अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलन गत चैत्र १९ गतेदेखि २३ गतेसम्म भारतको गोरखपुरमा भव्यताका साथ सम्पन्न भएको छ । १९ गते विहानैदेखि सारा कार्यकर्ताहरु सम्मेलनस्थल सिंगारपटार गर्न लगाएका थिए । अखिलका रक्तरंजित झण्डाहरु फरफराएका थिए । पंचायती व्यवस्था मूर्दावाद नारा घन्किएको थियो । सम्मेलन स्थल बडो सोभायमान देखिन्थ्यो । सम्मेलनका सहभागीहरु जोस जाँगर र उमंगले भरिएका देखिन्थे ।
६१ जिल्लाबाट प्रतिनिधित्व भएको अनेरास्ववियुको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन वयोवृद्ध वामपन्थी नेता, २००४ सालको जयन्तु संस्कृतम आन्दोलन तथा टंक भूसाल हत्याकाण्डका संघर्षरत खुविराम आचार्यले गर्नु भएको थियो । उहाँले सम्मेलनका सहभागीहरुलाई झन् दरिलो आँट प्रदान गर्दै पंचायती व्यवस्था ध्वस्त पार्न अपिल गर्नुभयो । अभानेवि संघका अध्यक्ष तारानाथ पाण्डेले नेपालीहरु विदेशिनु परेको र विदेशिनु पर्दा पर्दै पनि एकत्रित भएको कुरा बताउँदै संगठनभित्र घुस्न सफल भएका पंचायत तथा कांग्रेसपरस्त तत्वहरुको विरुद्ध संघर्ष गर्ने अपिल गर्नु भयो ।
त्यसैगरी आर.एस.यु.का प्रतिनिधिले विश्वमा भएका विभिन्न कुराहरु माथि प्रकाश पार्दै नेपाली जनतालाई मौलिक हकबाट बञ्चित गरेको कुरा बताउनुभयो । कार्यक्रमको सिलसिलामा बोल्ने वक्ताहरुमा किसान कार्यकर्ता शंकर राम दयाल, कोमल धिताल, युवक संगठनको तर्फबाट किसुन मण्डल, अखिल भारत नेपाली एकता समाजका अध्यक्ष गोविन्द थापा, वामपन्थी युवक मोर्चाको तर्फबाट प्रभात, भू.पू. उपाध्यक्ष टंक के.सी., गोखरपुर इकाईबाट घनश्याम भूसालले बोल्नु भएको थियो । उक्त दिन सांस्कृतिक टोलीले बीचबीचमा गाएको क्रान्तिकारी गीतले दर्शकहरुलाई उत्तेजित पारेको थियो । कार्यक्रमको बीच बीचमा कविता र सम्मेलनको सफलताको लागि जनसांस्कृतिक मञ्च, श्रमजीवि पत्रकार संघ, शिक्षक संगठन लगायत स्व.वि.यु. र अन्य जनवर्गीय संगठनले पठाएका शुभकामना सन्देशहरु पढेर सुनाइएको थियो ।
चैत्र २० गतेको कार्यक्रमको अध्यक्षता सम्मेलनको उपाध्यक्ष श्री लेखनाथ पोखरेलले गर्नु भएको थियो । सो कार्यक्रमको उद्घोषण ताराकान्त पाण्डेले गर्नु भएको थियो । यस कार्यक्रममा सबै जिल्लाबाट आएका प्रतिनिधिले आ–आफ्नो जिल्लाको विविध स्थितिबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा अनेरास्ववियुको ऐतिहासिक पृष्ठभूमिमाथि प्रकाश पार्दै केन्द्रीय कोषाध्यक्ष रमनकुमार श्रेष्ठले बताउनुभयो । महिला कार्यकर्ता प्रभा श्रेष्ठले महिलाको स्थितिबारे प्रष्टाउँदै विदेशी साम्राज्यवाद र घरेलु प्रतिक्रियावादको विरुद्ध निरन्तर जोडदार संघर्ष गरेर यिनीहरुको अन्त्य नगरेसम्म मुक्त नहुने कुरा बताउनुभयो ।
पन्जाव युथ कम्युनिस्ट लिगका कोषाध्यक्षले दुई संगठन बीचमा व्यापक रुपमा सम्बन्ध कायम हुँदै जाने कुरामाथि प्रकाश पार्नुभयो । आफ्नो वक्तव्यको बीचमा उहाँले अनेरास्ववियुभित्र पस्न सफल भएका दक्षिणपन्थी तत्वहरुको विरुद्ध दृढ एवं जोडदार संघर्ष निरन्तर चलाउनुपर्ने कुरामा पनि जोड दिनुभयो ।
मासलाइनका प्रतिनिधिले सम्मेलन सफलताको कामना गर्दै बोल्सेभिक पार्टीको इतिहासलाई अवलम्बन गर्दै संगठन निर्माण गर्दै जानुपर्ने तथा मजदुर किसानको बीचमा सम्बन्ध गर्दै जानुपर्ने कुरामा जोड दिनुभयो । पंजावका अजाव सिंहले सम्मेलन सफलताको कामना गर्दै अन्तर्राष्ट्रिय स्थितिको बारेमा बोल्नु हुँदै क्रान्तिकारी दिशाविहीन हुन नदिन सबैको दायित्व रहेको कुरा माथि प्रकाश पार्नुभयो । अन्त्यमा भाइचारा संगठनहरु बीचमा आपसी सम्बन्ध कायम गर्दै लैजानुपर्ने आवश्यकता माथि जोड दिनुभयो । बलरामपुरका प्रतिनिधिले बोल्नु हुँदै भन्नुभयो जुनसुकै समस्या उत्पन्न गराउने पनि प्रतिक्रियावादी शासक हुन्छन् । माक्र्सवाद, लेनिनवाद, माओ–त्सेतुङ विचारधारालाई मार्ग दर्शन बनाएर सर्वहाराको विजय तर्फ लाग्नु परेको छ भन्नुभयो ।
नेपाल महिला आन्दोलनको सक्रिय महिला कार्यकर्ता सुश्री पम्फा भूसालले बोल्दै भन्नुभयो उग्रवादी र दक्षिणपन्थी विचारले संगठन तहसनहस पार्न असफल प्रयास पार्दै आएका छन् । संगठनलाई आफ्नो स्वार्थमा ढाल्न नसकेर सम्मेलन भाँड्ने अनुशासनविहीन कुरा गल्लीगल्लीमा पु¥याएको छ। त्यसको विरुद्ध जुध्दै संगठनलाई बचाउन अपिल गर्नुभयो ।
चैत्र २१ गते झलकमणि तिवारी र लेखराज भट्टको अध्यक्षतामा भएको सम्मेलनको उद्घोषण ताराकान्तले गर्नुभएको थियो । केन्द्रीय कोषाध्यक्ष रमन कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सातौं राष्ट्रिय सम्मेलनयताको हिसाब लिलामणि पोखरेलले नबुझाएकोले सो को हिसाव स्पष्ट देखिन नआएको प्रष्टाउनु भयो । आर्थिक प्रतिवेदन र त्यस सम्बन्धी प्रश्नहरु माथि व्यापक रुपमा छलफल भयो । प्रस्तावको लागि उपस्थित प्रतिनिधि र पर्यवेक्षकले दिनुभएको सुझावहरुको प्रति उत्तर भरत पोखरेलले दिनुभयो । विधान, प्रतिवेदनमाथि लामो समयसम्म छलफल गरी आवश्यक कुराहरु संशोधन सहित पारित भयो ।
प्रतिवेदनसम्बन्धी छलफल सकिएपछि पंचायतपरस्त तथा कांग्रेस परस्त भएर संगठनलाई तहसनहस पार्न खोज्नेहरु छैठौं बैठक बहिष्कार गर्ने, प्रतिवेदनका अंगहरु विपरीत राजनैतिक लाइन पक्रने, संगठनको गोप्य कुराहरु सडक र गल्ली गल्लीमा पु¥याउने, समानान्तर संगठन खोल्ने तत्वहरुलाई राष्ट्रिय सम्मेलनले अनिश्चित समयको लागि साधारण सदस्यबाट निस्कासन गरेको छ । निस्काशनमा पर्नेहरु तत्कालीन केन्द्रीय समितिका सदस्यहरु लिलामणि पोख्रेल, गिरिराजमणि पोख्रेल, गौतम ढुंगेल, बसन्त पाख्रिन, विदुर के.सी., विष्णु लामा, नारायण गौतम, रामेश्वर महतो आदि छन् । बलराम बास्कोटाले पठाउनु भएको अपिलमाथि विचार भई सदस्यता कायम नराख्ने निर्णय भयो ।
भरत पोख्रेलले आठौं राष्ट्रिय सम्मेलनद्वारा छनौट भएको केन्द्रीय समितिको कार्यकारिणीको नामावली पढेर सुनाउनु भयो । नवनिर्वाचित कार्यकारिणी समितिको बैठक बसी पद विभाजन गरेपछि समापन समारोहको आयोजना गरिएको थियो । भरत पोख्रेलले नवनिर्वाचित केन्द्रीय समितिका कार्यकारिणीको चिनारीका साथै सहभागीहरुको सामु सपथग्रहण गराउनुभयो । केन्द्रीय कार्यकारिणीको चिनारीपछि भाइचारा संगठनका प्रतिनिधिहरुले नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिलाई बधाई दिनु भएको थियो । अन्य बधाई दिनेहरुमा खुबीराम आचार्य, गोविन्द थापा, टंक केसी. हुनुहुन्थ्यो । केन्द्रीय अध्यक्ष देव गुरुङले सम्मेलनको औपचारिक घोषणा चैत्र ३० गते गर्ने र सम्मेलन सम्पन्न भएको कुरा बताउनुभयो । सम्मेलन समाप्त भएपछि सम्मेलन स्थलमा अनेरास्ववियु जिन्दावाद, पंचायत व्यवस्था मूर्दावाद नाराहरु घन्किएको थियो ।
कार्यकारिणीहरु ः अध्यक्ष देव गुरुङ (वागमती), उपाध्यक्ष हिमालचन्द्र गौतम (नारायणी), लेखनाथ पोख्रेल (भेरी), महासचिव रमण कुमार श्रेष्ठ (बागमती), सचिव कृष्ण सेन (राप्ती), कोषाध्यक्ष यदु गौतम, सदस्यहरुमा विष्णु दाहाल, (कोशी), राम औतार यादव (सगरमाथा), मातृका प्रसाद यादव (जनकपुर), मित्रमणि आचार्य (नारायणी), कृष्णबहादुर महरा (गण्डकी), घनश्याम पाठक (धवलागिरी) , विमला पन्त (भेरी), लेखनाथ भट्ट (भेरी), प्रकाश चन्द्र शर्मा (महाकाली), ताराकान्त पाण्डे (लुम्बिनी), नरबहादुर अधिकारी (राप्ती), शान्ता ढकाल (बागमती), यज्ञ घिमिरे (बागमती), दिपक महत (बागमती), भरतमणि दाहाल (बागमती) ।
केन्द्रीय सेक्रेटरीयट : अध्यक्ष देव गुरुङ, उपाध्यक्ष हिमाल चन्द्र गौतम, महासचिव रमण श्रेष्ठ, सचिव कृष्ण सेन, कोषाध्यक्ष यदु गौतम, सदस्यहरु घनश्याम पाठक र ताराकान्त पाण्डे ।
( यो समाचार हाँक साप्ताहिक वर्ष १, अंक २४, २०४० चैत्र २९ बाट लिइएको हो )

