भई लड्न सम्पूर्ण मानव समुदायलाई अपिल गर्दछौं ।
१७. यो एकताको राष्ट्रिय सम्मेलन राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको बेला सबै देशभक्त, क्रान्तिकारी, वामपन्थी विचार राख्ने पार्टी, समूह, युवा, विद्यार्थीहरुलाई एक ठाउँमा आएर राष्ट्रिय स्वाधीनताको आन्दोलन अगाडि बढाउन अपिल गर्दछ।
१८. राष्ट्रघाती, गैरसरकारी संघसंस्थाहरू बारबरा फाउन्डेसन ,अमेरिकी युथ काउन्सिल लगायतको खारेजी गर्न जोडदार माग गर्दछौं।
१९. शिक्षक आन्दोलनले उठाएका जायज मागहरू पूरा गर्न जोडदार माग गर्दछौं।
२०. जेन जेड विद्रोहमा ज्यान गुमाउने विद्यार्थीहरू प्रति यो सम्मेलन भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र घाइते योद्धाहरुलाई स्वास्थ्य लाभको कामना गर्दछ। आन्दोलन दुरुपयोग गरी तोडफोड ,आगजनी र लुटपाट गर्नेलाई कारबाहीको माग गर्दछ।
२१. सेना दिवसका अवसरमा अमेरिकी सेनाको उपस्थितिप्रति हाम्रो संगठन आपत्ति प्रकट व्यक्त गर्दछ।
२२. राज्यद्वारा बेपत्ता पारिनुभएका तत्कालीन संगठनका महासचिव पूर्ण पौडेल, विपिन भण्डारी, नवीन राई, दिलबहादुर राई लगायतका सम्पूर्ण बेपत्ता योद्धाहरूको स्थिति सार्वजनिक गर्न यो सम्मेलन जोडदार माग गर्दछ।
२३. यही२०८२ फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचन कठपुतली सरकारको आयोजनामा हुने भएकोले उक्त निर्वाचन बहिष्कार गर्नु जनताको लागि उपयुक्त हुनेछ।
२४ जनयुद्धका महान् सहिद दिलबहादुर रम्तेल, बेनोज अधिकारी, एकीकृत जनक्रान्तिका महान सहिद कमरेड प्रज्वल शाही लगायत सम्पूर्ण महान सहिदहरू र नेपाली विद्यार्थी आन्दोलनका सम्पूर्ण सहिदहरुप्रति यो सम्मेलन उच्च सम्मान सहित भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछ ।
२५. यो एकताको राष्ट्रिय सम्मेलन प्रमुख अतिथि, अतिथि, स्थानीय पार्टी, स्वयंसेवक व्यवस्थापन, कलाकार, प्रतिनिधि, पर्यवेक्षक तथा सम्मेलन सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता पत्रकार सबैलाई हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्दछौं ।
अन्तमा , सम्मेलनलाई भव्य र ऐतिहासिक रुपमा सफल बनाउन सम्मेलन उद्घाटनदेखि अन्तिमसम्म सहभागिता जनाउनु हुने पार्टीका स्थायी समिति सदस्य हरिभक्त कडेल , पार्टी केन्द्रीय सदस्य तथा रुकुम पश्चिम सेक्रेटरी कमरेड मोतीराम खड्का, सम्मेलन व्यवस्थापनमा अहोरात्र खटिनु हुने पार्टीका ९ नम्बर ब्युरो र काठमाडौँ जिल्ला कृष्णसेन इच्छुक प्रतिष्ठान परिवार र कमरेड जय दाहाल लगायत सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । आफ्नो अमूल्य समय छुट्याएर सम्मेलनमा सहभागी हुने प्रतिनिधि, पर्यक्षक , अतिथि कामरेडहरू, पत्रकार मित्रहरुलाई विशेष धन्यवाद। सम्मेलन सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरूमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं । नेपालको क्रान्तिकारी विद्यार्थी आन्दोलनमा रहेको त्याग, समर्पण, बलिदान र संघर्षको विरासतलाई कायम राख्दै निरन्तर परिवर्तनकारी संघर्षका मोर्चाहरुमा अग्रपंक्तिमा उभिने प्रतिबद्धता व्यक्त गर्दछौं । क्रान्तिकारी अभिवादन सहित !
मितिः २०८२ फागुन ६ गते महेश श्रेष्ठ
अध्यक्ष


