काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले जनक्रान्तिले मात्र देशमा शान्ति स्थापना गर्न सक्दछ भन्नुभएको छ । गत श्रावण ७ गते राजधानीको संवाद डबलीमा ‘राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल’द्वारा आयोजित कार्यक्रममा पार्टीको तर्फबाट बोल्दै श्रीसले उक्त विचार प्रकट गर्नु भएको हो । शान्तिलाई वर्ग सापेक्षमा बुझ्नु पर्ने बताउँदै श्रीसले भन्नुभयो , “साम्राज्यवादले युद्ध मात्रै थोपर्ने हो, शान्ति स्थापना गर्न सक्दैन, त्यो कार्य केबल कम्युनिस्टहरुबाट मात्रै सम्भव छ ।” श्रीसले अगाडि थप्नुभयो ,“ साम्राज्यवाद पालेर , साम्राज्यवाद राखेर विश्वमा कहिँ पनि शान्ति आउँछ भनिन्छ भने त्यो हाम्रो दिवा सपना मात्रै हो। साम्राज्यवाद भनेको को हो ? अमेरिकी साम्राज्यवाद हो। अमेरिकी साम्राज्यवादको पालनपोषणमा बाँचेको संयुक्त राष्ट्र संघले यहाँको जनताको आन्दोलनलाई सहयोग गर्ला ? त्यो सम्भव छैन । हामीले जनतालाई जागरुक बनाएर जव जनआन्दोलनलाई अगाडि बढाउछौं ,जब हामीले जनविद्रोह वा जनक्रान्तिलाई सशक्त रुपले अगाडि बढाउन सक्छौं त्यसले मात्र देशमा शान्ति स्थापना गर्न सक्दछ। तसर्थ हामीले भन्नेगरेका छौँ क्रान्तिपछि शान्ति स्थापना हुन्छ अर्थात् क्रान्तिले शान्ति ल्याउँछ । यसरी नै हामीले क्रान्तिको कार्यदिशा निश्चित गर्नुपर्दछ। यदि हामीले क्रान्तिका कुरालाई छोडेर शान्तिका कुरा मात्रै गर्यौ भने घुमाइफिराई हामी तिनै साम्राज्यवादीहरूको जन्जालमा फस्न पुग्नेछौं। सबै उत्पीडनमा परेका किसान मजदुर लगायत सम्पूर्ण शोषित पीडित वर्गलाई एकगठ बनाउँदै ,जागरुक बनाएर मुख्य समस्या साम्राज्यवाद हो र यहाँ हामीले फेस टु फेस साम्राज्यवादका दलालहरुसँग संघर्ष गर्नुपर्छ । ”

