ट्रेड युनियनको पर्चा

अखिल नेपाल ट्रेड युनियन
काठमाडौं जिल्ला संगठन समितिको आह्वान !
विश्वभरीका सम्पूर्ण मजदुरहरु एक हांै !
“मजदुर एकता जिन्दावाद ! ”
आज हाम्रो देशमा मजदुरको स्थिति अत्यन्तै नाजुक अवस्थामा पुगेको छ । विश्वको आर्थिक अवस्था तथा विज्ञानको दु्रत विकासको तुलनामा मजदुरको स्थिति मजबुत हुनुपर्नेमा झन बढी शोषण, अन्याय, अत्याचारहरु बढ्दै गइरहेका छन् । मजदुरको कुनै ग्यारेन्टी छैन । न्यूनतम ज्यालाको व्यवस्था छैन । मजदुरमाथि यस्तो व्यवहार गरिन्छ कि मजदुर मान्छे नभएर, ऊ पशु हो । मजदुरको ज्यानको समेत सुरक्षा छैन । मजदुरले कतै पेशा पाए पनि जति ज्याल पाउँछ । त्यसले परिवारको लागि त परै जाओस्, आफूले मात्र जिउन पनि धौ धौ पर्दछ । ठूला साना कारखानाहरुमा, मालिकहरुले आफ्नो नाफाको लागि मजदुरमाथि काम गर्ने अन्तर्राष्ट्रिय नियम ८ घण्टा भन्दा बढी काम गराई समय भन्दा पहिले नै मृत्युको मुखमा पु¥याउने जस्ता अत्यन्तै निचतम व्यवस्था कायम गरेको छ । जसले गर्दा अकालमै आफ्नो जिन्दगी गुमाउनु परिरहेछ कल कारखाना नाफामा पुगे पनि बोनसको व्यवस्था हँुदैन ।मजदुरहरुको लागि औषधिको व्यवस्था छैन कारखानाको कामले अपांग भएकालाई जीवन निर्वाहको कुनै व्यवस्था छैन । न्यायोचित माग गर्दा एकातिर देशको कानुनले जेलमा कोचिदिन्छ भने अर्को तिर कारखानाका मालिकहरुले पेशाबाट बर्खास्त गरिदिन्छ । देशको कानुन व्यवस्था मजदुरको हितको लागि नभएर अन्यायी, अत्याचारी, लुटपाट गर्ने नाफाखोरी कालो बजारी गर्ने कारखानाका मालिकहरुको लागि भएको छ । सरकार मजदुर हितको पक्षमा हुनुको सट्टा उल्टै मजदुरमाथि शोषण, अत्याचारमा लागेको छ र त्यसलाई प्रोत्साहन दिन संलग्न रहेको छ । के माथिका दयनीय अवस्थाबाट हामी अलिकति पनि सास फेर्न सक्दैनौं ? के हामी मानिस भएर बाँच्न सक्दैनौं ? के हामीलाई नागरिक भएर बाँच्ने अधिकार छैन ? के यो देश हाम्रो होइन ? यहाँका कलकारखाना उद्योगधन्दाहरु विल्डिङ, बाटो, सडक हाम्रो पाखुरीबाट तयार भएका होइनन्? यो देश हाम्रो हो । यहाँका सम्पूर्ण उत्पादनहरु हामीबाट भएको हो । हाम्रो रगत र पसिनाले सिंचेको देश हाम्रो हो । हामी मानव समाजमा जन्मेका नागरिक हौं । हामीलाई नागरिक भएर बाँच्ने अधिकार छ । हाम्रा दुई पाखुरीले तयार गरेका वस्तुहरुको समान उपभोग गर्ने हामीलाई अधिकार छ ।
सम्पूर्ण मजदुरसाथीहरु
के होटल, के यातायात, छाला, के सिलाई, के धातु, के कलकारखाना सम्पूर्ण ठाउँमा काम गर्ने हामी मजदुरहरुको हक र इज्जत खोसिएको छ । हाम्रो संगठनको आवाजलाई बन्द गराइएको छ हाम्रा रगत र पसिना चुसिएको छ हामीमाथि जिउँदै हत्या गरिएको छ । हामीमाथि भएका अत्याचारको बोध हामीलाई भएको छैन ? के माथि भएको अत्याचारले सिमा नाघी सकेको छैन र ? हामीमाथि कति निचतम अत्याचार भएको छ, हामीमाथि पशु तुल्य व्यवहार भएको छ , हामीमाथि संगठित हुने अधिकार खोसिएको छ भन्ने हामीलाई थाहा छ । त्यसैले
– अखिल नेपाल टे«ड युनियन आह्वान गर्दछ,
–हामी मजदुरको अधिकारको लागि,
– हामीमाथि भएको अन्याय, अत्याचारको विरुद्ध,
–हाम्रो हित अनुकूलको कानुनी व्यवस्थाको लागि,
–हामीमाथि अन्यायी तथा अत्याचारी सम्पूर्ण काला कानुन तथा व्यवस्थाको विरुद्ध
– हाम्रो जिउँ ज्यान तथा बालबच्चाको सुरक्षाको लागि
– – हाम्रो आफ्नै “स्वतन्त्र मजदुर संगठन” खोल्नको लागि
– सम्पूर्ण होटल, थांका सिलाई, कलकारखाना, प्रेस, ठेला गाडा, रिक्सा, गलैंचा, स्वीटर ज्यामी, खेत मजदुर, यातायात उद्योग आदि मजदुरहरु एकताबद्ध भई संघर्षका लागि अघि बढौं । मजदुरको एकताले नै अन्याय, अत्याचारी माथि विश्वव्यापी विजय सम्भव छ ।
– आज मजदुरहरुबीचको एकता भाँड्न, मजदुरमाथि अन्याय, अत्याचार कायमै राख्न, मालिकहरुले मजदुरमाथिको शोषण कायम राख्न मजदुर एकताको नाममा सरकारले कथित “नेपाल मजदुर संगठन” जस्ता मजदुर विरोधी संगठन खोलेर हामीलाई फुटाउने काम गरिरहेको छ । हामीहरु भ्रममा नपरौं किनकि यो सरकारी संगठन मजदुरको हितमा काम नगरेर कलकारखानाका नाफाखोरी मालिक र ती मालिकलाई संरक्षण गर्ने सरकारको हितमा काम गर्ने संगठन हो । यस संगठनको भ्रममा नपरी सही संगठनमा एकताबद्ध भै आफ्नो हक अधिकारको लागि संघर्ष गर्न आह्वान गर्दछ ।
– हामी पनि देशको नागरिक भएकोले देशको नाजुक अवस्थाबाट अलग हुन सक्दैनौं । हामी किसानसँग काँधमा काँध मिलाएर आ–आफ्नो अधिकारको लागि संघर्ष गर्न तयार छौं । यसै सिलसिलामा हालै सिन्धुलाल्चोक जिल्लाको पिस्करमा यस फासिष्ट सरकारले कैयौं किसानहरुमाथि गोली चलाई स्वेत आतंक मच्चाइरहेको छ । यसको हामी घोर भत्र्सना गर्दै तुरुन्त न्यायिक जाँच गरी त्यहाँ गरिएको सरकारी आतंक बन्द गरी निरपराध जनताहरु बन्दी बनाइएकोमा तुरुन्त रिहाईको लागि आवाज उठाउन सम्पूर्ण देशभक्त, जनतान्त्रिक, प्रगतिशील तथा वामपन्थी संगठनहरु तथा सम्पूर्ण जनवर्गीय संगठनहरुलाई आह्वान गर्दछौं ।
– यसको साथै आफ्नो आफ्नो क्षेत्रमा देशका विभिन्न भागबाट सम्पूर्ण मजदुरको आफ्नो अधिकारको लागि आवाज उठाई न्यायोचित मागहरु पूरा गराउन गरिएको संघर्ष प्रति यो सगठन अखिल नेपाल टे«ड युनियन सक्रिय समर्थन र सहयोग गर्दछ ।
– अन्तमा यो अखिल नेपाल ट्रेड युनियन फेरि पनि यो देश मजदुरको पनि हो , मजदुर माथि भएका सम्पूर्ण अन्याय विरुद्ध संघर्ष गर्न, सम्पूर्ण मजदुरको स्वतन्त्र मजदुर संगठन निर्माणका लागि संघर्ष गर्न, सम्पूर्ण तप्काका मजदुरहरु एक भै यस संगठनको झण्डामुनि गोलबन्द हुन क्रान्तिकारी आह्वान गर्दछ ।
“मजदुर एकता जिन्दवाद ”
अखिल नेपाल टे«ड युनियन, काठमाडौं जिल्ला संगठन समिति
(नोटः अखिल नेपाल टे«ड युनियन काठमाडौं जिल्ला संगठन समितिले २०४० माघ २३ गते प्रकाशित गरेको यस पर्चालाई हाँक साप्ताहिक (वर्ष १, अंक १६, २०४० फागुन ३ गते) मा प्रकाशित गरिएको थियो । )

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित