काठमाण्डौ । परराष्ट्र मन्त्रालयले पश्चिम एसिया क्षेत्रमा कार्यरत नेपाली नागरिकहरुको सुरक्षा ,तथा कल्याणकोलागि परराष्ट्र मन्त्रालय र नेपाली नियोगहरुको समन्वय निरन्तर जारी रहेको बताएको छ । २०८२ फागुन २४ गते एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सो कुरा बताएको हो । मन्त्रालयले पश्चिम एसिया क्षेत्रका अधिकांश स्थानमा हवाई उडानहरू पूर्ण रूपमा नियमित नभए पनि केही स्थानबाट सीमित रूपमा सञ्चालन भइरहेको जनाउँदै संयुक्त अरब इमिरेट्स (युएइ) मा ँथिमगदबष् र ब्ष्च ब्चबदष्ब का सीमित उडानहरू सञ्चालनमा रहेको बताएको छ र दुबई विमानस्थलमा अस्थायी अवरोधपछि उडान पुनः सञ्चालनमा आएको उल्लेख गरेको छ ।मन्त्रालयले त्यसैगरी साउदी अरेविया र ओमानतर्फ हवाई सेवा हाल पुनः सञ्चालनमा रहेकाले इच्छुक नेपाली नागरिकले त्यहाँबाट पनि हवाई यात्रा गर्न सक्ने बताएको छ ।
इरानमाथि अमेरिकी र इजरायली संयुक्त हमला पछि त्यसको विरुद्धमा इरानले खाडी तथा मध्यपूर्वका देशहरुस्थित अमेरिकी बेसक्याम्प र नियोगहरुमा आक्रमण तीव्र बनाएको छ । आक्रमणमा नेपाली मजदुरहरुको अवस्था के हुने भनेर चासो र चिन्ता बढिरहेको छ । द्वन्द्वरत पक्षहरुले युद्धलाई रोक्ने निर्णय नगरेसम्म युद्धको रुप कुन स्तरमा विकास हुन्छ ? भन्ने कसैलाई थाहा छैन । युद्ध अझै कति दिन लम्बिन्छ भन्ने कुनै सीमा छैन । यो अवस्थामा त्यो क्षेत्रमा कार्यरत १९ लाख नेपाली मजदुरहरुको उद्धार ,राहत सकुशल स्वदेश फिर्ताको मागहरु पनि उठिरहेको छ ।
मन्त्रालयले नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरू पूर्ववत रूपमा खुला रहेकोले राहदानी लगायत अत्यावश्यक कार्यका लागि सेवाग्राहीहरूले नियोगले उपलब्ध गराएका फोन नम्बर वा इमेलमा सम्पर्क गरी समय मिलाएर नियोगमा जान सक्ने विज्ञप्ति मार्फत सबैमा अनुरोध गरेको छ । त्यसैगरी हवाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित उडान कम्पनीहरू, निकायहरू र नियोगहरूका सूचनाहरू हेरी आवश्यक जानकारी प्राप्त गर्न उक्त क्षेत्रका धेरैजसो मुलुकका सम्बन्धित निकायहरूले सुरक्षा सावधानीका उपाय तथा सचेतनामूलक जानकारीहरू दैनिक रूपमा अद्यावधिक गरिरहेको स्मरण गराउँदै स्थानीय सरकार तथा नेपाली नियोगहरूले जारी गरेका सूचना, जानकारी, सावधानीका उपायहरू तथा समाचारहरूबारे जानकार रहन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालय पश्चिम एशिया क्षेत्रमा रहनुभएका सबै नेपाली नागरिकहरूलाई यस विषम परिस्थितिमा संयमित, सचेत र सजग रहन र कानून विपरीत हुने किसिमका फोटो, भिडियो वा अडियो सामग्रीहरू रेकर्ड गर्ने र आदान–प्रदान गर्ने कार्य नगर्नु हुन विशेष आग्रह गरेको छ । पश्चिम एसियामा रहेका नेपाली नागरिकहरूको अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागद्वारा सञ्चालनमा ल्याइएको अनलाइन दर्ता प्रणालीमा २४ गते साँझसम्म ५४,७८६ जना नेपाली नागरिकहरूले आफ्नो विवरण दर्ता गरिसकेको पनि मन्त्रालयले जानकारी गराएको छ ।
द्वन्द्वरत मुलुकमा नेपालीहरुको सुरक्षा तथा कल्याणकोलागि समन्वय जारी
Comments

